Tuesday, January 7, 2014

मास्कोमा ओलम्पिक ज्योतिको कथा


ओलम्पिक खेलको जन्मभूमि ग्रीस (युनान) मा सेप्टेम्बरको अन्त्यतिर प्राचीन विधिद्वारा सूर्यको किरणबाट प्रज्ज्वलन गरिएको ओलम्पिक ज्योति ग्रीसका विभिन्न नगरहरुको परिक्रमापश्चात् विशेष विमानद्वारा ६ अक्टोबर २०१३ (आइतवार) का दिन अपरान्हमै रूसको राजधानीस्थित भ्नुकोभो विमानस्थलमा उतारिएको थियो । 


ओलम्पिक ज्योतिको भव्य स्वागतको दृश्य टेलिभिजनको पर्दामा मात्र नभई मास्कोको एउटा केन्द्रीय राजमार्ग लेनिन्स्की प्रोस्पेक्टको आफ्नो निवासस्थानको बार्दलीबाट समेत प्रत्यक्ष रूपमा देख्ने सम्भावना मलाई प्राप्त भएको थियो । 
केन्द्रबाट एकातिर जोर अङ्क र अर्कोतिर बिजोर अङ्कको हिसाबले ९९-सौं नम्बरको भवनमा रहेको मेरो निवासस्थानको सामुन्ने चौबीसै घण्टा गाडीहरू आवतजावत गरिरहेने फराकिलो राजमार्गमा गाडीहरूको आवागमन बन्द गरिएको थियो र मानिसहरू ओलम्पिक ज्योतिको स्वागतार्थ पेटीमा उभिएका थिए । यो विरल दृश्यलाई मैले क्यामरामा बन्द गरिहालें ।                     

 केही समयको पर्खाइपश्चात् भ्नुकोभो विमानस्थलबाट ५०० भन्दा बढी मोटरसाइकलबाजहरूको र्यालीसहित बाइसौं शीतकालीन ओलम्पिक खेलको ज्योतिलाई सोझै रूसको मुटु मानिने लालमैदानतिर लगिएको अभूतपूर्व दृश्य बार्दलीबाट हेर्दा जुन अनुभूति भएको थियो त्यो विशेष प्रकारको थियो ।           

त्यो ज्योति सरासर लालमैदानसम्म कसरी पुर्याइएको थियो भन्ने प्रत्यक्षवर्णन केन्द्रय टेलिभिजनहरूले प्रसारण गरिरहेका थिए । कलाकारहरूद्वारा गीत र नृत्यको प्रदर्शन भइरहेको लालमैदानमा विशेष रूपले बनाइएको मञ्चको अगलबगलमा ५ हजारभन्दा बढी व्यक्तिहरू ओलम्पिक ज्योतिको स्वागतार्थ उपस्थित थिए । त्यहाँ प्रसिद्ध खेलाडी, इन्जीनियर, ब्यालेनृतकी आदिले एकपछि अर्को गर्दै सिरुपाते आकारको ओलम्पिक ज्योतिको चिराग पालैसान्ती प्रज्वलन गर्दै ल्याएको एउटा चिरागबाट रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले लालमैदानमा बनाइएको भव्य चिरागमा ओलम्पिक ज्योति प्रज्वलन गरेर शीतकालीन ओलम्पिक खेल 'सोची-२०१४' को शुभारम्भ भएको घोषणासहित छोटो वक्तव्य दिनुभयो र ओलम्पिक ज्योतिलाई रूसी दन्त्यकथाको अग्निचरोको उपमा दिंदै रूसका ८३ संघटक एकाईहरूमा सम्पन्न गरिने ओलम्पिक ज्योतिको शोभायात्राको समुद्घाटन गर्नुभयो ।                   

तत्पश्चात् ओलम्पिक ज्योतिको सिरुपाते चिराग क्रमशः बाल्दै स्पास्की बुर्जाको मूलद्वारबाट क्रेमलिनको परिसरमा भित्र्याइयो । अचानक निभेको चिरागलाई प्रज्ज्वलन गरेर क्रेमलिन परिसर परिक्रमा गर्दै अर्को प्रवेशद्वारबाट बाहिर सडकमा दगुर्दै शीतकालीन ओलम्पिक खेल 'सोची-२०१४' सुरु हुन कति दिन र कति घन्टा बाँकी छ भन्ने संकेत दिन मास्कोको केन्द्रमा अवस्थित मानेझ्नाया प्लोश्याद (चोक) मा निर्मित ठूलो घडीसमक्ष र त्यहाँबाट पनि क्रेमलिन पर्खालको हाराहारीमा रहेको केन्द्रीय बगैंचामा प्रवेश गरी अज्ञात सैनिकको समाधिनेर प्रज्ज्वलित अखण्डज्योतिसामु पुर्याएर त्यहाँ दोस्रो विश्वयुद्धमा जर्मन फाशीवादको विरुद्ध डटेर सामना गर्ने सोभियत संघका विभिन्न वीरनगरहरूको रणक्षेत्रबाट ल्याइएको माटो राखेर बनाइएका मण्डपहरूको अगाडिबाट ओलम्पिक ज्योति साँट्दै लगिएको दृश्य पनि टेलिभिजनमा हेरेको थिएँ ।                   

यसरी मास्कोमा तीन दिनसम्म मास्को राजकीय विश्वविद्यालयको गगनचुम्बी भवनअगाडि मास्को नदीको डिस्कोमाथि रहेको सम्पूर्ण मास्को देखिने भोरोभ्एभो थुम्को, विजय पार्क, ओस्तान्किनोको टेलिभिजन टावर, मास्कोको भूमिगत रेल 'मेट्रो' लगायत विभिन्न स्थानहरूमा ओलम्पिक ज्योतिको सिरुपाते चिराग साँट्दै शोभायात्रा गरिएको थियो ।      
      मास्कोमा ग्रीसबाट ओलम्पिक ज्योति ल्याइएको यो दोस्रो घटना थियो । सन् १९८० मा मास्कोमा सम्पन्न भएको ग्रीष्मकालीन ओलम्पिक खेलको समयमा पनि पहिलोपल्ट यसरी नै ओलम्पिक ज्योतिको स्वागत भएको थियो, तर मैले टेलिभिजनको पर्दामा बाहेक प्रत्यक्ष रूपमा ओलम्पिक ज्योतिको विचरण देख्न पाएको थिइनँ । त्यतिखेर सोभियत संघद्वारा अफगानीस्तानमा सेना उतारिएको विरोधमा संयुक्त राज्य अमेरिकालगायत केही देशहरूले मास्कोको ओलम्पिक खेल बहिष्कार गरेको भए तापनि नेपाली खेलाडीहरूको अपेक्षतया निकै ठूलो समूहको त्यसमा सहभागिता रहेको थियो । मैले त्यतिखेर नेपाली खेलाडीहरूसँग व्यक्तिगत रूपमा परिचित हुने र रेडियो मास्कोको नेपाली सेवाको माध्यमबाट उनीहरूको खेलबारे प्रत्यक्षवर्णनका साथै अन्तरवार्ताहरू पनि प्रसारित गर्ने मौका पाएको थिए । मास्को ओलम्पिक खेलका सहभागी नेपाली खेलाडी टोलीका व्यवस्थापक विष्णुगोपाल श्रेष्ठ, नेपाली धावक वैकुण्ठ मानन्धर प्रभृतिसँग पछि काठमाडौंमा पनि भेटघाटको सम्भावना प्राप्त भएको थियो र काठमाडौंमा सम्पन्न भएको प्रथम नेपाली खेलकूद प्रतियोगिताको उद्घाटन समारोह पनि दशरथ रङ्गशालाको अतिथिमञ्चमा बसेर अवलोकन गर्ने सुअवसर प्राप्त भएको थियो ।         
     यसपटक रूसको दक्षिणमा पर्ने कृष्णसागर तटवर्ती स्वास्थ्यनगरी सोचीमा आउँदो वर्षको ७ फेब्रुअरीदेखि शीतकालीन ओलम्पिक खेल सम्पन्न हुँदैछ र त्यसै खेलकूद प्रतियोगिताका लागि ठीक ४ महिना अगावै ओलम्पिक ज्योति रूसको राजधानीमा आइपुगेको छ । अब रूस महासंघका ८३ संघटक एकाईहरूमा रहेका विभिन्न नगरहरूमा पनि मास्कोमा जस्तै गरी त्यसको स्वागत हुनेछ । यसका लागि ३ हजार थान सिरुपाते आकारका ओलम्पिक चिराग तयार पारिएका छन् । ओलम्पिक ज्योति साइबेरियास्थित बैकाल सरोवरको तटमा मात्र पुर्याइने नभई अन्तरिक्षमा पनि पुर्याइने छ र सूर्यलाई समेत पार गर्न ११ घण्टा लाग्ने विशाल रूसको पूर्वदेखि पश्चिमसम्म चार महिनाभरि चिराग साँट्दै यात्रा सम्पन्न गरेर अन्त्यमा शीतकालीन ओलम्पक खेलको राजधानी सोची नगरको नवनिर्मित क्रिडास्थलमा भव्यतापूर्वक प्रज्ज्वलित भई संसारभरि नै त्यसले शान्ति र सौहार्दताको ज्योति र्छर्नेछ ।    
शीतकालीन ओलम्पिक खेल सोची-२०१४ मा नेपाली खेलाडीहरूको सहभागिता हुने छ वा छैन भन्ने र नेपालमा शीतकालीन खेलका प्रतियोगिताहरू सम्पन्न हुन्छ कि हुँदैन भन्ने पनि मलाई थाहा छैन । तर हिमाली देश नेपालमा शीतकालीन खेलका लागि चाहिने सम्भावना भने प्रशस्तै छ र भविष्यमा अवश्य नै नेपाली खेलाडीहरूले यस क्षेत्रमा विश्व कीर्तिमान समेत स्थापित गर्नेछन् भन्ने कल्पना गर्न सकिन्छ । भविष्यमा कुनै न कुनै दिन ओलम्पिक खेलको जन्मभूमि ग्रीसमा प्राचीन विधिअनुसार सूर्यको किरणबाट प्रज्ज्वलन गरिएको ओलम्पिक ज्योति नेपालको राजधानी काठमाडौंमा पनि चम्कने छ भन्ने आशा र विश्वास छ...
      ९ अक्टोबर २०११,

मास्को, रूस महासंघ । 

No comments:

Post a Comment