Wednesday, January 22, 2014

रूसी भाषामा भानुभक्तको कवितासंग्रहको लोकार्पण


मास्को, १५ डिसम्बर २०१३ (आइतवार) । रूसको राजधानीमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा सम्पन्न काव्यगोष्ठीमा आदिकवि भानुभक्त आचार्यप्रति समर्पित 'लोकको गरूँ हित् भनी' शीर्षकमा प्रकाशित द्विभाषिक ग्रन्थको लोकार्पण गरिएको छ ।

मास्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा साहित्यप्रेमी नेपालीहरु र तिनका रसियाली मित्रहरुको समेत उपस्थितिमा आयोजित काव्यगोष्ठीको प्रारम्भमै विश्व नेपाली साहित्य महासंघ (विनेसाम) रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमले आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्तीको सन्दर्भमा विनेसाम रूसद्वारा काठमाडौंबाट प्रकाशमा ल्याइएको 'लोकको गरूँ हित् भनी' शीर्षकको द्विभाषिक ग्रन्थमा समाविष्ट कविताहरूको रुसी भाषामा छन्दोबद्ध अनुवाद कृष्णप्रकाश श्रेष्ठ तथा रूसी कवयत्री ल्युदमिला साल्तिकोभाद्वारा संयुक्त रूपमा गरिएको हो भन्ने जानकारी दिंदै काव्यगोष्ठीको प्रमुख अतिथि नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटाज्यूलगायत अध्यक्षमण्डलमा सभापतिको आसन ग्रहण गर्ने कृष्णप्रकाश श्रेष्ठका साथै विशेष अतिथि जीवा लामिछाने, डा. मधुकृष्ण श्रेष्ठ 'माधुर्य', कवयत्री ल्युदमिला साल्तिकोभालाई उक्त पुस्तक विमोचन गर्नका लागि अनुरोध गर्नुभयो । यसरी भव्य समारोहमा कृष्णप्रकाश श्रेष्ठको संयोजकत्व तथा सम्पादनमा तयार पारिएको 'लोकको गरूँ हित् भनी' शीर्षकमा प्रकाशित पुस्तकको विमोचन गरिएको थियो ।
यहाँनेर पाठकवृन्दलाई उक्त पुस्तकको छोटो परिचय दिन चाहन्छु । रुसी तथा नेपाली दुवै भाषालाई स्थान दिइएको यस पुस्तकको गातामा अगिल्तिर नई प्रकाशन काठमाडौंको सौजन्यबाट प्राप्त आदिकविको रङ्गीन चित्र र पछिल्तिर मास्कोमा सम्पन्न द्विशताब्दीय भानुजयन्तीको झलक दिने दुर्इ छविचित्र छापिएका छन् भने भित्र चाहिं प्रकाशकीय (विनेसाम रूसका अध्यक्ष गोविन्दप्रसाद गौतम), प्राक्कथन (कृष्णप्रकाश श्रेष्ठ) र उपसंहार (ल्युदमिला साल्तिकोभाका अतिरिक्त रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा तथा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ 'माधुर्य' को मन्तव्यका साथै दिवंगत नेपालविद् ल्युदमिला आगानिनालिखित 'नेपाली साहित्यमा भानुभक्त आचार्यको स्थान' शीर्षकको लेख पनि अनुवादसहित समावेश गरिएको छ । यस ग्रन्थमा भानुभक्तका विभिन्न फुटकर कविताहरु र काव्यांशहरूका साथै भानुभक्तविषयक मोतीराम भट्ट तथा लेखनाथ पौड्यालका कविताहरू पनि रहेका छन् । स्मरणीय के पनि छ भने रूसी भाषामा भानुभक्तप्रति समर्पित यो पहिलो ग्रन्थ हो र त्यसमा परेका कविताहरू पनि सर्वप्रथम रूसी भाषामा अनूदित भई प्रकाशमा ल्याइएका हुन् । तसर्थ यो ग्रन्थ वास्तवमै 'दुर्इ शताब्दी पश्चात् भानुभक्तको भावनात्मक पदचाप रसियातिर' भन्ने डा मधुकृष्ण श्रेष्ठ 'माधुर्य' को मन्तव्यको परिचायक बन्न पुगेको छ ।
प्रमुख अतिथिको आसनबाट बोल्दै रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटाज्यूले विश्वभरि नेपालीहरु जहाँ पुगेका छन् त्यहाँ भानुभक्त आचार्य पनि आफ्ना काव्यको माध्यमले पुग्ने गरेको र रूसमा चाहिं अहिले विश्व नेपाली साहित्य महासंघ रूस शाखाका साहित्यप्रेमी सदस्यहरुको सत्प्रयासबाट पुस्तककै रूपमा हाम्रा आदिकवि पुगेकोमा हर्षप्रकट गर्नुभयो। महामहिमज्यूले राणाशासनकालमा 'मकैको खेती' भन्ने पुस्तक प्रकाशमा ल्याउने कृष्णलाल अधिकारीले जेलमै मृत्युवरण गर्नुपरेको भए तापनि उनको भावनाले नेपालमा अन्ततोगत्वा क्रान्तिको लागि जनजागृति ल्याएको उदाहरण दिंदै पुस्तकको दूरगामी महत्व हुने उल्लेख गर्नुभई भानुभक्तका कविताहरूलाई रुसी भाषामा मुखरित गर्ने अनुवादकद्वय कृष्णप्रकाश श्रेष्ठ तथा ल्युदमिला साल्तिकोभाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
विशेष अतिथिको आसनबाट गैरआवासीय नेपाली संघका केन्द्रीय निवर्तमान अध्यक्ष जीबा लामिछानेले काठमाडौंमा नेपाल प्रज्ञाप्रतिष्ठानसंगको सहभागितामा पहिलापल्ट अन्तर्राष्ट्रिय साहित्यिक संगोष्ठी सम्पन्न गरिएको चर्चा गर्दै विभिन्न देशमा नेपालको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध दरिलो पार्नु पनि संघको एक प्रमुख उद्देश्य भएको र विश्व नेपाली साहित्य महासंघ रूसले आदिकवि भानुभक्त आचार्यको कवितासंग्रह रूसी भाषामा प्रकाशित गरेर यस उद्देश्यपूर्तिमा महत्वपूर्ण योगदान दिई सघाएकोमा कृतज्ञता जनाउँदै सराहना गर्नुभयो।
काव्यगोष्ठीमा नेपाली र रुसी भाषामा समेत केही कविताहरु गुञ्जेका थिए । उमेशप्रसाद भट्टराई, मीना अधिकारी, गोविन्दप्रसाद गौतम प्रभृतिबाट नेपालीमा कविता पाठ गरिएको थियो भने रुस-नेपाल मैत्री तथा सहयोग समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्एभले अब रसियाली पाठकहरुलाई पनि यस पुस्तकको माध्यमबाट  नेपाली कवि भानुभक्त अचार्य र उनको युगको बारेमा बढी जानकारी प्राप्त हुनेछ भन्दै आफूले रचना गरेको 'रसिया हो आमा भने नेपाल हो पिता' भन्ने हरफसहितको नेपालविषयक छोटो कविता पनि सुनाउनुभयो ।   
   

भानुभक्तका कविताहरुको रुसी भाषामा छन्दोबद्ध अनुवादमा सहयोग गर्ने रियाजान नगरकी कवयत्री ल्युदमिला साल्तिकोभाले विभिन्न भाषाका कविताहरुको रूसी भाषामा अनुवाद र अध्यापनको समेत अनुभवको आधारमा र कृष्णप्रकाश श्रेष्ठको सहायताबाट नेपालबारे निकै कुरा थाहा पाएपछि 'सुनको बिहान' शीर्षकमा लक्ष्मीप्रसाद देवकोटाको बालकवितासंग्रह र अहिले 'लोकको गरूँ हित' भन्ने भानुभक्त आचार्यका कविता र काव्यांश संग्रहमा परेका कविताहरूको यथासम्भव समश्लोकी अनुवाद प्रस्तुत गर्न समर्थ भएको जानकारी दिनुभयो । 
विशेष अतिथिको आसनबाट वक्तव्य दिंदै गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ 'माधुर्य' ले आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्तीको उपलक्ष्यमा 'लोकको गरूँ हित भनी' शीर्षकमा द्विभाषिक ग्रन्थ प्रकाशित भएकोमा हर्ष प्रकट गर्दै रुसी भाषामा त्यसमा समाविष्ट कविताहरूको छन्दोबद्ध अनुवाद प्रस्तुतकर्ताद्वय ल्युदमिला साल्तिकोभा तथा कृष्णप्रकाश श्रेष्ठप्रति कृतज्ञता ज्ञापन गर्दै 'ठमेल' शीर्षकको स्वरचित कविता पनि पाठ गर्नुभएको थियो ।        


विभिन्न वक्ताहरू र युवा कविहरूले आ-आफ्नो मन्तव्य र कविता प्रस्तुत गरेपछि सभापतिको आसनबाट काव्यगोष्ठीमा मन्तव्य व्यक्त गर्ने मेरो पालो आयो । मलाई ७५ शरद् पार गरिएको सन्दर्भमा मञ्चबाट व्यक्त गरिएका न्याना शब्दहरूको लागि आभार व्यक्त गर्दै यस प्रकारको काव्यगोष्ठीको आयोजनाबाट नयाँ नयाँ लेखक-कविहरूको उदय हुने विश्वास व्यक्त गर्नुका साथै रूसी कवि निकोलाइ जाबोलोत्स्कीको ११०-सौं जन्मजयन्तीको सन्दर्भमा 'एक्लो बाँझ' शिर्षकको छोटो कविताको नेपाली अनुवाद सुनाएर काव्यगोष्ठीका सहभागी नेपाली तथा रसियाली साहित्यप्रेमीहरूप्रति धन्यवादज्ञापनसहित काव्यगोष्ठीको समापन गरेको थिएँ ।

No comments:

Post a Comment