रुस गणतन्त्रमा बसोवास गरिरहेका बौद्ध धर्माबलम्बीहरुले नेपालीहरुले भन्दा एक चन्द्रमासपछि मात्र २ जून २०१५ (मङ्गलवार) का दिन पूर्णिमा तिथिमा बुद्धजयन्ती मनाएका छन् । तिब्बती पात्रोअनुसार यस्तो अन्तर पर्न गएको प्रतीत हुन्छ ।
बुद्धजयन्तीको पावन उपलक्ष्यमा मास्को बौद्ध समाजको तत्वावधानमा मास्कोको उत्तर–पूर्वी क्षेत्रमा पर्ने
ओत्राद्नोए इलाकाको नोभोभ्लादिकिन्स्की मार्गमा निर्माणधीन बौद्धमन्दिरको परिसरमा
एक समारोहको आयोजना गरिएको थियो । सन् २००० मा मास्कोका मेयरको निर्णयअनुसार
प्रदान गरिएको यस जग्गामा बौद्धविहार निर्माण गर्ने परियोजनालाई साकार रुप दिन गत
१४ मेईको झरीवर्षायुक्त शुभमुहूर्तमा भावी बौद्धस्तुपको निर्माणार्थ जग खन्ने
कार्य सुसम्पन्न गरिएको थियो ।
मास्कोमा निर्माणाधीन बौद्धविहारको दृश्य
बौद्धविहार बन्ने यस स्थानको नजिकै क्रिश्चियन अर्थाडक्स चर्च रहेको छ भने आसपासमै
इस्लाम मस्जीद र यहूदी सेनागोग पनि रहेका छन् । यस्तो रमणीय जग्गामा हाल रुसको
राजधानीमा पहिलो बौद्धविहारको निर्माण गर्ने कार्यको शुभारम्भ भएको छ । यसप्रकार
मास्कोको यो इलाका रुसका जनताहरुले मान्दै आएको चारै परम्परागत विश्वधर्महरुको
संगमस्थल बन्ने छ । उल्लेखनीय के पनि छ भने त्यहाँ निर्माणधीन बौद्धविहारले हीनयान, महायान, बज्रयान अर्थात् बुद्धधर्मका
सबै सम्प्रदायहरुको साझा बौद्धमन्दिरको रुप लिनेछ । रुसको
राजधानीको एक बौद्धिक तथा सांस्कृतिक केन्द्रको रुपमा निर्माण गरिने भावी
बौद्धविहारको नक्सा तयार भई सन् २०१४ को अक्टोबर महिनामा त्यहाँ निर्माणका लागि
अनुमति समेत प्राप्त भइसकेको छ र साढे अठार मिटर अग्लो तीनतले यस बौद्धविहारको कुल
क्षेत्रफल ३०७९ वर्गमीटर हुनेछ ।
बौद्धविहार निर्माणस्थलको वर्तमान दृश्य
यस साल मास्कोमा बसोवास गरिरहेका बौद्धमार्गीहरुले
बुद्धजयन्ती समारोह भावी बौद्धमन्दिरको जगमा खुला आकाशमुनि मनाउन नेपाल लगायत
बुद्धधर्म मान्ने विभिन्न देशका राजदूतावासका प्रतिनिधिहरुलाई पनि निम्त्याएका थिए
। त्यहाँ बौद्धधर्माबलम्बीहरु मात्र नभई रुसी अर्थाडक्स चर्चका अनुयायीहरुको पनि
उपस्थिति रहेको थियो । मास्को महानगरीको राष्ट्रिय नीति, अन्तरप्रादेशिक
सम्बन्ध तथा पर्यटन विभागका उपप्रमुख कोन्स्तान्तिन ब्लाजेनोभ र बौद्धविहारको निर्माणार्थ
नक्सा बनाउने वास्तुकलाविद् पाभेल तेरेश्किनले रुसको प्रमुख अर्थडक्स धर्मको
प्रतिनिधित्व गरेका थिए भने हिन्दू धर्माबलम्बीहरुको प्रतिनिधित्व यसै
पंक्तिकारबाट भएको थियो । मास्कोमा निर्माणाधीन भावी बौद्धविहारले बुधधर्मका
विभिन्न सम्प्रदायहरुलाई मात्र नभई विश्वकै विभिन्न धर्मका अनुयायीहरुका लागि पनि
आफ्नो ढोका खुला राख्ने छ भन्ने यस तथ्यबाट समेत प्रमाणित हुन्छ । यो नै मेरो
विचारमा बुद्धधर्मको विशेष मानवतावादी चरित्र हो भन्नु अत्युक्ति हुने छैन ।
मास्को बौद्ध समाजका पदाधुिकारीहरूको साथमा लेखक
दिउँसो
ठीक ३ बजे सबैले आ–आफ्नो स्थान ग्रहण गरिसकेपछि
बुद्धको प्रतिमा राखिएको स्थानमा ५ जना लामाभिक्षुहरुले तिब्बती भाषामा लयात्मक
मन्त्रोच्चारण गर्दै पूजापाठ सम्पन्न गरेका थिए । मास्को बौद्ध समाजकी अध्यक्ष
डुल्मा शाग्दारोभाले मास्कोमा पहिलो बौद्धविहारको निर्माणका लागि आजसम्म गरिएको
कार्यबारे पनि संक्षेपमा प्रकाश पार्दै रुस महासंघमा परम्परागत रुपमा बौद्ध धर्म
मान्ने काल्मिकिया, बुर्यातिया आदि विभिन्न स्थानका
मास्कोमा उपस्थित रहेका लामाभिक्षुहरु र मास्को महानगरीको राष्ट्रिय
नीति, अन्तरप्रादेशिक सम्बन्ध तथा पर्यटन विभागका उपप्रमुख कोन्स्तान्तिन ब्लाजेनोभ, बौद्धमन्दिर निर्माणसम्बन्धी
संरक्षक परिषदका अध्यक्ष मिखाइल लित्भिन्चेभ, बौद्धविहारको नक्सा तयार
पार्ने वास्तुकलाविद् पाभेल तेरेश्किन प्रभृति गण्यमान्य व्यक्तिहरुलाई खादा ओढाएर
स्वागत–सत्कार
गरिन् ।
पाँच लामाभिक्षुलाई खादा ओढाएर स्वागत गर्दै शाग्दारोभा
मास्को
महानगरीको राष्ट्रिय नीति, अन्तरप्रादेशिक सम्बन्ध तथा पर्यटन विभागका
उपप्रमुख कोन्स्तान्तिन ब्लाजेनोभको छोटो मन्तव्यमा बहुराष्ट्रिय तथा बहुधार्मिक मास्कोमा अब
रुसको एक परम्परागत धर्मको बौद्धविहार पनि अस्तित्वमा आइरहेको सन्दर्भमा खुशी
प्रकट गर्दै यसको निर्माणमा मास्को सरकारको तर्फबाट सक्दो सहयोग प्रदान गरिने
आश्वासन दिनुका साथै मास्कोका बौद्ध धर्माबलम्बीहरुको उत्सव बुद्धजयन्तीको अवसरमा
अमनचैन तथा उत्तरोत्तर सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको थियो ।
कोन्स्तान्तिन ब्लाजेनोँभ मन्तव्य व्यक्त गर्दै
मास्को
बौद्ध समाजका उपाध्यक्ष कोन्स्तान्तिन जिम्बिनोभले भावी बौद्धविहारको पवित्र
भूमिमा पहिलेभैंm यस साल
पनि बुद्धजयन्ती मनाउने परम्परालाई निरन्तरता दिइएको जनाउनुका साथै सर्वप्रथम १३
मिटर अग्लो बौद्धस्तुपको निर्माण गर्ने र त्यसपछि सानो मन्दिरको निर्माण थालिने
जानकारी दिंदै अन्त्यमा तीन हजार वर्गमिटर क्षेत्रफल ओगट्ने तीनतले विशाल बौद्धविहारअन्तर्गत
पूजापाठकक्ष, न्यासध्यानकक्ष, सांस्कृतिक अध्ययन तथा शिक्षणकक्ष, पुस्तकालय, प्राच्यचिकित्साकेन्द्र, भोजनालय आदि पनि रहने
योजनाबारे प्रकाश पार्दै सबै दाताहरूको सहयोगबाट सन् २०१७ को अन्त्यसम्ममा
निर्माणकार्य पूरा गरिने छ भनी जोड दिएका थिए ।
मिखाइल लित्भिन्चेभ तथा कोन्स्तान्तिन जिम्बिनोभ
मास्कोमा
बौद्धविहारको खाका तैयार पार्ने वास्तुकलाविद् पाभेल तेरेश्किनले बौद्धविहारको
निर्माणार्थ प्राप्त भएको यस जग्गामुनि सहरको दैनिक जीवनका लागि आवश्यक विभिन्न
संरचनाहरु रहेकाले नक्सा पास गराउन निकै समय लागेको थियो र अन्ततोगत्वा प्राविधिक
र इन्जीनियरिंग समस्या समाधान भई निकै गहिरो जग खनेर विहार बनाउने गरी अनुमति
प्राप्त भएको हुँदा निर्माण खर्च बढी लाग्ने जानकारी दिएका थिए ।
वास्तुकलाविद् पाभेल तेरेश्किनको साथमा लेखक
बुर्यातियाका बौद्ध
धर्माबलम्बीहरुको संस्थाका प्रतिनिधि दुगारोभले मास्कोमा सांस्कृतिक कार्यक्रमसहित
च्यारिटी शोको आयोजना गरेर बौद्धविहारको निर्माणमा सहयोग गर्ने तत्परता जनाएका थिए
भने बुर्यातियाकै एक युवा कलाकारले आफ्नो मातृभाषामा गीत गाएर सुनाएका थिए ।
बुर्यातिया बौद्ध संस्याका प्रतिनिधि बुगारोभ
बुर्यातियाका युवा गायक
बौद्धमन्दिर
निर्माणसम्बन्धी संरक्षक परिषदका अध्यक्ष मिखाइल लित्भिन्चेभले मास्कोमा
बौद्धविहारको निर्माणका लागि दुल्मा शाग्दारोभाको अथक प्रयासको सराहना गर्दै यसको
निर्माणमा आर्थिक तथा भावनात्मक सहयोग गर्न तत्पर रहेका सबै महानुभावहरुप्रति
कृतज्ञता जनाएका थिए ।
बुद्धजयन्ती समारोहको झलक
बुद्धजयन्ती समारोहमा यस पंक्तिकारलाई पनि
केही शब्द बोल्ने अवसर प्रदान गरिंदा मैले रुस र नेपालका बीच सांस्कृतिक तथा
धार्मिक क्षेत्रमा सम्बन्धको इतिहास कैयौ शताब्दी पुरानो भएको चर्चा गर्दै सातौं
शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको दाइजोस्वरुप ल्हासामा पुगेको श्रीखण्डको
बुद्धमूर्ति (रुसीमा ‘सान्दाल्नी
बुद्ध’) बुर्यातियाको
दाच्चान ं(बौद्धविहार) मा अद्यापि रहेको र रुसको तत्कालीन राजधानी
सेन्टपिटर्सबुर्गमा उन्नाईसौं शताब्दीको अन्त्यतिर निर्मित बौद्धविहारको अवलोकन
गर्दा मैले भित्ताको माथि चारैतिर नेपालाक्षरमा बौद्ध मन्त्रहरु कुँदिएका काठका
फलकहरुले सिंगारिएको देखेर छक्क परेको पनि बताएको थिएँ । मास्को बौद्ध समाजको
अग्रसरतामा वर्तमान रुसको राजधानीमा पनि अब छिटै नै बौद्धविहार अस्तित्वमा आउने
तथ्यबाट बुद्ध जन्मेको देशमा जन्मने सौभाग्य पाउने हामी नेपालीहरु निकै आल्हादित
र्छौ भन्ने अभिव्यक्ति दिंदै नेपालमा बौद्ध धर्माबलम्बीहरुले मात्र नभई
हिन्दुहरुले समेत विष्णुको एक अवतारको रुपमा शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको
पूजाअर्चना गर्ने परम्परा रहेको पनि सूचित गरेको थिएँ । आफ्नो छोटो मन्तव्यमा मैले
बुद्धको जन्मथलो लुम्बिनीमा कुनै दिन रुसको पनि एक बौद्धविहार बन्ने छ र रुसका
बौद्धमार्गीहरु तिर्थयात्रीको रुपमा त्यहाँ पुग्नेछन् भन्ने सदीक्षा व्यक्त गरेको
थिएँ…
लामाभिक्षुको साथमा कृष्णप्रकाश श्रेष्ठ
मास्कोका बौद्ध धर्माबलम्बीहरुद्वारा ग्रीष्मको घमाइलो दिन
बुद्धको जन्म, प्रबोधन
तथा निर्वाणको त्रिवेणी परेको पूर्णिमाको उपलक्ष्यमा भावी बौद्धमन्दिरको जगमाथि
खुला आकाशमुनि मनाइएको बुद्धजयन्ती समारोहको अन्त्यमा लामाभिक्षुहरुले डुल्मा
शाग्दारोभालाई खादा ओढाएर सम्मान गरेका थिए ।
खादासहित डुल्मा शाग्दारोभा र लामाभिक्षु
समारोहको
अन्त्यमा मास्को बौद्ध समाजकी अध्यक्ष डुल्मा शाग्दारोभाले भावी बौद्धविहारको निर्माणस्थलमा
बुद्धजयन्ती मनाउने निमन्त्रणा स्वीकार गरी उपस्थित भएका सबै महानुभावहरुलाई
धन्यवाद ज्ञापन गरेकी थिइन् ।
डुल्मा शाग्दारोभा
तत्पश्चात्
बुद्धजयन्ती समारोहमा उपस्थित सबैलाई चियापानका लागि नजिकै टाँगिराखेको
त्रिपालभित्र निम्त्याइयो । त्यहाँ पहिलेदेखि नै मैले चिनेका वास्तुकलाविद् पाभेल
तेरेश्किनले मलाई आफ्नो ल्हासा–यात्राको अविस्मरणीय अनुभव बताएका थिए भने केही महिनाअघि
लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिने रुसका युवा विद्वान्
बात्र कितिनोभले चाहिं मसित नेपाल-यात्राको अनुभव बाँडेका थिए । मैले पनि नेपाल र
रुसका बौद्धसमुदाय र विद्वान्हरुबीच सम्बन्ध–विकासमा मिलेर काम गर्ने र
दुवै देशको सांस्कृतिक साम्यताको अध्ययन अगाडि बढाउने सुझाव राखेको थिएँ ।
बात्र कितिनोभ र कृष्णप्रकाश श्रेष्ठ
त्यतिखेर नै त्यहाँ पूजापाठको नेतृत्व
गर्ने एक लामाभिक्षुले आफ्ना पुर्खाहरु पनि नेपालको ली भन्ने ठाउँबाटै बुर्यातियामा बसाइँ सरेको
किम्बदन्ती सुनाउँदै मलाई बुद्ध जन्मेको देशको वासिन्दा र आफ्नै मूलथलोको ‘गाउँले’ (रुसीमा ‘जेम्ल्याक’) भन्दै अङ्कमाल गरी
स्नेहप्रदर्शन गर्न पुगेका थिए । हामीहरुले मास्कोमा भावी बौद्धमन्दिरको
पवित्रस्थलमा सुमधुर भेटघाटको सम्झनाका लागि फोटो पनि खिच्यौं…
थानकोटको स्तुपनेर (सन् २०११)
बहिनी राधाबदन र फुपेरा भाइ नारायणप्रसादको साथमा
भावी बौद्धविहार बन्ने स्थलमा अहिले नेपालमा मेरो जन्मथलो
थानकोटमा रहेको जस्तै आकारप्रकारको एउटा सामान्य खालको स्तुप बनेको देख्दा अचम्म लाग्यो
र निकै पुलकित हुन पुगें ।
मास्कोको बौद्धस्तुप (०२.०६.२०१५)
त्यस स्तुपको नजिकै नेपालाक्षरमा षडाक्षरी मन्त्र ‘ओम् मणि
पद्मे हुँ’ अङ्कित बडेमानको तामाको मानेले पनि काठमाडौं बौद्धस्तुपको परिसरमा
रहेको यस्तै बडेमानको मानेको सम्झना गरायो ।
मास्कोमा भावी बौद्धमन्दिरस्थलमा स्थापित माने
अहिले भावी बौद्धविहार निर्नाणस्थनमा यति मात्र बौद्धप्रतीकहरू
स्थापित भएको हुँदा ती धार्मिक वस्तुहरुको पनि फोटो खिंचेर मास्कोको दक्षिण-पश्चिम
क्षेत्रमा पर्ने आफ्नो निवासस्थानतिर फर्किएँ…
दिनांक : ३ जून २०१५ (बुधवार),
मास्को, रुस महासंघ ।
No comments:
Post a Comment