Saturday, October 13, 2012

नेपालमा परम्परागत भोजको विधि (पञ्चम खण्ड)

यहाँनेर खुला चहुरमा मनाइएको नेवारी भोजबारे १३५ वर्षअघि सन् १८७५ मा नेपालको यात्रा गर्ने रुसी प्राच्यविद् इभान मिनाएभले  गरेको वर्णनबाट एक अंश उद्धृत गर्नु रोचक हुने ठान्दछु उनले “भारत तथा लङ्का वृतान्त” भन्ने पुस्तकको “नेपाल” शीर्षकको अध्यायमा अंशत: लेखेका छन् :

धार्मिक स्थलमा हरप्रकारको पूजाअर्चना र तीर्थयात्राको अन्त्य ठूलो भोजद्वारा हुन्छ काठमाडौं छाड्नुभन्दा पहिले यस्तै एउटा भोजमा पनि सामेल हुन पुगेको थिएँ सहरबाट पश्चिमतर्फ माइल पर स्वयम्भूनाथको डाँडो (उपत्यकाको स्तरभन्दा २५० फीट अग्लो) त्यसको शिखरमा उपत्यकाको प्रचीनतम मन्दिर खडा करीब सय सिंढी चढेर यस डाँडाको ठाडो उकालो पार गरेपछि त्यहाँ पुगिन्छ, जहाँबाट चारैतर्फ बुर्जा, मन्दिर स्तूपहरु देखिन्छन् शिखरसम्म नपुग्दै यस डाँडोको आधा-आधीमा एउटा स्तूपनेर अलि सम्म परेको पाटोमा मैले २० जना जति पुरुष त्यत्ति नै महिलाहरु पनि भेटें, जो घाँस उम्रेको चउरमा बसेर स्थानीय रक्सी खाँदै थिए के पुरुष, के स्त्री, सबै उत्सवको पोसाकद्वारा सिंगारिएका थिए सबैले टाउकोमा फूलको थुंगो घुसारेका थिए वनभोज धूमधामसित मनाइँदै थियो : उनीहरु हाँस्तै थिए, हल्ला मच्चाउँदै थिए सबै रक्सीको प्रभावमा परेका प्रतीत हुन्थे कुनै सम्माननीय तर दुर्बल बूढो हातमा अन्ती उठाएर सबैलाई रक्सी बाँड्दै थियो अनि सबैले एकै स्वरमा गाउन सुरु गरे : विभिन्न प्रकारका स्वरहरुको ठूलो चिच्याहट सुनियो मानिसहरुको स्वर ढोलक-झ्यालीहरुको आवाजमा मिसिएको थियो उनीहरु त्यस धार्मिक स्थलको निम्ति अनुपयुक्त गीत अलाप्दै थिए, ता गीतमा कुनै सामञ्जस्यता नै पाइन्थ्यो तर गीतका शब्दहरु भने निर्रथक थिएनन्, बरु कवितात्मक नै भन्न सुहाउँछ(नेपाल, लङ्का र भारत वृतान्त, प्रथम भाग, सेन्ट-पिटर्सबुर्ग, १८७८, पृ. २८१) ।
निसन्देह, नेपालको यात्रा गर्ने प्रथम रुसी प्राच्यविद्ले गरेको भोजको वर्णन प्रत्यक्षदर्शीको सतही टिप्पणी मात्र हो, अर्थात् उनको वर्णनमा गहन विश्लेषणको अभाव उनले वनभोज (पिकनिक) भनेको वास्तवमा पिकनिक नभई सम्भवत: देवाली वा कुनै धार्मिक पूजापश्चात् भोजको विधिविधान समाप्त भइसकेपछि रमाइलो गरिरहेका मानिसहरुलाई देखेको प्रतीत हुन्छयो अवश्य नै रुसी विद्वानले जनाएझैं वनभोज (पिकनिक) थिएन, किनभने त्यसताका नेपालमा पिकनिकको चलन चलिसकेको थिएन   जहाँसम्म मलाई लाग्छ, नेपालमा पिकनिक बीसौं शताब्दीको मध्यदेखि मात्र सुरु भएको हो, यद्यपि देवाली, होली, भेलो आदिको सन्दर्भमा भने पहिलेदेखि नै वनभोज मनाउने चलन थियो होला भन्ने प्रतीत हुन्छ
नेपालमा परम्परागत भोजको कुरा गर्दा भोजका लागि अत्यावश्यक सरसामग्रीको जोरजाम समेत परम्परागत विधि पुर्याएर गर्नुपर्ने प्रावधान रहेकोतर्फ पनि अंगुलिनिर्देश गर्नु जरूरी छ । थाहा भएकै कुरा हो कि विवाहभोज वा गुठीभोजमा कैयौं मानिसहरूलाई भोज ख्वाउनुपर्ने हुँदा सातका पातहरूबाट विभिन्न आकारप्रकारका 'एकपटके उपयोगको रिकापी' अर्थात् टपरीहरू बनाइन्छन् । नेपालीहरू विभिन्न उत्सवपर्वमा आयोजना गरिने भोजभतेरका लागि पवित्र मानिने केराका पात अथवा सालका ठूल्ठूला पातहरूबाट तैयार पारिने बोहोता, टपरी आदिको प्रयोग गर्दछन् । उल्लेखनीय के पनि छ भने दुना, बोहोता वा टपरी बनाउँदा निश्चित केही विधिविधानलाई अवश्य नै ध्यानमा राख्नुपर्ने हुन्छ । कारण के त भने दुना-टपरीहरूले पनि प्रतीकात्मक महत्व राखेका हुन्छन् । उदाहरणस्वरूप नौपाते टपरीकै कुरा गरौं । टपरीको बीचको मूल पातले आसनको भूमिका निर्वाह गर्दछ भने आठै दिशामा गाँसिएका अन्य आठ पातले अष्टमात्रिकाको प्रतिनिधित्व गर्दछन् । समष्टिमा यसलाई नवदुर्गाको प्रतीक मान्न सकिन्छ । फेरि यसरी गाँसिने दुना र टपरी एकसरो तातबाट बनेको हुनु हुँदैन, किनभने यस्तो दुना वा टपरी अशुभ् मानिन्छ र केवल भूतप्रेतका लागि बलि दिनमा मात्र उपयोग गरिन्छ । यसरी बनाइएको टपरी जीवित मानिस र देवताको प्रयोगका लागि निषिद्ध गरिएको छ अर्थात् त्यस्तो टपरीमा ब्राहृमण वा साधुलाई सीधा दिनु, पाहुनालाई भोजन गराउनु वा भोजभतेरमा प्रयोग गर्नु कदापि हुँदैन (श्रेष्ठ कृष्णप्रकाश, रेलगाडीमा हिमालयतिर (नेपालसम्बन्धी लेखसंग्रह), मास्को, २००९, पृ. १२०) । तर्सथ सामान्य प्रयोगका लागि दुर्इपत्रे दुना, बोहोता र टपरी गाँस्नु अनिवार्य मानिन्छ ।
दुना-बोहोता वा टपरी गाँस्ने नेपाली प्रविधि पनि निकै रोचक छ भन्न सकिन्छ । एउटा उल्टो पारिएको पातमाथि अर्को सुल्टो पात राखेर अर्थात् पातको उल्टो भाग भित्रपट्टि पारेर टुप्पो र फेदका दुवै कुनाहरू मोडी बाँसको मसीनो सिन्काले गाँसेर बनाइने सानो बोहोतोलाई दुना भनिन्छ । सम्भवतः दुर्इवटा मात्र पातबाट बनाइने हुनाले त्यो दुना भनिएको हो । चारदेखि ६ पातसम्म उपरोक्त प्रकारले क्रस पारेर मिलाई गाँसेर बनाइएको केही ठूलो आकारको 'पातको रिकापी' लाई बोहोता भनिन्छ भने त्यसभन्दा पनि ठूलो आकारको 'पातको थाल' अर्थात् टपरी बनाउनुपर्दा ८-९ वा त्यसभन्दा बढी पातहरूको उपयोग गरिन्छ । निसन्देह नै ठूलो आकारको टपरी बनाउनु उति सजिलो हुँदैन । उदाहरणका लागि भनौं, नौपाते टपरी गाँस्दा सर्वप्रथम पींधमा माथितिर उल्टो पर्ने गरी एउटा पात राखिन्छ र त्यसमाथि भित्रपट्टि उल्टो हिस्सा पर्ने गरी दर्ुइ पात क्रस गरेर राखिन्छ । त्यसलाई सिन्काले गाँसेपछि चारैतिर भित्रपट्टि उल्टो हिस्सा पर्ने गरी जोल्ट्याइएका चार जोर पात त्यस टपरीको उपरोक्त आधारमा लहरै मिलाएर सिन्काले गुँथेर गाँसिन्छ । यसरी किनारा पनि मोडेर गोलाकार टपरी तयार पारिन्छ ।
नेपालमा बसोवास गरिरहेका विभिन्न जनजातिहरुमा परम्परागत भोजको आफ्नै विधिविधान हुनुका साथै एउटै जनजातिको भोजमा समेत स्थानभेदका कारण विधिविधानमा अन्तर देखिनु अस्वाभाविक होइन जीवनका विभिन्न परिघटनाको सन्दर्भमा भोज मनाउने कुरामा नेवारजातिलाई अरुले उछिन्न सक्तैनन् भन्ने प्रतीत हुन्छ । उनीहरु पारिवारिक, सामाजिक, धार्मिक आदि विभिन्न प्रकारको भोज मनाउँछन् । नेवारी भोजका लागि खाना तयार भएपछि सबभन्दा पहिले कुलदेवतालाई भाग छुट्याइन्छ र त्यसपछि मात्र पाहुनालाई ख्वाउन थाल्दछन् । मनोज दाहालको कथनानुसार नेवारी भोजमा सामान्यतः चार सरा (चरण) हुन्छ । पहिलो चरणमा लप्ते र त्यसैसँग सलिं पनि राखिन्छ । सलिंचामा पहिले थों (जाँड) र त्यसपछि अय्ला (रक्सी) राखिन्छ । लप्तेमा बजि (चिउरा) हालिन्छ । यो भोजको महत्वपूर्ण परिकार हो । चिउरा राखेपछि वाउँचा (साग), फसिक्वाः (फर्सी), भुति (बोडी), ला (मासु) अचार राखिन्छ । जाँड र रक्सी त हुनै नै भयो । दोस्रो चरणमा सबभन्दा पहिले चिउरा र त्यसपछि मासु (हिजोआज कुखुरको मासु पनि राख्न थालिएको छ) र साथमा केगु (केराउ), सिमी, छ्यालाक्वाः (सिन्कीको झोल), चनाक्वाः (मुलाको चाना), काउली, गोलभेंडाको अचार राखिन्छ । तेस्रो चरणमा फेरि चिउरा, पुकाला (भुटन), पःमाय् (ससाना गेडागुडी), पाउँक्वाः (लप्सीको झोल) हालिन्छ र बीबीचमा अय्ला (रक्सी), थों (जाँड) थपिन्छ । अन्तिम चौथो चरणमा फेरि चिउरा र चिनी (साखः), धौ (दही),  सिसापुसा (केराउ, उखु, मुला, सुन्तला) आदि परिकार राखिन्छ ।  यसरी खाना खाइसकेपछि फेरि अय्ला खाइन्छ र भोज सकिन्छ (दहाल मनोज, नागरिकन्यूज, २१.०४.२०१२)
नेवारजातिमा भोजको अवसरमा मात्र नभई विभिन्न ऋतुमा समेत विशेष परिकार बनाएर खाने चलन छ (उदाहरणार्थ, माघेसंक्रान्तिमा घिउचाकु, धान्यपूर्णिमामा योमह्री, श्रावण पूर्णिमामा क्वाटी आदि) खाइन्छ । यसका अतिरिक्त दैनिक जीवनमा समेत दिनको विभिन्न प्रहरमा खाइने खानाको नाम र प्रकार पनि फरकफरक हुन्छ । बिहान सबेरै खाने चमेनालाई कौला भनिन्छ भने काममा जानुअघि भातसहित खाने भोजनलाई ज्योना भनिन्छ । दिउँसो मध्यान्हपछि कामबाट विश्राम लिने समयमा चिउरासहित खाजा खाइन्छ भने साँझ भातसहितको खानालाई बेलि (ब्यलि) भनिन्छ ।बिहान र बेलुका मुख्यतः भात नै खाने गरिन्छ तापनि सम्भवतः बिहानको भातलाई दिगू (दिगुलि)   बेलुकीको भातलाई चाहिं व्यलि (ब्यालु) भन्ने गरिन्छ ।
नेपालजस्तो कृषिप्रधान देशमा भोज कृषिचक्रसित सम्बन्धित छ । उदाहरणार्थ, किरात जातिको उभौली (किरात भाषामा योक्वा) र उधौली  (न्वांगी) क्रमशः वसन्त र शरद्मा मनाइन्छ । यो पशुपालनसित सम्बन्धित प्रतीत हुन्छ : गोठालाहरु पाल्तु जीवजन्तुसहित हिउँदमा हिमाली क्षेत्रबाट तल झर्ने र ग्रीष्म याममा लेकतिर लाग्ने समयमा यी उत्सवहरु मनाइन्छन् । उत्सवको नामले नै यसको बोध गराउँछ । नेपाली प्राज्ञ वैरागी काईंलाका अनुसार उधौली पूजाका लागि दिन निर्धारित गरिन्छ, र त्यसमा गाउँका सबै वासिन्दाहरुले अनिवार्य रुपमा भाग लिन्छन् । पूजामा भाग लिन असमर्थ परिवारले जरीवाना तिर्नुपर्ने हुन्छ । परम्पराअनुसार पूजाका दिन कृषिकार्य गर्नुहुन्न (योक्वा मान्खोमा : लिम्बु-किरात जातिमा उँभौली पूजा, मधुपर्क-३१८, १९९५, पृ. १५)। यसै सिलसिलामा फसल भित्य्राइएपछि शरद्ऋतुमा बडादशैं मनाइनुको पनि औचित्य छ । भनिन्छ, पहिले दशैं वसन्तमा भव्यताका साथ मनाउने गरिन्थ्यो । त्यो चैते दशैंलाई हाल सानो दशैं पनि भन्ने चलन छ । नेपाली विद्वान् हरिराम जोशीले देवी भागवतको श्लोकअनुसार प्राचीन कालमा दशै हरेक चतुर्मासमा एकपल्ट गरी वर्षमा चारपटक मनाउने गरिन्थ्यो भन्ने जानकारी दिएका छन् (नेपालका चाडपर्व, काठमाडौं, वि.सं. २०६०, पृ. १३०)। नेवारजातिमा दशैंभोजको परम्परा निकै मौलिक र रोचक छ ।
नेपालका अधिकांश वासिन्दाहरु हिन्दू धर्माबलम्बी  भएका हुनाले गैरहिन्दू विभिन्न जनजातिहरुमा पनि यसको प्रत्यक्ष र परोक्ष प्रभाव पर्दै गएको तथ्य पनि नकार्न सकिंदैन, यद्यपि बहुधार्मिक तथा बहुनृवंशात्मक नेपालमा सांस्कृतिक विविधतामा पनि एकता पाइनु गौरवको कुरा हो । नेपाली भोजको कुरा गर्दा त नेवारजातिको परम्परागत भोजको उल्लेख अत्यावश्यक नै हुन जान्छ । नभन्दै नेवारजातिमा एकातिर विभिन्न मूलका मानिसहरुको सम्मिश्रण पाइन्छ भने अर्कोतिर हिन्दूधर्म र बुद्धधर्मलाई समेत यस जातिले आत्मसात् गरेर धार्मिक सहिष्णुताको नौलो उदाहरण प्रस्तुत गर्दै वास्तवमा नै नेपाली सभ्यताको झोलुङ्गो बन्न पुगेको छ ।
नेवारहरु भोजलाई प्राचीन यज्ञको रुपमा नै सम्पन्न गर्दछन् भन्ने प्रतीत हुन्छ । उदाहरणका लागि अश्वमेधयज्ञकै नाम लिन सकिन्छ । सम्भवतः प्राचीन कालमा नेवारहरुले पनि भोजन ग्रहण गर्नुलाई पशुबलिसहितको यस्तै होमयज्ञ सम्पन्न गरिएको मान्दथे होलान् । वास्तवमा भोजन गर्नु भनेको पनि त पेटको जठराग्निमा खाद्यपदार्थ होम्नु सरह नै हो । नेपालीहरुले खानुलाई पेटपूजा भन्नुमा पनि यस्तै तर्क ठम्याउन सकिन्छ ।
अन्त्यमा यत्ति भन्नु आवश्यक ठान्दछु कि एउटा लेखमा नेपालजस्तो नृवंशात्मक विविधता र सांस्कृतिक परम्परा भएको देशको भोजको विधिविधानबारे विस्तृत चर्चा गर्नु सम्भव छैन । यहाँ त नेपालको परम्परागत भोजको विधिविधानको सन्दर्भमा हिन्दूधर्म र बुद्धधर्मका परम्पराका संरक्षक र अनुयायी ब्राह्मण तथा नेवार जातिको भोजबारे संक्षेपमा मात्र चर्चा गर्ने जमर्को गरिएको छ, यद्यपि नेपालका हिमाली, पहाडी र तराई भेकमा बसोवास गरिरहेका अन्य जनजातिहरुको भोजको परम्परा पनि कम रोचक छैन । खास गरी देशका अनकन्टार इलाकाहरुमा बसोवास गरिरहेका आदिवासी नेपालीहरुले प्राचीन परम्परालाई अझै जीवित राखेको पाइन्छ । बीसौ शताब्दीको मध्यदेखि युगौंदेखि कृत्रिम रुपले अलग्याइएको नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा पदार्पण गर्नुका साथै सामन्तवादी व्यवस्थामा परिवर्तनको क्रम सुरु भएपछि नगरवासीहरुको माझमा र आवागमनको सुविधा भएका इलाकाहरुमा परम्परागत जीवनशैली र रीतिथितिहरुमा पनि क्रमशः परिवर्तन आइरहेको छ । वर्तमान समयमा भूमण्डलीकरणको प्रक्रियाले नेपाली जनजीवनका सबै क्षेत्रहरु प्रभावित भइरहेको परिप्रेक्ष्यमा पुराना रीतिरिवाजमा पनि हेरफेर देखापर्नु अस्वाभाविक होइन । निसन्देह नै परम्परागत भोजको विधिविधानमा पनि क्रमश: यसको असर पर्दै जानेछ ।

(रूसी भाषामा प्रकाशित : श्रेष्ठ कृष्णप्रकाश, नेपालमा परम्परागत विधिपूर्वक भोज (रितुआल्नो-अब्य्रादोभिए त्रापेजी भ नेपाले) ।।पूर्वेली जनताहरूको परम्परा (एतिकेत नारोदोभ मीरा), मास्को, सन् २०११, पृ. ४६९-४७७)
२ अक्टोबर २०१२ (मङ्गलवार)
मास्को, रूस महासंघ ।









No comments:

Post a Comment