Thursday, July 30, 2015

मास्कोमा २०२–यौं भानुजयन्ती समारोहका पाँच बुँदा

मास्कोमा २०२–यौं भानुजयन्ती समारोहको विवरण
रूसको राजधानीमा रहेको रमणीय ओस्तान्किनो पार्कमा गतः १९ जुलाई २०१५ (आइतवार) दिन विश्वनेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा बनभोजसहित २०२यौं भानुजयन्ती समारोहसफलतापूर्वक सुसम्पन्न भएको छ ।
नेपाली पाठकवृन्दको निम्ति संक्षेपमा त्यसको विवरण निम्न पाँच बुँदामा समेट्ने प्रयास गर्दै छु ।
१. रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूको प्रमुख अतिथ्य तथा कृष्णप्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहको शुभारम्भमै विश्व नेपाली साहित्य महासंघ रुस शाखाका सचिव डा. मनमूर्ति भुर्तेलबाट आदिकवि भानुभक्त आचार्यको कवितापाठसहित सबैबाट भानुभक्तको तस्वीरमा पुष्पाञ्जलि अर्पण गरियो ।
मास्कोमा २०२-यौं भानुजयन्तीको अध्यक्षमण्डल
व्यवस्थापन समितिको तर्फबाट गणेश रामदामले स्वागत मन्तव्य दिएपछि भने गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापकअध्यक्ष डा. उपेन्द्र महतो, यसै संघका अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का कोषाध्यक्ष डा. बद्री के.सी., आईसीसीका सदस्य एवं विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, एनआरएनए रूसका कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमन, निवर्तमान अध्यक्ष उत्सवकुमार अमात्य, प्रथम अध्यक्ष डा. सूर्यप्रसाद रिजाल, नेपाली नारी निकुञ्जकी अध्यक्ष डा. समता प्रसाद, रूस-नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, नेपाल खेलकूद तथा संस्कृति समाजका उपाध्यक्ष रामेश्वर गौतम, नेपाली छात्रसंघ (जनमैत्री विश्वविद्यालय) का अध्यक्ष उत्तम लामिछानेबाट भानुभक्तको व्यक्तित्व र कृतित्वका विभिन्न पक्षहरूबारे प्रकाश पार्दै सारगर्भित मन्तव्य दिइएको थियो ।
वनभोजसहित भानुजयन्तीका सहभागीहरू
आफ्नो स्थापनाकै समयमा सन् २००३ मा नेपाली नारीनिकुञ्जले मास्कोमा आदिकविको जन्मजयन्ती मनाउने परम्पराको थालनी गरेको थियो भनी डा. समता प्रसादले सम्झना गर्नुभएको थियो भने रामेश्वर गौतमले तनहुँमा भग्नावशेष बन्न लागिरहेको आदिकविको जन्मस्थलको  घरघरेडीको पुनर्निर्माणतर्फ ध्यानाकर्षण गर्नुभएको थियो । डा. उपेन्द्र महतोले आदिकविको जनसेवाको भावनाबाट हामीले शिक्षा लिनुपर्ने कुरामा जोड दिनुभयो भने डा. बद्री के.सीं, डा. सूर्यप्रसाद रिजाल प्रभृतिले आदिकविबाट दुई शताब्दी अगाडि लेखिएका कविताहरू अहिले पनि समसामयिक महत्वका छन् भनी जोड दिनुभएको थियो । 
भानुजयन्ती कार्यक्रमको झलक
गोविन्दप्रसाद गौतमले भानुजयन्तीको सन्दर्भमा नेपाली र रूसी भाषामा आबिकविका कविताहरूको अनुवादसहित द्विभाषिक सङ्ग्रह ‘लोकको गरूँ हित भनी’, मैथिल लोकसाहित्यका हस्ती गोनु झाका ‘कथाकुथुङ्ग्री’, रूसी कवि इगोर एलिसेएको द्विभाषिक कवितासङ्ग्रह ‘स्वर्गद्वारीको पुल’, शिर्षकका पुस्तकहरुको प्रकाशनको चर्चा गर्नुभएको थियो भने डा. मणिराज पोखरेलले भारत र नेपालपछि आदिकविको प्रतिमा स्थापना गर्नमा रूस विश्वको तेस्रो देश बनेकोमा रूसवासी नेपालीहरू गौरवान्वित भएको भावना पोख्नुभएको थियो । रूसी कवयित्री ल्युदमिला एभ्देएभाले नेपाली कविहरुप्रति समर्पित कविता पाठ गरेकी थिइन् । प्रकाशोन्मुख नेपाली वाङ्मयका भानुशीर्षकको संग्रहमा समाविष्ट हाम्रा आदिकविप्रति समर्पित उनको काव्यबाट नेपालीमा अनूदित केही पंक्ति यहाँ उद्धृत गर्न चाहन्छु ।

मान्छेको हितका लागि बाँचेथे भानुभक्त ती,
त्यसैले आज नेपालीमाझ छन् मान्य ती अति । 
मनाइँदैछ सर्वत्र उन्को द्विशतवार्षिक,
सुर्यझैं चम्किलो उन्को नाम बन्दैछ सार्थक ।।.
एक्काईसौ शताब्दीमा गुञ्जन्छन् कविता यहाँ,
विभिन्न जनजातिका भाषा र भावमा यहाँ ।
ज्यादै निकटभैंm लाग्छ उन्को कार्य र चिन्तन,
आकांक्षा मुक्तिको मात्रै तिन्मा सुनिन्छ गुञ्जन ।।
विभिन्न ठाउँमा पुग्छन् बनेर प्रतिमा उनी,
आबालबनितावृद्ध पढ्दछन् कविता पनि ।
उन्को कृतित्व केलाई लेखिन्छन् ग्रन्थ केकति,
धमिलो कहिल्यै हुन्न विशिष्ट कविको स्मृति ।।  
कालुगामा रह्यो उन्को आवक्षप्रतिमा अतः,
गर्नेछन् रूसमा उन्ले सूर्यको अब स्वागत ।
नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको जुन स्थान छ त्यत्तिकै महत्वपूर्ण स्थान बोलचालको साझा भाषालाई साहित्यिक भाषाको स्तरसम्म उचालेर नेपाली जनभावनाको एकत्वको सुदृढीकरणमा गहकिलो योगदान पु-याउने आदिकवि भानुभक्तको पनि छ भन्ने भावाभिव्यक्ति महामहिमज्यूलगायत सबैबाट प्रकट गरिएको थियो ।
अग्रपंक्तिमा बायाँतिरबाट : गोविन्दप्रसाद गौतम, डां समता प्रसाद, डा. सुलोचना सापकोटा, 
डा. रविमोहन सापकोटा कोपिला, डा. उपेन्द्र महतो, डा. बद्री के.सी., डा. मनमूर्ति भुर्तेल, डिल्ली खरेल सुमन

२. पोहोर सालझैं यसपल्ट पनि भानुजयन्तीको उपलक्ष्यमा आयोजित कविता प्रतियोगिता र आशुकविता लेखन प्रतियोगितामा यस कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूको सक्रिय सहभागिता रहेको थियो । यी दुवै प्रतियोगितामा प्रस्तुत कविताहरूको मूल्याङ्कनका लागि कृष्णप्रकाश श्रेष्ठकै अध्यक्षतामा डा. सुलोचना सापकोटा, डा. बद्री के.सीं, डा. मणिराज पोखरेल समाविष्ट एक मूल्याङ्कन समिति गठन गरिएको थियो ।
कविता मूल्यांकन समिति
कृष्णप्रकाश श्रेष्ठ, डा. सुलोचना सापकोटा, डा. बद्री के.सी.
 दुवै प्रतियोगितामा कमला रावल पाण्डे तथा डा. उमेशप्रसाद भट्टराईले नै आलोपालो गरी प्रथम र द्वितीय स्थान प्राप्त गरेर पुरस्कृत भएका थिए भने तीन दिदी र एक भाइ रिजालबालबालिका आन्जेलिका, मार्गारिता, भेरानिका तथा आन्तोनलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
३. रूसमा भानुसमारोहप्रति समर्पित पुस्तकहरूमध्ये भर्खरै नेपाली भाषामा प्रकाशित दुई पुस्तकको विमोचन यस साहित्यिक कार्यक्रमको एउटा आकर्षक बुँदा थियो भन्नु उपयुक्त हुनेछ । 
यो पनि बताइहालौं कि रूसी विद्वान्हरूका नेपालविषयक विभिन्न लेखहरूको सँगालो रूसमा नेपालको बिम्ब भन्ने शीर्षकमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तर्फबाट छापिएको छ भने उत्तमकुमार अमात्यको प्रकाशनसहयोगमा नेपालको साहित्य तथा संस्कृतिविषयक रूसी भाषामा पूर्वप्रकाशित केही कृतिहरूसहित कृष्णप्रकाश श्रेष्ठका लेखहरूको संकलन हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिरशीर्षकमा निस्केको छ । 
पहिलो १५२ पृष्ठको पुस्तकमा सेर्गेइ ओल्डेनबुर्ग (केही नेपाली सूक्ष्मचित्रबारे संक्षिप्त टिप्पणी), दिमित्री लेल्युखिन (काठमाडौं उपत्यकामा लिच्छवि वंशको आगमनको मार्ग र नेपालमा यस वंशको राज्यस्थापनाको इतिवृत्त), निकोलाइ लिस्तोपादोभ (नेपालमा बुद्धधर्मको अध्ययनस्तरसम्बन्धी प्रश्नको सन्दर्भमा), ताच्याना मोरोजोभा (नेपालको लोकसंस्कृति र पेशागत कला : परम्पराहरूको सम्भावित अन्तरसम्बन्ध), इन्ना मुरिआन (बीसौं शताब्दीको सन् १९६०१९८० का दशकहरूमा नयाँ नेपाली लोकसंस्कृतिको प्रादुर्भावबारे), तात्याना शाउम्यान (नेपाल र चीनबीच सीमाविवादको समाधान), सेर्गेइ लुन्योभ (नेपालभारत सम्बन्धको साठी वर्ष)भालेरी काशिन (विश्वविख्यात गोर्खाली सिपाहींको उत्कृष्ट गुण), ओलेग फ्योदोरोभ (नेपालको उच्चपर्वतीय क्षेत्रको पर्यावरण : हिमालयको हिउँ पग्लने प्रक्रियाको सन्दर्भमा) र अलेक्सान्द्र लेद्कोभ (उपसंहारको सट्टा : रुसमा नेपालको छवि’) आदिका उपरोक्त लेखहरूका साथै परिशिष्टमा चाहिं लक्ष्मीप्रसाद देवकोटाको कवितासङ्ग्रह सुनको बिहाननेपालको इतिहास : बीसौं शताब्दीपुस्तक विमोचन, नेपालविषयक वैज्ञानिक सभासम्मेलनहरूको संक्षिप्त विवरण आदि पनि प्रस्तुत गरिएको छ । 
अनि हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिरशीर्षक बोकेको २४८ पृष्ठको दोस्रो पुस्तकमा चाहिं नेपालको राष्ट्रिय झन्डाका राजनीतिक तथा साँस्कृतिक पक्षहरु, नेपाल : हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर,. नेपालमण्डलको आध्यात्मिक रक्षाकवच, इतिहास र संस्कृतिको परिप्रेक्ष्यमा नेपालका परम्परागत किल्लाहरु, नेपालमा परम्परागत भोजको विधि, बोल्ने ढुङ्गाहरुको कथा, नेपालका प्रथम ज्ञात कवि अनुपरम, नेपालका प्रथम ज्ञात राजाकवि जयदेव द्वितीय, लिच्छविकालीन प्रतिभावान् कवि बुद्धकीर्ति, गीताको दार्शनिक र साहित्यिक महत्व, किरात जातिको धार्मिक एवं न्यायिक ग्रन्थ मुन्धुम’, स्वस्थानी : नेपाली चिन्तनको विशिष्ट ग्रन्थ र मौलिक देवी, कुमारीको रूपमा चण्डेश्वरीको चित्रण, महाकवि देवकोटाकृत मुनामदनको कथास्रोत र दागेस्तानी कवि रासुल हाम्जतोभको काव्यमा नेपाल भन्ने शीर्षकका ११ लेखहरू समावेश गरिएका छन् ।
डा. मनमूर्ति भुर्तेल सम्मानपत्रको पाठ पढेर सुनाउँदै 
४. विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिद्वारा कृष्णप्रकाश श्रेष्ठलाई नेपाली साहित्य दूत २०१४ (सगरमाथा) स्रष्टासम्मानबाट विभूषित गरिनुलाई यस वर्षको भानुजयन्ती समारोहको एक बेग्लै बुँदाको रूपमा लिनु पर्ला । यस पंक्तिकारलाई यस्तो सम्मानको सगरमाथामा चढाउनमा रूसमा रहेका सम्पूर्ण साहित्यानुरागी नेपालीहरूले शेर्पाको भूमिका निर्वाह गरेको अभिव्यक्ति दिंदै सन् १९५३ को मेई महिनामा सर्वप्रथम भई सगरमाथा विजय गर्ने पर्वतारोहीद्वय तेन्जिङ् नोर्गे शेर्पा र एडमुण्ड हिलारीलाई हात्तीमा चढाएर ल्याई काठमाडौंमा भव्य स्वागत गरिंदा आफूले पनि डिल्लीबजारदेखि साथ दिंदै नारायणहिटी राजदर्बारको भित्री आँगनसम्म पु-याएको र दुवै सगरमाथा-विजेताहरूलाई बायाँ-बायाँ राखेर राजा त्रिभुवनले सिंढिहरूको सङ्गमस्थलमा निस्केर एकत्रित जनसमूहलाई छोटो सम्बोधन गरेको अविस्मरणीय संस्मरण सुनाएको थिएँ ।
नेपाली साहित्यदूत २०१४ (सगरमाथा) बाट विभुषित 
५. ग्रीष्मकालीन मास्कोको मनोरम पार्कभित्र भेला भएका रूसवासी नेपालीहरूले भानुजयन्ती कार्यक्रमको समापनपश्चात् नेपालको इतिहासमा सर्वप्रथम जनसहभागिताबाट बन्न लागिरहेको नयाँ संविधानको मस्यौदामा छलफल गर्ने अवसरको पनि सदुपयोग गरेका थिए । मास्कोमा सानो नेपालको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न क्षेत्रबाट आएका रूसवासी नेपालीहरूद्वारा भानुजयन्ती मनाउने क्रममा मातृभूमिको मूल कानूनबारे व्यापक विचारविमर्श गरिनु निकै प्रतीकात्मक छ भन्ने मलाई लाग्छ ।
संविधानको मस्यौदामा छलफलको दृश्य
डा. भीष्म आचार्य, डिल्ली खरेल सुमन, डा. उपेन्द्र महतो, डा. रविमोहन सापकोटा कोपिला 
यसरी मास्कोभित्रै महानगरीको कोलाहलबाट टाढा वनस्पति-उद्यान र रूसको जनअर्थतन्त्र विकास प्रदर्शनीस्थल (छोटकरी रूसी भाषामा ‘भदएनखा’) को विशाल उपवनको मध्यभागमा अवस्थित हरियालीपूर्ण ओस्तान्किनो पार्कमा सम्पन्न गरिएको नेपालीहरूको साहित्यिक कार्यक्रमलाई प्रकृतिले पनि साथ दिएको थियो भन्नु अत्युक्ति हुनेछैन । यस साल ग्रीष्मयाम मास्कोमा सामान्यभन्दा निकै न्यून तापक्रम रहनुका साथै निरन्तर झरीवर्षा पनि भइरहेको वेला नेपालीहरुले प्रकृतिको काखमा भानुजयन्ती मनाउन रोजेको दिन चाहिं आकाशबाट सूर्यले आफ्नो प्रचण्ड तापबाट बचाउन पातलो बादलको पर्दा लगाएको भए तापनि झरीवर्षाबेगर नै रमाइलो वातावरणमा मास्कोमा बनभोज कार्यक्रमसहित २०२यौं भानुजयन्ती सुसम्पन्न भएको छ ।

दिनाङ्क : १९ जुलाई २०१५ (आइतवार)

No comments:

Post a Comment