Sunday, May 13, 2012



रूसवासी नेपालीहरूद्वारा बुद्धजयन्ती मनाउँदै शान्तिदीप प्रज्ज्वलन      

       मास्को, ६ मेई २०१२ (आइतवार) । मास्कोबाट दक्षिण-पश्चिम दिशामा झण्डै ९० किलोमिटर टाढा  कालुगा अञ्चलमा अवस्थित 'एत्नोमिर' ('नृवंशलोक') नामक एक विश्वग्रामअन्तरगत रूसमा रहेका नेपालीहरूको लगानीमा नेपाली वास्तुकला एवं संस्कृतिको प्रतिनिधित्व हुने किसिमबाट निर्मित 'नेपाली घर' ('नेपालमण्डप') को प्राङ्गणमा भेला भई त्यहाँ बनेको चैत्यवरिपरिको पालाहरूमा शान्तिद्वीप प्रज्ज्वलन गरी वैशाख पूर्णिमाको पुनित उपलक्ष्यमा रूसमा रहेका नेपालीहरूले शान्तिको कामना गर्दै २५५६-औं बुद्धजयन्ती मनाएका छन्

रूसका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्र राजभण्डारी, गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष उत्सव अमात्य, निवर्तमान अध्यक्ष डा. मणिराज पोखरेल, अन्तर्राष्ट्रिय समन्वय परिषदमा यूरोपकी प्रतिनिधि सपिला राजभण्डारी, नेपाली खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछाने, नेपाली नारी निकुञ्जकी मानार्थ उपाध्यक्ष सुमना राजभण्डारी, नेपाली छात्रसंघ जनमैत्री विश्वविद्यालयका अध्यक्ष इन्द्रकुमार श्रेष्ठलगायत मास्कोमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न सामाजिक संघसंस्थाका आधा सयभन्दा बढी सदस्यहरू सपरिवार मध्यान्हतिर 'नेपाली घर' मा पुगेका थिए मौसमविद्हरूले झरीवर्षाको भविष्यवाणी गरेको भए पनि बिहानै अलिकति मात्र आकाश छिटाएको समयमा मास्कोबाट प्रस्थान गरी हामी त्यहाँ पुग्दा झलमल्ल वसन्तकालीन न्यानो घाम लागिरहेको थियो र्वप्रथम सबैले मिलेर 'नेपाली घर' को प्राङ्गणमा खुलाआकाशमा लामो हिउँदमा ठिहीले कठ्याङ्ग्रिएर पालिस उडेका विभिन्न नेपाली कलाकृतिहरूलाई कोमल रुमालले पुछपाछ गरी तेललेपन गरेका थियौं
स्मरण रहोस्, 'नेपाली घर' को प्रवेशद्वारको दुवैतर्फ प्रस्तरका भव्य सिंह-सिंहनीका साथै काठमाडौंको नयाँसडकको प्रवेशद्वारको अनुरूप तैयार पारिएको ढोकाको दुवैतिर गणेश तथा कुमारका जोडी मूर्तिहरू रहेका छन् भने प्राङ्गणमा प्रवेश गर्नासाथै दुवैतिर पाटी, नेपालाक्षरमा बौद्धमन्त्रअङ्कित तामाका मानेहरूको लङ, एकातिर तीन गजुरयुक्त स्तम्भमा नेपालाक्षर, देवनागरी, रूसी तथा अंग्रेजीमा 'नेपाली घर' अङ्कित ठूलो ढलौटे घण्ट नेपालीमा श्लोकबद्ध रूसी तथा अङ्ग्रेजीमा गद्यमय अभिलेखअङ्कित शिलापत्र तथा अर्कोतिर बर वा पीपललाई रूसको हावापानी अनुकूल नहुने भएकाले यतैतिर  पाइने हाँगादार रुखको चौतारी, बीचमा चारैतिर क्रमशः पञ्चबुद्ध, पञ्चायन देवता (गणेश, सूर्य, विष्णु, शिव तथा भगवती), शेषनाग, हनुमान, भैरव, काली, दत्तात्रय आदि देवदेवीका प्रस्तरमूर्तिले सिंगारिएको पर्खालले घेरिएको गहिरी तीनधाराको भित्री भित्ता चाहिं नवदुर्गाका मूर्तिहरू धारामुनि भगीरथलगायतका मूर्तिहरू रहेका छन् नेपाली घरको प्रवेशमण्डपका दायाँबायाको भित्तामा दुर्इतिर गङ्गा जमुनाका भव्य मूर्तिहरू त्यसको अगाडि मूलद्वारको सामुन्ने चोकको बीचमा  चारैतर्फ पित्तलका पालाहरू जडिएको घेराभित्र चिटिक्क परेको प्रस्तरको बौद्धस्तुप रहेको भने 'नेपाली घर' को परिसरमा एक ठाउँमा बनाइएको ढिस्कोमाथि प्रथम सगरमाथा-विजेताद्वय नेपाली मूलका तेन्जिङ्ग नोर्गे शेर्पा तथा न्युजिल्याण्डका एडमुण्ड हिलारीको शालिक पनि रहेको
नेपाल पक्षको तर्फबाट गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद्को संयोजकत्वमा गठित 'साँ-ग्रिला' कम्पनीको लगानीमा हजार वर्गमिटर क्षेत्रमध्ये १२ सय वर्गमिटर जग्गामा बुट्टादार टुँडालहरूले अड्याइएका छानामा हावापाते घन्टीहरू समेत झुण्ड्याएर बार्दली समेत निकालेर बनाइएको नेपाली शैलीमा निर्मित भव्य मनोहर घरको मूलद्वारमाथि तोरण खापाहरूमा अष्टमङ्गलचिन्हका साथै लोगोचिन्ह कुँदिएको नेपाली काष्ठकलाको नमूनास्वरूप चारैतिर गरी ६५ वटा झ्याल (आँखीझ्याल) ढोकाहरू रहेका छन् मास्कोमा सम्पन्न छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको क्रममा गतः वर्ष सन् २०११ को    २४ जुलाईका दिन दुर्इतले यस 'नेपाली घर' को उद्घाटन समारोह सुसम्पन्न भएको थियो
रूस महासंघमा नेपालको सांस्कृतिक केन्द्रको रूपमा निर्मित 'नेपाली घर' मा नेपाली कला-संग्रहालय, सम्मेलन-कक्ष (२५० वर्गमिटर), बैठक, कार्यशाला (२० वर्गमिटर), परम्परागत नेपाली परिकारसहितको रेष्टुराँ, हिमाल, उपत्यका, पहाड तराईका वासिन्दाहरूको रहनसहन झल्कने किसिमले सिङ्गारिएका सुविधायुक्त २२ वटा कोठासहितको होटल, भान्साखण्ड, सुभिनियर पसल (४० वर्गमिटर) आदि रहने छन् यसको भित्री सजावटको कार्य समाप्त भएपछि यहाँ कतिपय नेपालीहरूले विभिन्न कार्यस्थलमा संलग्न हुने सम्भावना पाउनुका साथै 'एत्नोमिर' को अवलोकनार्थ आउने कैयौं रसियाली अन्य देशका समेत पर्यटकहरूलाई नेपालको यात्रा गर्न आकर्षित गर्ने व्यापक सम्भावना हामी बुद्धजयन्ती मनाउने क्रममा त्यहाँ पुग्दा 'एत्नोमिर' को अवलोकनार्थ आउने रसियाली दर्शकहरू हाम्रो 'नेपाली घर' को मौलिकता देखेर आकर्षित भई फोटो खिंच्न लागेका देखिन्थे नेपालीहरूबाट आफ्ना विभिन्न प्रश्न जिज्ञासाहरूको उत्तर खोजिरहेका थिए हामीले नेपालको संस्कृति कला आदिको बारेमा बताएर उनीहरूको जिज्ञासा शान्त गर्ने प्रयास गर्दै उनीहरूलाई नेपालको यात्राका लागि उत्प्रेरित गरेका थियौं
रूसमा निर्मित 'नेपाली घर' को भित्री सजावटको कार्य समाप्त भएपछि यहाँ कतिपय नेपालीहरूले विभिन्न कार्यस्थलमा संलग्न हुने सम्भावना पाउनुका साथै 'एत्नोमिर' को अवलोकनार्थ आउने कैयौं रसियाली र अन्य देशका समेत पर्यटकहरूलाई नेपालको यात्रा गर्न आकषिर्त गर्ने व्यापक सम्भावना छ ।
नेपाली नारी निकुञ्जका सदस्यहरूले घरबाटै तयार पारेर ल्याएका नेपाली परिकारहरूको खाजा खाईवरी हामीमध्ये केहीले गफ गर्दै 'नेपाली घर' को परिसर र प्राङ्गणकै नेपाली कलाकृतिहरूको निरीक्षण र फोटोग्रहणका साथै आगन्तुक रसियालीहरूको जिज्ञासा मेट्नमा समय खर्चेका थियौं भने कतिपय नेपाली भाइबहिनीहरू चाहिं 'एत्नोमिर' कै केन्द्र र केही इलाकाहरूको अवलोकनमा रमिरहेका थिए । बालबच्चाहरूलाई समेत लिएर आमाहरू र बुवाहरू खुलागाडीमा चढेर ठाउँठाउँमा बनिसकेका र अहिले निर्माण भइरहेका विभिन्न देशका मण्डपहरूको वाह्यावलोकन गर्न निस्केका थिए । नेपाली घरकै बगलमा श्रीलङ्का र भारतका मण्डपहरूका साथै अन्य पनि कतिपय भवनाहरू धमाधम बनिरहेका छन् भने क्याफे, रेष्टुराँ, होटलका साथै विभिन्न देशका सुभिनियर पसलहरू सहितको 'विश्वपथ' भनिने 'एत्नोमिर' को केन्द्र र रूसलगायत कतिपय देशका मण्डपहरू क्रियाशील भइसकेका छन् । विशाल क्षेत्रमा फैलिएको 'एत्नोमिर' पूरै निर्माण भइनसकेको अहिलेको अवस्थामा समेत सामान्य दिनमा सैयौं मानिसहरू अवलोकनार्थ पुग्ने गरेका छन् भनिन्छ । कार्यरत मण्डपहरूको अवलोकनका लागि समेत एक दिनको समय निकै थोरै हुनेछ भन्ने प्रतीत हुन्छ ।
यस वर्ष रूसमा नवनिर्वाचित राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा पदभारवहन तथा शपथग्रहण समारोह (मे) फासीवादी जर्मनीउपर विजयप्राप्तिको ६७-यौं वाषिर्कोत्सव (९ मेई) को पूर्व वेलामा चन्द्रमा पनि आफ्नो कक्षमा पृथ्वीको सबभन्दा नजिक भएर आफ्नो कक्षमा घुमेको विरलै दोहोरिने विरलकोटिको प्राकृतिक परिघटना परेको वैशाख पूणिर्माका दिन साँझपख हामी फेरि 'नेपाली घर' को प्राङ्गणमा भेला भएर 'नेपालमण्डप' को केन्द्रमा रहेको बौद्धचैत्यकै अगल-बगलमा र वरिपरि झुम्मिएर सबैले बुद्धजयन्तीको उपलक्ष्यमा मङ्गलकल्याण र शान्तिको कामना गर्दै धूप र बत्ती प्रज्ज्वलन गरेका थियौ...
मास्कोतिर फर्किरहँदा बाटोको दुवैतिर फैलिएको असीम फाँटमा वसन्तकालीन नवपल्लवित वृक्षहरूको अवलोकन गर्दै मलाई तर्कना आइरहेको थियो : नेपालको लुम्बिनीमा जन्मेका शाक्यमुनि गौतम बुद्धको शान्तिसन्देश संसारभरि प्रसार गर्नमा रूसको भूमिमा निर्मित 'नेपाली घर' ले पनि यथायोग्य योगदान पुर्याउने छ । अस्तु !
फोटो सौजन्य : बलराम आचार्य ।
मास्को, रूस महासंघ ।






No comments:

Post a Comment