Tuesday, September 15, 2015

मास्कोमा गैरआवासीय नेपाली संघ रुसको सातौं राष्ट्रिय अधिवेशन

रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबको  सभाकक्षमा गैरआवासीय नेपाली संघ रूस (एनआरएनए रसिया) का कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमनको सभापतित्वमा सातौं राष्ट्रिय अधिवेशन सुसम्पन्न भयो ।

नेपालबाट निम्त्याइएका अतिथिद्वय गायकगायिका विमलराज छेत्री तथा रितु थापाको फोटोसहित  गैरआवासीय नेपाली संघ रूसको सातौं राष्ट्रिय अधिवेशनअङ्कित रङ्गीन पोष्टर टाँगिएको मञ्चमा प्रमुख अतिथि रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला तथा गैरआवासीय नेपाली संघका संस्थापकअध्यक्ष डा. उपेन्द्र महतो, अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष जीबा लामिछाने, कोषाध्यक्ष  डा. बद्री के.सी., महिला संयोजक सपिला राजभण्डारी, केन्द्रीय सदस्य गोविन्दप्रसाद गौतमका साथै रूसमा रहेका नेपालीहरूका विभिन्न सामाजिक संस्था (रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, नेपाल खेलकूद तथा संस्कृति समाज, विश्व नेपाली साहित्य महासंघ रूस, नेपाली नारी निकुञ्ज, नेपाली घात्रसंघ, रुस नेपालविद्या केन्द्र) का प्रमुखहरूसहित सातौं राष्ट्रिय अधिवेशनको भव्य उदघाटन समारोहका अतिथिहरूबाट स्थान ग्रहण गरिएको थियो ।
रूस राष्ट्रिय अधिवेशनको अध्यक्षमण्डल
डा. मणिराज फोखरेल, डा. बद्री के.सी., कृष्णप्रकाश श्रेष्ठ, जीबा लामिछाने, 
डा. उपेन्द्र महतो, डिल्ली खरेल सुमन,  डा. रविमोहन सापकोटा कोपिला

अधिवेशनका सञ्चालक एनआरएनए रसियाका सचिव तेजबहादुर शाहको प्रस्तावअनुसार सबैले उठेर करतलध्वनिबाट सातौं राष्ट्रिय अधिवेशनको समुदघाटन गरिनुका साथै उपाध्यक्ष रङ्गनाथ पौडेलबाट सारगर्भित स्वागत-मन्तव्य राखिएपछि रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले मास्कोस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ रूसको बीचमा सुमधुर सम्बन्ध कायम रहेको जनाउनुहुँदै  अधिवेशनको सफलताको लागिहार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
जीबा लामिछाने तथा डा. उपेन्द्र महतो
गैरआवासीय नेपाली र्सघका संस्थापकअध्यक्ष डा. उपेन्द्र महतोले रूसमा रहेका नेपालीहरूबाट ठीक १२ वर्षअघि राजतन्त्रकै वेला सुरु गरिएको गैरआवासीय नेपालीअभियानले अहिले व्यापकरूप लिइसकेको चर्चा गर्दै महाभूकम्पजस्तो दैवीप्रकोपपछिको भीषण दुःखको अवस्थामा पनि नेपालीहरुको मुहार हँसिलो नै देखेको अनुभव बाँट्दै निकै दुःख भोगिसकेका नेपालीहरूले अहिले देशमा जस्तो अवस्था भए तापनि कठिनाईहरूको सामना गर्दै अन्ततोगत्वा सुखको लागिको संघर्षमा अवश्य विजय हासिल गर्नेछन् भन्ने भावाभिव्यक्ति प्रकट गर्नुभयो । एनआरएनए आईसीसीका निवर्तमान अध्यक्ष जीवा लामिछानेले नेपालीका लागि नेपाली भन्ने आदर्श वाक्यबाट सुरु भएको अभियानको सञ्जाल अहिले विश्वका ७१ देशहरुमा विस्तारित भइसकेको परिप्रेक्ष्यमा यस संस्थाको गुणात्मक वृद्धिमा ध्यान दिनु आवश्यक भएको अभिव्यक्तिका साथै नेपालको पुनर्निमाणमा लाग्न अभिप्रेरित गर्नुभयो ।  केन्द्रीय कोषाध्यक्ष डा. बद्री के.सी.ले  संघको अतीत, वर्तमान र भविष्यबारे धारणा राख्दै नेपालमा भूकम्पपीडित क्षेत्रहरूमा पुगेर गैरआवासीय नेपालीहरूले परोपकारी कार्यमा पु-याएको योगदानको उल्लेख गर्दै अहिले विश्वका विभिन्न देशहरुमा नेपालीहरूको संख्या ५ लाख नाघिसकेको अवस्थामा संस्थाको आत्मनिर्भरतामा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै यसका लागि प्रयत्नशील रही आईसीसीको महासचिव पदमा उम्मेदवारी दिने बताउँदै समर्थनका लागि आह्वान गर्नुभयो । केन्द्रीय सदस्य गोविन्दप्रसाद गौतमले नेपालीका लागि नेपालीको मूलभावना अनुरूप क्रियाशील संघका सदस्यहरूको मातृभूमिप्रतिको दायित्वबारे प्रकाश पार्नुभयो । एनआरएनए आईसीसीमा महिलासंयोजक सपिला राजभण्डारीले संघको तर्फबाट सम्पन्न विभिन्न लोककल्याणकारी क्रियाकलापबारे प्रकाशपार्दै भुकम्पको परिणामस्वरूप घरबारविहीन भएका महिलाहरूलाई एकजोर लुगा प्रदान गर्ने अभियानमा संलग्न हुने आह्वान गर्नुभयो र सबै क्षेत्रमा महिलाहरूको भूमिका र सकियता बृद्धिमा जोड दिनुभएको थियो । प्रवक्ता डा. मणिराज पोखरेलले गैरआवासीय नेपाली संघ राजनीतिनिरपेक्ष्य विशुद्ध सामाजिक संगठन भएको जनाउँदै रूसमा रहेका गैरआवासीय नेपालीहरूले नेपाली राजदूतावासबाट छिटो परिचयपत्र लिन आह्वान गर्नुभयो र काठमाडौंमा निकट भविष्यमै सम्पन्न हुन गइरहेको सातौं महाधिवेशनमा सक्रिय सहभागिता जनाउन पनि अनुरोध गर्नुभयो ।  रुसनेपाल सहयोग तथा मैत्री समाजका सचिव बोरिस भेर्शिनिनले आगमी वर्ष रूस र नेपालबीच कूटनैतिक सम्बन्धको ६० वर्ष भव्यताका साथ मनाउने आह्वान गर्नुभयो ।
सातौं अधिवेशनको दृश्य
रूसमा बसोवास गरिरहेका नेपालीहरूको अग्रजको हैसियतले यस पंक्तिकारले पनि शुभेच्छा मन्तव्य व्यक्त गर्ने अवसर पाएको थियो । रूसमा रहेका साहित्यानुरागी नेपाली समुदायको सहयोगबाट विश्वमा तेस्रो देशको रूपमा रुस महासंघमा आदिकवि भानुभक्त आचार्यको आवक्ष-प्रतिमा स्थापनाका साथै आदिकविका कविताहरूको रूसी भाषामा अनुवादसहित लोक्को गरूँहित् भनी द्विभाषिक संग्रहका सथै भानुजयन्ती समारोहप्रति समर्पित स्वर्गद्वारीको पुल तथा नेपाली भाषामा रूसमा नेपालको बिम्ब’, ‘हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष्य गणतन्त्रतिरर रूसी भाषामा गोनु झाका कथाकुथुङ्ग्री आदि पुस्तकहरूको  प्रकाशन भइसकेको र अरु पनि केही पुस्तकहरू प्रकाशनको क्रममा रहेको सूचित गर्दै यस प्रकारको प्रकाशनबाट नेपाल र रूसका जनताहरूबीच मैत्री सम्बन्धको विकासमा योगदान पुग्ने कुरा जनाएको थिएँ र ठीक १४० वर्षअघि सर्वप्रथम नेपालको यात्रा गर्ने प्रख्यात् रूसी विद्वान् इभान मिनाएभको १७५रौ जन्मजयन्ती मनाउन आह्वान गरेको थिएँ ।
सातौं अधिवेशनको अध्यक्षमण्डलको झलक
रूसमा गैरआवासीय नेपाली संघ राष्ट्रिय सम्न्वय परिषदका प्रथम अध्यक्ष डा. सूर्यप्रसाद रिजाल, नेपाल खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछाने, नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) का अध्यक्ष  उत्तम लामिछाने प्रभृति सबै वक्ताहरूबाट सातौं राष्ट्रिय अधिवेशनको  सफलताको शुभकामनासहित मन्तव्य प्रस्तुत गरिएको थियो । उदघाटन समारोहको समापन गर्दै गैरआवासीय नेपाली संघ रूसको सातौं राष्ट्रिय अधिवेशनको सभापतित्व गर्ने कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमनबाट समारोहमाउपस्थितअतिथिहरू र सम्पूर्ण  सदस्यहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
रङ्गमन्चको दृश्य
सातौं राष्ट्रिय अधिवेशलको दोस्रो चरणमा रुस राष्ट्रिय समन्वय परिषदका सचिव तेजबहादुर शाहबाट गतः २ वर्षको कार्यकालको प्रतिवेदन प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष सुमन रिजालबाट आयव्ययको विवरण पेश गरिएपछि लेखापरिक्षण समितिका अध्यक्ष डा. एकनारायण चापागाईंबाट विवरणको पुष्टि गरिएको थियो । दुवै प्रतिवेदनहरु  सर्वसम्मतिबाट स्वीकार गरिएपछि गोविन्दप्रसाद गौतमको संयोजकत्वमा गठित संस्थाको विधान संशोधन समितिको तर्फबाट डा. भीष्म आचार्यले विधानमा संशोधन गर्न राखिएको प्रस्तावमा उल्लिखित विभिन्न बुँदाहरुमा छलफल भई संशोधन पारित गरिनुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषदको विचारार्थ पठाइने सुझाव समेत पारित गरियो ।
निर्वाचन समितिको घोषणा
उत्तमकुमार अमात्य, डा. मणिराज फोखरेल तथा खेमराज लामिछाने
तत्पश्चात् डा. मणिराज पोखरेलको अध्यक्षतामा गठित निर्वाचन समितिले सातौं राष्ट्रिय समन्वय परिषदमा निर्विरोध निर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुको नामावली पढेर सुनाउँदा अधिवेशनका सहभागीहरुले क्रमशः करतलध्वनिले समर्थन व्यक्त गरेका थिए । राष्ट्रिय परिषद्का नवनिर्वाचित पदाधिकारीहरू तथा सदस्यहरूको नामसूची निम्नप्रकार छ :

अध्यक्ष : दीनानथ राजभण्डारी, 
उपाध्यक्षद्वय : रामेश्वर गौतम तथा डिल्ली खरेल सुमन,
महासचिव : डा. मनमूर्ति भुर्तेल, 
सचिव : इन्द्रप्रसाद भुसाल,
कोषाध्यक्ष : सुमन रिजाल,
युवासंयोजक : तेजबहादुर शाह,
महिलासंयोजक : मीनाअधिकारी, 
सदस्यवृन्द  : गोविन्दप्रसाद आचार्य, रोशनकुमार पोखरेल, कुलबहादुर थापा,  
बुद्धिप्रसाद तिवारी, दिगम्बरप्रसाद भट्ट 
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) मा रुसका
प्रतिनिधिसदस्य : गोविन्दप्रसाद गौतम 

नवनिर्वाचित महासचिव डा. मनमूर्ति भुर्तेल बोल्दै

अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष जीबा लामिछानेले विधिवत् शपथ ग्रहण गराउनुभएपछि आईसीसीमा महिला संयोजक सपिला राजभण्डारी, कोषाध्यक्ष डा.बद्री के.सी. तथा सदस्य गोविन्दप्रसाद गौतमसमेतले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
अध्यक्षमण्डलमा नवनिर्वाचित सदस्यगण
नवनिर्वाचित अध्यक्ष दीनानाथ राजभण्डारिको वक्तव्य
नवनिर्वाचित अध्यक्ष दीनानाथ राजभण्डारीले आफ्नो छोटो वक्तव्यमा सन् २०१५२०१७ को कार्यकालका लागि निर्वाचित नयाँ परिषदले पहिलेका सबै क्रियाकलापलाई कायमै राखी गैरआवासीय नेपाली संघ रूसको सक्रियता र प्रतिष्ठा अझ अगाडि बढाएर लैजाने तत्परता जनाउनुभयो ।
निर्विरोध निर्वाचित सदस्यगण 
यस प्रकार मास्कोमा सातौं राष्ट्रिय अधिवेशन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्नभएको थियो ।
नृत्यको रमझम
साँझपख नेपाल खेलकूदतथा संस्कृति समाजको संयोजनमा गैरआवासीय नेपाली संघ रूस, नेपाली छात्रसंघरुस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, नेपाली नारी निकुञ्ज, विश्व नेपाली साहित्य महासंघ रूसको समेत सहभागितामा नेपालबाट निम्त्याइएका  ख्यातिप्राप्त लोकगायक विमलराज छेत्री तथा प्रसिद्ध गायिका रितु थापाबाट प्रस्तुत गरिएको सास्कृतिक कार्यक्रम निकै मनोरम थियो । 
लोकगायक विमलराज छेत्री र गायिका रितु थापा सम्मागित 
यसरी नेपाली गीत र नृत्यको रमझममा रमाउँदै मास्कोवासी नेपालीहरुले आफ्नो सातौं राष्ट्रिय अधिवेशन रमाइलो वातावरणमा साझापर्वको रूपमा मनाएका छन् ।
मास्कोमा रमाइलो साँझ
फोटोसौजन्य : मनमूर्ति भुर्तेल

दिनाङ्क : ७ सेप्टेम्बर २०१५ (सोमवार), मास्को, रुस महासंघ ।

No comments:

Post a Comment