Thursday, June 19, 2014

रूस लेखक संघको ‘लेर्मोन्तोभ पदक’ बाट नेपाली साहित्यकरद्वय विभूषित

रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहमा भाग लिन मास्को आउनु भएका मदन पुरस्कार विजेता नेपालका लब्धप्रतिष्ठ साहित्यकारद्वय श्री कृष्ण धरावासी तथा श्री अमर न्यौपानेलाई रूस लेखक संघले रूसका विख्यात कवि एवं गद्यकार मिखाइल लेर्मोन्तोभको नाममा स्थापना गरिएको साहित्यिक सम्मान लेमोन्तोभ पदकबाट विभूषित गरेको छ ।
यसै साल रूसमा पनि भानुभक्तकै दौंतरी रूसी कविको द्विशतवार्षिक समारोह भव्यताका साथ मनाइँदैछ । आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति, रूस महासंघको अग्रसरतामा रूस लेखक संघ मास्को नगर संगठनको कार्यालयमा रूसी लेखककविहरूसंग नेपाली साहित्यकारहरूको सद्भावना भेटघाटको कार्यक्रम राखिएको थियो । झण्डै ३ हजार सदस्य संख्या भएको मास्को नगर संगठनका अध्यक्ष प्रो. भ्लादीमिर गुसेभले नेपालका अतिथिसाहित्यकारद्वय श्री कृष्ण धरावासी एवं श्री अमर न्यौपाने र उहाँलाई साथ दिने हामी सबै नेपालीहरूको हार्दिक स्वागत गर्नुभयो ।
सद्भावना भेटघाटको अवसरमा रसियाली पक्षबाट रूस लेखक संघ मास्को नगर संगठनका कार्यकारी अध्यक्ष, कविभ्लादिमिर बोयारिनोभ, रुसको राजकीय पुरस्कार विजेता कवि भ्लादिमिर सिल्किन, रूसी भाषामा लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य  ‘मुनामदनको छन्दानुवादकर्ता इभान गोलुब्निची र दोनवर्ती रोस्तोभ नगर निवासी कवि इगोर एलिसेएभको सहभागिता रहेको थियो भने नेपाली पक्षबाट गैरआवासीय नेपाली संघका केन्द्रीय निवर्तमान अध्यक्ष जीवा लामिछाने, द्विशतवार्षिक समारोह समितिका अध्यक्ष कृष्णप्रकाश श्रेष्ठ, उपाध्यक्षद्वय डा. मधुकृष्ण श्रेष्ठ (गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष) तथा गोविन्दप्रसाद गौतम (विश्व नेपाली साहित्यमहासंघ रूस शाखाका अध्यक्ष), कोषाध्यक्ष डिल्ली खरेल सुमन’ को समुपस्थिति रहेको थियो ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न विचार-विमर्शको क्रममा अलेक्सान्द्र पुश्किन, मिखाइल लेर्मोन्तोभ, लेभ तोल्सतोइ, फ्योदोर दोस्तोएभ्स्की, आन्तोन चेखोभ जस्ता विश्वविख्यात लेखक-कविहरूकलाई जन्माउने  र फैलावटमा वोश्जको सबभन्दा विशाल देश रूस र बुद्धको जन्मभूमि एवं अग्लाइमा आकाश छुने देश नेपालको प्राचीनतम सन्निकटता, भाषिक, सांस्कृतिक र वैचारिक समानतामा जोड दिइनुका साथै रूसी र नेपालीमा छोटा कविताहरू पनि पढिएको थियो । रूसी भाषाको माध्यमबाट ककेशियाली आभार भाषामा सिर्जना गर्ने रासुल हाम्जातोभ विश्वप्रसिद्ध भएको चर्चा चलेपछि नेपालको तीनपटक यात्रा सम्पन्न गर्ने दागेस्तानका कविद्वारा आबार भाषामा लेखिएका नेपालविषयक काव्यद्वय “जीवनचक्र” र “जीवित देवी कुमारी” रूसी भाषामा प्रकाशित हुनासाथे यसै पंक्तिकारबाट नापालीमा छन्बानुवाद भई नेपाल जकीय प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित गरिएको र यसै वर्ष रसियाली कवि रासुल हाम्जातोभको  ९०-यौं जन्मजयन्तीको सन्दर्भमा नेपाल र दागेस्तानका छविचित्रहरूबाट सुसज्जित त्रैभाषिक (रूसी, आभार तथा नेपाली) अल्बम-ग्रन्थको रूपमा “दुई देवताप्रति” शिर्षकमा  मास्कोमा प्रकाशित गरिएको पनि अवगत गराइएको थियो । यसै पंक्तिकारबाट नेपालीमा अनुवाद गरिएको मिखाइल लेर्मोन्तोभको उपन्यास “हाम्रो जमानाका चरित्रनायक” २५ वर्षअघि नै प्रकाशित भई अप्राप्य बनिसकेको जनाउ दिइएको थियो । निष्कर्षस्वरूप दुवै देशका साहित्यकर्मीहरुको आपसी सम्पर्क र प्रतिनिधिमण्डलहरुको आदानप्रदानका साथै रूसी तथा नेपाली साहित्यिक कृतिहरुको एक अर्काको भाषामा अनुवादको महत्व र आवश्कताबारे जोड दिइएको थियो ।
यसै परिप्रेक्ष्यमा दोनवर्ती रोस्तोभ नगरका कविइगोर एलिसेएभद्वारा नेपालका आदिकविको द्विशतवार्षिक समारोहप्रति समर्पित गरी प्रकाशका ल्याइएको द्विभाषिक (रूसीबाट नेपालीमा कृष्णप्रकाशबाट पद्यानुवाद गरिएको) कवितासंग्रह स्वर्गद्वारीको पुलको विमोचन गरिएको थियो ।
अदिकवि भानुभक्तका कविता र काव्यांशको मूल पाठ र रूसी भाषामा कृष्णप्रकाश श्रेष्ठ तथा ल्युदमिला साल्तिकोभाको संयुक्त छन्दोबद्ध अनुवाद समेत समावेश गरिएको लोकको गरूँ हित भनीशीर्षकमा विश्व नेपाली साहित्य महासंघबाट प्रकाशित ग्रन्थ रूस लेखक संघ मास्को नगर संगठनको पुस्तकालयका लागि प्रदान गरिएको थियो भने सद्भावना भेटघाटमा उपस्थित रूसी लेखककविहरूलाई बुद्धको मूर्ति उपहार दिइएको थियो ।
विदेशी साहित्यकारहरूमध्ये सर्वप्रथम नेपाली साहित्यकारद्वयलाई रूसी कवि मिखाइल लेर्मोन्तोभको नामले विभूषित पदक प्रदान गरेर सम्मान गरिएकोमा रूस लेखक संघप्रति कृतज्ञता ज्ञापन गरेर हामीले यो अविस्मरणीय परिघटनालाई छविचित्रमा अंकित गर्न फोटोहरू पनि खिंचेर ल्याएका छौं ।
दिनाङ्क : १६.०६.२०१४ (सोमवार)

No comments:

Post a Comment