Wednesday, January 29, 2014

लेनिनग्रादमा ९०० दिन लामो घेराबन्दीको कथा

आजभन्दा ठीक ७० वर्षहिले ९०० दिनसम्म फाशीवादी जर्मनीको फौजको घेराबाट रुसको उत्तरी राजधानी तथा सांस्कृतिक केन्द्रस्वरुप रहेको लेनिनग्राद (सेन्ट पिर्टसबर्ग) लाई सन् १९४४ को २७ जनवरीका दिन सोभियत सेनाले मुक्त गरेको थियो । भीषण घेराबन्दीमा परेको लेनिनग्रादका वासिन्दाहरुले पनि युद्धकालको असहनीय र अमानवीय आपदको सामना गर्दै शत्रुसमक्ष आत्मसमर्पण नगरेर वीरतापूर्वक आफ्नो सहरको रक्षा गरेका थिए । नगरवासीहरुले देखाएको यसै पराक्रमको सम्मानमा लेनिनग्रादलाई वीरनगरको उपाधिद्वारा विभूषित गरिएको थियो ।

कुनै समयमा रुस साम्राज्यको राजधानी रहेको देशको दोस्रो तर सबभन्दा सुन्दर सहर हो लेनिनग्राद । सोभियत सत्ताका वर्षहरुमा लेनिनको नामले विभूषित हुँदा र हाल नयाँ रुसको अवस्थामा सेन्ट-पिर्टसबर्ग भन्ने पुरानै नामको पुनस्थापना गरिएपछि पनि म धेरैपल्ट यस रमणीय सहरमा पुगिसकेको छु, तर जतिपल्ट त्यहाँ पुगे पनि फेरि फेरि दोहोर्याएर यस सहरको यात्रा गर्ने चाहना कायमै रहने गरेको छ । आज म नेपाली पाठकवृन्दलाई यस सहरको बारेमा आफ्नो यात्रानुभव सुनाउन गइरहेको छैन, बरु यस नगरको ९०० दिन लामो वीरतापूर्ण इतिहासको एक खण्ड मात्र छोटकरीमा उजागर गर्न चाहन्छु ।   
सन् १९४१ को २२ जुलाईका दिन नाजी जर्मनीको फौजले सोभियत संघउपर आक्रमण गरेको थियो । त्यसको दुर्इ महिनापछि सन् १९४१ को अगस्त महिनामा जर्मनी फौजले रुसको सांस्कृतिक केन्द्रमा कब्जा जमाएर मास्कोतर्फ प्रहार गर्ने उद्देश्यले लेनिनग्रादमा सशक्त धावा सुरु गर्यो । हिटलरको निम्ति बाल्टिक जहाजीवबेडा रहेको लेनिनग्रादमा कब्जा जमाउनु सामरिक दृष्टिले निकै महत्वपूर्ण थियो, किनभने युरोपका देशहरुलाई जित्दै पूर्वतिर बढिरहेको हिटलरी फौजले मुर्मान्स्क र आर्खान्गेल्सको बन्दरगाह हुँदै सोभियत संघले सहयोगी देशहरुबाट प्राप्त गर्ने सहयोगको बाटो रोक्ने सम्भावना पाउँथ्यो ।
लेनिनग्रादवासीहरुले आक्रामक फौजको गम्भीर प्रतिकार गरेको हुँदा यस महत्वपूर्ण सहरमा सहजै कब्जा जमाउन नसकिने देखेपछि फाशीवादी फौंजले श्लिस्सेल्बुर्ग कब्जा गरेर ८ सेप्टेम्बरमा जमीन तर्फबाट ४ लाख बालबालिकासहित २५ लाख जनसंख्या भएको लेनिनग्रादको वरिपरि घेराबन्दी गरेर मास्कोतर्फको बाटो अवरुद्ध गरिदियो । बालबालिका र वृद्धवृद्धाहरुलाई सहरबाट सुरक्षित स्थानतिर सार्ने समेत समय पाइएको थिएन ।
लेनिनग्रादका वासिन्दाहरुका लागि आवश्यक खाद्यान्न पहिलेबाटै जम्मा गरिएको थिएन र हिटलरवादी फौजको तर्फबाट घेराबन्दी हुनासाथै मानिसहरुले आफूसंग भएको पैंसाबाट पसलमा पाइने सारा चीजबीजहरु किनेर साँच्न थालेकोले सबै कुराको अभाव देखियो । लेनिनग्रादजस्तो विशाल सहर खाद्यान्न, विजुलीबत्ती आदि आवश्यक वस्तुहरुको आपूर्तिबाट वञ्चित हुन गए तापनि लेनिनग्रादवासीहरुले सबै दैनिक कार्य जारी राख्तै शत्रुको दृढतापूर्वक प्रतिकार गर्दै रहे । नगरवासीमा निराशा व्याप्त नहोस् भन्ने उद्देश्यले सांस्कृतिक कार्यकर्ताहरुले आफ्नो रचनात्मक कार्य पनि जारी राखेका थिए । भूमिगत बमनिरोधक स्थलमा स्कूल संचालन गरिएको थियोठेटर र रेडियो प्रसारणको कार्यक्रम समेत स्थगित गरिएको थिएन र कविहरु नयाँ नयाँ कविता पाठ गर्दथे भने गायकहरु गीत प्रस्तुत गर्दथे । उदाहरणका लागि भन्ने हो भने संगीतकार दिमित्री शोस्ताकोभिचले सातौं सिंफनीको रचना गरेका थिए र यो लेनिनग्रादको सिम्फनी-संगीत शत्रुको कडा प्रतिरोधको प्रतीक बन्न पुगेको थियो । 
जस्तोसुकै विपदको सामना गर्नुपरे तापनि लेनिनग्रादवासीहरुले रणमोर्चाका लागि चाहिने सामरिक वस्तुहरुको उत्पादन रोकेका थिएनन् । सहर शत्रुको घेरामा परिरहेको समयमा लेनिनग्रादको रेडियो प्रसारण जारी रहेको हुँदा सहरवासीहरुले रणमोर्चाको समाचार प्राप्त गर्नुका साथै सहरको जीवन्तताको पनि अनुभव गर्नेगरेका थिए । एकपल्ट रेडियो मास्कोको निमन्त्रणामा रेडियो नेपालको प्रमण्डल (नेपाली साहित्यकारद्वय दौलतबिक्रम विष्ट तथा लक्ष्मण लोहनी) सोभियत संघको भ्रमणमा आउँदा अनुवादकको हैसियतले मैले पनि घेराबन्दीको जटिल अवस्थामा समेत कार्यक्रमको प्रसारण सुचारु राख्ने लेनिनग्राद रेडियो स्टेशनको अवलोकन गर्ने सुअवसर पाएको थिएँ।          
लेनिनग्रादको घेराबन्दीका भुक्तभोगीहरुले लेखेका पत्रहरु र डायरीहरुबाट त्यस समयको विभिषिकाको किञ्चित अनुमान लगाउन सकिन्छ । घेराबन्दीको साथसाथै भोकमरी, रोगव्याधि र अन्य कैयौं आपदविपद पनि लेनिनग्रादवासीहरुको थाप्लोमा ओइरिएको थियो ।  खाद्यान्नको अभावले गर्दा भोकमरीबाट मानिसहरुको मृत्युदर बढ्दै गइरहेको थियो । खाद्यान्नको अभावले गर्दा भुस, अन्नको छोक्रा आदि पनि पीठोमा मिसाएर रोटी पकाइन्थ्यो र प्रत्येक व्यक्तिको निम्ति दिनको १२५ ग्रामको दरले रोटी दिइन्थ्यो । इन्धन र बिजुलीको अभाव रहेको सहरले हिउँदमा ऋण ४० डिग्री सेल्सियस सम्मको कठ्यांग्रिने जाडोको पनि सामना गर्नुपरेको थियो । बरफ जमेर पाइप फुटेकाले खानेपानीको पनि अभाव हुन गयो । संक्रामक रोगबाट पनि कैयौंको मृत्यु हुन गएको थियो । सन् १९४१ को १२ सेप्टेम्बरका दिन  लादोझ्स्कोए तालमा डुंगा चलाएर लेनिनग्रादमा केही खाद्यान्न पुर्याएको थियो भने त्यसै वर्षको नोभेम्बर महिनामा बरफ जमेको त्यस तालमाथि बाटो खुल्यो र सैनिक पहरामा केही आवश्यक सरसामानहरु लेनिनग्रादमा भित्य्राइनुका साथै केही अशक्त मानिसहरु र केटाकेटीहरुलाई अन्यत्र सुरक्षित स्थानमा लैजाने सम्भावना प्राप्त भयो । यस बाटोले जीवनमार्ग भन्ने नाम पाएको थियो । हिउँदमा जमेको बरफमाथि घोडाले तान्ने स्लेज र गाडी पनि चलाइन्थ्यो भने ग्रीष्मयाममा तालले जलमार्गको रुप लिन्थ्यो र डुंगाद्वारा आवतजावत गर्न सकिन्थ्यो । तर नाजी फौजले त्यस मार्गमा निरन्तर बमबारी जारी राखेको थियो र सहरबाट सुरक्षित स्थानतिर जाने क्रममा कैयौं मानिसहरुको ज्यान गुमेको थियो । जे होस्, यस मार्गले हजारौ मानिसको जीवन रक्षा गर्ने सम्भावना दिएको थियो । लेनिनग्रादवासीहरुका लागि जीवनमार्ग बन्न पुगेको यस तालको किनारामा हाल 'जीवनमार्ग' संग्रहालय रहेको छ ।
सन् १९४४ को २७ जनवरीमा मात्र लेनिनग्राद तथा भोल्खोभका मोर्चाहरुमा तैनाथ रहेका सोभियत सैनिक टुकडीहरुले क्रोन्श्ताडको तोपसेनाको समेत सहयोगबाट क्रमशः पुश्किन, तात्चिन, चुदोभो आदि वस्तीहरु मुक्त गरेर अन्ततोगत्वा विश्व इतिहासमै ८७१ दिन र रातहरुसम्म लम्बिएको सबभन्दा लामो र जटिल घेराबन्दी तोडेर लेनिनग्रादलाई मुक्त गर्ने वीरतापूर्ण कार्यमा सफलता प्राप्त गरेका थिए । मानवजातिले पहिले कहिल्यै पनि युद्धकालमा यति लामो घेराबन्दीको भीषण विभीषिका भोग्नुपरेको थिएन । 
लेनिनग्रादमा घेराबन्दीको ९०० दिनमा अकाल मृत्यु वरण गर्ने ६ लाख ४१ हजार ८ सय व्यक्तिको सगोल चिहान लेनिनग्रादनजिकै पिस्कारेभ्स्की भनिने ठाउँमा रहेको छ र त्यस समाधिस्थलमा बनेको रूस-माताको स्मारकसमक्ष अखण्डज्योति बलिरहन्छ । त्यहीं नै युद्धको विभीषिकाका प्रत्यक्षदर्शीहरुको डायरी लगायत विभिन्न  सामग्रीहरु प्रदर्शित गरिएका छन् । निकै पहिले मैले त्यहाँ पुग्दा पढेको एउटी बालिकाको हृदयविदारक डायरीका पंक्तिहरु मेरो मानसपटलमा कहिल्यै नमेटिने गरी अंकित हुन पुगेका छन् ।
त्यहाँ ग्रानाइटमा कवयित्री ओल्गा बेर्गोल्त्सको कविताका निम्न पंक्तिहरु अंकित छन् :
चिरनिद्रामा छन् यहाँ लेनिनग्रादवासीहरु
यहाँ छन् : पुरुष, महिला र केटाकेटीहरु ।
नजिकै छन् पल्टेका लाल सैनिकहरु,
! यी शिलामा नजर दिनेहरु, सम्झ यो कुरा :
न कोही बिर्सिएको छ, न त केही बिर्सिएको छ !!
लेनिनग्राद मोर्चाका कम्याण्डर झुकोभले आफ्नो संस्मरणमा अंशतः यस्तो लेखेका थिए : 'शान्तिपूर्ण वासिन्दाहरुको निम्ति मात्र नभई सैनिक जवानहरुको निम्ति समेत अवस्था कतिसम्म नाजूक थियो भने सोभियत जनताबाहेक अरु कसैले पनि शायद त्यस्तो विपदको सामना गर्न सक्तैनथ्यो होला'
नेपाल-अंग्रेज युद्ध (सन् १८१४-१८१६) को क्रममा नालापानीको युद्धमा पानीको मुहान समेत रोकिदिएर शत्रुपक्षले घेराबन्दीमा पारेको किल्लाबाट वीर बलभद्रको सानो सैनिकदलले अतुलनीय वीरताको प्रदर्शन गर्दै बचेको दलबलसहित बाहिर निस्केको अमर घटनाको स्मरण गर्दा हामी नेपालीहरु जसरी गर्वको अनुभूति गर्दछौं त्यस्तै गर्वानुभूति लेनिनग्रादको घेराबन्दीको विभिषिका भोग्ने रुसी मित्रहरु पनि व्यक्त गर्दछन् । उदाहरणार्थ, कुनै कविले यसको अभिव्यक्ति निम्न कवितामा गरेको छ :
श्रम र सुरक्षाको बलद्वारा
मुक्त भएथ्यो लेनिनग्राद ।
मानवसुखको सदैव जय होस् ।
कदापि नबनोस् यो अपवाद ।
      फाशिवादी फौंजको घेराबन्दीबाट लेनिनग्रादको मुक्तिको ७० वर्षपूरा भएको उपलक्ष्यमा २७ जनवरी (२०१४) का दिन सेन्टपिर्टसबर्गमा आयोजित भव्य समारोहमा सैनिक परेड सम्पन्न भएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पिस्कारेभ्स्की समाधिस्थलमा पुगेर घेराबन्दीको समयमा दिवंगत आफ्ना दाजुलगायत युद्धकालमा मृत्यु वरण गर्नेहरुलाई दफनाइएको सगोल चिहानमा पुष्पाञ्जली अर्पण गर्नुभएको थियो । लेनिनग्राद मुक्तिको सन्दर्भमा तोपको बडाइँ र आतसबाजी पनि गरिएको थियो ।
      (फोटोमा : रुस-माताको स्मारकसहित 'अपराजित नगर'                लेनिनग्रादको दृश्य) ।
दिनांक : २७ जनवरी २०१४ (आइतवार), 
मास्को, रुस महासंघ।  

No comments:

Post a Comment