Monday, May 11, 2015

मास्कोमा जर्मन फाशीवादउपर विजयको ७० वर्षको महोत्सव

    एकाबिहानै वसन्तऋतुको उज्यालो झ्यालबाट कोठामा पस्नासाथै ब्युँझेर बाहिर दृष्टि दिएँ । हिउँदभरि जाडोले कठ्यांग्रिएका रुखहरु हरिया पातहरुको पहिरनमा सिंगारिएर उभिइरहेका थिए । 

झ्यालमुन्तिर स्याउका बोटहरु फुलले सेताम्य नै भइसकेका देखिन्थे । अलि पर उभिइरहेको चेर्योमुखा भनिने रुखमा पनि हसिनाका जस्ता सेतै फुलहरु हाँसिरहेका थिए।
घरपछिल्तिरको झ्यालमुनि प्रफुल्ल वसन्त

हिटलरविरोधी मोर्चाका प्रमुख देशका उच्चस्तरीय पाहुनाहरुको अनुपस्थितिले भन्दा पनि कतै झरीबादलले नै मास्कोमा सम्पन्न हुन गइरहेको रूसी मित्रहरूको मात्र नभई नेपाललगायत सम्पूर्ण विश्वका जनताहरूको चिरप्रतीक्षित विजयोत्सवलाई बिगारिदिने त होइन भन्ने मेरो आशंका कता हो कता बिलाएर गयो । मास्कोको मौसम निकै उज्यालो थियो । 
भोरोन्चोभ्स्की पार्कको एक प्रवेशस्थल
रेडियोमा युद्धकालीन रुसी गीत र धूनहरु गुञ्जिरहेका थिए । युद्धको समयलाई सम्झाउने विश्वप्रसिद्ध कात्युशागीतका गेडाहरु मेरो कानमा पर्यो । त्यसको थालनी यसरी हुन्छ :
नास्पाती र स्याउ फुलिसके
खोलामाथि उड्यो तुँवालो ।
किनारैमा देखिई कात्यूशा,
अग्लो तीरमाथि भिरालो।।
त्यतिखेर टेलिभिजनको पर्दामा पनि रुसका सुदूरपूर्वका नगरहरुमा विजय दिवस कसरी मनाइँदैछ भन्ने प्रत्यक्षवर्णन प्रसारित भइरहेको थियो । म उत्सवका लागि विशेष रुपले सिंगारिएको लालमैदानमा सम्पन्न हुने भव्य राजकीय समारोह‍-परेडको दृश्यको समग्र झलक टेलिभिजनको पर्दामा हेर्ने उद्दश्यले तयार भइहालें
भोरोन्चोभ्स्की पार्कमा विजय-दिवसको मेला
क्रेमलिनको मुख्य प्रवेशद्वार रहेको स्पास्की बुर्जाको घडीले मास्को समयअनुसार बिहान ठीक १० बजेको सङ्केत दिनासाथै रुसको राजधानीमा सम्पन्न भएको विजयोत्सव त विश्वभरिका मानिसहरुले टेलिभिजनको पर्दामा आफैले देखिसकेको हुँदा त्यसको बयान गर्नपट्टि नलागूँ । यसपल्ट लालमैदानमा सम्पन्न भएको भव्य उत्सवमा संयुक्त राष्ट्रसंघका महासचिवका साथै चीन र भारतलगायत विभिन्न देशका राष्ट्राध्यक्षहरुको समुपस्थिति थियो भने त्यहाँ सम्पन्न भएको भव्य सैनिक परेडमा चीन, मंगोलिया, भारत आदि विभिन्न देशका सैनिक टोलीहरुले पनि भाग लिएको देख्दा द्वितीय विश्वयुद्धको रणक्षेत्रमा अतुलनीय वीरताको प्रदर्शन गर्ने र विश्वका विभिन्न मुलुकहरुमा शान्तिसेनाको भूमिका सफलतापूर्वक निर्वाह गर्ने नेपाली सैनिक जवानहरुको परेडका साथै नेपालका प्रथम राष्ट्रपतिको उपस्थिति नरहनुको खल्लो अनुभव भइरहेको थियो ।
रुस महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफ्नो वक्तव्यको बीचमा फाशीवादी दासत्वबाट विश्वलाई बचाउन दोस्रो विश्वयुद्धको क्रममा दिवंगत हुने वीरहरुको स्मृतिमा एक मिनेटको मौनघारणाको घोषणा गरिंदा मलाई जापानी सैनिकवादी आक्रामक फौंजविरुद्ध बर्माको रणक्षेत्रमा वीरताको प्रदर्शन गरेवापत् सोभियत सामरिक पदक महान् देशभक्तिपूर्ण युद्ध (प्रथम श्रेणी) बाट विभूषित नेपाली योद्धा बिर्तासिंह गुरुङको सम्झना भएर आयो ।
सोभियत सामरिक पदकबाट विभूषित 
नेपाली वीरयोद्धा बिर्तासिंह गुरुङ 
 दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गर्ने नेपाली सैनिकहरुप्रति मैले पनि मनमनै श्रद्धाञ्जलि अर्पण गरे । त्यतिखेर म १५ दिनअघि मात्र नेपालमा गएको महाभूकम्पको भुमरीमा परी जीवन गुमाउने हजारौं स्वदेशवासीहरुको आत्मालाई चिरशान्ति पाप्त होस् भन्ने पनि कामना गर्दै थिएँ
लाल मैदानमा उपस्थित विभिन्न देशका उच्चस्तरीय प्रमण्डल, कूटनैतिक निकायका प्रतिनिधिहरु र विशेष सम्मानित स्थानमा महान् देशभक्तिपूर्ण युद्ध (सन् १९४१-१९४५) का सहभागीहरुको समुपस्थितिमा सुसम्पन्न सैनिकपरेडको शुभारम्भ सोभियत संघमा हिटलरी फौजले विश्वासघातपूर्वक आक्रमण गरेको केही दिनपछि नै गुञ्जेको विशाल देश, जाग लौ !भन्ने बोल भएको पवित्र संग्रामशीर्षकको प्रख्यात गीतबाट भएको थियो । सैनिक परेडअन्तर्गत ऐतिहासिक खण्ड, विभिन्न देशका र रुसका सैन्यको मार्चपाष्ट, अत्याधुनिक सामरिक प्रविधिको प्रदर्शन तथा लालमैदानमाथि आकाशमा ७० को अङ्क समेत देखिने गरी उडेका १४३ विमानहरुको  उच्चस्तरीय हवाई उडानको प्रदर्शन गरिएको थियो ।
टेलिभिजनको पर्दाबाट खिंचिएको सामरिक विमान 
यसपटक विजयोत्सवको क्रममा रूसका मात्र नभई विश्वकै विभिन्न नगरहरुमा लाखौं मानिसहरुले महान् देशभक्तिपूर्ण युद्धमा वीरगति प्राप्त गर्ने वीरहरुका साथै भीषण युद्धका सहभागी रहेका आफ्ना दिवंगत आफन्तजनहरुको फोटो लिएर अमर सैन्यभनिने अभियानमा भाग लिएका थिए । विगत विश्वयुद्धमा तत्कालीन सोभियत संघका विभिन्न जनजातिका २ करोड ७० लाख मानिसहरु अर्थात् नेपालको अहिलेको जनसंख्या जत्तिकै नरनारीरूले जीवन गुमाउनुपरेको कल्पना गर्दा आङ नै जिरिङ्ग हुन्छ । यत्रो मानवक्षति भोगेर सोभियत रुसले विश्वलाई नाजीवादको आतङ्कबाट छुटकारा दिलाएको थियो । मास्कोमा दिउँसो ३ बजेदेखि उनीहरुकै स्मृतिमा हातमा दिवंगत आफन्तको फोटो बोकेको असंख्य जनसमूहको जुलुस सुरु भई लालमैदानतिर लम्किएको दशौं किलोमिटर लामो यस अभियानको अग्रपंक्तिमा रुसका राष्ट्रपतिद्वारा पनि एक सामान्य सैनिकको हैसियतले विश्वयुद्धका सहभागी आफ्ना पिताको फोटोसहित भाग लिइएको थियो । त्यसवेला पनि विभिन्न सैनिक गीतहरुका साथै नेपालको तीनपल्ट यात्रा सम्पन्न गर्ने दागेस्तानी कवि रासुल हाम्जातोभको कवितामा आधारित गीत पनि गुञ्जेको थियो । विजय दिवसको सन्दर्भमा विभिन्न नगरहरुमा सम्पन्न भएको अमर सैन्यको भावनासित मिल्दोजुल्दो सेता सारसशीर्षकको उनको त्यस प्रसिद्ध गीतको नेपाली पद्यानुवाद यहाँ प्रस्तुत गर्न चाहन्छु :
लाग्छ मलाई कहिलेकाहीं, रक्तपातमय युद्धस्थलमा,
जसले वीरगति पाएथे, छैनन् ती अब चिरनिद्रामा ।
बरु ती वीरपुरुष नै सारा, उड्दै होलान् नभको माझ,
सैनिकहरूकै हुन् ती हंस, जो छन् सेता सारस आज ।।
दूरवर्ती त्यो समयदेखि नै उनीहरू अझसम्म पनि,
उड्दै हामीलाई दिन्छन् कराउँदै सङ्केतध्वनि ।
सके त्यसैले गर्दा होला, अक्सर शोकाकूल रहन्छौं,
नभतिर हेर्दा किन हो कुन्नि बोल्नै नसकी अधीर बन्छौं ??
दिन त बित्यो, तर साँझ नपर्दै यसै घडीमा आज विचित्र,
देख्छु तुवाँलोझैं सारसको झुण्ड उडेको नभमा चित्र ।
जसरी हिड्थे मानिस भैकन उहिले लहरै खेतहरूमा,
त्यसरी पंक्तिबद्ध भएर बढ्छन् आफ्नै निश्चित गतिमा ।।
उडेर नभमा सारस सेता गर्छन् आफ्नो बाटो पार,    
क्वाँ क्वाँ गर्दै सुरिलो स्वरमा नाम कसैको डाँक्छन् क्यार ?
युगौंदेखि नै गुञ्जिरहेको सारसको चिर्चिर स्वरलहरी,
हो कि कतै आभारहरूकै गुञ्जेको भाषा नैे यसरी ?!
उड्छ, सरासर उड्छ गगनमा सारसहरुको थकित बथान,  
उडी तुवाँलोभित्र घुसेर हुँदै छ दिनको पनि अवसान ।
त्यस पंक्तिमा कता कता म देख्छु साँगुरो सोतो एक,
हो कि त मैरै लागि स्थान त्यो बाँकी रहेको एकाएक !!
अवश्य आउँछ दिन त्यो, म त्यही सारसकै पंक्तिमा मिल्छु,
कावा खाँदै तममिश्रित त्यै असीम नीलो नभमा डुल्छु ।
माथिबाट म पन्छीले झैं डाँक्छु अवश्यै सुरिलो स्वरमा,
ती सबलाई छुट्न गए जो मबाट साथी, यसं धरतीमा ।। 
(अनु. कृष्णप्रकाश श्रेष्ठ, ०८.०४.२०१५, बुधवार)

केन्द्रीय गोर्की पार्कलगायत मास्कोका सैयौं पार्कहरुमा विजयोत्सवको सन्दर्भमा मास्को नगरको संस्कृति विभागको तत्वावधानमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । म आफ्नो निवासस्थानको बगलमै रहेको भोरोन्चोभ्स्की पार्कमा विजयदिवसको गतिविधि हेर्न गएको थिएँ । 
भोरोन्चोभ्स्की पार्कको केन्द्रमा 
पुरानो दर्बारको नवनिर्मित खण्डनेर उत्सवीय पसलहरू
पार्कको प्रवेशद्वारमै केटाकेटीहरुका लागि सिंगारिएका खच्चर र घोडाहरु उपलब्ध गर्न सकिन्थ्यो भने ठूलो पोखरीमा चाहिं नौकाविहार गर्नेहरु देखिन्थे । 
पार्कका ५ पोखरीहरूमध्ये ठूलो जलाशयमा नौकाविहार
कतै उमेरदारहरुका लागि साइकल र केटाकेटीहरुका लागि सानो मोटरगाडी भाडामा दिने व्यवस्था थियो भने केन्द्रीय बाटोको आसपासमा चाहिं अस्थाई रुपले बनाइएका स्टलहरुमा कतै खानेकुरा, कतै चियाकफी, कतै बेलुनका खेलौना र चीजबीज इत्यादि बिक्री भइरहेको थियो । 
एकातिर सांस्कृतिक कार्यक्रम, अर्कोतिर बेलुन बिक्री
पार्कको केन्द्रमा निर्मित मञ्चमा कलाकारहरु गीत प्रस्तुत गर्दै थिए भने अगिल्तिर राखिएका बेन्चहरुमा तक्मा भिरेका पूर्वसैनिकहरु र कलरमा रातोकालो गरी ७ धर्साहरु भएको ग्रिगोरियन रिबन लगाइराख्ने अधबैंसे नरनारीहरु बसेर सोभियतकालीन गीतहरु सुन्दै थिए । 
                         सांस्कृतिक कार्यक्रमको प्रस्तुति
मञ्चको वरपर उभिएका दर्शक-श्रोता, युवायुवती र केटाकेटीहरुको भीड थियो । म त्यहाँ पुग्नुभन्दा पहिले नै रूस भूमिका रक्षकहरूको स्मृति-स्तम्भमा पुष्पाञ्जलि अर्पण तथा विश्वयुद्धका भेटरानहरुको स्वागत-सत्कार गर्ने औपचारिक खण्ड समाप्त गरी ओब्रुचेभ्स्की क्षेत्रका पदाधिकारीहरु हिंडिसकेका रहेछन् । 
 पार्कमा रूस भूमिका  वीर रक्षकहरुको स्मृति-स्तम्भ 
एक ठाउँमा भेटरानहरुको निम्ति  निशुल्क खानपीनको व्यवस्था गरी हालिएको पालमुनि मात्र केही नारी र पुरुषहरु खानपीन गर्दे थिए भने उनीहरुका लागि युवती गायिकाहरुको एक समूहद्वारा गीत प्रस्तुत गरिंदै थियो ।
युद्धका भेटरानहरूको निम्ति भोजन र मनोरञ्जन
केन्द्रीय मञ्चमा नाचगानको कार्यक्रम सकिएपछि तक्माधारी भेटरानहरु बेञ्चबाट उठेर हिंडेका देखिए । त्यहाँ नै एकजना तक्माधारी भेटरान यूरी भासिल्येभिच रोश्शिनसंग चिनापर्ची गरेर फोटो लिएँ । 
यूरी रोश्शिन  -  महान् देशभक्तिपूर्ण युद्धका भेटरान
म नेपाली भन्ने थाहा पाएपछि उनले र उनलाई साथदिने महिला भालेन्टिना इभानोभ्नाले महाभूकम्पपीडित नेपालीहरुप्रति सहानुभूति जनाउँदै स्नेह प्रकट गरिन् । त्यहीं नै पिलागेया नामकी एक महिला भेटरानसँग पनि परिचित भई फोटो खिच्ने अवसर पाइयो । 
महिला भेटरान पेलागेया - पार्ककै छेउको घरकी वासिन्दा
त्यहाँबाट हिंडिसकेका भ्लादिमिर क्लुच्कोभ नामका एकजना भेटरानलाई बाटैमा भेटेर मैले शुभकामना व्यक्त गर्दे उनीसंग फोटो खिंच्ने अनुमति मागें र फोटो खिंचें । 
 भेटरान भ्लादिमिर क्लुच्कोभ र उनकी नातिनी
महान् देशभक्तिपूर्ण युद्धकालीन सैनिक टोपी ढल्काराख्ने उनकी नातिनीले उनीसंग मेरो पनि फोटो खिंचिदिइन् ।
तक्माधारी भेटरान र गेओर्गी फीताधारी कृष्णप्रकाश श्रेष्ठ
विजय दिवसको उपलक्ष्यमा विजयको आकाशभनिने अर्को कार्यक्रमका लागि एक ठाउँमा रुखमुनि सहभागीहरुको नाडीमा ग्रिगोरियन रिबन बाँधेर नाम दर्ता गरिरहेको देखेर म त्यतै लागें । मैले पनि वीरताको प्रतीक एउटा रिबन उपहार पाएँ । 
रक्षाबन्धनजस्तै गेओर्गी फिता नाडीमा बाँधिदिंदै बर्दीधारी युवक
त्यहाँको सबै कार्यक्रम हेर्नपट्टि नलागेर म माइकबाट आइरहेको गीत सुन्दै यताउति चहारेर रमिता हेर्न लागें । पार्कमा यसै साल खडा गरिएको स्मारकस्तम्भ र विजयोत्कोसवका दर्शकहरूको पनि फोटो लिएर निवासस्थानतिर लागें ।
भोरोन्चोभ्स्की पार्कमा  स्मृति -स्तम्भअगिल्तिरको दोबाटोनेर
एक ठाउँको एउटा बेञ्चमा एकजना तक्माधारी पूर्वसैनिकलाई एकलै बसिरहेको देखेर म पनि उनकै बगलमा आराम लिन बसें । चिनापर्चीको क्रममा उनी ९४ वर्ष पुग्नै आँटेका युक्रेन मूलका रहेछन् र १३ वर्षको पनाती पार्कमा कतै खेल्न गएकोले उसैलाई पर्खेर बसेका रहेछन् भन्ने थाहा पाइयो । मिखाइल गाभ्रिलोभिच दिबेन्कोसँग कुराकानी गर्दागर्दै दोस्रो विश्वयुद्धको समयमा उनले गुप्तबम निष्कृय तुल्याउने सैनिक टोलीको कम्याण्डरको हैसियतले क्रिमियाको केर्चनेरको भीडन्तको बयान गरे ।  बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नाजी जर्मनहरुले अन्धाधुन्ध बमबारी गरिरहेको अवस्थामा कैयौं सोभियत सैनिकहरुको ज्यान गुमेको रोमहर्षक वर्णन गर्दै डी राम्ररी खेल्न नजानेको भए उहिले नै प्राण गइसक्ने थियोभन्ने अभिव्यक्ति दिएका थिए । लामो जीवनको ४१ वर्ष सैनिक सेवा गर्ने यी भेटरानले आफ्नो जीवनका अविस्मरणीय र शिक्षाप्रद घटनाहरुबारे २५ पानाजति संस्मरण लेखिसकेको भए तापनि दाहिने हात जखमी भएको कारणले अगाडि लेख्न नसकिएको गुनासो गरेका थिए ।
तक्माधारी भेटरानको साथमा
केन्द्रीय गोर्की पार्क लगायत विभिन्न पार्कहरुमा विजय दिवसको सन्दर्भमा मास्को नगरको संस्कृति विभागद्वारा आयोजित सांस्कृतिक कार्यक्रमहरुमा मास्कोका कलाकारहरुले भाग लिएका थिए । साझपख विशेष सांस्कृतिक कार्यक्रम चाहिं  पोक्लोन्नाया गोरा (नतमस्तकगिरि) मा ठीक २० वर्षअघि भव्यतापूर्वक उद्घाटन गरिएको विजय पार्कमा सम्पन्न भएको थियो, जुन टेलिभिजनबाट पनि प्रसारित गरिएको थियो । रुसका सबै वीरनगरहरुका साथै वसन्तकालीन लामो दिनको अन्त्यमा गोधुलीको वेला साँझ ठीक १० बजे विजयोत्सवको उपलक्ष्यमा तोपको सलामीको गड्गडाहटका साथै आतसबाजीको रंगीचंगी झिलिमिली फोहराले मास्कोको आकाश झलझलाकारपारिदिएको  थियो
घरको बार्दलीवाट देखिने मास्को विश्वविद्यालयनेर आतसबाजीको दृश्य

मास्को, ९ मेई २०१५ (शनिवार)

No comments:

Post a Comment