Friday, January 3, 2014

प्राचीन रुसी ग्रन्थहरुमा समय र स्थानसम्बन्धी अवधारणा

प्राचीन रुसमा लिखित लेतोपिस भनिने वर्षावलीहरुको अध्ययनबाट समय (काल) र स्थान (दिक्) सम्बन्धी त्यतिखेरका ग्रन्थकारहरुको अवधारणा स्पष्ट हुन्छ । रूसी भाषाका दुई शब्द (“लेतो” को अर्थ “वर्ष” र “पिस” को अर्थ “लेखन”) को आधारमा  “लेतोपिस” भनिने यस्ता हस्तलिखित ग्रन्थहरुमा प्राय: वर्षभरि घटेका घटनाहरूको टिपोट गरिने हुनाले नेपालीमा वर्षावली भन्नु उपयुक्त हुन्छ । रुसले अपनाएको अर्थाडक्स चर्चका मोनेष्ट्रीहरुमा बस्ने क्रिस्चियन भिक्षुहरुले वर्षावली लेख्ने गरेका थिए । हुन पनि त्यस समयमा धर्मकर्ममा संलग्न व्यक्तिहरु नै शिक्षित पनि हुन्थे । ग्रन्थको नामअनुसार नै ग्रन्थावलीहरुमा समाजमा घटेका विभिन्न महत्वपूर्ण घटनाहरुलाई अभिलेख गर्नेगरिएको थियो । कुन कुरा पनि रोचक छ भने रूसी शब्द “लेतो” को अर्थ ग्रीष्मयाम पनि हुन्छ र वर्षको अधिकांश समय जाडो हुने रूसका लागि वर्षको गणनाका लागि त्यही ऋतुबोधक शब्द ग्रहण गरिएको होला भन्ने मेरो ठनाइ छ । हामीले पनि त गर्मीयाममा नेपालजस्तो कृषिप्रधान देशका लागि जीवनदायी मनसुन झरीवर्षा हुने वर्षाऋतुकै आधारमा सालबोधक “वर्ष” शब्द प्रयोग गर्दै आएका छौं । यसरी रूसवासीलेझैं हामीले पनि समयको गणना प्रमुख ऋतुबोधक शब्दद्वारा गर्दै आएका छौं ।



प्राचीन रुसको राजधानी (वर्तमान कीभ) का वासिन्दाहरुलाई राजा भ्लादिमिर स्वेतोस्लाभिचले क्रिश्चियन धर्ममा सामूहिक रुपमा दीक्षित गराएपछि इसाईं धर्मको सनातनवादी शाखा अर्थात् अर्थाडक्स चर्च रुसको प्रमुख धर्म बन्यो र एघारौंदेखि सत्रौं शताब्दीसम्म रुसका ग्रन्थकारहरुले बाइबलकै अनुरुप विश्वब्रह्माण्डको मानचित्रका साथै परस्परमा सम्बन्धित समय र स्थानबारे पनि नयाँ अवधारणा ग्रहण गरे । स्मरण रहोस्, प्राचीन रुसी भाषामा सन् १४९४ मा मेफोदिया र उनका शिष्यहरुबाट बाइबल (नवसंहिता) को पूर्ण अनुवाद तैयार पारिएको थियो ।
प्राचीन रुसी ग्रन्थकारहरुले समयको अवधारणा इसाईं (क्रिश्चियन) हरुको धर्मग्रन्थ बाइबलमा आधारित हुनु स्वाभाविकै छ । तसर्थ समयसम्बन्धी रुसी ग्रन्थकारहरुको  अवधारणामा पनि बाइबलमा वर्णित विश्वसृष्टिसम्बन्धी अनुश्रुति नै आधारस्वरुप रहेको पाइन्छ ।बाइबलमा ईश्वरले ६ दिनमा विश्वब्रह्माण्डको रचना गरेर सातौं दिन विश्राम लिएको जुन किम्बदन्ती छ त्यसअनुसार जुन दिन र्इश्वरले अँध्यारो रात र उज्यालो दिनको सृष्टि गरे त्यसै  क्षणदेखि समय पनि अस्तित्वमा आयो । त्यसभन्दा पहिले समय नै  थिएन अर्थात् अनन्तता मात्र थियो । यसरी दिन र रातको गणनाबाट समयको बोध हुन थाल्यो । त्यसैले प्राचीन रुसी ग्रन्थकारहरुले दिन र रातको उल्लेख गरे पनि घन्टा (घडी) र मिनेट (पला) को उल्लेख गर्नेगरेको पाइँदैन । के पनि उल्लेख्य छ भने समयको गति वा लम्बाईको मापन दिन र रातको आधारमा गर्ने परम्परा निकै पुरानो हो र हाम्रा पूर्वेली ऋषिमुनिहरुले सृष्टिकर्ता ब्रह्माको एक दिनमा सृष्टिको आरम्भ र अन्त्यसम्मको एक कल्प व्यतीत हुने परिकल्पना गरेझैं प्राचीन रुसी ग्रन्थकारहरुले पनि र्इश्वरको एक दिन भनेको मान्छेको १ हजार वर्षको बराबर हुने धारणा राखेका थिए भन्ने प्रतीत हुन्छ । त्यसैले र्इश्वरद्वारा विश्वको सिर्जना गरिएपश्चात् क्राइष्टको जन्मसम्मको समयावधिलाई १५०८ वर्ष मानिएको छ अर्थात् ईश्वरले दिन र रातको सृष्टि गरेको १५०८ वर्षपछि यिशुख्रिष्ट (क्राइष्ट) को जन्म भएको मानिन्छ । भनिन्छ कि यसै समयावधिको वर्णन प्राचीन संहितामा भएको छ ।
पूर्वीय धर्मग्रन्थहरूमा विश्वब्रह्माण्डको सृष्टि र प्रलयको अन्नत  चक्रको परिकल्पनाका साथै कल्प र युगको अवधारणालाई अघि सारेर समयको गणना गर्ने प्रयास गरेको पाइन्छ । यसरी हामी जुन कल्पमा बाँचिरहेका छौं त्यसकै पनि तीन युग (सत्ययुग १७३२ हजार, त्रेता १२९६ हजार, द्वापर ८६४ हजार) का साथै कलियुगको ४ लाख ३२ हजारमध्ये अहिले (सन् २०१३ मा) ५ हजार १३ वर्ष मात्र बितेको गणना गरिएको छ । कलियुग बित्न नै ४ लाखभन्दा बढी समय पर्खिनु बाँकी छ ।
वैज्ञानिकहरूले एकातिर प्रथम महाविष्फोटदेखि समय (काल) को गणना गरेर हाम्रो निहारिकाको साथै सौर्यमण्डलको आयु पत्ता लगाएका छन् भने अर्कोतिर स्थान (दिक्) को विस्तारको भेउ पाउन असम्भवप्राय: रहेको स्वीकार्दै विश्वब्रह्माण्डमा हाम्रोबाहेक अरू पनि कैयौं निहारिकाहरू अस्तित्वमा रहेको प्रमाण दिएका छन् ।एउटा निहारिकाबाट अर्को त के एउटै निहारिकाभित्रको एउटा सौर्यमण्डलबाट अर्को सौर्यमण्डलसम्मको दूरता समेत अङ्कद्वारा व्यस्त गर्न नसकिने भएकाले प्रकाशको गतिको आधारमा समयबोधक प्रकाशवर्षको आविष्कार गरेर स्थानको दूरता नाप्न केही सजिलो पारिदिएका छन् । यसरी विज्ञानले त्रिआयामिक दिक् र एकआयामिक काललाई एउटै एकाईमा जोडिदिएको छ भन्न सकिन्छ ।दिक् (स्थान) र काल (समय) को दार्शनिक पक्षबारे चर्चा गर्नपट्टि नलागेर यस विषयमा प्राचीन रूसी ग्रन्थकारहरूको धारणाकै विचार गरौं ।  
महामना भ्लाझेन्नी आफ्गुस्तिनले समय स्वस्फूर्त मानेका छन् । विश्वसृष्टिका साथै अनन्तबाट प्रादुर्भाव भएको समय (काल) कहिलेसम्म अस्तित्वमा रहन्छ ? बाइबलकै आधारमा यसको उत्तर स्पष्ट छ । दिन र रातको सृष्टिका साथै अनन्तबाट निस्केको समय विश्वप्रलयसम्म नै सीमित रहन्छ अर्थात् त्यसपछि अनन्तमै विलीन पनि हुन्छ । यस अर्थमा समय प्रतीक्षा हो । समय नैनिकताको अवधारणा हो । विश्वप्रलयपश्चात् धर्मात्माहरुले यस्तो लोकमा नयाँ जीवन प्राप्त गर्दछन् जहाँ समयको सीमा रहँदैन अर्थात् जहाँ अनन्तताको मात्र अस्तित्व रहन्छ । यस प्रकार क्रिश्चियन धर्मअनुसार समय (काल) रेखात्मक हुन्छ ।
क्रिश्चियन धर्मभन्दा पहिले रुसवासीहरुमा समयचक्रको अवधारणा थियो । यो समयको प्रकृतिक चित्रमा आधारित छ : वसन्त पछि ग्रीष्म, ग्रीष्मपछि शरद्, शरद्पछि शीत र शीतपछि फेरि वसन्त । हामी पनि समयलाई चक्रको रुपमा विचार गर्दछौं । तिब्बत, चीन, मंगोलिया, जापान आदि देशहरुमा जस्तै विभिन्न नेपालको उत्तरी भेकका वासिन्दाहरु जीवजन्तुको आधारमा नामकरण गरिएका १२ वर्षको एक चक्र र यस्तो पाँच चक्रको अर्थात् ६० वर्षको पूर्ण समयचक्रको अनुसरण गर्दछन् भने हामीले पनि बिक्रम सम्बत्अनुसार सम्बत्सरको ६० वर्षे समयचक्र अपनाएका छौं । सम्भवतः कालचक्रको अवधारणा पनि यसै अनन्त समयचक्रमा आधारित छ ।
क्रिश्चियन चर्चले एक वर्षमा सम्पन्न गर्ने १२ वटा उत्सवको चक्र अपनाएको छ । हुन त ती उत्सवहरु अतीतमा जन्म, मृत्यु र पुनर्जन्म आदि यिशुख्रिष्टको जीवनमा घटेका घटनाहरुमा आधारित छन् । तर ती सबै घटनाचक्र वर्तमानसित नै सम्बन्धित भएको रुपमा विचार गरिन्छन् । संक्षेपमा भन्ने हो भने क्राइष्टको जन्मसित सम्बन्धित उत्सव (रूसीमा “ब्लागोभेश्येनिए” अर्थात् “सुसमाचार”) देखि क्राइष्टको देहान्तपश्चात् पुनर्जन्मको सन्दर्भमा मनाइने उत्सव (रूसीमा “पास्खा” अर्थात् “इष्टर”) सम्मका १२ वटा उत्सवको एक चक्र अतीतका घटनाहरुसित सम्बन्धित हुने भए पनि तिनलाई र्इसाईं धर्माबलम्बीहरुले वर्तमान समयमै स्वानुभूति गरेको मानिन्छ । यसै परिप्रेक्ष्यमा प्राचीन रुसी ग्रन्थकारहरुले समयलाई वर्तमानको रुपमा मात्र लिने गरेको तथ्य पनि स्पष्ट हुन्छ । समयसम्बन्धी उनीहरुको अवधारणामा भूतकाल र भविष्यत् काल छैन । रुसी भाषाको व्याकरणमा समेत भविष्यत् कालको रुप नहुनु विचारणीय छ । वाक्यमा भविष्यत्कालको निम्ति सहायक क्रियापदको प्रयोग गर्नुपर्ने हुन्छ । यो निसन्देह नै प्राचीन रुसी ग्रन्थकारहरुको समयसम्बन्धी अवधारणाकै प्रतिबिम्ब हो भन्नुपर्दछ । रुसी भाषामा पूर्णत्वबोधक क्रियापदको रुप पनि सत्रौं-अठारौं शताब्दीमा मात्र अस्तित्वमा आएको थियो भनिन्छ ।
एघारौ-बाह्रौ शताब्दीको कीभेली रुसका महावीरहरुको बारेमा प्रचलित किम्बदन्तीहरुमा चाहिं भूतकालमा घटेको घटनाचक्रको उल्लेख पाइन्छ । यस प्रकार भूतकाललाई प्राचीन रुसमा ऐतिहासिक रुपमा मात्र विचार गरिन्थ्यो भन्ने स्पष्ट हुन्छ । कुरा के त भने रुसमा क्रिश्चियन धर्मका अनुयायीहरुद्वारा जुनसुकै घटनालाई पनि महान्यायको दिनको परिप्रेक्ष्यमा हेर्ने गरिएको पाइन्छ । उनीहरुको अवधारणाअनुसार अहिलेको वर्तमान समय त्यसै महान्यायको दिनसम्मकै समयावधि हो अर्थात् हामी यही एउटै र निरवच्छिन्न वर्तमानमा छौं । त्यसपश्चात् अन्त्यमा समयको गति रोकिन्छ र धर्मात्माहरुले यस्तो अनन्ततामा प्रविष्ट गर्दछन् जहाँ समयको अस्तित्व नै रहँदैन । ब्लागोस्लोभलिखित  अपाक्लिप्सिस (महाप्रलय) भन्ने ग्रन्थमा यसको चर्चा गरिएको छ । यस अवधारणाबाट समय भविष्यको गर्भबाट प्रादुभाव भएको हो भन्ने बुझिन्छ । प्राचीन रुसीहरुका लागि वास्तवमै भविष्य अस्तित्वमा रहेको थियो । उसका लागि घटनाको दुर्इ स्वरुप हुन्छ : अग्रघटना र पश्चघटना । यसर्थ उसका लागि भूतकाल र वर्तमान काल अस्तित्वमा छ, तर भविष्यको अवधारणा छैन । महाप्रलयको परिप्रेक्ष्यमा मात्र भविष्य कालको अनुबोध गर्न सकिन्छ । प्राचीन रुसी ग्रन्थकारहरुको अवधारणाअनुसार क्राइष्ट (यिशुख्रिष्ट) को प्रादुर्भावभन्दा १५०८ वर्षपूर्वदेखि महाप्रलयसम्मको समयावधि मात्र समयको द्योतक हो । त्यसभन्दा अघि र पछि अनन्तता मात्र छ अर्थात् समयको अस्तित्व छैन ।
समय विश्वसृष्टि र विश्वप्रलयसित सम्बन्धित छ । यही नै समयको परिधि हो । हाम्रो अस्तित्व नै वर्तमान कालमा हुन्छ, किनभने एक मिनटअघि मात्र जुन समयमा हामी थियौं त्यो त अतीतको गर्भमा बिलाइसकेको छ र त्यो समय हामीसंग हुँदैन । त्यो समय कता गयो ? यस प्रश्नको ठोस उत्तर दिन सकिंदैन । तर प्राचीन रुसी मान्छेहरुका निम्ति भविष्य चाहिं वास्तवमै अस्तित्वमा रहेको हुन्छ । कताबाट समयको प्रादुर्भाव हुन्छ ? उनीहरूका लागि यसको उत्तर स्पष्ट छ : भविष्यबाट । तसर्थ भविष्यको अस्तित्व छ, अन्यथा वर्तमान पनि सम्भव हुने थिएन । यस अर्थमा इतिहास भविष्यको छायामा परेको हुन्छ । इतिहास भनेको घटना हो जो मान्छेको व्यवहारमा र दैवेच्छामा निर्भर हुन्छ । जुनसुकै घटनालाई पनि महान्यायको दिनकै परिप्रेक्ष्यमा हेरिन्छ । र्इश्वरले समयलाई वर्ष, महिना र दिनमा विभाजित गरिदिएको मानिन्छ, तर घन्टा, मिनट (घडी, पला) को विभाजन छैन ।
क्रिश्चियन धर्मको अवधारणाअनुसार महान्यायपश्च्यात् समय रोकिनेछ अर्थात् धर्मात्माहरु अनन्ततामा प्रविष्ट हुनेछन् ।  समयको आदि र अन्त्य हुने यही मान्यताकै आधारमा प्राच॥न रूसका धर्माधिकारी नेस्तोरले जुन ग्रन्थको लेखन प्रारम्भ गरे त्यसलाई प्राचीन रुसी भाषामा “पोभेस्त ब्रेमन्निख लेत” भनिएको छ । रुसी भाषामा समय अर्थात् “ब्रेम्या” बाट निर्मित विशेषण शब्द “ब्रेमेन्नी” को अर्थ सामयिक, क्षणिक अर्थात् अस्थायी भन्ने हुन्छ भने “लेत” को अर्थ हुन्छ “वर्ष” । यसै कारण उक्त वर्षावलीको ठेट अनुवाद “समयसालको कथा” भन्ने हुन सक्छ । रुसमा हरेक वर्षको घटनाक्रमबारे मोनेष्ट्रीका भिक्षुहरुबाट लेखिएका विवरणहरुले “लेतोपिस” अर्थात् “वर्षावली” भन्ने नाम पाएका छन् । प्राचीन रुसका विभिन्न मोनेष्ट्रीहरुमा भोजपत्रमा लेखिएका र लामो समयसम्म सुरक्षित रही प्राप्त भएका यस्तै वर्षावलीहरु नै रुसी इतिहास र साहित्यको आदिस्रोत थियो । अज्ञात ग्रन्थकारद्वारा रचिएको रुसी साहित्यको पहिलो अमर काव्यकृति “इगोरको सैन्यको कथा” पनि ऐतिहासिक घटनामै आधारित छ ।
प्राचीन रुसी ग्रन्थकारहरुको कृतित्वमा समय (काल) को अवधारणाजस्तै स्थान (दिक्) को अवधारणा पनि पाइन्छ । यसको ज्वलन्त उदाहरण “रुसको उत्पत्ति कहाँबाट भयो ?” भन्ने कृतिले दिन्छ । संस्कृतमा “दिक्” भन्ने अवधारणा दिशासित सम्बन्धित भएझैं प्राचीन रुसमा पनि स्थान (दिक्) को सन्दर्भमा ठाडो र तेर्सो भन्ने अवधारणा अस्तित्वमा रहेको थियो । स्वर्ग र नर्कको अवधारणा पनि स्थानसित नै सम्बन्धित छ अर्थात् प्राचीन रुसमा सम्भवतः सूर्योदय र सूर्यास्तको दिशाबोध गरी स्वर्गको अवस्थिति पूर्वमा र नर्कको अवस्थिति चाहिं पश्चिममा छ भन्ने विश्वास गरिन्थ्यो (हामीले दश दिशाको रक्षकको रुपमा दश दिक्पालको अवधारणाअनुसार दक्षिण दिशामा यमलोक रहेको मानेका छौं, किनभने स्थानको अवधारणाले ठाडो (तल र माथि गरी दुर्इ) र तेर्सो (८ कोणमा ८ दिशा) समेत गरी जम्मा १० दिशाको बोध गराउँछ) । त्यसैले प्राचीन कालदेखि रुसीहरुले मोनेष्ट्री, चर्च, घर, नगर र चोक आदिको निर्माण गर्दा दिशाको अवस्थितिलाई ध्यानमा राख्ने गरेका थिए । प्रायश: नदीतटमा अवस्थित प्राचीन रुसी नगरहरुमा पोक्लोन्नाया गोरा (नतमस्तकगिरि), स्वर्णद्वार वा राजकीय ढोका र क्रेमलिन (राजप्रासाद र चर्चसहितको किल्ला) र केन्द्रीय चोक हुनु अनिवार्य जस्तै थियो ।
प्राचीन कालको आध्यात्मिक सत्ताको केन्द्र रोम (इटली) को उत्तराधिकारीको रुपमा रहेको कन्सतान्तिनोपोल (टर्की) को पतनपश्चात् प्राचीन रुसको राजधानी कीभ र भ्लादिमिर हुँदै मास्कोले रोमको स्थान लियो र सोह्रौं शताब्दीमा मास्कोलाई “तृतीय रोम” भन्न थालियो । सत्रौं शताब्दीमा धर्माधिकारी निकोनले मास्कोलाई जेरुसलमको रुप दिन चाहेका थिए, तर सफलता प्राप्त गर्न सकेनन् र उनले मास्को बाहिर इस्त्रा भनिने स्थानमा पेलेस्टीनी स्थाननामहरु समेत पैंचो लिएर नयाँ जेरुसलमको निर्माण गरे ।    
अनन्तताको प्रतीक चक्रको रुपमा निर्मित मास्कोको आध्यात्मिक महत्व हुनुका साथै रोम, कीभ र भ्लादिमिर नगरमा जस्तै मास्कोमा पनि राजकीय द्वार छ । क्रेमलिनको मूल ढोका अर्थात् स्पास्कीबुर्जाको प्रवेशद्वार नै मास्कोको राजकीय द्वार हो ।  त्यसको नजिकै पहिले स्पास्की मोनेष्ट्री थियो र लालमैदानको वरिपरि पनि ससाना चर्चहरु रहेका थिए । मास्कोको केन्द्रीय चोक लालमैदानको आध्यात्मिक अवस्थिति पनि विश्वसंरचनाको प्रतिरुपजस्तै प्रतीत हुन्छ । चर्चको देवप्रतिमापटस्वरुप क्रेमलिन पर्खालको उत्तरमा अवस्थित लालमैदानको पूर्वतर्फ स्वर्गको प्रतीक मास्को नदीको ढिस्को र रुसी जार इभान ग्रोज्नीद्वारा काजान विजयको प्रतीकस्वरुप निर्मित आठकोणयुक्त गजूरैगजूर भएको भासिली भ्लाझेन्नीको मन्दिर रहेको छ भने पश्चिमतर्फ लालमैदानमा प्रवेश गर्ने ढोका र काजानकी देवमाताको मन्दिर छ । लालमैदानको मध्य भागमा (हाल भासिली भ्लाजेन्नीको मन्दिरको छेउमा रहेको) “लोब्नोए मेस्तो” भनिने महत्वपूर्ण केन्द्रीय डबली थियो । सोभियत सत्ताकालमा क्रेमलिन पर्खालमुनि चिहानघारी, दर्शकदीर्घा र लेनिनसमाधिस्थल देखापरे तापनि अतीतमा चर्चको देवप्रतिमापटतुल्य आध्यात्मिक महत्वको नगरीय केन्द्रीय चोकको ज्वलन्त उदाहरण मास्कोको लालमैदान (वस्तुत: सुन्दरचोक) को अवस्थितिले प्रस्तुत गरिरहेको छ । मास्कोको मुटुसमान यस कलात्मक चोकले समय (काल) र स्थान (दिक्) को अवधारणालाई समाहित गरिरहेको प्रतीत हुन्छ...
दिनांक : २७ अप्रिल २०१३ (शनिवार),
मास्को, रुस महासंघ ।

No comments:

Post a Comment