Sunday, June 22, 2014

रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकको सन्दर्भमा भव्य समारोह

रूसको राजधानी मास्कोको एक रमणीय स्थलमा रहेको पार्क पैलेसस्थित रेष्टुराँमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह समिति रूस महासंघको अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहप्रति समर्पित सप्ताहव्यापी कार्यक्रमको उत्कर्षस्वरूप भव्य नेपालरूस साहित्य सम्मेलनको साथै क्युरियो वस्तु, बुद्धको कांस्य मूर्ति र मानेहरू, पौभा (थान्का), गलैंचा, पस्मिना, चिया, कफी इत्यादि  नेपालमा उत्पादित घरेलु शिल्पकला तथा हस्तकलाका वस्तुहरूको प्रदर्शनी र पर्यटन विकाससम्बन्धी विशेष कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

नेपाली राजदूतावास परिवारका साथै रूसमा बसोवास गरिरहेका नेपालीहरुका विभिन्न संघसंस्थाहरू (गैरआवासीय नेपाली संघ, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, विश्व नेपाली साहित्य महासंघ, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली नारी निकुञ्ज, नेपाली छात्रसंघ) का पदाधिकारीहरू, साहित्यानुरागी महानुभावहरू र आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रूसका सम्पूर्ण सदस्यहरूको समुपस्थिति रहेको थियो । 
भानुसमारोहमा आमन्त्रित रूस लेखक संघ, रसियाली विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थान, मास्को राजकीय कलाअध्ययन संस्थानहरूका साथै रूस पर्वतारोहण संघ, मास्को बुद्धधर्म समाज र पर्यटन एजेन्सीहरू आदि विभिन्न रसियाली सांस्कृतिक, शैक्षिक तथा अनुसंधानमूलक संस्थाहरूका प्रतिनिधिहरू पनि निकै संख्यामा उपस्थित थिए । रूसमा भानुभक्तको द्विशतवार्षिक समारोह मनाउने निमन्त्रणा स्वीकार गरी मास्को आइपुग्नुभएका मदन पुरस्कार विजेता नेपाली साहित्यकारद्वय कृष्ण धरावासी तथा अमर ल्यौपानेका साथै सुखद संयोगवश मास्को पुग्नुभएका नेपालका पूर्व शिक्षामन्त्री दीनानाथ शर्माको समेत उपस्थितिले रूसमा भानुसमारोहको रमझम र रौनक निकै बढ्न गएको थियो ।
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिका सदस्यसचिव डा. मणिराज पोखरेल (रूसनेपाल मैत्री तथा सहयोग समाजका उपाध्यक्ष) ले आदिकविप्रति समर्पित नेपालरूस साहित्य सम्मेलनको सञ्चालन गर्दै समारोह समितिका संरक्षक, नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला, अतिथि नेपाली साहित्यकारद्वय कृष्ण धरावासी तथा अमर न्यौपाने, नेपालका पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा, गैरआवासीय नेपाली संघ केन्द्रीय निवर्तमान अध्यक्ष जीवा लामिछाने, केन्द्रीय कोषाध्यक्ष डा. बद्री के.सी., केन्द्रीय सदस्यद्वय गोविन्दप्रसाद गौतम (अध्यक्ष, विश्व नेपाली साहित्य महासंघ), सपिला राजभण्डारी (विश्व महिला प्रतिनिधि) प्रभृति गण्यमान्य जनलाई आसन ग्रहण गराएर समारोहको कार्यक्रमबारे प्रकाश पार्नुभयो ।
गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समितिका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ माधुर्य’ (समारोह समितिका उपाध्यक्ष) ले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वबारे संक्षेपमा प्रकाश पार्दै समारोहमा उपस्थित सबै महानुभावहरूको हार्दिक स्वागत गर्नुभयो ।
रूसका लागि महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले मास्कोमा भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममा रूस भूमिमा आदिकविको आवक्ष प्रतिमा स्थापना गरिनुका साथै रूसी भाषामा समेत भानुभक्तका कविताहरूको अनुवाद प्रकाशनको महत्वबारे जोड दिनुभयो ।
तत्पश्चात् आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिका अध्यक्ष कृष्णप्रकाश श्रेष्ठबाट समारोह समितिका संरक्षक रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूलाई खादा ओढाएर सम्मान गरियो र महमहिम राजदूतज्यूबाट चाहिं रूसमा भानुभक्त आचार्यप्रति समर्पित सप्ताहव्यापी कार्यक्रमका आयोजक एवं सहयोगीहरूलाई पनि खादा ओढाएर सम्मान गरिएको थियो ।

त्यसै अवसरमा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ माधुर्यर नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटा कोपिलाज्यूले अतिथि साहित्यकारद्वय कृष्ण धरावासी तथा अमर न्यौपानेलाई खादा ओढाएर सम्मान गर्दै रूसमा रहेका नेपाली समुदायको तर्फबाट विशेष अवसरमा प्रदान गरिने जय पृथ्वी इभान मिनाएभस्रष्टासम्मानबाट विभूषित गर्नुभयो । यस पंक्तिकारले पनि भानुसमारोहको उपलक्ष्यमा रूसको यात्रा गर्ने पहिलो नेपाली साहित्यकार तथा नेपालको यात्रा गर्ने पहिलो रूसी प्राच्यविदको नामअंकित उक्त पाँचौं सम्मानपत्रबाट विभूषित हुने सौभाग्य पाएको थियो । स्मरण रहोस्, ५ वर्षअघि महाकवि  लक्ष्मीप्रसाद देवकोटाको जन्मशताब्दीको सन्दर्भमा मास्कोमा आयोजित समारोहका अतिथिद्वय नेपाली साहित्यकार डा. ध्रुवचन्द्र गौतम तथा डा. गोविन्दराज भट्टराई पनि यस स्रष्टासम्मानबाट विभूषित हुनुभएको थियो ।
अतिथि साहित्यकार अमर न्यौपानेले आफ्नो मन्तव्य राख्ने क्रममा पद्मश्रीपुरस्कार तथा मदनपुरस्कार प्राप्त क्रमशः पानीको घामसेतो धरतीउपन्यासहरूको सन्दर्भ गाँसेर आफ्नो कृतित्वको बारेमा संक्षेपमा बताउँदै नेपाली जनजीवनको झाँकी प्रस्तुत गर्नुका साथै केही कविता पनि पढेर सुनाउनु भएको थियो ।
अर्का मदन पुरस्कार विजेता अतिथि साहित्यकार कृष्ण धरावासीले रूसको यात्रा गर्ने सम्भावना प्रदान गरिएकोमा हार्दिक आभार प्रकट गर्दै नेपाल र भारतभन्दा बाहिर सर्वप्रथम रूसमा नै भानुभक्तको सालिक स्थापना भएकोमा हर्षोद्गार पोख्नुका साथै नेपाली साहित्यलाई अनुवादको माध्यमबाट विश्वभरि पुर्याउनुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
नेपालका पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले संयोगवश मास्कोमा भानुसमारोहमा सहभागी बन्न पाइएकोका आनन्दानुभूति व्यक्त गर्दै मलाई बन्दुकको डर लाग्दैन, कलमको निकै डर लाग्छभन्ने भावनाले भरिएको कवितापाठ गर्नुभयो ।
तत्पश्चात्  रूसमा नेपाली वाङ्मयको प्रचारप्रसारमा सक्रिय रही नेपाली कविताहरूको रूसी पद्यानुवादमा सहयोग गर्ने रूसी कविकवयित्रीहरूलाई सम्मान गर्ने क्रम चल्यो । विश्व नेपाली साहित्य महासंघ रूस शाखाबाट २००यौं भानुजयन्तीको उपलक्ष्यमा प्रकाशित लोक्को गरूँ हित भनीशीर्षकको द्विभाषिक (रूसी तथा नेपाली) संग्रहमा समाविष्ट आदिकवि भानुभक्तका कविता र काव्यांशहरूको पद्यानुवादमा सहयोग पु-याउने रियाजान नगरनिवासी कवयित्री ल्युदमिला साल्तिकोभा कारणवश समारोहमा उपस्थित हुन नसकेकाले सम्मानपत्र हस्तान्तरण गर्न सकिएन । उनैसङ्ग मिलेर संयुक्त रूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका बालकविताहरूको समश्लोकी द्विभाषिक कवितासङ्ग्रह ‘सुनौला बिहान’ पनि प्रकाशमा ल्याइएको थियो ।
पहिले पनि स्नेह र किम्बदन्तीको देशभन्ने शीर्षकमा नेपालप्रति समर्पित कवितास्रग्रह प्रकाशमा ल्याइसकेकी र हालै हाम्रा आदिकवि भानुभक्तप्रति समर्पित काव्यका अमर भानुशीर्षकमा रूसी भाषामा एक पहिलो काव्य रचना गर्ने मास्कोकी कवयित्री ल्युदमिला आभ्देएभा, नेपाली कविताहरुको पद्यानुवादमा संलग्न र भानुभक्तप्रति समर्पित कवितास्रग्रह स्वर्गद्वारीको पुलप्रकाशित गर्ने दोनवर्ती रोस्तोभनिवासी कवि इगोर एलिसेएभ, नेपालको सांस्कृतिक र प्रतीकात्मक विषयवस्तुमा कविता रचना गरी कामदेवशीर्षकमा द्विभाषिक  संग्रह प्रकाशमा ल्याउने र हाल रूसी भाषामा भानुभक्तप्रति समर्पित लेखहरुको प्रकाशनमा सहयोग गर्ने प्रतिष्ठित सांस्कृतिक कार्यकर्ता, रूसको राजकीय पुरस्कार विजेता मास्कोका कवि भ्लादिमिर सिल्किन लगायत रूसी कवि-कवयित्रीहरूलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
नेपालरूस साहित्य सम्मेलनमा भ्लादिमिर सिल्किनले बज्रशीर्षकको कविता पाठ गरेका थिए । त्यसमा बज्रको चित्रण गरिएको एक श्लोक निम्नप्रकार छ :
बज्र चिन्तित देखिन्छ, झटारो हान्छ क्रोधको ।
आँखा तिर्मित पारेर चम्कन्छ द्युति बज्रको ।।
लक्क व्योम थर्काई गर्जन्छ रोषपूर्वक ।
बुझ्नै सकेन मान्छेले उस्को इच्छा अझैतक ।।
कवयित्री ल्युदमिला आभ्देएभाले भानुभक्तप्रति समर्पित काव्यको एक अंश पाठ गरेकी थिइन् । 

कालुगा अञ्चलमा एत्नोमिर’ (‘नृवंशलोक’) अन्तर्गत निर्मित नेपाली घरमा रूसमा नेपालका आदिकविको द्विशतवार्षिक समारोह मनाउने क्रममा रूस दिवस (१२ जून २०१४) को शुभमुहुर्तमा भानुभक्त आचार्यको आवक्षप्रतिमा स्थापित गरिएको सन्दर्भ गाँसिएको उक्त काव्यको एक सानो अंशको नेपाली अनुवाद प्रिय पाठकवृन्दसमक्ष यहाँ प्रस्तुत गर्न चाहन्छु :
मान्छेको हितका लागि बाँचेथे भानुभक्त ती,
त्यसैले आज नेपालीमाझ छन् मान्य ती अति । 
मनाइँदैछ सर्वत्र उन्को द्विशतवार्षिक,
सूर्यझैं चम्किलो उन्को नाम बन्दैछ सार्थक ।।
कालुगामा रह्यो उन्को आवक्षप्रतिमा अतः,
गर्नेछन् रूसमा उन्ले सूर्यको अब स्वागत । 
रूसमा ग्रीष्ममा हुन्छ न्यानो तथा घमाइलो,
नृवंशलोकमा मान्छे गर्छन् नित्य रमाइलो ।।
नेपाली घरले गर्छ सदा स्वागत मित्रको,
कविलेखकको होला त्यहाँ मिलन स्नेहको ।
कुशाग्र बुद्धिको सौम्य दृष्टि दिएर काञ्चन 
भानुभक्त त्यहाँ बस्छन् सधैं न्यानो छरीकन ।।

यस प्रकार नेपाली र रूसी भाषामा कवितावाचन तथा मन्तव्य अभिव्यञ्जनको क्रम सकिएपछि आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिको अध्यक्षका नाताले मैले समारोहमा उपस्थित रसियाली विद्वान्विदुषी (बौद्ध स्थापत्यकलाकी अन्वेषक विदुषी भिक्तोरिया भेर्तोग्रादोभा, नेपाली नाट्य तथा संगीत विदुषी ताच्याना मोरोजोभा, बौद्धग्रन्थ विशेषज्ञ भिक्टर याकोभ्लेभ, इतिहासविद् सेर्गेइ मुर्तुजालिएभ, ‘मुनामदनको समछन्दी अनुवादक कवि इभान गोलुब्निची, प्रथम रूसी सगरमाथा विजेता एडुआर्ड मिस्लोभ्स्की प्रभृति) आमन्त्रित व्यक्तित्वहरू र रसियाली मित्रहरूप्रति आभार प्रकट गर्दै रूसमा भानुसप्ताहको सफल आयोजनामा सहयोग पु-याउने राजदूतावास परिवार, विभिन्न संघसंस्थाका पदाधिकारीहरू र समारोह समितिका सदस्यहरुका साथै संरक्षक नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलज्यू, अतिथि नेपाली साहित्यकारद्वय कृष्ण धरावासी एवं अमर न्यौपानेप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गरी नेपालरूस साहित्य सम्मेलनको विधिवत् विसर्जन गरेको थिएँ ।
तत्पश्चात् नेपाली राजदूतावासको तत्वावधानमा नेपालमा पर्यटन विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम, नेपालविषयक वृत्तचित्र प्रदर्शन र नेपालमा उत्पादित वस्तुहरूको प्रदर्शनी अवलोकन सम्पन्न भयो र भानुसमारोहका सहभागीहरुको सम्मानमा नेपाली राजदूत दम्पत्ति डा. रविमोहन सापकोटा कोपिला तथा डा. सुलोचना सापकोटाले आयोजना गर्नुभएको सन्ध्याभोजमा सरीक भएर विचारको आदानप्रदान गर्दै नेपाली र रसियाली मित्रहरू सबै एक दोस्राको फोटो खिच्ने र खिचाउने कार्यमा जुटेका देखिए । समारोह समाप्त भएपछि विदावारी हुने क्रममा सबै रसियाली सहभागीहरूलाई राजदूतावासको तर्फबाट नेपालमा पर्यटनविषयक सूचनासामग्रीहरू र बुद्धको मूर्तिसहितको स्वयम्भू स्तुपअङ्कित ब्याग उपहार प्रदान गरिएका थियो
मास्को, १७ जून २०१४ (मङ्गलवार) ।
कृष्णप्रकाश श्रेष्ठ

No comments:

Post a Comment