Tuesday, January 7, 2014

रुसमा निर्मित नयाँ जेरुसलमको कथा


मास्कोबाट ६० किलोमिटर मात्र टाढा इस्त्रा भनिने क्षेत्रमा नयाँ जेरुसलम नामक मोनेष्ट्री रहेको छ । सन् १६५६ मा रुसका धर्माधिकारी पैत्रिआर्क निकोनले मास्कोलाई तृतीय रोम बनाउने विचारलाई साकार रुप दिने उद्देश्यले मास्कोको नजिकै एक रमणीय स्थलमा जेरुसलमको नक्कल उतारेर बनाएको मोनेष्ट्रीले नयाँ जेरुसलम भन्ने नाउँ पाएको छ ।  

त्यहाँ मोनेष्ट्री बनाउन सुरु गरेको १० वर्षपछि धार्मिक विवादमा परेका निकोनलाई निर्वासन गरिएको थियो र १४ वर्षसम्म उनले निर्वासित जीवन बिताउनुपरेको थियो । मोनेष्ट्री परिसरबाट निकै तल जोर्डन भन्ने नामकरण गरिएको नदीको किनारैमा निकोनको एकान्त कुटी (स्कीत) रहेको छ । रुसी जार फ्योदोर अलेक्सेएभिचको आदेशअनुसार नयाँ जेरुसलम नामक मोनेष्ट्रीको निर्माणकार्य फेरि सुचारु ग्रियो र आसपासका अन्य २० वटा मोनेष्ट्रीसहित किसानहरुको १६३० घरधुरी रहेको विशाल जग्गाजमीन पनि यस मोनेष्ट्रीलाई प्रदान गरियो ।

सर्वप्रथम नेपाली पाठकलाई इस्त्रा क्षेत्रकै बारेमा संक्षेपमा बताउन चाहन्छु । वरिपरि थुम्काथुम्कीहरु रहेकाले रुसको स्वीटजरल्याण्डभनिने यस क्षेत्रमा बग्ने नदीको नामबाटै यूरोपीय रुसको केन्द्रमा अवस्थित यस क्षेत्रले इस्त्रा भन्ने नाउँ पाएको छ । इस्त्राविषयक एउटा पथप्रदर्शिकामा भनिएजस्तै जुनसुकै ऋतुमा पनि यो क्षेत्र रमणीय देखिन्छ । वसन्तमा प्रकृति नै जागृत भएको स्मरण गराउने नवपल्लवित दृश्यले आकर्षित गर्दछ भने ग्रीष्ममा रङ्गीचङ्गी फूलहरुको सुवास छर्ने वनमैदानहरुले ल्योभ्याउँछन् । अनि सुनौला शरद् ऋतुमा सप्तरङ्गी मनोरम सौर्न्दर्यले नेत्रलाई आनन्द प्रदान गर्दछ भने हिउँदमा रुसको फराकिलो शुभ्र श्वेत हिमाच्छादित फाँटले आल्हादित तुल्याउँछ । मास्को अञ्चलको यो क्षेत्र रमणीय प्राकृतिक दृश्यका लागि मात्र नभई प्राचीनताको गहिराईसम्म जरा गाडिएको इतिहासद्वारा पनि सुसम्पन्न छ । असीम फाँट र वनजङ्गलले युक्त यस रमणीय क्षेत्रमा मनोरम तालतलैया र खोलानालाहरुको किनारामा प्राचीन नगरहरु, ऐतिहासिक भवनहरु, मन्दिर, गिर्जाघर र मोनेष्ट्रीहरु अर्थात् रुसी संस्कृतिका अनुपम र अमूल्य स्मारकहरु पनि देख्न पाइन्छ। यस्तै एउटा भव्य स्मारक हो नयाँ जेरुसलम मोनेष्ट्री ।
                                                      
मास्को अञ्चलमा इस्त्रा नदीको किनारामा बनेको नयाँ जेरुसलमको रुप क्रिश्चियन धर्माबलम्बीहरुको पवित्र भूमि मानिने जेरुसलमकै अनुरुप रहेको छ । त्यहाँ पनि जेरुसलममा जस्तै विफ्लेएम, गालिलेर्इ, एलेओन आदि स्थानहरु छन् र त्यहाँनेर बग्ने नदीले समेत जोर्डन भन्ने नाम पाएको छ । नयाँ जेरुसलम केही सानो आकारको भए पनि यसको प्रारुपस्वरुप रहेको झण्डै वास्तविक जेरुसलमजस्तै छ । सन् १६८१ मा दिवंगत भएका पेटि्रआर्क निकोनले आफ्नो कल्पना साकार भएको देख्न पाएनन् । मोनेष्ट्रीका प्रमुख आर्किमान्डर्रिट निकानोरले शिल्पकार सेर्गी तर्चानिनोभको सहयोगबाट यसको निर्माण पूरा गरे । भूमिगत चर्चसहित विशाल भोस्क्रेसेन्स्क गिर्जाघर र घन्टघरको निर्माण सन् १६८५ मा पूरा गरिएको थियो ।
पहिलोपल्ट म १५ वर्षअघि त्यहाँ पुग्दा झण्डै भग्नावशेषको रुपमा रहेका यी स्मारकहरूमा प्रवेश गर्न रोक लगाइएको थियो भने यसपल्ट इस्त्रा स्वास्थ्यनिवासमा आरम लिइरहेको समयमा ३ जुलाई २०१३ (बुधवार) का दिन म त्यहाँ पुग्दा नयाँ जेरुसलमका यी केन्द्रीय आकर्षणको जीर्णोद्धार चलिरहेको थियो । पथप्रदर्शिकाको भनाइअनुसार घन्टघरको जिर्णोद्धार म त्यहाँ पुगेकै दिन मात्र पूरा भएको थियो रे । निर्माणार्थ लगाइएको पर्दा हटाइएकाले त्यसलाई बाहिरबाट हेर्न पाइएको थियो । त्यसैको बगलमा बाहिर राखिएको रुसका नामी तीनजना सन्तको आकृति अंकित हुनाले त्रिसन्त भनिने ठूलो घन्टको मलाई राम्रै सम्झना थियो र यसपल्ट त्यसैको बगलमा उभिएर फोटो पनि खिचेको छु । म १५ वर्षअघि त्यहाँ पुग्दा जीर्ण देखिने विशाल गिर्जाघर बन्द गरेर राखिएको भए पनि भूमिगत चर्च मात्र राम्रोसंग हेर्न पाएको थिएँ । तर यसपटक चाहिं त्यो महत्वपूर्ण सानो चर्च जीर्णोद्धारका लागि बन्द भए पनि विशाल गिर्जाघरभित्र जीर्णोद्धार चलिरहेकै भए पनि भित्र पसेर अवलोकन गर्ने सम्भावना पाइएको थियो । त्यहाँ राम्ररी अरु केही देख्न नपाइए तापनि यिशुख्रिष्टलाई शूलीमा चढाइएपछि दफनाइएको मानिने सानो कक्षमा पसेर हेर्न सकिएको थियो, तर त्यहाँ फोटो खिंच्न निषेध गरिएको रहेछ । त्यसैले विशाल गिर्जाघरको जीर्णोद्धार कसरी भइरहेको छ भन्ने बाहिरबाट फोटो लिएर चित्त बुझाउनुपरेको थियो ।                     

यहाँनेर नेपाली पाठकलाई कुन कुरा पनि बताइहालौं भने विशाल गिर्जाघरको निर्माण भएको ३० वर्षपछि नै गुम्बजाकार छाना भत्कियो र सन् १७६१ मा भ.रास्त्रेल्लीको परियोजनाअनुसार पुनः निर्माण गरिएको हुनाले त्यसमा रुसको वास्तुकला र पश्चिमी यूरोपको बारोक्को शैलीको सम्मिश्रण देखिन्छ भन्ने कलाविदहरुको धारणा छ । सन् १६९० मा किल्लाको रुपमा चारैतिर पर्खालले घेरेर माथि अग्लो चर्चसहितको मूलद्वार बनाइयो । मोनेष्ट्रीको सुरक्षार्थ बनाइएको ८ वटा बुर्जासहित ३ मिटर चौडा र ९ मिटर अग्लो पर्खाल भएको षड्कोणाकार  किल्ला आफैमा वास्तुकलाको नमूना हो भन्न सकिन्छ । किल्लाको पर्खालको भित्रपट्टि तल कोठाहरु र माथि छाना हालेको बार्दलीजस्तो हिंड्ने बाटो पनि छ । त्यसैताका जारनी (महारानी) ताच्याना मिखाइलोभ्नाको खर्चमा यिशुख्रिष्टको जन्मप्रति समर्पित चर्चको निर्माण पनि पूरा गरियो । नजिकै जारनीले आफ्नो लागि निकै सादा खालको एकतले र्इंटको भवन पनि निर्माण गराएकी थिइन् ।                         

यो मोनेष्ट्री जार परिवारको तीर्थस्थलको रुपमा रहेको थियो । यस मोनेष्ट्रीअन्तर्गत पछि विभिन्न समयमा बनेका सबै भवनहरुको यहाँ उल्लेख गर्नु सम्भव छैन । त्यहाँ नै पैट्रिआर्क निकोनको समाधिका साथै अन्य प्रसिद्ध व्यक्तिहरुको चिहानघारी पनि रहेको छ । अक्टोबर क्रान्तिपश्चात् सन् १९१९ मा मोनेष्ट्री बन्द गरिएपछि त्यहाँ संग्रहालय सञ्चालन गरियो । अनि सन् १९७० मा तल्तिर भिरलोमा बनेको गेफ्सिमान बगैंचामा आसपासका गाउँहरुबाट रुसी ढङ्गले बनाइएका काठका घर, हावाघट्ट, चर्च आदि ल्याएर नृवंशात्मक संग्रहालय पनि खोलियो । तर माथिल्लो र तल्लो भागको बीचमा रहेको संग्रहालय भवनको पनि जीर्णोद्धार भइरहेको हुँदा संग्रहालय हेर्न र त्यहाँ बाटो बन्द गरिएकाले निकै तल रहेको जोर्डन नदीसम्म जान र त्यसैको बगलमा रहेको निकोनको कुटी (स्कीत) पनि यसपल्ट हेर्न पाइएन । कुटी भन्नाले पाठकहरुलाई छाप्रो भन्ने लाग्न सक्छ भन्ने विचारले त्यसको फोटो खिंचेर ल्याउने सुर थियो । पैटि्रआर्क निकोनको एकान्त कुटी नै सिंगमर्मरले बनेको तीनतले भव्य बङ्गला जस्तै छ र त्यसैमा उनको निजी चर्च समेत रहेको छ ।           

मैले त पहिले पनि त्यो सब देखिसकेको र बस पनि छुट्ने सम्भावना भएकाले किल्लाबाहिर पर्ने घुमाउरो बाटोबाट एक्लै तलसम्म गइनँ । दोस्रो विश्वयुद्धमा फाशिवादी फौजले इस्त्रातर्फबाट मास्कोमा हमला गरेको थियो र जर्मन फौजबाट यस भव्य मोनेष्ट्रीलाई निकै ठूलो क्षति पुग्न गएको थियो ।    

संग्रहालयका वस्तुहरु आंशिक रुपमा पहिलेबाटै सुरक्षित स्थानमा सारिएको हुँदा बच्न गएका थिए तर युद्धकालमा क्षतिग्रस्त मोनेष्ट्रीको जीर्णोद्धारसम्बन्धी कार्य अहिलेसम्म पनि जारी नै छ । नयाँ जेरुसलमको अवलोकनपछि दर्शनार्थीहरुले त्यहाँ जमीनमुनिको मुहानबाट निस्कने पानी भने पवित्र जलको रुपमा सिसीमा भरेर लाने गरेको हुँदा मैले पनि एक बोतल पानी लिएँ र बसद्वारा स्वास्थ्यनिवासतिर फर्किएँ

दिनाङ्क : १५ अक्टोबर २०१३ (बुधवार), मास्को, रुस महासंघ । 

No comments:

Post a Comment