बैतडी (महाकाली अञ्चल)
ज्यादै अग्लो ठाउँ भएकोले ज्यादा हावा लाग्ने
हुँदा संस्कृतमा यस ठाउँको नाम 'वायूत्तड' ('वायु' - 'हावा' र 'उत्तड' - 'उन्मुख') रहेको र त्यसैको अपभ्रंश भई क्रमशः 'वायोतड',
'बैतड' र अन्तमा बैतडी नाउँ रहन गएको हो ।
पर्वतमालाहरूले
हावालाई रोक्ने यस रमणीय ठाउँलाई स्थानीय भाषामा
'बहतडी' ('बह'
- 'हावा' र 'तडी'
- 'अडिने ठाउँ') भनिएको मानिन्छ । यहाँ चारैतिर
चारकेदार भनिने अति नै सौन्दर्यपूर्ण पर्वतहरू रहेका छन् । पूर्वतर्फ रावलेश्वर (ग्वालेकेदार
वा वायोतड), दक्षिणतिर सिद्धकेदार, पश्चिमतिर
धजकेदार र उत्तरतिर मालिकार्जुन नामका डाँडाहरूले घेरिएको बैतडीलाई पुराणमा स्वर्गभूमि
भनी वर्णन गरिएको पाइन्छ ।
त्रिपुरासुन्दरी (रैणेसैनी) देवीको मन्दिर
नेपाली पाठकवृन्दसमक्ष 'काव्यमय नेपाल' कवितावली (आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रूस महासंघ, ई.सं. २०१५, पृ. २४४-२४५) मा संग्रहित 'बैतडी' को सौन्दर्यानुभूति वर्णन गरिएको कविता प्रस्तुत गर्दछु ।
कृष्णप्रकाश श्रेष्ठ
बैतडी
बैतडी खलङ्गा
चारैतिर छन् डाँडा चार,
थल, ध्वज, सिद्ध, केदार ।
महाकालीको वार र पार,
दृश्य बैतडीको छ अपार ।।
बिचको डाँडामा छ बजार,
कोत पूर्वमा, पश्चिम माल ।
जगन्नाथको मन्दिर भाल,
दृश्य बैतडीको छ अपार ।।
जगन्नाथको फेदीमा तल,
बग्छ इश्वरीगङ्गा कल्कल,
तटमा दैवी गुफा छ सुन्दर,
दृश्य बैतडीको छ अपार ।।
पूर्व दिशामा निगलासैनी१ ,
पश्चिमतिर छिन् रैणेसैनी२,
उत्तरमा उतुङ्ग हिमाल,
दृश्य बैतडीको छ अपार ।।
चन्द्रवंशको उद्गमस्थान,
कुल्लेकोट छ स्वयं पुराण ।
सहस्त्रलिंगेश्वर त्यैं नेर,
दृश्य बैतडीको छ अपार ।।
बहतडी३ बतास बग्ने ठाउँ,
डाँडा, फाँट र बजार, गाउँ ।
रम्य छ बैतडीको अनुहार,
दृश्य बैतडीको छ अपार ।।
पादटिप्पणी
१. निगालाको गाँजबाट उत्पन्न भएकी वा निगालाको झ्याङमा सुतिरहेकी देवी हुनाले निगलासैनी
नाम रहन गयो । निगलासैनी, रैणेसैनी, बोदलासैनी,
पोटलासैनी, विजयासैनी, डिलासैनी
र उग्रतारा लगायत सात देवीहरूले यस क्षेत्रलाई संरक्षण गरिआएको मानिन्छ ।
२. जौको रासमा सुतेकी देवी भन्ने अर्थमा त्रिपुरासुन्दरी देवीको स्थानीय नाम 'रैणेसैनी' रहन गएको हो ।
३. छिमेकी पहाडहरूभन्दा अग्लो भएकोले ज्यादै हावा लाग्ने 'वायुत्तड' (हाल ग्वालेकेदार नामले प्रसिद्घ)
पर्वतको पनि यहाँ अवस्थिति हुँदा यसै पर्वतको नामबाट जिल्लाको नाम नै
बैतडी रहेको हो ।
No comments:
Post a Comment