Tuesday, December 29, 2015

रुसमा क्रिश्चियन भिक्षु फोती ‘गोलोस–२०१५’ गायन प्रतियोगिताका विजेता

रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको गोलोसगायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स चर्चका  इएरोमोनाख  (क्रिश्चियन भिक्षु) फोती (भिक्षुत्वमा दीक्षा प्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् ।

संसारको मायाजालबाट सन्यास लिएर भिक्षु बनेका एकजना धर्मभीरु अज्ञात गायकले रुसी दर्शकहरुको मन जितेर रुसमा आयोजित गरिने भव्य गायन प्रतियोगितामा प्रथम भई पुरस्कार स्वरुप मोटरगाडी र निश्चित रकमसहित विजय प्राप्त गरेको यो सनसनीपूर्ण समाचार नेपाली पाठकवृन्दका लागि पनि रोचक हुनेछ भन्ने विचारले आज म कलम कोर्दै छु ।
इएरोमोनाख फोती  (गीत प्रस्तुत गर्दै)
सर्वप्रथम गोलोसगायन प्रतियोनिताकै सन्दर्भमा यहाँ संक्षेपमा बताउने अनुमति चाहन्छु । रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलले ४ वर्षअघि पहिलोपल्ट देशव्यापी रुपमा गायनकलाको क्षेत्रमा संलग्न नयाँ पुस्ताका इच्छुक गायकहरुलाई प्रतियोनितामा भाग लिन आह्वान गर्दै आएको छ । प्रतियोगितामा भाग लिन इच्छुकहरुको चयनको प्रक्रिया निकै वस्तुपरक र निष्पक्ष पनि छ । रुस र अन्य गणतन्त्रबाट समेत प्रतियोगितामा भाग लिन आएका गायकहरुलाई क्रमशः आफ्नो प्रतिभाको प्रदर्शन गर्न झिलीमिली सिंगारिएको डबलीमा पठाइन्छ र मास्कोको एक प्रसिद्ध अर्केष्ट्राको संगीत धूनसहित प्रतियोगी (युवक वा युवती) ले गीत प्रस्तुत गर्दछन् । डबलीतिर पीठ फर्काएर घुम्ने मेचमा बसिरहेका गायनको क्षेत्रमा ख्यातिप्राप्त चारजना परीक्षकहरु प्रतियोगीको गीत प्रस्तुतिको हावभाव समेत नदेखेर केवल उसको स्वरको आधारमा पारख गर्दछन् (यसै कारण यस प्रतियोगितालाई गोलोसअर्थात् आवाजभनिएको होला) । कुनै परीक्षकलाई डबलीमा मनमोहक स्वर गुञ्जन भएको प्रतीत भएमा उसले डबलीतिर मेचको मोहोडा घुमाएर हेर्नुका साथै मेचमा जडिएको बत्ती बालेर प्रतियोगीलाई आफ्नो सकारात्मक निर्णयको सङ्केत दिन्छ । डबलीमा गीतको गुञ्जन भइरहँदा दोस्रो, तेस्रो र यदाकदा चारैजना परीक्षकहरुले समेत गीत मन परेको सङ्केत दिन्छन् । गीतको प्रस्तुति समाप्त भएपछि मात्र प्रतियोगीले आफ्नो परिचय दिन्छ । चारजना परीक्षकहरुमध्ये कसैले पनि गीतको प्रस्तुति अवधिभरि डबलीतर्फ हेरेन भने प्रतियोगी विफल भई प्रतियोगिताबाट बाहिरिन्छ । जेजसो भएतापनि परीक्षकहरुले क्रमशः प्रतियोगीको आलोचना वा प्रशंसा गर्दै उसको त्रुटितर्फ औंल्याएर गायन कला तिखार्नमा मद्दत पुग्ने किसिमको सल्लाह पनि दिन्छन् । दुईभन्दा बढी परीक्षकले कुनै प्रतियोगीको स्वर र प्रस्तुति मन पराएको खण्डमा प्रतियोगिताको  भावी चरणका लागि आफ्नो निर्देशकको रुपमा एकजना परीक्षकलाई उसले रोज्न सक्तछ ।
क्रिश्चियन भिक्षु फोती
यसरी हप्ताको एकपटक टेलिभिजनको सङ्गीत-कक्षमा प्रतियोगीहरुको कन्सर्टको आयोजना गरी दर्शकहरूसमक्ष प्रस्तुत गर्दै प्रतिद्वन्दीहरुको चयन भइसकेपछि आआफ्ना निर्देशकको परामर्शअनुसार गीत चयन र प्रस्तुतिको तयारी गरी प्रतियोगिताको अर्को अझ जटिल चरण सुरु हुन्छ । प्रतियोगिताको अर्को क्रमिक चरणका लागि प्रतियोगीहरुको छनोटमा निर्देशकहरुले मात्र नभई टेलिभिजन दर्शकहरुले समेत मतदान गर्दछन् । यदाकदा दर्शकहरुको मतदानको प्रतिशत निर्देशकको भन्दा बढी भएको अनौठो दृश्य समेत देख्न सकिन्छ र अन्तिम चयनमा दर्शकहरुकै मतको निर्णायक भूमिका हुन्छ । प्रतियोगिताको अन्तिम चरणमा त दर्शकहरुले मात्र निर्णायक मत दिन्छन् र निर्देशकहरु चहिं मूकदर्शक बन्न पुग्छन् । के पनि बताइहालौं भने प्रतियोगीलाई रुस महासंघको जुनसुकै ठाउँबाट टेलिफोनमार्फत् १ व्यक्तिले जम्मा २० मत मात्र दिन पाउने नियम बनाइएको छ र जन्मजात रोगी तथा अनाथ केटाकेटीहरुको परोपकारका लागि चन्दा स्वरुप प्रत्येक मतदानको निम्ति ५० रुबल चन्दा संकलन गर्ने समेत व्यवस्था मिलाइएको छ । यस अर्थमा यो गायन प्रतियोगिता मनोरञ्जनात्मक मात्र नभई लोककल्याणकारी चरित्रको पनि छ भन्नु पर्दछ ।
विगत तीनवर्षसम्म लगातार पुरानो पुस्ताका संगीतज्ञ, अनुभवी प्रोफेसर अलेक्सान्द्र ग्राद्स्कीको निर्देशन प्राप्त प्रतियोगीहरुले गोलोसगायन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्दैआएका थिए भने यसपल्ट उनको निर्देशनमा प्रतियोगिताको अन्तिम चरणसम्म पुग्न सफल भएका प्रतियोगी मिखाइल ओजेरोभले टेलिभिजन दर्शकहरुको २४ प्रतिशत मात्र मत प्राप्त गरी द्वितीय स्थान हासिल गरेका छन् । यसपालि पहिलो पल्ट सङ्गीत-निर्देशकको आसनमा बसेका प्रसिद्ध रुसी गायक ग्रिगोरी लेप्सको निर्देशनमा अर्थाडक्स चर्चका क्रिश्चियन भिक्षु फोतीले दर्शकहरुको ७६ प्रतिशत मत प्राप्त गरी प्रथम स्थानमा विजय हासिल गरेका छन् ।
गायन प्रतियोगिता 'गोलोस'को अन्तिम चरणसम्म पुग्न सफल गायक-गायिका
सर्वोत्कृष्ट गायक फोती र  मिखाइल ओजेरोभ 
हरेक हप्ता वृहस्पतिवारको साँझ टेलिभिजनको पर्दामा निकै अभिरुचिपूर्वक गोलोसगायन प्रतियोगिताको अवलोकन गर्दै आएको छु ।  यसपल्ट प्रतियोगीको प्रथम चयन गरिंदा क्रिश्चियन भिक्षुको गायनले चारजना परीक्षकहरूमध्ये केवल ग्रिगोरी लेप्सको मात्र ध्यानाकर्षण गरेको थियो र उनले बत्ती बालेर डबलीतर्फ  दृष्टि दिँदा धर्मभीरु भिक्षुले गीत प्रस्तुत गरिरहेको देखेर अब तपाईलाई लिएर के गर्ने होला ?’ भन्दै आश्चर्य प्रकट गरेको अहिले मलाई सम्झना भएर आयो । त्यतिखेर एक जना क्रिश्चियन भिक्षुले सबै प्रतिद्वन्दीहरुलाई जितेर प्रथम स्थान ग्रहण गर्ने छ भन्ने कसैले विश्वास समेत गरेको थिएन । तर जनभावना र अवस्थाको सदुपयोग गर्न सिपालु सङ्गीत-निर्देशक ग्रिगोरी लेप्सले हरेक पल्टको प्रतियोगिताका लागि  क्रिश्चियन भिक्षुको स्वभावअनुकूल रोमान्स र प्रलापगीत जस्ता शास्त्रीय गीतहरुको चयन गरेर गायनकला तिखार्नमा ज्यादै मद्दत पुग्ने खालको परामर्श दिंदै कसैले नपत्याएको क्रिश्चियन भिक्षुलाई अप्रत्यासित रुपमा प्रथम स्थान लिन सक्षम तुल्याइदिएका थिए ।
गायन प्रतियोगिता 'गोलोस' का विजेता
सन् २०१५ को 'रूसको स्वर' घोषित क्रिश्चियन भिक्षु फोती
रुसमा क्रिश्चियन पादरीलाई धार्मिक गुरुको रुपमा अतेत्सअर्थात् पिताभनेर सम्बोधन गर्ने चलन छ (हामी नेपालीहरू पनि त पुरोहितलाई ‘बाजे’ भनेर सम्बोधन गर्दछौं) । तसर्थ यसपटक गोलोसगायन प्रतियोगितामा एक धर्मनिरपेक्ष सामाजिक गायकले अलेत्स फोतीको संगीत-निर्देशक अर्थात् गुरु बन्नुपरेको अप्ठेरो स्थिति देखापरेको थियो । चारै जना निर्देशकहरुमध्ये सबभन्दा कम उमेरकी र पहिलोपल्ट संगीत निर्देशिका बन्न पुगेकी युरोपव्यापी संगीत प्रतियोगितामा दोस्रो स्थान ग्रहण गर्ने प्रसिद्ध युवती गायिका पोलिना गानारिनालाई मात्र क्रिश्चियन भिक्षु फोतीलाई अतेत्सभन्नमा कुनै आपत्ती नभएको स्पष्ट देखिन्थ्यो । प्रोफेसर अलेक्सान्द्र ग्राद्स्कीले चाहिं उमेरले आफू जेठो भएकाले युवा क्रिश्चियन भिक्षुलाई अतेत्सभन्न कस्तो-कस्तो अप्ठेरो लागे पनि परामर्श दिन सक्ने दाबी गरेका थिए, तर ग्रिगोरी पेप्ससमक्ष यस्तो स्थिति पनि थिएन । तैपनि उनले कुशलतापूर्वक सफलताका साथ संगीत-निर्देशकको भूमिका निर्वाह गरेका थिए । उनले प्रतियोगिता विजेताको सन्दर्भमा व्यक्त गरेको भनाई घतलाग्दो छ : प्रतियोगितामा विजयले उनको प्रारब्धमा सायदै कुनै परिवर्तन ल्याउला, तर जसले उनको गीत सुन्ने छ उसको जीवनमा चाहिं अवश्य नै ठूलो परिवर्तन आउन सक्तछ
नयाँ रुसमा देशमा प्रचलित धर्महरूमध्ये प्रथम स्थानमा रहेको अर्थाडक्स चर्चको सक्रियता निकै बढिरहेको परिप्रेक्ष्यमा रुसी अर्थाडक्स चर्चको एक सक्रिय धार्मिक कार्यकर्ता हुनाले क्रिश्चियन भिक्षु फोतीले गोलोसगायन प्रतियोगितामा दर्शकहरुको अत्यधिक मत प्राप्त गरी प्रथम स्थान पाउन सफल भएका हुन् भन्ने कतिपय रसियालीहरुको धारणा छ । यस सन्दर्भमा चर्चको सेवामा संलग्न भएकाले मात्र मैले विजय प्राप्त गरेको होइन भन्ने प्रतियोगिता विजेता फोतीको कथन सत्यको ज्यादै निकट प्रतीत हुन्छ । वास्तवमा नै अधिकांश रसियालीहरु निकै चर्को आवाजमा गाइने आधुनिक गीतहरुभन्दा शान्त र सुमधुर गीत नै बढी रुचाउँछन् ।
हरेक वर्ष आयोजना गरिने र शरदपछि वर्षान्तसम्म ४ महिना जति हरेक हप्ता टेलिभिजनबाट प्रसारण गरिने गोलोसगायन प्रतियोनिता र यसरी नै रुसभरिका केटाकेटीहरुको उत्कृष्ट सांस्कृतिक प्रतियोगिता हेर्दा विशाल रुसका कुनाकाप्चामा समेत प्रतिभावान् बालबालिकाहरु र युवायुवतीहरु प्रशस्तै भएको बोध हुन्छ ।
दिनाङ्क : २८ डिसम्बर २०१५ (सोमवार),

मास्को, रुस महासंघ ।

No comments:

Post a Comment