Saturday, November 5, 2011

चुनिखेलदेखि धुलिखेलसम्म - मेरो जीवनको एक अविस्मरणीय उत्सवमय दिन



आधाशताब्दीयतादेखि रूसलाई कर्मभूमि मानेर मास्कोमा बसोवास गर्दैआइरहेको मलाई विक्रम सम्बत् २०६७ को 'नइ देरुनीख' अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय लिइएको सन्दर्भमा साहित्यिक बन्धु नरेन्द्रराज प्रसाईज्यूको र्इ-मेल पाउँदा आकाशबाट एक्कासी दुर्इ लाख रुपैंया मेरो पोल्टोमा खस्न आइपुगेको आश्चर्यानुभूति भयो नेपाली मापदण्डअनुसार साहित्यिक पुरस्कारको राशि निकै ठूलो भएकाले मात्र अचम्भित भएको थिइनँ मलाई नै पुरस्कार दिने निर्णय लिइएकोबाट आश्चर्यचकित हुन पुगेको थिएँ त्यसमा पनि पुरस्कारको नाम नै अनौठो खालको लागेर अकमक्क पर्न गएको थिएँ कुन चरीको नाम हो 'नइ देरुनिख' ? तर अर्को -मेलबाट त्यसको स्थापना श्री रामबाबु प्रसाईबाट भएको पुरस्कारदाता परिवारका सदस्यहरूको नामको आद्याक्षरबाट पुरस्कारको नामकरण गरिएको सूचना पाउनाका साथै अघिल्लो वर्ष सर्वप्रथम यो पुरस्कार भारतनिवासी वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई प्रदान गरिएको जानकारी प्राप्त भएपछि पुरस्कार थाप्न श्रीमती इरिनासहित काठमाडौं जाने निधो गरें तुरुन्तै २०६८ को वैशाख १५ गते (२८ अप्रिल २०११) का दिन आयोजना गरिने पुरस्कार वितरण समारोहमा उपस्थित हुने सूचना पठाएँ...

काठमाडौंमा बिजुली बत्ती दिनको केही घण्टा मात्र प्राप्त हुने असुविधा आफ्नै ठाउँमा , तर कुलेश्वरको घरमा धारा भए पनि पानी नआउने जानकारी पाइएपछि होटलमै बस्न परे पनि काठमाडौं जाने समयतालिका तय गरी दुर्इ हप्ताभित्रै मास्को फर्कने निर्णय लिइयो यसप्रकार मास्को दोमोदेदोभो विमानस्थलबाट २४ अप्रिलका दिन काठमाडौंका लागि प्रस्थान गरिएको थियो दोआमा मास्कोबाट आएको विमानबाट बाहिरिएर एक घण्टाभित्र काठमाडौं जाने विमानमा पसिसक्नुपर्ने भएको हुँदा निकै धामा परेको थियो त्रिभुवन विमानस्थलमा हवाईजहाजबाट निस्केर छिटै सुटकेस घिसार्दै ढोकाबाट बाहिर निस्कनासाथ मेरो भाइ त्रिपुरसुन्दरलाई देख्नेबित्तिकै इरिनाको मलिन अनुहार एकदमै चहकिलो भयो भलाकुसारी अङ्कमालपश्चात् हामीलाई लिन तम्तयार रहेको ट्याक्सीद्वारा कुलेश्वर घरमा पुगेर मेरा भाइबहिनीहरू परिवारजनलाई भेटेपछि इरिनाले बाटोको सम्पूर्ण असुविधा भुसुक्कै बिर्सेको मलाई प्रतीत भयो भाइहरूले बिजुली नआए पनि घरमा बत्ती बल्न सक्ने धारामा समेत पानी आउने गरी कुलेश्वरमै हाम्रो लागि बस्ने राम्रो सुविधायुक्त व्यवस्था मिलाएका थिए...
संचारग्राममा अवस्थित त्रिमूर्ति निकेतनमा दिउँसो बजेदेखि पुरस्कार वितरण समारोह सम्पन्न हुने समय तोकिएको खबर मास्कोमै -मेलबाट पाइसकेको थिएँ तर त्यो स्थान कहाँ पर्दछ भन्ने मलाई कुनै अत्तोपत्तो थिएन हुन पनि विगत ५० वर्षको समयावधिमा काठमाडौंको रूप एकदमै बदलिइसकेको भन्दा अत्युक्ति हुँदैन
नेपालको राजधानीमा मुख्यतः गाडीमा यदाकदा पैदल हिंड्दा मलाई ५० वर्षअघिको काठमाडौंको सम्झनाले पिरोल्ने गर्दछ अहिले काठमाडौं पुग्दा आफूलाई रैथाने वासिन्दा होइन, बरु एक पर्यटकको रूपमा पाउँछु... अहिले सुनधारा स्याप्पै सुकेको देख्दा ग्लानि हुन्छ । उहिले वाग्मती विष्णुमतिमा वर्षायाममा ठूलो बाढी आएको देख्न सकिन्थ्यो भने हिउँदमा पानी सुकेर सानो स्रोत मात्र बाँकी रहँदा ठाउँठाउँमा काठका होचा अस्थायी पुलहरू हालिएको हुन्थ्यो फराकिलो नदीको बगरमा सफा बालुवा टल्किरहेको देख्न सकिन्थ्यो धेरै वर्षपछि काठमाडौं पुग्दा कालीमाटीबाट त्रिपुरेश्वरतिर जाने सडकमा विष्णुमतीमाथिको पुलबाट साँगुरो नदीको बगरमा नरकटका झ्याङहरू उम्रिरहेको फोहोरको डंगुर देख्दा मेरो मन रोएको थियो कालीमाटीदेखि शोभाभगवतीसम्म विष्णुमतीको हाराहारी दुवै किनारामा मोटर सडक बनेको समाचार कतै पढेको हुँदा यसपटक कुलेश्वरबाट ठमेल जान त्यसै सडकमा मोटरमा सयर गर्ने रहर चल्यो विष्णुमतीको चौडाई पहिलेको भन्दा चारखण्डको एकखण्ड जति मात्र रहेजस्तो लागे तापनि तटबन्ध गरिएको देखियो, तर नदीमा पानी भर्नुका साथै किनारामा वृक्षारोपण गर्न सकिएको भए काठमाडौंको सुन्दरता निकै बढ्ने थियो भन्ने विचार मनमा फुरेको थियो
यसपल्ट काठमाडौंको घेरै स्थानको अवलोकन गर्ने समय नै पाइनँ, सहर हेर्ने ठूलो धोको भए पनि आफूलाई काठमाडौंका पुराना स्थाननामहरूको मात्र जानकारी थियो, यद्यपि ती ठाउँहरूको रूपमा आनका तान फरक परिसकेको नै किन नहोस् अनामनगर, बुद्धनगर आदि कहाँ पर्दछन् तिनको मलाई केही भेउ नै छैन मलाई दिइएको पुरस्कार थाप्न संचारग्राम पुग्नुपरेको थियो
काठमाडौंको बारेमा राम्रो जानकारी राख्ने मेरो नाति अनन्तसंग स्काइपमा कुराकानीको क्रममा यसबारे जिज्ञासा राख्दा उसले जवाफ दिएको थियो :
'तीलगङ्का कहाँ भन्ने हजुरबुवालाई थाहा होला नि !'
मेरो उत्तर थियो : 'त्यो पशुपतिक्षेत्रतिर पर्दछ, होइन ?'
'हो ! तर अहिले त्यो ठाउँ अर्कै भइसकेको अनन्तले स्पष्ट पारेको थियो
अमेरिकामा अध्ययनरत मेरो नाति अनन्तले संचारग्राम कहाँ छ भन्ने सुझायो इन्टरनेटबाट त्यस स्थानको अवलोकन गर्ने तरीका पनि बताइदियो हाल नेपालको राजधानीको स्वरूप अर्कै भइसकेको , तर खानेपानी बिजुलीको अभाव, प्रदूषणको समस्या आदिले गर्दा नेपालीहरू आतिथ्यसत्कारी एवं मिलनसार हुँदाहुँदै पनि नेपालले सन् २०११ लाई पर्यटन-वर्ष घोषणा गरिए तापनि रूसबाट पर्यटकहरूलाई सम्भावनाअनुरूप आकर्षित गर्न नसकेको प्रतीत हुन्छ
यसपटकको काठमाडौं यात्राकलमा एक दिन गाडी लिएर मान्यजनहरू आत्मीय साथीभाइहरूकै घरमा जाने योजना थियो, तर त्यसै दिन दुर्भाग्यवश नेपालबन्द पर्न गएकाले स्वनामधन्य राष्ट्रकवि माधवप्रसाद घिमिरे, मूर्धन्य लेखकद्वय मदनमणि दीक्षित, कमलमणि दीक्षित, बालसखा लोकेन्द्रबहादुर चन्द, साथी दुर्गालाल श्रेष्ठ, कृष्णप्रसाद पराजुली प्रभृतिसंग प्रत्यक्ष भेट गर्न पाइएन फोनबाट भलाकुसारी गरेर चित्त बुझाउनुपरेको थियो यसप्रकार नेपालबन्दले गर्दा काठमाडौंको अवलोकनमा समेत बाधा पुग्न गएको थियो साथी नीलाम्बर आचार्यले आफ्नो घरमा निम्त्याएको दिन यही बन्दले गर्दा भेट हुन पाएको थिएन उनको व्यस्तताका कारणले यसपल्ट भेट नहुने भयो भन्ने लागेको थियो, तर एक छिनका लागि भए पनि भेटघाट भयो...  रेडियो मास्कोबाट सन् १९६३ को अक्टोबरमा पहिलोपल्ट नेपाली भाषामा प्रसारण सुरु गर्ने तीन जनामध्ये मीना आचार्य एकजना थिइन् भने अर्का थिए नीलाम्बर आचार्य । सन् १९६० को दशकमा मास्को राजकीय विश्वविद्यालयमा पढ्ने हामी तीनै जनाले आलोपालो गरी नेपाली कार्यक्रम संचालन गर्नेगरेका थियौं । त्यसताका रेडियो मास्कोमै दक्षिण एसिया विभागमा कार्यरत इरिना मेरी अर्धाङ्गनी बन्न पुगेकी थिइन्
जे होस्, २८ अप्रिलका दिन ११ बजे मीना आचार्यको निम्तोअनुसार बानेश्वरस्थित उनको घरमा पुग्यौं त्यहाँ दिउँसोको खाना खाएर पुरस्कार वितरण समारोहमा ठीक समयमा पुग्ने कार्यक्रम बनेको थियो निकै वर्षदेखि काठमाडौंमा रहेका नेपाली जीनवशैलीमा अभ्यस्त समेत बनिसकेका बेलायतका एक नागरिक फिशेरसंग पनि त्यहाँ परिचित हुन पुगेका थियौं
समारोहमा जाने बेला नजिकिंदै गएको हुँदा दिउँसोको खाना खाइसकेपछि मीनाकै गाडीमा भाइ त्रिपुरसहित सञ्चार ग्राम पुग्यौं सरासर त्रिमूर्ति निकेतनको दोस्रो तलामा उक्लियौं त्यहाँ इन्दिरा प्रसाई तथा नरेन्द्रराज प्रसाईबाट सभाकक्षको ढोकैमा हार्दिक स्वागत प्राप्त भयो -मेल फोटोबाटै प्रसाई-दम्पतिसंग हाम्रो परिचय भइसकेको थियो मेरो भाइ तेजप्रकाश, बहिनीहरू राधाबदन तथा ताराबदन तथा भतिजा दीपक सौरभका साथै बुहारी अनिता 'सौरभी' पनि सभाकक्षमा पुगिसकेका रहेछन् सन् २००३ मा मलाई 'जगदम्बा-श्री' पुरस्कार प्रदान गरिंदा मेरो अध्ययनकालमा घरधन्दा गरी मलाई सघाउने बहिनी राधा निमन्त्रणापत्र नहुँदा पाटनसम्म पुगेर पनि सङ्कोचवश समारोह सम्पन्न भएको चोकसम्म पुग्न नसकेको गुनासोलाई ध्यानमा राखेर यसपल्ट परिवारका सबै सदस्यहरूका लागि निमन्त्रणापत्रको व्यवस्था गरिएको थियो सभाकक्षमा बेलायतबाट पुरस्कार ग्रहण गर्न आफ्नी ८० वर्षीया आमा मेरिनाको साथमा आएका प्रो. माइकल हटका साथै अन्य पुरस्कृत व्यक्तिहरूसंग चिनापर्ची गरियो प्रसिद्ध चित्रकार शशिबिक्रम शाहसंग २५ वर्षजति अघि मास्कोमै भेटपरिचय भइसकेको थियो मेरा सुपरिचित मित्रहरू डा. जङ्गब चौहान, बद्री पौडेल, जीवा लामिछाने मोदनाथ प्रश्रित आदिलाई पनि त्यहाँ देख्न पाउँदा निकै खुशी लाग्नु स्वाभाविकै थियो त्यहाँ उपस्थित व्यक्तिहरूमध्ये नेपालभाषा अकाडमीका कुलपति सत्यमोहन जोशीसंग परिचित नै थिएँ भने नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) संग साक्षात्कार हुँदा निकै हर्ष लागेको थियो सभाकक्षको अग्रपंक्तिको एक छेउमा पुरस्कारका संस्थापक रामबाबु प्रसाईको बगलमै बसेर केही बेर कुरा गर्ने सम्भावना पाउँदा अपार आनन्दको अनुभव भइरहेको थियो
समारोहमा पुरस्कृत व्यक्तिहरूलाई आफ्नो मन्तव्य राख्न १० मिनटको समय छुट्याइएको थियो तोकिएको समय नाघ्नेबित्तिकै घन्टी बजाएर वक्तालाई बीचैमा रोकिने छ भन्ने जनाउ दिइएको थियो तसर्थ समयभित्र मन्तव्य व्यक्त गर्न नपाइने ठानेर मैले भाषणको गति निकै तीव्र तुल्याएको थिएँ यसरी निर्धारित समयभित्रै मन्तव्य सुनाउन भ्याएको थिएँ त्यस अवसरमा रामबाबु प्रसाईका साथै एकेडेमीका कुलपतिद्वय वैरागी काइँला तथा सत्यमोहन जोशीज्यूबाट मलाई विजयमाला लगाइदिएर सम्मानपत्रका साथै पुरस्कारको राशिको चेक समेत प्रदान गरिएको थियो
त्यसै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व कृतित्वको बारेमा रूसी विदुषीबाट लेखिएको पुस्तक 'नेपालका महाकविको कथा' को विमोचनको कार्यक्रम पनि राखिएको थियो मलाई 'नइ देरुनीख' अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने सुसमाचार पाउना साथै उक्त पुस्तकको अधूरै रहन गएको अनुवाद पूरा गरी पुरस्कारदाता 'नइ प्रकाशन' संस्थालाई पाण्डुलीपि सुम्पिदिएको थिएँ ल्युदमिला आगानिनाको सो पुस्तक सन् १९७० मा प्रकाशित हुनासाथै लेखिकाको चाहनाअनुसार नेपालीमा अनुवाद गर्न थालिसकेको थिएँ, तर त्यसको सुरुका केही अध्यायहरू 'यद्यपि' पत्रिकामा क्रमशः छापिए तापनि प्रकाशनको क्रम अनुवाद पनि बीचैमा रोकिएको थियो त्यसैले हाम्रा महाकविबारे रूसी विदुषीको कृति 'नइ प्रकाशन' बाट पुस्तकाकार रूपमा छापिन सक्ने आशा लिएर पाण्डुलिपि पठाएको थिएँ नरेन्द्रराज प्रसाईजीको सत्प्रयासबाट त्यस पुस्तकले नेपाली भाषामा पुनर्जन्म पायो समारोहमा उपस्थित नेपालका लेखक-कविहरूले उपहारस्वरूप प्राप्त गरे त्यसको लोकार्पणको सन्दर्भमा नेपालका लब्धप्रतिष्ठ समालोचक राजेन्द्र सुवेदीज्यूले त्यसलाई 'प्रमुख पात्र लक्ष्मीप्रसाद देवकोटा, रूसी लेखिका ल्युदमिला आगानिना अनुवादक कृष्णप्रकाश श्रेष्ठको संयुक्त श्रमको द्योतक - त्रिवेणीको सङ्गम' भनी प्रशंसा गर्नुहुँदा मलाई विशेष गर्वको अनुभव भएको थियो
वक्ताहरूको समय कटौटी गर्दै जाँदा पनि चार घन्टा जति समारोह जारी रहेको थियो औपचारिक खण्डको समाप्तिपश्चात् त्यहाँ उपस्थित सबै लेखक-लेखिकाहरूसंग कुरा गर्ने सम्भावना नै पाइएन मेरो लागि त्यहाँ उपस्थित सबै अनुहार अपरिचित भए तापनि नामबाट भने अपरिचित थिइनँ बेञ्जु शर्मा, इल्या दीक्षित आदिसित परिचित भए पनि कुरै गर्न पाइएन व्याकुल पाठकसंग -मेल मार्फत् परिचय नभएको होइन, तर पहिलोपल्ट साक्षात्कार त्यहीं नै भयो भूपि सेरचनकी श्रीमतीसंग पनि नमस्कारको आदानप्रदानमै सीमित रहनुपरेको थियो यस्तै हतारोमा नेपालका लागि रूसका राजदूत डा. सेर्गेइ भेलिचकिनको निम्तोमा राजदूतावासतिर प्रस्थान गर्नुपरिहाल्यो हडबडले गर्दा उनलाई उपहार दिन भनेर छुट्याइराखेको 'नेपालका महाकविको कथा' साथमा लिन भुसुक्कै बिर्सिएँ (उर्दू हिन्दी भाषाका ज्ञाता एक प्राच्यविद् हुनाले उनले नेपाली पनि पढ्न सक्ने ठानेर पछि डा्रइभरमार्फत् सो पुस्तक पठाइदिएको थिएँ) रूसी राजदूतावासमा श्रीमती राजदूत ओल्गा भ्लादिमिरोभ्नाको आतिथ्यसत्कारमा रूसी परिकारयुक्त संध्याभोजन गर्दै पारिवारिक परिचयका साथै यताउतिका गफहरू गरिएको थियो रूसी भाषा जान्ने मेरो भाइ त्रिपुरले इरिनाको अनुवादकको हैसियतले हाम्रो साथ दिएको थियो राजदूत-दम्पतिबाट 'अर्को भाइ तेजलाई पनि साथमा ल्याएको भए हुन्थ्यो' भन्ने विचार प्रकट गरिएको थियो, तर रूसी भाषामा कुरा गर्नेहरूको माझमा अप्ठेरो पर्ने ठानेर साथमा लगेका थिएनौं
यसरी सन् २०११ को २८ अप्रिलको दिन मेरो जीवनको एक अविस्मरणीय उत्सवमय क्षण थियो यहाँ पुरस्कार वितरण समारोहमा मैले दिएको मन्तव्यबाट एक टुक्रा उद्धृत गर्न गइरहेको छु त्यसमा मैले अंशतः निम्न कुरा व्यक्त गरेको थिएँ : 'मेरो जीवनको यस हर्षको घडीमा ती सबैप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु जसको प्रेरणा सहयोगबाट आज यस साहित्यिक सम्मानको पात्र बन्न पुगेको छु... मेरो नगण्य साहित्यिक कृतित्वका लागि मलाई प्रदान गरिएको यो गरिमामय साहित्यिक पुरस्कार रूसमा हाल बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरूका साथै जन्मभूमि नेपालको अमनचैन विकासप्रति सक्दो योगदान पुर्याउन दत्तचित्त भई स्वदेशप्रति भावनात्मक एकत्व राख्ने विश्वभरि नै छरिएर रहेका तीस लाख गैरआवासीय नेपालीहरूप्रति नेपालका बुद्धिजीवीहरूको यथोचित कदरको द्योतक बनेको अनुभूति गरिरहेको छु...'
(२८.०४.२०११, कुलेश्वर, काठमाडौं)
१ सेप्टेम्बर, २०११,
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment