Friday, January 3, 2014

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

मास्कोस्थित गणतन्त्र दागेस्तानको प्रतिनिधिप्रासादमा बीसौं-एक्काईसौं शताब्दीहरूको संघारमा दागेस्तान र नेपालका सामाजिक-आर्थिक तथा नृवंशात्मक-सांस्कृतिक समस्याहरू भन्ने व्याख्यात्मक वाक्यांसहित ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक शीर्षक बोकेको पुस्तकको लोकार्पण ५२-औं अन्तरिक्षदिवस (१२ अप्रिल २०१३) कै सुअवसरमा रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा तथा रुसका राष्ट्रपतिअन्तरगत दागेस्तानका स्थायी प्रतिनिधि अलेक्सान्द्र इगोरेभिच एर्मोश्किनबाट भएको छ । विश्वको सर्वोच्च हिमश्रृंखलाको काखमा अवस्थित नेपाल र ककेशिया पर्वतश्रृंखलाको काखमा अवस्थित दागेस्तानबीच समानता र विषमताको तुलनात्मक अध्ययनका लागि रुसी भाषामा हालै प्रकाशित यस ग्रन्थबाट निकै सहयोग पुग्न सक्तछ । यो दागेस्तानी तथा नेपाली लेखकद्वय क्रमशः सेर्गेइ मुर्तुजालिएभ तथा यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) को  संयुक्त कृति हो । 

रूस (दागेस्तान) का विद्वान्द्वारा गणतन्त्र दागेस्तानको विषयमा पहिलो खण्डअन्तर्गत गणतन्त्रका सामाविक-आर्थिक तथा नृवंशात्मक-धार्मिक समस्याहरू, पहाडी खण्डको सम्बन्धमा गणतन्त्रको नीति-निर्माण, गणतन्त्रको “पहाडी क्षेत्रबारे” विधेयकको कार्यान्वयनको प्रारम्भ (र्इ.सं. २०१०-२०११) र उत्तरी ककेशियामा राष्ट्रिय-राज्यको निर्माण तथा अल्पसंख्यक आदीवासी जनजातिहरूको अवस्था (बीसौं शताब्दीको सन् १९९० को दशक - एक्काईसौं शतब्दीको आरम्भ) भन्ने विषयवस्तुअन्तर्निहित चार अध्याय समाविष्ट छन् भने यसै पंक्तिकारबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सन्दर्भमा लिखित द्वितीय खण्डअन्तर्गत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा शीर्षकको अध्यायमा नेपालमा प्रजातन्त्रका लागि संघर्षको तीन चरणको अन्त्यमा गणतन्त्र घोषणा र संघात्मक व्यवस्था निर्माणका लागि राजनैतिक शक्तिहरूबीच द्वन्द्वको संक्षिप्त विवेचना प्रस्तुत गरिएको छ भने देशको समक्ष विद्यमान राजनीतिक-आर्थिक तथा सामाजिक-सांस्कृतिक समस्याहरू भन्ने शीर्षकको दोस्रो अध्यायमा चाहिं विभिन्न उपशीर्षकहरुमा नेपालको प्रादेशिक तथा प्रशासकीय विभाजन,  प्राकृतिक स्रोत-साधनहरूको उपयोगका आर्थिक सम्भाव्यताहरू तथा पर्यटन र पर्वतारोहणको विकास, नेपाल र रूसबीच आर्थिक सम्बन्ध, नृवंश-वर्णव्यवस्थात्मक समस्याहरू, धर्मनिरपेक्ष राज्यको घोषणापश्चात् नेपालको धार्मिक स्थिति, नेपालको लोकवार्ता एवं लोकसाहित्य र रासुल हाम्जातोभका काव्यहरूमा नेपाल आदि विषयमा प्रकाश पारिएको छ । प्राक्कथन, उपसंहार, परिशिष्ट तथा सन्दर्भ ग्रन्थसूची समावेश गरिएको ३०४ पृष्ठ भएको यस मोटो गातायुक्त सचित्र ग्रन्थमा बीसौ शताब्दीको अन्तिम चरण र एक्काईसौं शताब्दीको प्रथम चरणको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक स्थितिको विवेचनाको माध्यमबाट दुवै पहाडी प्रदेशको वर्तमान स्थितिको परिचय दिने प्रयास भएको छ । 
झण्डै दुर्इतिहाई क्षेत्रफलमा पहाडी धरातल भएको नेपाल र दागेस्तान दुवै बहुभाषिक तथा बहुनृवंशात्मक प्रदेश हुन् । नेपाल एशिया महाद्वीपको मध्यभागमा पर्ने भूपरिवेष्ठित स्वतन्त्र र र्सार्वभौम देश हो भने  दागेस्तान रुस महासंघअर्न्तर्गतको भूपरिवेष्ठित क्यास्पियनसागरको किनारामा रहेको एक गणतन्त्र हो ।  नेपाल संघीय गणतन्त्र घोषित भएको ५ वर्षमात्र भयो भने दागेस्तानले झण्डै एक शताब्दी लामो गणतन्त्रीय अनुभव हासिल गरिसकेको छ । दागेस्तानको अधिकांश जनसंख्या इस्लाम धर्माबलम्बी छ भने नेपालमा अधिकांश हिन्दू र बौद्ध धर्माबलम्बीहरुको बसोवास छ । नेपाल र दागेस्तानको जनजीवनको सादृश्यता र धार्मिक तथा सांस्कृतिक विभेदको विषयमा दागेस्तानी कवि रासुल हाम्जातोभले नेपालविषयक काव्यकृतिमा रोचक पाराले वर्णन गरेका छन् ।
यस पुस्तकको लोकार्पणको सन्दर्भमा के पनि भन्नु पर्बछ भने यसै संयुक्त कृतिको विषयवस्तुकै आधारमा १२ अप्रिल २०१३ का दिन मास्कोस्थित दागेस्तानको स्थायी प्रतिनिधिभवनमा “दागेस्तान र नेपालको सांस्कृतिक सादृश्यता र विभेद” भन्ने विषयवस्तुमा गोल टेबुल सम्मेलनको आयोजना गरिएको थियो र नेपाल र दागेस्तानबीच विषमताभन्दा समानता बढी भएको निष्कर्षनिकालिएको थियो । नेपालीहरुजस्तै दागेस्तानवासीहरु पनि अतिथ्यसत्कारी, मिलनसार, श्रमप्रेमी र लगनशील छन् भन्ने कुरामा सबै वक्ताहरुले जोड दिएका थिए । रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटाले संसारका १० सपौच्च हिमशिखरहरुमध्ये ८ वटा नेपालमा रहेको जनाउनुभएको थियो भने रुसी राष्ट्रपतिअर्न्तर्गत दागेस्तानका स्थायी प्रनिनिधिले दर्ुगम पहाडको जटिल र कठोर जीवनपद्धतिले गर्दा दुवै ठाउँका मानिसहरुको चरित्र खारिएको अभिव्यक्ति  दिनुभएको थियो ।

नेपाल र दागेस्तानका प्रतीक चिन्हहरुकै उल्लेख गर्न सकिन्छ । नेपालको झण्डामा र दागेस्तानको राष्ट्रिय चिन्हमा अंकित सूर्यले जीवनको स्रोत प्रकाशको द्योतन गर्दछ । दागेस्तानमा बाज सत्ताको प्रतीक हो भने नेपालीहरु डाँफेलाई प्राकृतिक सौन्दर्यको प्रतीक मान्दछन् । तुर्क भाषाको “दाग” अर्थात् ढुंगा र “स्तान” अर्थात् देश शब्द मिलेर दागेस्तान भन्ने स्थाननाम अस्तित्वमा आएको छ, यद्यपि यस शब्दका अन्य व्याख्याहरु पनि छन् । नेपाल पनि दुर्इ प्राचीन शब्दहरुकै संयोगबाट  बनेको छ र यस पंक्तिकारबाट संकलित २९ प्रकारका विभिन्न अर्थहरुमध्ये “नेप” भनिने जातिको देश, गुफाकन्दराको देश र ऊनको देश आदि व्याख्याका साथै नेमुनिद्वारा पालना गरिएको देश भन्ने अर्थ लोकप्रिय बन्न पुगेका छन् (हेर्नोस्, कृष्णप्रकाश श्रेष्ठ, स्थाननामकोश, वि.सं. २०६७, पृ. २२१-२२६) ।
रुस महासंघको मानचित्रमा दागेस्तानको अवस्थिति दक्षिणी पुछारमा छ भने एशियाको मानचित्रमा नेपालको अवस्थिति झण्डै मध्यभागमा छ र भारतको उत्तर तथा चीन (तिब्बत) को दक्षिणमा पर्दछ । नेपालको ७७ प्रतिशत क्षेत्रफलमा उच्च हिमाली र पहाडी भूखण्ड रहेको छ जहाँ सन् २००१ को तथ्यांकअनुसार जनसंख्याको ५२ प्रतिशत वासिन्दा बस्तछन् भने देशको २३ प्रतिशत मात्र समथर क्षेत्रफल रहेको तर्राईमा जनसंख्याको ४८ प्रतिशतको बसोवास रहेको छ ।  दागेस्तानको क्षेत्रफल चाहिं ५०.३ हजार वर्गकिलोमिटर (सम्पूर्ण रुसको ३४० सौं खण्ड) अर्थात् डेन्मार्क, देल्जियम वा मोल्दाभियाभन्दा ठूलो छ भने नेपालको क्षेत्रफल १४७.१८१ हजार वर्गकिलोमिटर (अर्थात् दागेस्तानभन्दा झण्डै तीन गुना ठूलो) छ । सन् २०१० को जनगणनाअनुसार दागेस्तानको जनसंख्या २९.७ लाख रहेको छ र यसमध्ये आभार (२९.४ प्रतिशत), दार्निन (१७ प्रतिशत), कुमिक (झण्डै १५ प्रतिशत), लेज्गिन (१३.३ प्रतिशत) र लाक -५.६ प्रतिशत) भाषाभाषी छन् भने अरु अल्पसंख्यक छन् । गणतन्त्रबाहिर पनि ७ लाखभन्दा बढी दागेस्तानीहरु बस्तछन् । नेपालको जनसंख्या दागेस्तानको भन्दा झण्डै ८ गुना बढी छ ।
दागेस्तानमा ६२५५ खोलानालाहरु बग्दछन् जसमध्ये तेरेक, सामुर,  सुलाक र रुबास नदी मुख्य मानिन्छन्  भने नेपालमा पनि उत्तरबाट दक्षिण हानिंदै बग्ने  सीमावर्ती मेची र महाकालीका अतिरिक्त कोशी, गण्डकी र कर्ण्र्ाा नदीप्रणालीहरु रहेका छन् । दुवै पहाडी प्रदेशको जलस्रोत र विद्युत् क्षमता निकै विपुल छ, तर नेपालको तुलनामा अपेक्षतया सानो क्षेत्रफल र कम जनसंख्ा भएको दागेस्तानले नेपालले भन्दा बढी जलविद्युत् उत्पादन गर्दछ । 
नेपाली पाठकहरुको निम्ति यस विषयमा दागेस्तानका केही तथ्यांकहरु उद्धृत गर्नु रोचक हुने छ । वाषिर्क ५५ अरब किलोवाट घन्टा जलविद्युत् सम्भाव्यता रहेको दागेस्तानमा क्रियाशील रहेका केही जलविद्युत् केन्द्रहरुमध्ये चिर्केइस्क -१०० मेगावाट), र्इगानाइस्क -४०० मेगावाट), मिआत्लिन्स्क (२२० मेगावाट), चिर्यर्ुतस्क -१२५ मेगावाट), गेर्गेबिल्स्क (१७.८ मेगावाट), गुनिब्स्क (१५ मेगावाट) आदि उल्लेखनीय छन् । यस तथ्यबाट नै जलविद्युत् केन्द्रको निर्माणमा दागेस्तानको अनुभव नेपालका लागि  उपयोगी हुने ठान्दछु ।   
अहिले नेपाल र दागेस्तानमा देखापरिरहेको सामाजिक आर्थिक तथा नृवंशात्मक सांस्कृतिक  परिवर्तनको तुलनात्मक विश्लेषणको आधारमा यी दुवै प्रदेशका सामु रहेका कैयौं समस्याहरुको समाधानका लागि एक दोस्राको अनुभव निकै उपयोगी हुन सक्छ । उदाहरणार्थ नेपालको वर्तमान अवस्थामा देखापरिरहेका नृवंशात्मक सांस्कृतिक   समस्याहरुको सही समाधान पहिल्याउन दागेस्तानको अनुभव निकै फलदायी हुन सक्छ भन्ने मलाई लाग्छ । नेपाल र दागेस्तानका पहाडी इलाकामा बस्ने अल्पसंख्यक आदिवासीहरुको स्थितिमा निकै समानता रहनु स्वाभाविकै छ र आंशिक रुपमा दागेस्तानको र समष्टिगत रुपमा रुसकै राष्ट्रिय प्रश्नको समाधानको दृष्टान्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भावी स्वरुपको निरुपणमा महत्वपूर्ण उदाहरण बन्न सक्तछ भन्ने मलाई लाग्छ ।
नेपालझैं दागेस्तान पनि भौगोलिक दृष्टिले एकसमान हुनुका साथै नृवंशात्मक तथा भाषिक विविधताले पनि उत्तिकै सुसम्पन्न छ । नेपालमा ९० भन्दा बढी नृवंशात्मक समूहको वसोवास रहेझैं दागेस्तानमा १२० भन्दा बढी नृवंशात्मक समूहको अस्तित्व रहेको छ तापनि ३० भन्दा बढी जनजातिहरु यहाँका रैथाने आदिवासी हुन् । नेपालमा मुख्यतः भारोपेली र तिब्बतबर्मेली (हिमाली) भाषापरिवारका २० वटा जति राष्ट्रिय भाषा भएझैं दागेस्तानमा उत्तरी ककेशियाली, आल्र्टाई तथा भारोपेली गरी ३ भाषापरिवारका भाषाभाषीहरु छन् भने १४ वटा भाषाहरुले राजकीय भाषाको मान्यता पाएका छन् । दागेस्तानको एक प्रमुख भाषा अर्थात् आभार भाषामा नै ५० वर्षअघि सन् १९६३ मा नेपालको पहिलोपल्ट यात्रा गर्ने महाकवि रासुल हाम्जाताभले “जीवित देवी कुमारी” तथा “जीवनचक्र” शीर्षकमा नेपालविषयक दुर्इ काव्यकृतिको रचना गरेका थिए । तीनपटक नेपाल पुगेका दागेस्तानी कविको लेखनीबाट निसृत उक्त काव्यकृतिहरु रुसी भाषामा अनुवाद भई सन् १९८५ मा मास्कोमा प्रकाशित गरिएपछि यसै पंक्तिकारको अनुवादमा नेपालीमा पनि “जीवित देवी” भन्ने साझा शीर्षकमा ती काव्यकृतिहरु नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशमा ल्याइएको थियो । दागेस्तान र नेपालबारे मास्कोमा प्रकाशित संयुक्त पुस्तकको शीर्षक नै रासुल हाम्जातोभको उक्त काव्यकृतिबाट पैंचो लिइएको हो र उक्त पुस्तकको एक सिंगै प्रकरणमा दागेस्तानी कविका नेपालविषयक काव्यहरुबारे मैले आफ्नो संक्षिप्त प्रतिक्रिया समावेश गरेको छु । 
रुसअन्तर्गतको दागेस्तान गणतन्त्र र संघीय लोकतान्त्रिक गणन्त्र नेपालका पहाडी तथा त्यसको समीपवर्ती समथर क्षेत्रहरुको विकासका समस्याहरु र त्यहाँका वासिन्दाहरुको वर्तमान स्थितिप्रति समर्पित यस संयुक्त कृतिमा बीसौं- एक्काईसौं शताब्दीको सन्धिकालमा दागेस्तान र नेपालको सामाजिक आर्थिक एवं नृवंशात्मक सांस्कृतिक समस्याहरुको सम्यक् विवेचना प्रस्तुत छ । दागेस्तान र नेपालको वर्तमान इतिहास, संस्कृति, अर्थतन्त्र, राजनीति, नृवंशात्मक र भाषिक अवस्थाका अध्येताहरु र पर्यटकहरुका लागि यो ग्रन्थ सहयोगी हुनेछ भन्ने आशा राखिन्छ ।
अन्त्यमा के सूचित गर्न चाहन्छु भने यो संयुक्त कृतिको प्रकाशनको सम्पूर्ण व्ययभार दागेस्तानी सहलेखक सेर्गेइ मुर्तुजालिएभले व्यक्तिगत रूपमा स्वयं बेहोरेर रूसमा नेपालको विषयमा प्रचार गर्न गहकिलो योगदान पुर्याएका छन् । मेरो विचारमा उनको यस कार्यका लागि नेपालपक्ष्यबाट पुरस्कार दिन नसकिए पनि धन्यवाद त अवश्य दिइनुपर्ने हो...  
मास्को, रुस महासंघ ।

No comments:

Post a Comment