रूस मडासंघको दक्षिणी भेकमा अवस्थित दोनवर्ती
रोस्तोभनिवासी रूसी कवि इगोर एलिसेएभको कविता ‘स्वर्गद्वारीको पुल’ नेपाली पाठकसमक्ष प्रस्तुत छ ।
स्वर्गद्वारी (प्यूठान)
प्यूठानको सदरमुकाम खलङ्गाबाट
१२ कोस (२६ किलोमिटर) पश्चिमतर्फ समुद्रको सतहबाट २१२२ मिटर (६९६० फीट) अग्लो
लेकमा अवस्थित यो स्थान एउटा किम्बदन्तीअनुसार परापूर्व कालमा चतुर्भुज खुङग्री भन्ने ठाउँका सोह्रजना
ऋषिमुनिहरूले स्वर्गको कामना गर्दै अखण्ड यज्ञ गरी तपस्या गरी स्वर्ग गएको र अर्को
किम्बदन्तीअनुसार चाहिं पञ्चपाण्डवले स्वर्ग जान यज्ञ गरेको भनिने ठाउँ हुनाले
'स्वर्ग जाने ढोका' भन्ने अर्थमा स्वर्गद्वारी
नाम रहन गएको हो । कुष्ठरोगले पीडित महाप्रभु पद्मगिरि (जन्मस्थलः रोल्पा जिल्लाको
रुम्टी गाउँ, मृत्युः १४ मार्ग,१९९७)
ले यस निर्जन ठाउँमा अखण्ड यज्ञको आरम्भ गरी आश्रमको स्थापना गरेका थिए
। त्यहाँ ९ मन्दिरहरू भएको यज्ञकुण्ड (मध्यभागमा ठूलो होमकुण्ड र ४ मूल दिशा तथा ४
उपदिशामा समेत होम तथा पूजापाठ गर्ने स्थान) छ । पूर्व र वायव्यमा
देवी-पाञ्चायतन, पश्चिममा विष्णु-पञ्चायतन, उत्तर-इशानमा शिव-पाञ्चायतन, दक्षिण र नैऋत्यमा सूर्य-पाञ्चायतन, आग्नेयमा गणेश-पाञ्चायतन
स्थापित गरिएका छन् । वि.सं. १९५२ सालमा
थालनी गरिएको पवित्र तपोभूमिको १०८ वर्ष पुरानो अखण्ड महायज्ञको दर्शनार्थ देश र विदेशबाट
समेत दर्शनार्थीहरू आउने गर्दछन् । हरेक साल वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाको दिन
यहाँ मेला लाग्छ ।
इगोर एलिसेएभ : 'स्वर्गद्वारीको पुल' कवितासङ्ग्रहको गाता
स्वर्गद्वारीको पुल
मतर्फ हात लम्कायो लोहाको पुलले स्वतः,
अगाडि ठडिंदा डाँडो एक्कासी भई स्तम्भित ।
म लम्कें बाछिटातर्फ, सुनिन्थ्यो भेलको स्वर,
मर्स्याङ्दी नदीको तीव्र प्रवाह चल्दथ्यो तल ।।
खोंचमा सुल्ल घिस्रेझैं सर्प मानौ अजङ्गको,
नागबेली परी लम्क्यो चिप्लो चट्टानपत्र त्यो ।
चम्कन्थ्यो काँचुलीतुल्य कत्लैकत्ला परे सरी,
हजारौ काँचका टुक्राहरू नै जिउमा जडी ।।
चियाएँ माथि बिस्तारै, देब्रेतर्फ पनि रुकी,
मेरो स्वागतका लागि निस्कियो कामदेव कि -
रुझेको हातमा मेरो समाएर दियो भर,
बसायो आफूसँगै नै बेञ्चमा केही पल्तिर ।।
साउतीमा भन्यो उस्ले : 'सक्तैन पथ नाघ्न त्यो,
जस्को हृदयमा छैन ज्योति र भाव प्रेमको !
हेर, पस्न दिनु हुन्न आत्मामा निऋतिकन,
भूत-प्रेतहरूबाट बच्नुपर्छ प्रतिक्षण ...
हेर ती युवतीलाई नेत्र गाडेर नेत्रमा,
देख्यौ, ज्योति र मुस्कान आँखाको गहिराइमा ।।
आत्मा उन्को खुला नै छ सदैव प्रेमखातिर !'
'सुन्दरी, नाम के तिम्रो -' 'अनीता !' - हुन्छ उत्तर :
'थाक्यौ कि ? प्यास लाग्यो कि ? भोटेचिया तयार छ,
थाकेका बटुवा सारा यहाँ विश्राम गर्दछ !!'
हे हिमवन्त, एक्कासी गरायौ भेट पावन,
अन्तस्करणदेखि नै धन्यवाद तिमीकन !
काव्यात्मक प्रतिभाको अभाव नभए ममा,
ऋण तिर्नेछु लाएको गुनको निम्ति गीतमा ।।
अथाह भीरको माझ, सन्तापमा उराठिलो,
तारोझै सर्प या नाग, अनि गरुड-दृष्टिको,
पुलले जसरी मान्छेहरूलाई मिलाउँछ,
आशा, प्रेम र आस्थाले त्यस्तै विस्मित पार्दछ ।।
अनिंदो स्मृतिमा ताजै रहेको आजसम्म छ -
कठोर अन्नपूर्णाको चीसो चट्टानको पथ ।
हिमाली श्रृङ्खलाबाट बहेको स्याँठ-गीतमा,
हाँसो सुन्छु अनीताको लज्जालु अनुहारमा ।।
अनु. कृष्णप्रकाश श्रेष्ठ
७ जनवरी २०१२ (शनिवार, क्रिशमस डे)
स्रोत : एलिसेएभ, २०१४ : इगोर
एलिसेएभ, स्वर्गद्वारीको पुल (आदिकवि भानुभक्त आचार्यको द्विशतवाषिर्की
समारोहप्रति समर्पित द्विभाषिक कवितासङ्ग्रह), प्रकाशनालय
'बुलात', दोनवर्ती रोस्तोभ, ई.सं. २०१४ (वि.सं. २०७१) ।
No comments:
Post a Comment