Friday, July 17, 2015

मास्कोको भोरोन्चोभ्स्की पार्कमा सप्ताहान्त

रुसको राजधानी ग्रीष्मकालमा हराभरा पार्कभित्रै रहेको महानगरी प्रतीत हुन्छ । नगरका राजमार्गहरुको अगलबगलमा रोपिएका रुखहरुको हरियालीलाई विभिन्न स्थानमा बनाइएका क्यारीहरुमा रोपिएका रङ्गीविरङ्गी फूलका बोटहरुले झन् मनमोहक  तुल्याइदिन्छन् ।

मास्कोको केन्द्रमा रहेको आर्बात सडकलाई सोभियतकालमै शहरी यातायातका साधनहरु गुडाउन रोक लगाएर मानिसहरुक लागि घुमफिर गर्ने विश्रामोद्यानमा परिणत गरिएको थियो भने पछिल्लो समयमा त अन्यत्र कतिपय केन्द्रीय सडकहरुलाई पनि आरामदेह मेचहरुले समेत सजाएर निकै मनमोहक नगरीय सुविधासम्पन्न विश्रामोद्यान तुल्याइएको छ । साँझपख बिजुली बत्तीहरुको झिलिमिली समेत देख्न पाइने हुँदा त्यहाँ घुमफिर गर्ने नगरवासीहरु र पर्यटकहरुको घुइँचो लाग्दछ । यसका अतिरिक्त मास्कोमा विश्वप्रसिद्ध केन्द्रीय गोर्की पार्कको भव्यताको त कुरै नगरौं, शहरका विभिन्न इलाकामा रहेका ठूला-साना सैयौं पार्कहरुमा पनि ग्रीष्मयाममा घुमफिर गर्नु निकै रमाइलो हुन्छ ।
मास्कोको केन्द्रस्थित अलेक्सान्द्रोभ्स्की बगैंचा
मास्कोको दक्षिणपश्चिम क्षेत्रको जुन इलाकामा म बस्तछु त्यो निकै हराभरा छ । मेरो निवासस्थानको तीनैतिर पार्कहरु रहेका छन् । म बस्ने भवनको छेवैमा जुन पार्क रहेको छ त्यो भोरोन्चोभ्स्की पार्क भनिन्छ । त्यहाँ केटाकेटीहरुको लागि क्रिडास्थलसहित मन बहलाउने राम्रो व्यवस्था गरिएको छ भने उमेरदारहरुका लागि पनि मनोरञ्जन र आराम-विश्रामको सुव्यवस्था छ । त्यहाँका ५ वटा पोखरीहरुमध्ये ठूलो चाहिं पोखरीमा नौकाबहार समेत गर्न सकिन्छ । 
भोरोन्चोभ्स्की पार्कमा बालबाटिका
पार्कमा फूलका क्यारीहरुले सिंगारिएको उद्यानपथको अगलबगलमा आरामदायी बेन्चहरु राखिएका छन् । ग्रीष्मयाममा र हिउँदमा पनि यसै चिटिक्क परेको पार्कमा म अक्सर बिहान हावा खान र यदाकदा दिउँसो पनि घुम्न र आराम लिन जाने गर्दछु । यसै पार्कको एकातिर मेरो निवासस्थान छ भने अर्कोतिर डा. भीष्म आचार्यको निवासस्थान छ । ग्रीष्मयाममा हामी सपरिवार यसै भोरोन्चोभ्स्की पार्कमा घुमफिर गर्न जान्छौं कतै एकान्तस्थल रोजेर रुखको छहारीमा बसेर विश्राम गर्दछौं । सप्ताहान्तमा अक्सर हामी त्यहाँ आराम गर्न पुग्दछौं
सुसान्ना र भिष्म आचार्यका साथ कृष्णप्रकाश श्रेष्ठ
भोरोन्चोभ्स्की पार्कमा ५ जुलाई २०१५ .ा दिन अपरान्हमा पार्क घुम्न जाँदा (आइतवार) बैण्डबाजाको धून बजि  सुनियो र त्यसै धूनले तानेर हामीलाई केन्द्रीय चहुर सम्म पुर्यायो । त्यहाँ चहुरमा काज्जाक-पोशाकमा कम्मरमा तरवार भिरेका र हातमा रङ्गीचङ्गी झण्डा बोकेका घोडचढीहरु देखिए भने चहुरको चारैतिर दर्शकको रुपमा त्यहाँ सप्ताहान्त मनाइरहेका मास्कोवासीहरुको भीड जम्मा भइसकेको थियो ।
भोरोन्चोभ्स्की पार्कमा घोड्चढीहरूको पंक्ति
सुरुमा नेपाली पाठकवृन्दलाई काज्जाकहरुकै संक्षिप्त परिचय दिन चाहन्छु । स्वतन्त्रताप्रेमी काज्जाक समूह स्लाभमूलको एक यस्तो सामाजिक समुदाय हो जो पन्द्रौसत्रौं शताब्दीमा रुस साम्राज्यको छेउछाउतिर केन्द्रित थियो र पछि अन्यत्र पनि फैलियो । यो जनसमूह  सुरुमा रुस र वर्तमान युक्रेनको स्तपी तथा वनप्रदेशतिर स्वच्छन्द जीवन बिताएर बस्ने गर्दथ्यो । शिकार खेल्नुका साथै खेतीपातीमा समेत संलग्न यो जनसमूह स्वच्छन्दताप्रेमी र लडाकू चरित्रको पनि हुनाले जारकालीन रुसमा कज्जाकहरुलाई सीमान्त रक्षाको जिम्मा लगाइएको थियो । रुस साम्राज्यमा काज्जाकहरुका प्रतिनिधिहरुबाट गठित सैनिक टुकडीहरुले टर्कीका सुल्तानविरुद्ध युद्धलगायत विभिन्न संग्रामहरुमा पनि भाग लिएका थिए । सन् १९३० को दशकतिर सोभियत नेतृत्वले काज्जाक समुदायलाई नृवंशात्मक सांस्कृतिक समूहको रुपमा मान्यता प्रदान गरेको थियो । यस तथ्यले काज्जाकहरुको माझमा सोभियत सत्ताप्रति विश्वास जागेको थियो । आक्रामक जर्मन सेनाको विरुद्ध महान देशभक्तिपूर्ण युद्ध (सन् १९४१-१९४५) मा काज्जाकहरुले ठूलो वीरताको प्रदर्शन गरेका थिए ।
काज्जाक जिगित-योद्धा
गतः ५ जुलाईका दिन चाहिं भोरोन्चोभ्स्की पार्कमा महान् देशभक्तिपूर्ण युद्धमा विजयप्राप्तिको ७० वर्ष पूरा भएको सन्दर्भमा क्रेमलिनको अश्वारोहण स्कूलका उत्कृष्ट घोडचढीहरु काज्जाकको भेषमा आफ्नो कलाको प्रदर्शन गर्न भेला भएका रहेछन् । सर्वप्रथम घोडचढीहरुले  मास्कोदेखि सेभास्तोपोल (क्रिमिया) सम्म र कीभ (युक्रेन) देखि मीन्स (बेलारूस) सम्मका अर्थात् पूर्व सोभियत संघका सबै वीरनगरीहरुको झण्डा फहराउँदै घोडा कुदाएका थिए । घोडा दौडाउँदै तरवार चलाउने खेल आदिजिगितयोद्धाको सामरिक कलाको पनिप्रदर्शन गरिएको थियो । हरेक अश्वारोहीप्रदर्शनको समयमा माइकबाट रुसको सामरिक विजयको वर्णन पनि सुनाइँदै थियो । क्रेमलिनका घोडचढीहरुको विभिन्न प्रदर्शनको साथै दर्शकहरुले तालीबजाएर समर्थन र कृतज्ञता जनाउने गरेका थिए । त्यतिखेर म त्यहाँ हाम्रो घोडेजात्राको सम्झनामा डुविरहेको थिएँ भने डां भीष्म आचार्य त्यो रमाइलो घोडचढी खेलको फोटो खिच्नमा व्यस्त थिए ।
दर्शकहरू   काज्जाकहरूको शौर्य-प्रदर्शन हेर्दै
यस छोटो लेखमा नेपाली पाठकवृन्दलाई मास्कोमा ग्रीष्मयामको घमाइलो दिनमा कसरी सप्ताहान्त मनाइन्छ भन्ने पूरा झलक दिने लक्ष राखिएको छैन । रुसी भाषामा दाचा भनिने गाउँघरतिर रहेको ग्रीष्मकालीन कटेज र करेसोबारी हुने मास्कोवासीहरु पूरै ग्रीष्मयाम वा सप्ताहान्त अक्सर त्यही बिताउँछन् भने यस्तो दाचा नहुनेहरु पनि गाडीमा मास्कोबाहिरको रमणीय प्राकृतिक स्थलमा सानोतिनो पिकनिक मनाउँछन् वा कुनै नदीतटको बगरमा घाम ताप्न जान्छन् यसलाई रुसीहरुले सौर्यस्नानको संज्ञा दिएका छन् । मेरो निवासस्थाननेरको भोरोन्चोभ्स्की पार्कलगायत मास्कोका विभिन्न पार्कहरुमा वा जलाशयको किनारामा पनि मानिसहरु सौर्यस्नान गर्दछन् । मास्को र रूसका अन्य नगरहरूमा पनि  ग्रीष्मयामको न्यानो वातावरणमा आआफ्नो रुचिअनुसार सप्ताहान्त मनाउने अरु पनि उपायहरुको अवलम्बन गर्न सकिन्छ ।
भोरोन्चोभ्स्की पार्कको घोडेजात्रा (५.०७.२०१५)

फोटोसौजन्य :  डा. भीष्म आचार्य

No comments:

Post a Comment