Sunday, November 20, 2011

थानकोट किंवा शोणितपुर : इतिहास र सम्भावना

          मेरा मितबुवा देवरत्न (आशामरु) श्रेष्ठसंग उहाँको घर ताहाननि (थानकोट) मा एकपल्ट कुरा चल्दा थानकोटको प्राचीन नाउँ शोणितपुर हो भन्ने थाहा पाइएपछि आजभन्दा दशकअघि नै यस कथनको प्रामाणिकता सिद्ध गर्ने खोजमा लाग्दा वाणासुरको बारेमा मेरा मीतबुवाले सुनाएको किम्बदन्तीको मूलस्रोत 'श्रीमद्भागवत् महापुराण' मा भेटे 'उषाहरण' नाटक लेखी थानकोटमा मञ्चन समेत गरिएको थियो भने 'नेपाल महात्म्यमा समेत 'वाणासुरो दैत्यराजः  शोणिताख्ये पुरेभवेत्' भन्ने लेखिएको पाइँदा थानकोट नै प्राचीन शोणितपुर भएको प्रमाणित भएको पक्का भएको थियो तसर्थ शोणितपुर नामको प्रचार-प्रसारका लागि चुनीखेलमा निर्मित नयाँ तीनतले घरमा 'शोणितपुर, चुनिखेल' अङ्कित साइनबोर्ड टाँग्नुका साथै मेरा भाइ नारायणप्रसाद श्रेष्ठ (फुपुका छोरा) को सहयोगबाट स्थानीय युवाहरूलाई समेत संगठन गरी एउटा क्लब संचालन गरेको थिएँ स्थानीय महालक्ष्मीको मन्दिरकै बगलमा रहेको पाटीमा नियमित रूपमा यस क्लबको बैठक बस्ने गर्दथ्यो एकपल्टको यस्तै बैठकमा यस भेकबाट प्रथम आम निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार त्रिपुरवरसिंह प्रधानसंग अन्तक्रिया सम्पन्न गरिएको अहिले मलाई सम्झना भएर आयो जे होस्, तास खेलेर समय बिताउने युवाहरूमा चेतनाको प्रचारमा यस क्लबले किञ्चित प्रयास गरेको थियो इमाखेलमा सानो पुस्तकालयको संचालनदेखि नाटकको मञ्चनसम्मको कार्यमा यसका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो

 
राजा महेन्द्र तथा प्रधानमन्त्री टङ्कप्रसाद आचार्यद्वारा भाग लिइएको त्रिभुवन राजपथको उद्घाटन समारोहको अवसरमा स्थानीय गण्यमान्य महानुभावहरूले स्वागतद्वार बनाएको सन्दर्भमा यस क्लबका सदस्यहरूले युवायुवतीहरूलाई संगठित गरी  बिल्ला भिरेर स्वयंसेवकको रूपमा योगदान गरेका थिए थानकोट भेकमा स्कूल, स्वास्थ्यचौकी, कलधारा दहचोक जाने बाटो पुलको निर्माणलगायत चार माग गरिएको  बिन्तीपत्र यसै पंक्तिकारले राजाकै हातमा सुम्पेको थियो त्यसको अर्को दिन काठमाडौं केन्द्रीय पुलिस गोस्वारा (हनुमानढोमा) बाट पुलिसहरू आई 'राजालाई बिन्तीपत्र चढाउने को हो ?' भन्दै खोजखबर गर्न थाल्दा उक्त क्लबका एक सदस्य बित्यासै पर्न थाल्यो भन्ने ठानेर दगुर्दै मलाई खबर गर्न आएको थियो उसलाई 'नबिराउनू, नडराउनू !' भन्दै ढाडस दिंदै तत्कालै थानकोटका तत्कालीन प्रमुख व्यक्ति हर्षदास अमात्यलाई भेट्न इमाखेल पुगेको थिएँ उनैको मोटरसाइकलमा पछिल्तिर सवार भई ठाना पुगेका थियौं (त्यसताका थानकोटमा मोटरसाइकल हुने उनै एकजना मात्र थिए) ठानामा हाम्रो स्वागत यो राजाबाट बिन्तीपत्रमा तोक लागिआएको सूचना दिंदै सम्बन्धित मन्त्रालयमा सम्पर्क राख्न सिंहदर्वार जाने अनुरोध गरियो...
     राजाको तोक तत्कालै लागे पनि माग निश्चय नै छिटो पूरा हुने कुरै भएन आखिर नेपालमा संसदका लागि प्रथम आम निर्वाचनको घोषणापश्चात् थानकोटको इतिहासमै पहिलोपल्ट नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गणेशमान सिंहलाई नै भाषण दिन निम्त्याइएको थियो थानकोटको केन्द्रमा अवस्थित तीनधारामाथि मञ्चमा थानकोटमा ने.का. एकाईका संस्थापक मीनबहादुर श्रेष्ठ, हर्षदास अमात्य, मेरै बुवा रामबहादुर श्रेष्ठप्रभृति गण्यमान्य व्यक्तिहरूको माझमा बसेका गणेशमान सिंहको भाषण सुन्न थानकोटवासीहरू कलात्मक झ्यालमपाटीको चोकमा एकत्रित भएका थिए त्यतिखेर पनि उक्त चार माग गुञ्जेको थियो यसको उत्तरमा प्रमुख अतिथिबाट चुनावमा विजय प्राप्त भएपछि बन्ने काङ्ग्रेसको सरकारबाट यस्ता विकासका कुराहरू अवश्यंभावी रूपमा संचालन गरिने जनाइएको थियो

     सबभन्दा पहिले स्कूल स्थापनाको माग पूरा भयो बाणस्थलीका तप्तबहादुरसहित दुईजना कार्की-बन्धुहरू शिक्षक नियुक्त भएर आएपछि इमाखेलमा संचालित बैठकमा स्कूलको नामकरणबारे प्रश्नमा छलफल हुँदा शोणितपुर नामको प्रचारको उद्देश्यले त्यसको नाम शोणितपुर विनायक विद्याश्रम भन्ने राखिएको थियो इमाखेलमा संचालित हुन थालेको यही प्राथमिक स्कूल गोदाममा संचालित भविष्यसेवा मिडिलस्कूलको उत्तराधिकारी बन्यो ब्याचलर अफ आर्टसको डिग्री पाइएपछि तत्कालीन सोभियत सरकारको छात्रवृत्तिमा मास्कोतर्फ अध्ययनार्थ प्रस्थान गर्दा कार्की-बन्धुहरूलाई पनि योग्यता बढाउँदै लगेर स्कूल चलाउने निर्देशन दिई रूसतिर लागेको थिएँ पछि गोदामको स्कूल भवनमा स्वास्थ्यकेन्द्र संचालन भएको, दहचोकमा पनि प्रार्थमिक स्कूल खुल्नुका साथै त्यसतर्फ जाने पुल पनि बनेको थानकोटमा पनि धाराहरू राखिएको खबर पाएको थिएँ...

      चलचित्रको पर्दामा झैं यी सबै परिघटनाहरू मेरो स्मृतिपटलमा त्यतिखेर अनायासै झुल्किन पुगेका थिए, जतिखेर यसपटक इमाखेलमा संचालित मङ्गलोदय माध्यमिक विद्यालयमा आयोजित भेटघाट कार्यक्रममा भाग लिन पुगेको थिएँ त्यहाँ वाणस्थलीलाई निवासस्थान बनाएर थानकोट भेकका बासिन्दा बन्न पुगेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितका साथै अन्य गण्यमान्य व्यक्तिहरूविभिन्न स्कूलका शिक्षकहरू, शोणितपुर साहित्य संगीत कला समाजका भीमनारायण श्रेष्ठ (अध्यक्ष), मोहनमान श्रेष्ठ, भाइ नारायणप्रसाद श्रेष्ठ आदिका अतिरिक्त भविष्यसेवा मिडिल स्कूलमा अंग्रेजी पढ्न सुरु गरेका हाल सरकारी सेवाबाट निवृत्त गोपाल सिग्देल (महादेवस्थान) लगायत त्यहाँ उपस्थित सबैसंग सौहार्दपूर्ण वार्तालाप विभिन्न विषयमा कुराकानी भएको थियो भने 'स्थानीय पत्रिका' भनिने अखबारसित सम्बन्धित पत्रकार भाइले मसंग अन्तवार्ता समेत लिएका थिए

      प्रजातन्त्रको उदयपश्चात् सन् १९५५ तिर भविष्यसेवा मिडिल स्कूल संचालित नभएसम्म एउटा भाषा पाठशाला बाहेक आधुनिक खालको कुनै स्कूल नभएको भेकमा हाल थानकोटआसपास मात्रै पनि चुन्देवी माध्यमिक विद्यालय (चुनीखेल), माउण्ट चन्द्रागिरि माध्यमिक विद्यालय (खरीबोट), चण्डिकादेवी माध्यमिक विद्यालय (वाणभञ्ज्याङ),  मङ्गलोदय बहुमुखी क्याम्पस (खरीबोट) आदि संचालन भइरहेको थाहा पाइयो । एकपल्ट राणाकालमा यहाँ आधारस्कूल स्थापना गरिंदा 'हामीलाई स्कूल चाहिंदैन' भनी थानकोटवासीहरूले बिन्तीपत्र चढाएकाले सो स्कूल फर्पिङमा सरेको थियो भनी कुनै समय निजामती किताबखानामा सेवारत बुवाज्यूबाट सुनेको इतिहास सम्झन पुगेको थिएँ यहाँ अहिले शिक्षित व्यक्तिहरूको संख्या बढ्नुका साथै शोणितपुर साहित्य, सङ्गीत तथा कला समाज नामक संस्था पनि कार्यरत रहेको विभिन्न उद्योग-व्यवसाय पनि स्थापित भएका छन् अधिकांश उद्यमीहरूले पनि शोणितपुर यातायात प्रा.लि., शोणित स्टेशनरी, शोणितपुर ट्रेडर्स आदि व्यावसायिक संस्थाको नामअगिल्तिर 'शोणितपुर' भन्ने शब्द समेत थपेर यस भेकको प्राचीन नामको प्रचार-प्रसारमा सहयोग पुर्याइरहेका छन् यहाँबाट संचालित बसहरूमा ठूल्ठूला अक्षरमा 'शोणितपुर' अङ्कित भएको देख्दा निकै हर्षित हुन पुगेको थिएँ हाल थानकोटभित्र समेत गाडीहरू चल्न थालेको देखेर अचम्भित समेत भएँ

      इमाखेलको मङ्गलोदय माधयमिक श्कूलको परिसर अवलोकनको क्रममा “यो ठाउँ त चिन्नै नसकिने भएछ” भन्ने मेरो टिप्पणीको उत्तरमा एकजनाले अलि परको रूख देखाउँदै भनेका थिए : “त्यो रूखको त सम्झना छ होला नि !” रूख त परिचित नै थियो, तर यस भेकमा जताततै प्रशस्त नयाँ घरडरू बनिसकेका रहेछन् । मलाई १४ वर्षकै उमेरमा दिवंगत भएको मेरो भाइ लोकप्रकाशले शोणितपुर नामको प्रचारको वेला रचना गरेको एउटा कविताका निम्न पंक्तिडरूको सम्झना भएर आयो

शोणितपुर हो प्राचीन नाउँ,
हुँदा हुँदा भो थानकोट गाउँ ।
हाल शहर भो झन्झन राम्रो,
शोणितपुर नै घर हो हाम्रो ।।
    
      यसपटक भाइ तेजप्रकाश नारायणप्रसाद, अनि बहिनी ताराबदनसंगै विभिन्न सांस्कृतिक र ऐतिहासिक स्थलहरूको फोटो खिच्दै थानकोट अवलोकन गर्न थाल्दा विभिन्न जीर्णोद्धारका कार्यहरू सम्पन्न गरेर बाटोमा जताततै लथालिङ्ग भइरहेका ढुङ्गाहरू मिलाई छाप्नुका साथै जथाभावी मिल्काइने फोहोर सफा गर्ने व्यवस्था मिलाउन सके क्या राम्रो हुनेथियो भन्ने मनमा लागेको थियो आदिनारायण, महालक्ष्मी, इन्द्रविनायक आदि यहाँका प्रसिद्ध देवस्थलका साथै केन्द्रमा रहेको कोटघर, झ्यालमपाटी, तीनधारा, विभिन्न स्थानमा रहेका कलात्मक नौधारा, द्योलँ लगायत यहाँका प्राचीन सांस्कृतिक निधिहरूको संरक्षणमा ध्यान दिनु आवश्यक भन्ने लाग्दछ

     यहाँनेर नेपालका विख्यात कवि केदारमान व्थथितबाट थानकोटको सिरानमा रहेको 'चन्द्रागिरि भञ्ज्याङ' को सन्दर्भमा रचिएको कविताको निम्न उद्धरण प्रस्तुत गर्न चाहन्छु :

 त्यो बेच्ने मैयाँनानीको
 मधुर-मधुर मुस्कान पिएर,
 थान्कोट उमङ्ग-विभोर भई
 गाइरहेको गीत सुनेर,
 चन्द्रागिरिको भञ्ज्याङ नाच्दछ
 कान्तिपुरीको सुषमा हेरी !

     यसै भेकमा दशकअघिसम्म भारततिर जाने एक मात्र ऐतिहासिक पैदल बाटो (हाल गणेशमानमार्ग), उपत्यकाका नगरहरूको रमणीय दृश्य एकै झलकमा पाउन सकिने चन्द्रागिरिभञ्ज्याङत्रिभुवन राजपथको नागबेली परेको बाटोका साथै हिमालय श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने वाणभञ्याङ, पृथ्वीनारायण शाहले दर्वार बनाउने कल्पना गरेको  दहचोकको डाँडा (यहाँ धार्मिक महत्वको प्राचीन इन्द्रदहका साथै काठमाडौं उपत्यकामा आक्रमण गर्ने क्रममा गोर्खाली सेनाले बनाएको ऐतिहासिक किल्ला पनि ),  वाणासुरको दर्वार रहेको अनुमान गरिने वाणस्थली, पौराणिक चन्द्रभराटेश्वर महादेवस्थान, मातृतीर्थ, पुराना घर तथा मन्दिरहरू आधुनिक रमणीय विश्रामस्थल त्रिभुवन पार्क आदि रहेका छन् राजधानीबाट १० किलोमीटरको मात्र दूरीमा अवस्थित यस भेकमा दृश्यावलोकनका साथै चन्द्रागिरिमा पैदल यात्रा चाँगुनारायणभन्दा पुरानो मानिने आदिनारायणस्थानका साथै विभिन्न जात्रा आदि सांस्कृतिक निधिहरूका साथै ऐतिहासिक नगर ढाँचाको बस्ती पनि अस्तित्वमा छन् काठमाडौं उपत्यकाकै एक प्राचीनतम यस बस्ती (लिच्छविकालको थेन्चोग्राम) का दर्शनीय स्थलहरू सुव्यवस्थित गर्न सके यो एउटा पर्यटकीय आकर्षणको थलो बन्ने निकै ठूलो सम्भावना

२६ अप्रिल २०११ (कुलेश्वर),
      मास्को, रूस महासंघ ।


No comments:

Post a Comment