Friday, January 3, 2014

नेपालविषयक काव्यहरूको त्रिभाषिक छविग्रन्थको लोकार्पण


मास्को, २५ डिसम्बर २०१४ (वृहस्पतिवार) । र्इश्बीसम्बत्को नयाँ वर्ष सन् २०१४ को शुभागमनको पूर्ववेलामा मास्कोको 'रेनासाँ' नामक रेष्टुराको विशाल कक्षमा 'दुर्इ देवताहरुप्रति' भन्ने शीर्षकमा दागेस्तानी जनकवि रासुल हाम्जातोभको नेपालविषयक दुर्इ काव्यकृतिहरु ('जीवनचक्र' र 'जीवित देवी कुमारी') को रुसी, आभार तथा नेपालीसमेत त्रिभाषिक छविग्रन्थको भव्य वातावरणमा लोकार्पण सुसम्पन्न भयो । खैरो रङ्गको मोरोक्को छालाले मोडिएको मोटो गातामा ठुलो साइजका ३६० पृष्ठ भएको (उपहारको उद्देश्यले लेखकस्वबिना सीमित संख्यामा छापिएको) यस सचित्र पुस्तकलाई छविग्रन्थ भन्नुको तात्पर्य के हो भने दागेस्तानी कविका काव्यकृतिहरुलाई युवा फोटो चित्रकार इभान कोजोरेजोभकृत नेपाल र दागेस्तानका हिमशिखरहरुका साथै रमणीय प्राकृतिक दृश्य, सांस्कृतिक परिवेश एवं मानवाकृतिहरुअंकित  रंगीन छविचित्रहरुद्वारा सिंगारिएको छ र काव्यकृतिका उक्त तीनै भाषाभाषी पाठकवृन्दले त्यसमा वर्णित परिवेशको दृश्यात्मक झलक समेत प्राप्त गर्ने सम्भावना पाउने छन् ।


नयाँ वर्षको उत्सवका लागि झलमल्ल सिंगारिएको मास्कोको सडकमा नेपालको झण्डा फहराइउँदै गुडेको गाडीले नेपाली राजदूत महामहिम डा. रविमोहन तथा श्रीमती डा. सुलोचना सापकोटाका साथै यस पंक्तिकारलाई पनि 'रेनेसाँ' होटलको प्रवेशद्वारअगाडि उतारिदियो । छविग्रन्थ लोकार्पण समारोहका आयोजक एभ्गेनी कोजोरेजोभ, रासुल हाम्जातोभका भतिजा हाम्जात हाम्जातोभ, दागेस्तानी प्रोफेसर सेर्गेइ मुर्तुजालिएभ आदि दागेस्तानी मित्रहरु स्वागतार्थ उभिएका थिए । अभिवादनको आदानप्रदानपश्चात् हामी भुर्इंतलामा रहेको रेष्टुराँतिर लाग्यौं । त्यहाँ दागेस्तानी तथा रुसी मित्रहरु पनि नेपाली राजदूत-दम्पतिकै प्रतीक्षामा थिए । दागेस्तानी कविकी सुपुत्री तासिर लगायत उनका परिवारजनहरुसित पनि चिनापर्ची भयो र श्याम्पियन भरिएको प्याला लिएर नयाँ वर्षको शुभेच्छाको आदानप्रदान गरियो ।
एक छिनपछि त्यहाँ उपस्थित सबैलाई नजिकैको ढोकाबाट विशाल हलमा निम्त्याइयो । त्यहाँ विभिन्न खानेकुराहरु र पेयपदार्थद्वारा सुसज्जित गोलाकार टेबुलहरु लहरै राखिएका थिए । एउटा टेबुलवरिपरि ९-१० जना बस्ने गरी ठाउँ-ठाउँमा मेचहरु राखिएका थिए । नेपाली राजदूतावास परिवारका सदस्यहरुसहित नेपालीहरुलाई मञ्चनेरैको टेबुलमा स्थान ग्रहण गर्न लगाइयो भने नजिकै रासुल हाम्जातोभको परिवारजनको टेबुल थियो ।
     
         
भव्य समारोहका आयोजक एभ्गेनी कोजोरेजोभले मञ्चबाट सबै उपस्थित पाहुनाहरुको स्वागत गर्दै बित्नै आँटेको सन् २०१३ लाई बिदाई र नयाँ वर्ष सन् २०१४ को सन्निकट शुभागमनको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएपछि नयाँ वर्षको सन्दर्भमा झिलिमिली सिंगारिने तलेसल्लाको बोटको सौन्दर्यगाथा गाइएको लोकप्रिय नववर्षवृक्ष गीतको संगीत-धून गुञ्जायमान भयो । नेपाली पाठकवृन्दको जानकारीका लागि बताइहालौं कि त्यस गीतको पहिलो श्लोकमा यस्ता शब्दहरु छन् :  
'वनैमा एक्ली जन्मिइन् तलेसल्ला है।
हिउँद-ग्रीष्म हरियो, सुरिलो थिइन् है !...'   
नेपालको तीनपटक यात्रा सम्पन्न गरेर काव्य सिर्जना गर्ने जनकवि रासुल हाम्जतोभका नेपालविषयक काव्यकृतिहरुको सचित्र प्रकाशनसित प्रत्यक्ष सम्बन्ध राख्ने कोजोरेजेभ पिता-पुत्र (एभ्गेनी तथा इभान) एवं नेपाली भाषामा  तिनको अनुवादकर्ता यस पंक्तिकारलाई पनि मञ्चमा निम्त्याएर रुस परराष्ट्र मन्त्रालयअन्तर्गत सामाजिक कूटनीति तथा स्वदेशवासीहरुको मामिलासम्बन्धी विभागका उपप्रमुख, दागेस्तानी कविका भतिजा हाम्जात हाम्जातोभले मेरो अनुवादमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित उक्त काव्यकृतिहरुको पुस्तक केही वर्षअघि उपहारस्वरुप पाएको स्मरण गर्दै यसै साल मास्कोमा रासुल हाम्जतोभको शालिक अनावरण समारोहपछि तीन भाषामा कविका कृतिहरुको छविग्रन्थ प्रकाशमा ल्याउने विचार गरिएको र अहिले त्यसले साकार रुप लिएको जनाउनुभएपछि मलाई पनि केही शब्द बोल्ने मौका मिल्यो । सन् १९६३ मा सोभियत लेखक संघको तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पहिलो पल्ट नेपालको यात्रा गर्ने दागेस्तानी कवि रासुल हाम्जातोभसंग उनको तेस्रो नेपालयात्रापश्चात् मास्कोस्थित लेखकगृहमा मेरो भेट हुँदा सन् १९८५ मा रुसी भाषामा 'नोभी मिर' ('नयाँ संसार') साहित्यिक पत्रिका (अंक ६, पृ. ३-२५) मा प्रकाशित नेपालविषयक काव्यकृतिहरु पढ्नासाथै तिनको अनुवाद गर्न चाहेको कुरा जनाउँदा कविबाट हर्षपूर्वक हात मिलाएर मौखिक स्वीकृति प्रदान गरिएको जानकारी दिएको थिएँ र आफ्नो नेपाली  अनुवाद अहिले रासुल हाम्जतोभको ९०-यौं जन्मजयन्ती, प्रथम नेपालयात्राको अर्धशताब्दी तथा दशौं स्मृतिदिवस परेको वर्ष 'बैंक इन्भेस्तिओन्नी सयूज' को तर्फबाट त्रिभाषिक छविग्रन्थ प्रकाशित गरिएकोमा हर्ष प्रकट गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेको थिएँ ।
  

उक्त बैंकका निर्देशक एभ्गेनी कोजोरेजोभले दागेस्तानी जनकवि रासुल हाम्जतोभको ९०-यौं जन्मजयन्तीप्रति समर्पित 'दुर्इ देवताप्रति' शीर्षकको छविग्रन्थको एक प्रति प्रदर्शन गर्दै सार्वजनिक गरेर त्यस पुस्तकको प्रकाशनको क्रममा धेरैपल्ट छापाखानामा गई साकार रुप दिने प्रयासमा जुटेको भए तापनि त्यसको कलेवर चाहिं पहिलोपल्ट देख्ने यस पंक्तिकारलाई लोकार्पण गरिएको त्यो प्रथम प्रति सुम्पिदिनुभएको थियो ।   
                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  
तत्पश्चात् रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटाज्यूले छविग्रन्थको लोकार्पण समारोहका सहभागीहरुसमक्ष बोल्दै एउटै गाताभित्र तीन भाषामा विश्वविख्यात दागेस्तानी कवि रासुल हाम्जातोभकृत नेपालविषयक काव्यकृतिहरु प्रकाशमा ल्याएर नेपाली र रसियाली जनताहरुबीच मैत्री विकासमा जस्तो योगदान पुर्याइएको छ त्यो सराहनीय रहेको अभिव्यक्ति दिंदै उपस्थित सबै महानुभावहरुलाई हिमाली देश नेपालको यात्रा गर्ने आह्वानसहित नववर्ष सन् २०१४ को शुभकामना व्यक्त गर्नुभयो ।
यस प्रकार नववर्षको पूर्ववेलामा दागेस्तानी कवि रासुल हाम्जातोभद्वारा आभार भाषामा रचिएको नेपालविषयक दुर्इ काव्यकृति 'जीवनचक्र' र 'जीवित देवी कुमारी' को रूसी तथा नेपाली भाषामा अनुवाद तथा युवा छविचित्रकार इभान कोजोरेजोभका कलात्मक रङ्गीन फोटोहरुसहित त्रिभाषिक छविग्रन्थको भव्य लोकार्पण नेपाल र रुसबीच मैत्री विकासको द्योतक बन्न पुगेको छ भन्न सकिन्छ । 
   
         
त्यस छविग्रन्थको भूमिकाबाट यहाँ म केही हरफको उद्धरण प्रस्तुत गर्न चाहन्छु : 'कविको  कृतित्वमा नेपालको कस्तो छाप परेको थियो भने उनले आफ्ना कैयौं कविता, वक्तव्य र अन्तवार्ताहरुमा नेपालको विषयमा चर्चा गर्नेगरेका थिए । नेपाली अचारजस्तै थोरै नै भए पनि तिक्खर र जीवन्त' (पृ. ७) ।
अन्त्यमा काव्य र कलाको सङ्गमस्वरुप यस छविग्रन्थको आमुख कविता 'दुर्इ देवताप्रति' कै निम्न दुर्इ चतुस्पदीको उद्धरण प्रस्तुत गर्न चाहन्छु । त्यसमा दागेस्तानी जनकविको वैचारिक धरातल पनि मुखरित भएको प्रतीत हुन्छ :
यौटा अवश्य नै हो है - गीतगायन देवता, 
लय-संगीतका देव, काव्य-वाङ्मय देवता ।
र अर्को - प्रेमका देव !.. छैन संशय क्यै ममा, -
ज्यून मुश्किल ठान्छु म यी दुवैको अभावमा ।।

हो, प्रेम - पहिलो मेरो सुरम्य गीतको लय ।
गीत - अनन्त आशक्ति तथा शाश्वत प्रणय ।।
हुन्छ जीवनसञ्चार मरेको मुटुमा पनि,
यी दुवै देवताबाट निस्के आदेशको ध्वनि !! 
(दुर्इ देवताप्रति, पृ. ११)
मास्कोको 'रेनेसाँ' रेष्टुराँमा नयाँ वर्षको पूर्ववेलामा छविग्रन्थको लोकार्पणको समेत सन्दर्भमा निकै रमाइलो वतावरणमा नाचगानसहित आयोजित भव्य संन्ध्याभोज पनि सुसम्पन्न भएको थियो ।  
दिनाङ्क : २७ डिसम्बर २०१३ (शनिवार),
मास्को, रुस महासंघ ।

No comments:

Post a Comment