Saturday, November 5, 2011

युरी गागारिनको भावपूर्ण पत्र


संसारमा पहिलोपल्ट मानवजातिका सुपुत्र यूरी गागारिनले अन्तरिक्षमण्डलमा डुबुल्की लगाएर नयाँ

अन्तरिक्षयुगको शुभारम्भ गरेको यस वर्ष १२ अप्रिलका दिन आधा शताब्दी पूरा हुन्छ । काकताली

पनि कस्तो पर्न गएको छ भने हामी नेपालीहरू त्यस मितिको लगत्तै पछि बिक्रम सम्बत्को नयाँ वर्ष

पनि मनाउँछौं । विश्वभरि नै अन्तरिक्ष विजयको आधा शताब्दी पूरा भएको वसन्तका यी दिनहरूमा

नेपालको भूमिमा पदार्पण नगरे तापनि पृथ्वीको सवभन्दा अग्लो हिउँचुली भएको देश हुनाले युरी

गागारिन अन्तरिक्षको यात्राकालमा पृथ्वीको सबभन्दा नजिक पर्ने नेपालको नै सबभन्दा निकट

थिए भन्न सकिन्छ ।

अन्तरिक्षमा गोता लगाउने प्रथम रूसी अन्तरिक्षयात्रीले आफू अन्तरिक्ष उडानका लागि

चयन भएपछि आफ्ना परिवारजनहरू (पत्नी भालेन्टिना इभानोभ्ना, सुपुत्रीद्वय एलेना तथा गालिना)

को नाममा लेखेको पत्रको नेपाली रूपान्तर यहाँ प्रस्तुत गर्न चाहन्छु । पत्रमा उल्लिखित रूसी नारी

नाउँहरू (भालेन्का वा भाल्युशा, लेनोच्का र गालोच्का चाहिं क्रमशः भालेन्टिना, एलेना र गालिनाको

स्नेहवाचक रूप हो भने यूरा वा युरी पर्यायवाची नाम हो) । अन्तरिक्ष विजयको स्वर्णजयन्ती मनाइने

यस क्षणमा संसारसमक्ष अन्तरिक्ष-युगको शुभारम्भ गर्ने रूसी अन्तरिक्षयात्री युरी गागारिनले

५० वर्षअघि आफ्ना स्वजनहरूलाई लेखेको पत्र यहाँ प्रस्तुत गर्न चाहन्छु । विश्वका प्रथम

अन्तरिक्षयात्रीको पत्र यस प्रकार छ :

'मेरा प्याराहरू, आराम रहू ! अत्यन्त मायालु भालेन्का, प्यारा लेनोच्का र गालोच्का !

तिमीहरूलाई केही हरफ लेख्ने निधो गरें । कारण म तिमीहरूसंग त्यो आनन्द र सुख बाँड्न चाहन्छु

जुन आज ममाथि आइपरेको छ । आज सरकारी आयोगले पहिलोपल्ट मलाई अन्तरिक्षमा पठाउने

निर्णय लिएको छ । थाहा छ, प्यारी भाल्युशा, म कति प्रफुल्ल छु - तिमीहरू पनि मसङ्गै आनन्दित

होऊ भन्ने मेरो चाहना छ । एउटा मामुली मान्छेलाई त्यत्रो राजकीय महत्वको कार्यभार सुम्पने

विश्वास गरिएको छ : अन्तरिक्षमा पहिलो गोरेटो पहिल्याउनु परेको छ ! वास्तवमै यो इतिहास हो, यो

नयाँ युगको आरम्भ हो ! एक दिनपछि मैले उडान गर्नुपर्ने छ । त्यतिखेर तिमीहरू आ-आफ्नो काममा

लगिसकेका हुनेछौं । मेरो काँधमा ठूलो उत्तरदायित्व आइपरेको छ । यसभन्दा पहिले म केही छिन्

तिमीहरूसंग रहन चाहन्थें, तिमीसंग कुराकानी गर्न चाहन्थें । तर, अपसोच, तिमीहरू निकै टाढा छौ । जे

भए तापनि म सधैं तिमीहरूलाई आफ्नो नजिकै अनुभव गर्छु...

यन्त्रउपर मेरो पूर्ण विश्वास छ । त्यसले धोका दिने छैन भन्ठान्छु । तर कहिलेकाहीं

यस्तो पनि हुने गर्छ कि मान्छे समथल परेको ठाउँमा लड्छ र गर्धन भाँच्न पुग्छ । यहाँ पनि कुनै

अप्रत्यासित घटना घट्न सक्छ । तर मलाई अहिले यसमा विश्वास छैन । यदि कथंकदाचित् केही भइ

नै हाल्यो भने तिमीहरूसंग, खास गरी तिमीसंग, भाल्युशा, म अनुरोध गर्छु कि पीर लिएर बेहोश नहुनू !

किनभने जीवन भनेको जीवन नै हो र कसैको पनि यहाँ कुनै ग्यारेन्टी हुँदैन कि भोलिपल्ट नै उसलाई

गाडीले नकिचोस् ! कृपया आफ्नो हेरविचार गर्नू, हाम्रो छोरीहरूको हेरचाह गर्नू, उनीहरूलाई त्यसरी नै

माया गर्नू, जसरी म गर्दछु ! कृपया उनीहरूलाई यसरी हुर्काउनू कि उनीहरू निकम्मा नबनून्, आमाको

मुख मात्र ताक्ने नबनून्, बरु यस्तो सच्चा मान्छे बनून्, जसलाई जीवनको उथलपुथलले नतर्साओस् !

उनीहरूलाई यस्तो मान्छे बनाएर हुर्काऊ, जो नयाँ समाज - साम्यवादको निम्ति योग्य बन्न सकून् !

यसमा तिमीलाई राष्ट्रले मद्दत गर्ने छ । अनि आफ्नो व्यक्तिगत जीवन त्यसरी नै गुजार्नू जस्तो

तिमीलाई तिम्रो विवेकले सुझाउने छ ! आफूलाई जस्तो ठीक लाग्छ त्यसै गर्नू ! म तिमीउपर कुनै

किसिमको दायित्व थोपर्न चाहन्नँ । यस्तो गर्ने मलाई कुनै अधिकार पनि छैन । पत्र ज्यादै शोकमय

बन्न पुग्यो । स्वयं मलाई यस कुरामा विश्वास लागिरहेको छैन । यो पत्र तिमीले कहिल्यै पनि

पढ्नुपर्ने छैन भन्ने म आशा राख्तछु । यस्तो क्षणिक कमजोरीको अभिव्यक्तिप्रति स्वयं मलाई

आफूसङ्गै लज्जा हुनेछ । तैपनि यदि अप्रिय घटना घटि नै हाल्यो भने तिमीले सारा कुरा पूर्णतः थाहा

पाउनै पर्दछ । अहिलेसम्म म इमान्दारीपूर्वक बाँचेको छु, सत्यनिष्ठ छु, मानवहितलाई नै सर्वोपरि

मानेको छु, यद्यपि त्यो उति ठूलो त अवश्य छैन । उहिले बाल्यकालमा मैलै कतै भालेरी च्कालोभको

शब्द पढेको थिएँ : 'यदि हुनु नै छ भने पहिलो नै हुनू !' म त्यही बन्ने प्रयास गर्दैछु र अन्त्यसम्म नै

बन्ने छु ! भालेन्का, म यो उडान हाम्रो महान् मातृभूमि, हाम्रो विज्ञान र नयाँ साम्यवादी समाजका

मानिसहरूप्रति समर्पित गर्न चाहन्छु, जुन समाजमा हामी पदार्पण गर्दै छौं ।

केही दिनपछि नै हामी फेरि एकसाथ हुनेछौं भन्ने आशा राख्छु । हामी निकै खुशी हुनेछौं ।

भालेन्का, तिमी मेरा जन्मदाताहरूलाई नबिर्सनू ! सम्भावना भएमा उहाँहरूलाई केही न केही सहयोग

गर्नू ! उहाँहरूलाई मेरो तर्फबाट हार्दिक अभिवादन सुनाइदिनू ! मेरो तर्फबाट माफी पनि मागिदिनू !

किनभने उहाँहरूलाई यसबारे केही पनि थाहा छैन र थाहा दिन पनि मिल्दैनथ्यो । अँ, सके भन्नुपर्ने सबै

कुरा भनियो भन्ने लाग्छ । तिमीहरूलाई मायापूर्वक अङ्कमाल गर्छु, मीठो चुम्बन लिन्छु । बिदा !

तिमीहरूको बुआ, यूरा । १०.०४.१९६१ सन्, गागारिन' ।

यूरी गागारिनले अन्तरिक्षको उडान गर्दा पृथ्वीमा फर्कन पाइने हो वा हैन भन्ने आशङ्का

अहिलेभन्दा निकै बढी थियो । यो कुरा उनको पत्रको बेहोराबाट पनि स्पष्ट हुन्छ । हुन पनि १०८

मिनटमा पृथ्वीवरिपरि एक फन्को लगाएर उत्रँदा उनको अवतरणयन्त्र पहिले हिसाब लगइएको

ठाउँभन्दा निकै टाढा उत्रिएको थियो र उनले प्यारासुटको प्रयोग गरेर धरावतरण गर्नुपरेको थियो

। खोजदल अर्कै ठाउँमा उनको अवतरणको प्रतीक्षा गर्दैथियो । गागारिन उत्रेको ठाउँमा उनलाई

कसैले पनि पर्खिरहेको थिएन । उनलाई पृथ्वीवासीहरूमध्ये सबभन्दा पहिले सारातोभ जिल्लाको एक

बनपालेकी पत्नी आन्ना ताख्तारोभाले देखेकी थिइन्, जो आफ्नी नातिनी रिताको साथमा थिइन् ।

प्यारासुटबाट उत्रेको अन्तरिक्षपोशाकधारी मान्छेलाई 'जासूस' भन्ठानेको हुनुपर्दछ । त्यसैले युरी

गागारिनले 'म सोभियत मान्छे नै हु' भनेर परिचय दिनुपरेको थियो रे ।

युरी अलेक्सेएभिच गागारिनको जन्म सन् १९३४ को ९ मार्चका दिन स्मोलेन्स्क जिल्लाको

ग्जात्स्क भन्ने सहरनजिकै पर्ने क्लुशिनो भन्ने गाउँको एक किसानको परिवारमा भएको थियो

। उनका पिता अलेक्सेइ इभानोभिच सिकर्मीको काम गर्दथे भने आमा आन्ना मात्भेएभा चाहिं

दुग्धकार्यालयमा काम गर्दथिन् । सन् १९६८ को २७ मार्चका दिन हवाई दुर्घटनामा परेर युरी

गागारिनको देहान्त भएपछि मात्र उनकी पत्नी भालेन्टिना इभानोभ्नाले प्रथम अन्तरिक्षयात्रीले

अन्तरिक्षयात्रा गर्नुभन्दा केही पहिले आफ्ना परिवारजनको नाममा लेखेको उक्त पत्र पढ्न पाएकी

थिइन् । विश्वका प्रथम अन्तरिक्षयात्रीको भावनाबाट नेपाली पाठकलाई अवगत गराउन नै यहाँ

उक्त पत्रको रूपान्तरण प्रस्तुत गरेको हुँ ।

विश्वमा र्सवप्रथम १२ अप्रिल १९६१ का दिन युरी गागारिनले 'भस्तोक' यानमा पृथ्वीवरिपरि

१०८ मिनटको छोटो तर युगान्तरकारी उडान सम्पन्न गर्दा म मास्कोमा अध्ययनार्थ पुगिसकेको

थिएँ र सोभियत जनताको आम प्रफुल्लताको एक प्रत्यक्षदर्शी हुने सौभाग्य पाएको थिएँ । विश्वका

प्रथम अन्तरिक्षयात्रीको सफल उडानपश्चात् यूरी गागारिन वास्तवमै विश्वकै नागरिक बनेका थिए

र विभिन्न देशहरूमा उनको हार्दिक स्वागत भएको थियो । उनले नेपालको भूमिमा भने पदार्पण गर्ने

समय र सम्भावना पाएनन्, तर उनका अनुयायी तथा सहकर्मी चारजना रूसी अन्तरिक्षयात्रीहरूको

नेपालमै स्वागत गर्ने सौभाग्य नेपालीहरूले पाएका थिए । मानवजातिले अन्तरिक्षको विजय-

अभियान शुभारम्भ गरेको अर्धशताब्दी महोत्सवको अवसरमा विश्वका प्रथम अन्तरिक्षयात्री

युरी गागारिनको भावना नेपालीहरूसम्म पुर्‍याउन युक्तिसंगत हुने ठान्दछु । आधा शताब्दीभित्र

अन्तरिक्ष प्रविधिले निकै उन्नति गरिसकेको छ । हाल मङ्कल ग्रहतर्फ उडानको समेत तैयारी

भइरहेको छ । मान्छेको निम्ति अन्तरिक्षको उडान अहिले पनि उत्तिकै जोखिमपूर्ण छ । यस

अर्द्धशताब्दीको अवधिमा रूस र अमेरिकाका सैयौं अन्तरिक्षयात्रीहरूले मात्र नभई संसारका

विभिन्न महाद्वीपका दशौं प्रतिनिधिहरूले समेत अन्तरिक्षको भ्रमण सम्पन्न गरिसकेका छन्

र अमेरिकी अन्तरिक्षयात्रीहरूले त चन्द्र धरातलमा समेत पदार्पण गरेका छन् । हाल पृथ्वीको

कक्षमा पुर्‍याइएको अन्तर्राट्रिय अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरूले महिनौंसम्म उडान

गरेर विभिन्न वैज्ञानिक अनुसन्धान सम्पन्न गर्ने कुराले कसैलाई पनि आश्चर्यचकित तुल्याउन

छोडिसकेको छ र यो सामान्य परिघटना बनिसकेको छ ।

६ अप्रिल २०११ (बुधवार)

मास्को, रूस महासंघ ।

No comments:

Post a Comment