Friday, January 3, 2014

रुसमा छापाखाना र पुस्तक-प्रकाशनको कथा



आजभन्दा ठीक ४५० वर्षअघि सन् १५६३ को १९ अप्रिलका दिन रुसमा पहिलो छापाखाना (तत्कालीन रुसी भाषामा पेच्यात्न्या) खोलिएको थियो र त्यस छापाखानाबाट रुसी भाषामा पहिलो पुस्तक प्रकाशमा ल्याइएको हालै १ मार्चका दिन ४४९ वर्ष पूरा भयो । यो रुसको सांस्कृतिक विकासमा ज्यादै महत्व राख्ने परिघटना थियो ।


मलाई अहिले  सन् १९६० मा रुसमा अध्ययनार्थ आउँदा यहाँ पनि नेपालमा झैं उल्टा अक्षरहरू ढालिएका धातुका टुक्राहरू राखिएको कोठे-टेबुलबाट चाहिने अक्षर टिपेर कम्पोज गरी प्रेसले पुस्तक वा पत्रपत्रिका छाप्नेगरेको सम्झना भएर आयो । त्यतिखेर जारकालीन रुसमा मास्कोमा क्रान्तिकारीहरुले माथिल्लो तलामा फलफूलको पसल खोलेर छिंडीभन्दा पनि मुन्तिर भूमिगत प्रेस राखी पर्चा आदि छाप्ने गरेको संग्रहालय पनि देख्न पाइएको थियो । मास्को राजकीय विश्वविद्यालयको पत्रिकारिता संकायमा पढ्ने क्रममा मैले रूसको राहधानीको केन्द्रमै विश्वविद्यालयको पुरानो भवनको छिंडीमा रहेको छापाखानामा कम्पोजिंगको काम पनि सिक्नुपरेको थियो । पछि सिंगै पंक्ति मोनोटाइप ढाल्ने मेशिन भएको छापाखाना पनि देखाइएको थियो । सोभियत संघमा छापाखानामा सरकारी स्वामित्व रहनुका साथै कसैले पनि निजी रुपमा केही छाप्न नपाउने हुनाले रुसका लागि नेपाली राजदूत झरेन्द्रनारायण सिंहको सौजन्यताबाट नेपाली छात्रसंघलाई नेपाली टाइपराइटर र लिथोमेशिन उपलब्ध गराइएको हुँदा मुखपत्र “किरण” पत्रिका प्रकाशमा ल्याउने सम्भावना पाइएको थियो । अहिले विज्ञान र प्रविधिले कति उन्नति गरिसकेको छ भने कम्प्युटरले नै कम्पोजको सारा काम सहजै गर्न थालेको छ । 
रुसमा पुस्तक प्रकाशनको मुहानमा इभान फ्योदोरोभ (कतिपय ग्रन्थमा इभान फ्योदोरोभिच मोस्कभितिन लेखिएको पाइन्छ) नामका एक प्रतिभावान् व्यक्ति रहेका थिए । उनको शालिक मास्कोको केन्द्रमा पर्ने किताइगोरोद भनिने ठाउँको प्रवेशद्वारनजिकै मूल सडकबाट केही अग्लो ठाउँमा रहेको छ र त्यहाँ प्रथम ग्रन्थ प्रकाशकले काम गरेको घर पनि सुरक्षित रहेको छ । त्यहाँ सोभियत कालमा पुस्तक पसल थियो भने हाल त्यहाँ एकातिर विदेशी मोटरकारको प्रदर्शनकक्ष र अर्कोतिर हीरामोतीको गहनापसल रहेका छन् । चोकमा भने रूसका प्रथम पुस्तक प्रकाशकको नाम र छापाखाना खोलिएको मिति “१५६३  १९ अप्रिल” अङ्कित स्तम्भमाथि इभान फ्योदोरोभको प्रतिमा यथावत् छ (आज बिहान त्यहाँ पुगेर खिचिल्याएको फोटो संलग्न छ)। 
  इभान फ्योदोरोभको प्रतिमा
रुसमा अतीतको सम्झना गराउने वस्तुहरुलाई हिफाजतपूर्वक सुरक्षित राख्ने गरिएको पाइन्छ भने हाम्रो संस्कारमा आफ्ना ऐतिहासिक वस्तुहरुको संरक्षण गर्ने प्रवृत्ति छैन भन्ने प्रतीत हुन्छ । नेपालको जेठो समाचारपत्र गोरखापत्रको कार्यालयमा उन्नाईसौ शताब्दीको मध्यतिर बेलायतबाट नेपालसम्म उडेर आइपुगेको तथाकथित गिद्धे प्रेसको अवशेष बाँकी रहेको छ भन्ने सुनिन्छ । नेपालका प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८५०-५१ (१९०८ साल) मा बेलायतको यात्राबाट फर्कंदा त्यो हाते प्रेस ल्याएको कथन छ । त्यसका थाप्लामा एउटा पखेटा फिंजाएको गिद्धको आकृति भएकाले त्यसले गिद्धे प्रेस भन्ने नाउँ पाएको थियो । सम्भवतः थापाथलीमा रहेको त्यस प्रेसको मद्दतले लिफाफा, टिकट, फाराम आदि सरकारी कागजात छापिन्थ्यो भन्ने प्रतीत हुन्छ । त्यसपछि सन् १८६२ (१९१९ साल) मा ठँहिटीमा रहेको मनोरञ्जन छापाखानाबाट केही धार्मिक पुस्तकहरु (मोक्ष सिद्धि, स्मार्त धर्मसंग्रह, स्तोत्रसंग्रह आदि) पुस्तकहरु छापिएको कथन छ । यसै छापाखानाबाट  सन् १८५३ (१९१० साल) मा तयार पार्न थालिएको पाण्डुलिपिबाट पूरै ३ वर्ष लगाएर चार ठेलीमा सन् १८७०-१८७२ (१९२७-१९२९ साल) मा “ऐनको किताब” (१०३८ पृष्ठ) प्रकाशित गरिएको थियो (देवकोटा ग्रीष्मबहादुर, नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, वि.सं. २०२४, पृ. २०-२१) । नेपालमा यी प्रेसहरु बाहिरबाट ल्याइएका थिए भने त्यसको तीन दशकपछि नेपालभित्रै बनेको पहिलो हाते प्रेसको इतिहास चाहिं निकै रोचक छ, यद्धपि हाल त्यसको कुनै अत्तोपत्तो छैन। आजभन्दा १२० वर्षअघि काठमाडौंनिवासी कुवेररत्न बज्राचार्य (चल्तीको नाम : दुरु काजी) ले त्यो फलामे हाते प्रेस बनाएका थिए...
सन् १४८० मा रुस जोलोतोओर्दिनका शासकहरु (तातार मंगोल आधिपत्य) बाट पूर्णतः मुक्त भइसकेको थियो । राजनैतिक स्वाधीनताका साथै सांकृतिक विकासको गति पनि तीव्र भयो र हस्तलिखित पुस्तकले नयाँ समयको आवश्यकताको पूर्ति हुन सकेन । त्यसताका एक प्रति हस्तलिखित पुस्तक तयार पार्न निकै समय लाग्दथ्यो । फेरि हातले लेख्दा र सार्दा कैयौं गल्तीहरु पनि हुनु स्वाभाविकै थियो । त्यसैले प्राचीन कालका हस्तलिखित ग्रन्थहरुको पाठ एकैनासको नहुने भई एउटै शीर्षकको ग्रन्थको पनि अनेकौ पाठभेदहरु पाइन्छन् । मुख्य कुरा त के भने लेखकले  सुन्दर बान्की परेका अक्षरमा ग्रन्थ लेख्न वा सार्न महिनौंसम्म दिनरात घोट्टिनुपर्दथ्यो । त्यसैले रुसका कतिपय हस्तलिखित ग्रन्थहरुको अन्त्यमा लेखकले यस्तो अभिव्यक्ति दोहार्याउने गरेको पाइन्छ :  
लेखिसकेपछि ग्रन्थ हुन्छ लेखक अन्ततः,
धरापबाट उम्केको खरायो झैं प्रफुल्लित ।। 
प्राचीन कालमा हस्तलिखित पुस्तक सबैको पहुँचभित्रको कुरा थिएन । अधिकांश मानिसहरु निरक्षर हुन्थे, तर साक्षरहरुमध्ये पनि सबैले हस्तलिखित ग्रन्थ पढ्ने सौभाग्य पाउँदैनथे । छालाले मोडेको गाता हालिएको यस्तो पुस्तक निकै महँगो पर्न आउँथ्यो ।
सन् १४५३ मा जर्मनीमा इओहान्न गुटेनबेर्गले पुस्तक प्रकाशनको आविष्कार गरिसकेको थियो र सन् १४६४ मा चेखियामा र त्यसपछि पोल्याण्डमा पनि स्लाभ भाषामा पुस्तक प्रकाशनको थालनी भइसकेको थियो । तर रुसका जार इभान चतुर्थले पुस्तक-प्रकाशनजस्तो महत्वपूर्ण कार्य विदेशीको हातमा सुम्पन उचित नठानेर सन् १५५२ मा “बाइबल” प्रकाशनका लागि विशेषज्ञ पठाउने डेन्मार्कका राजाको सुझाव इन्कार गरिदिएका थिए, यद्यपि चर्चलाई धार्मिक पुस्तकहरुको निकै खाँचो थियो । 
मास्कोको एउटा चर्चमा हस्तलिखित पुस्तक तयार पार्ने र सिकर्मीको काममा समेत निपुण इभान फ्योदारोभ पुस्तक प्रकाशनको कार्यमा लाग्न तयार भए । मास्कोमा क्रेमलिननजिकै निकोल्स्काया सडकमा छापाखानाको निर्माणमा उनले प्योत्र मस्तिस्लाभेत्सलाई भरपर्दो सहायकको रुपमा पाए । पन्द्रौं शताब्दीको अन्त्यतिर प्रचलित हस्तलिखित अक्षरजस्तै सुन्दर छापा रुसी अक्षर ढालेर मास्कोमा आजभन्दा ठीक  ४५० वर्षअघि  स्लाभ भाषामा “आपोस्तोल” (“देवदूत”) शीर्षकको पहिलो किताब छाप्ने काम सन् १५६३ मा थालियो र एक वर्षपछि सन् १५६४ को १ मार्चका दिन पुस्तक प्रकाशित गरियो । त्यसको १ वर्षपछि जार इभान चतुर्थबाट “चासोभ्निक” शीर्षकको पुस्तक प्रकाशनको आदेश आयो र सन् १९६५ को शरद्मा डेढ महिनामै त्यो पुस्तक तयार पारियो । त्यसै किताबको माध्यमबाट त्यतिखेर केटाकेटीहरुलाई पढ्नलेख्न सिकाइन्थ्यो । यसरी रुसमा पुस्तक प्रकाशनको शुभारम्भ भएको थियो । तर इभान फ्योदोरोभद्वारा मास्कोमा यी दुर्इ पुस्तक मात्र प्रकाशमा ल्याइएका थिए । रुसी भाषामा प्रकाशित पहिलो पुस्तक कति प्रति छापिएको थियो भन्ने एकीन नभए तापनि विशेषज्ञहरुले २ हजार प्रति छापिएको हुन सक्ने अनुमान लगाएका छन्, यद्धपि हाल ४ प्रति मात्र सेन्टपिर्टसबुर्गको राष्ट्रिय संग्रहालयमा सुरक्षित रहेको छ ।
नेपालमा पनि पुस्तक प्रकाशनको मुहानमा धार्मिक भावना नै उत्प्रेरक तत्व रहिआएको बुझिन्छ । संस्कृत र नेवारी भाषामा बौद्ध धर्मसम्बन्धी पुस्तकहरु प्रकाशित गर्ने उद्देश्यले नै काठमाडौंनिवासी कुवेररत्न बज्राचार्य (दुरु काजी) ले सन् १८९२ (१९४९ साल) मा फलामे हाते प्रेस बनाएका थिए । पाको पोखल्ड्याङमा “बुद्ध प्रेस” नामले सञ्चालित उनको प्रेसबाट ३० वर्षभित्र सन् १९२२ (१९७९ साल) सम्म भद्रचरी, बुद्धोक्त संसारमय, बोधिचर्यावतार, बोधि ज्ञानचर्या आदि धार्मिक पुस्तकहरु छापिएका थिए (ऐजन, पृ. २३) ।  
रूसी पुस्तक-प्रकाशक इभान फ्योदोरोभको जीवनबारे निकै कम तथ्य थाहा पाइएको छ  । पुस्तक छाप्ने कला उनले जार इभान ग्रोज्नीको अनुरोधमा डेन्मार्कका राजाले पठाएको विशेषज्ञबाट सिकेका थिए । वर्षौं लगाएर बल्लतल्ल एक थान हस्तलिखित पुस्तक तयार हुने समयमा रुसी प्रथम पुस्तक-प्रकाशक इभान फ्योदोरोभले एक-दुर्इ महिनाभित्रै सैयौं प्रति पुस्तक निकाल्न थाल्दा दानवकै सहयोगबाट मात्र यस्तो चमत्कार गर्न सकिन्छ भन्ने ठानेर पुस्तक प्रकाशकलाई नास्तिक भन्ने दोषारोपण गरिनु अस्वाभाविक थिएन । रोचक के पनि छ भने त्यतिखेर इभान फ्योदोरोभको यो कार्य सबैलाई मन परेको थिएन । पहिले हस्तलिखित पुस्तक तयार पार्ने र त्यसमा गाता हाल्ने मानिसहरु नै छापाखाना सञ्चालनका विरोधी बन्न पुगेका थिए । शत्रुहरुले उनको छापाखाना नै जलाइदिएका थिए । तसर्थ छापाखाना आगलागीमा परेको घटनापछि सम्भवत: ग्रोज्नी (भयङ्कर) भनिने जारको समेत कोपभाजन बन्नुपर्ला भन्ठानेर उनले आफ्ना बालबच्चा र छापाखानाका केही सामग्रीहरु समेत लिएर आफ्ना  सहयोगीको साथमा भागेर  प्राण बचाउनुपरेको थियो । उनीहरु भागेर लिथुआनिया गए, पछि उक्राइनामा पुगे । त्यहाँ पनि उनीहरुले पुस्तक प्रकाशनको कार्य जारी राखेर “प्साल्तिर” (प्रार्थनासंग्रह) र “बुक्वार” (वर्णमाला) प्रकाशमा ल्याए । 
उनको जीवनीले मलाई नेपालका एक प्रथम पुस्तक-प्रकाशक एवं आफ्नो समयका एक प्रकाण्ड पण्डित निष्ठानन्द बज्राचार्य (सन् १८५८-१९३५) को सम्झना गराउँछ । उनले काठमाडौंमा संस्कृत भाषाबाट बौद्धग्रन्थ “ललितविस्तार” को नेवारीमा उल्था गरेर सन् १९०१ तिर  प्रवचन दिन थालेका थिए । उनले त्यो धार्मिक ग्रन्थ छापेर प्रचार गर्ने विचार गरे, तर त्यसताका त्यस्तो विशाल ग्रन्थ छाप्ने कुनै गतिलो प्रेस काठमाडौंमा थिएन । त्यसैले उनले आफै कलकत्ता गई छपाइसम्बन्धी कार्य सिकेर एउटा प्रेस समेत साथमा ल्याए । नेपालभाषाको रञ्जना लिपि ढाल्ने झन्झटमा नलागी उनले आफ्ना सुपुत्र जुजुरत्नको सहयोगमा त्यो ग्रन्थ देवनागरी लिपिमै सन् १९१४ मा छापेका थिए । छिटै नै प्रथम संस्करण बिक्रीवितरण भएकाले दोस्रो संस्करण निकाल्न थाल्दा  राणाशासकहरुले रोक लगाइदिए । उनले पुरानै तिथिमिति राखेर लुकीछिपी नयाँ संस्करण निकालेका थिए । निष्ठानन्द बज्राचार्यले देवनागरी लिपिमै नेवारी पुस्तकहरु प्रकाशित गर्ने परम्पराको थालनी गरेर नेवारी साहित्यको विकासक्रममा सराहनीय योगदान पुर्याएका थिए (श्रेष्ठ कृष्णप्रकाश, नेपालभाषा साहित्य, वि.स. २०५४, पृ. १४) ।  
जे होस्,  इभान फ्योदोरोभले मास्कोमा आरम्भ गरेको कार्य बीचैमा रोकिएन... तत्कालीन रूसी जार इभान ग्रोज्नीले पुस्तक प्रकाशनमा यूरोपभन्दा पछि पर्न नचाहेर नै उनका लागि छापाखाना खोल्ने व्यवस्था मिलाइदिएका थिए । मास्कोमा त्यसभन्दा पहिले पनि कुनै छापाखानाले छाप्ने काम गर्न थालिसकेको बुझिन्छ । तर तिथिमिति र प्रकाशकको नामसहितको पहिलो ग्रन्थ चाहिं इभान फ्योदोरोभको ग्रन्थ “देयानिया इ पोस्लानिया आपोस्तोलोभ” (“देवदूतहरूको कार्य तथा सन्देश”) नै थियो र त्यो छोटकरीमा “आपोस्तोल” भनिन्थ्यो। यो धार्मिक विषयवस्तुमा आधारित मोटो पुस्तकको कलेवर पनि हस्तलिखित ग्रन्थकै अनुरुप थियो । अक्षरहरुको आकृति हस्तलिखितजस्तै हुनुका साथै हरेक अध्यायको पहिलो अक्षर अंगूरको लहरामा बेरिएको र रातो रंगमा छापिएको थियो । 
  छापाखानामा कार्यरत इभान फ्योदोरोभ
उक्त “आपोस्तोल” को पुछारमा यस्तो बेहोरा लेखिएको छ : “आफ्नो शासनको तीसौं वर्षमा धर्मपालक जारबाट राजकोषको रकम खर्च गरेर छापाखाना निर्माण गर्ने हुकुम बक्सियो । आफ्नो राजकीय सम्पत्तिको पर्वाह नराखेर जारबाट निर्माणकर्ताको रुपमा चमत्कारी गुस्तुन्स्कीको निकोला चर्चका दियाकोन इभान फ्योदोरोभ र प्योत्र तिमोफेएभिच मस्तिस्लाभेत्सलाई प्रकाशन कार्यको व्यवस्था मिलाउन र यो कार्य पूरा नहुञ्जेलसम्म उनीहरुलाई चाहिने कुराहरुको आपूर्ति गर्न आफ्नो राजकीय सम्पत्ति समेत प्रदान गरिबस्केको थियो” ।
यसरी इभान फ्योदोरोभले जार र धर्माधिकारी माकारिइबाट छापाखानाको व्यवस्था मिलाउने आज्ञा पाएका थिए । तर शत्रु लागेर उनले मास्कोमा पुस्तक प्रकाशनको कार्य जारी राख्न सकेनन् । यस सन्दर्भमा पनि इभान फ्योदोरोभले मार्मिक पाराले लेखेका थिए : “डाहा र विद्वेषले हामीलाई जन्मथलो र पितृभूमिबाट कहिल्यै नचिताएका देशहरुमा लखेटिदिए” । उनका अभिभावक धर्माधिकारी माकारिइको मृत्यु भइसकेकाले शत्रुहरुले जार इभान ग्रोज्नीलाई उनको विरुद्ध चुक्ली लगाउने सम्भावनाबाट त्रसित भएर पनि मास्कोमा बसिरहन उनले उचित नठानेको हुनु असम्भव छैन । त्यसैले उनी मास्कोबाट भाग्नुपरेको हुँदो हो । लिथुआनियामा पुगेपछि उनले त्यहाँका शासकबाट जीवनयापनका लागि गाउँमा जग्गाजमीनसहित आश्रय पाउनुका साथै आफ्नै छापाखाना समेत खोलेर धार्मिक ग्रन्थहरु प्रकाशमा ल्याई  मानिसहरुको हृदयमा आध्यात्मिक भावनाको बीउ र्छर्ने अर्थात् उनकै शब्दमा “ईश्वरप्रदत्त कार्य” मा संलग्न हुने अवसर पाए । तर आश्रयदाताहरुको देहान्तपछि उनी फेरि त्यहाँबाट पनि विस्थापित भई छापाखानाका सामग्रीसहित ल्भोभ (उक्राइना) पुगेर येनकेन प्रकारेण साधन जुटाई फेरि पुस्तक प्रकाशनमै संलग्न भए । आवश्यक साधन जुटाउन नसकी उनले सन् १५७४ मा आफ्नो छापाखाना नै बन्धकीमा राख्नुपरेको थियो । इभान फ्योदा्रोभको मृत्यु सन् १५८३ को ५ डिसम्बरका दिन भयो । तर उनले जुन पवित्र कार्यको शुभारम्भ गरेका थिए, त्यसले रुसलाई सम्पन्न साहित्य र विकसित संस्कृति भएको संसारको एक महान् राष्ट्रमा परिणत गरिदिएको छ । 
  
यहाँनेर कुन कुरा पनि उल्लेख गर्न चाहन्छु भने रुसमा विभिन्न नगरहरुमा सोह्रौं शताब्दीमा शिक्षाप्रचारको उद्देश्यले मात्र नभई क्याथोलिक धर्मको प्रसारविरुद्ध समेत ग्रन्थहरुको प्रकाशनार्थ जताततै छापाखानाहरु खोलिएका थिए । यी छापाखानाहरुबाट त्यसताका लोकभाषामा अनूदित बाइबल र अन्य धार्मिक सामग्रीहरुको व्यापक प्रकाशन हुन्थ्यो । तर नेपालमा भने रूसमा भन्दा ३ सय वर्षपछि उन्नाईसौं शताब्दीको मध्यदेखि मात्र छापाखाना अस्तित्वमा आयो । स्मरणीय के पनि छ भने हाल रुसी भाषामा संसारका विभिन्न भाषाहरुबाट अनूदित साहित्यिक कृतिहरु मात्र नभई दार्शनिक र धार्मिक ग्रन्थहरु समेत उपलब्ध छन् । उदाहरणार्थ, भागवत् गीता (श्लोकबद्ध समेत) र धम्मपद मात्र होइन कि चारै वेदहरू (ऋग्वेद मात्र पनि टिप्पणी सहित ३ ठेलीमा), उपनिषद्, महाभारत (अठारै पर्व १८ भागमा), रामायण, पुराणहरु समेत रुसी भाषामा पढ्न पाइन्छ । मैले देख्दादेख्दै गतः आधा शताब्दीभित्र रुसमा नेपालविषयक मौलिक तथा अनूदित १०० भन्दा बढी पुस्तकहरु प्रकाशित भइसकेका छन् । रुसमा साढे चार शताब्दीयता पुस्तक प्रकाशनको क्षेत्रमा अभूतपूर्व प्रगति भइसकेको कुरा सर्ववीदितै छ ।
दिनांक : ११ मार्च २०१३ (सोमवार),
मास्को, रुस महासंघ  ।

No comments:

Post a Comment