Monday, May 11, 2015

महाभूकम्प पीडितोद्धारका लागि बुद्धजयन्तीको अवसरमा दीप प्रज्ज्वलन

                  हरेक वर्षझैं यस वर्ष पनि बुद्धजयन्तीका दिन बिहानै मास्कोमा बसोवास गरिरहेका नेपालीहरु र तिनका रसियाली मित्रहरु पनि मास्कोबाट ९० मिलोमिटर टाढा कालुगा अञ्चलमा निर्मित नेपाली घरको प्रांगणमा पुगेका थिए । 

      रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्य र उनकी श्रीमती सुसान्नासहित म त्यहाँ पुग्दा गैरआवासीय नेपाली संघका कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमन, उपाध्यक्ष रंगनाथ पौडेल, प्रवक्ता डा. मनमूर्ति भुर्तेल, सचिव तेजबहादुर शाह, निवर्तमान अध्यक्ष उत्सवकुमार अमात्य, केन्द्रीय सदस्यका साथै विश्व नेपाली साहित्य महासंघ रुस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष टेकराज निरौला, रुस नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, नेपाली घर’ को जगमा वास्तुकलाको विधिपूर्वक पूजा सम्पन्न गर्ने पण्डित आचार्य कुशलकुमार निरौला, दीनानाथ राजभण्डारी, रामकुमार पाण्डे, विनय श्रेष्ठ, दीपेश दाहाल, गणेश राम्दाम लगायत गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु, नेपाली नारी निकुञ्जका प्रतिमा अमात्यलगायत प्रतिनिधिहरु, मास्को बुद्ध धर्मावलम्बी समाजकी अध्यक्ष डोल्मा शाग्दारोभा, मेरो वाल्यकाल बितेको सूदूर पश्चिमाञ्चल बैतडीका दिगम्बर भट्ट लगायत चालीस-पैंचालिस जना नेपाली  तिनका रूसी मित्रहरु  नेपाली मण्डपको प्रवेशद्वारको सामुन्ने रहेका प्रस्तर सिंहमूर्तिद्वय, गणेश र कुमारको मूर्तिजोडी, आँगनमा रहेको बौद्धचैत्य, नेपालाक्षरमा बौद्ध मन्त्रअंकित तामाका मानेहरु, ढलोटको ठूलो घन्ट, त्यसकै बगलमा रहेको त्रिभाषिक शिलापत्र, गैह्रीधाराका भित्तामा रहेका विभिन्न हिन्दु र बौद्ध देवदेवीहरुका प्रस्तरमूर्तिहरु र तीनवटा ढुंगेघाराहरु, नेपाली घर’ मा प्रवेश गर्ने मूलढोकाको कलात्मक काष्ठद्वार, फलेचाका काष्ठस्तम्भ आदि नेपाली संस्कृतिका विभिन्न कलाकृतिहरुमा तेललेपन र सरसफाइ गर्ने कार्यमा तल्लीनतापूर्वक जुटिरहेका देखिन्थे ।
                           नेपाली घरको आँगनमा

सन् २०१० मा मास्कोमा सम्पन्न गैरआवासीय नेपाली संघको छैटौं क्षेत्रीय सम्मेलनमा भाग लिन त्यतिखेर रुसमा आइरहेका संसारका विभिन्न देशका प्रतिनिधिहरुसहित ५ सयजति नेपालीहरु र तिनका रुसी मित्रहरुको समुपस्थितिमा भव्यतापूर्वक सुसम्पन्न भएको ‘नेपाली घर’ को समुद्घाटनपश्चात् हरेक वर्ष मास्कोमा रहेका नेपालीहरुले कालुगा अञ्चलमा  अवस्थित एत्नोमिर’ (‘नृवंशलोक’) अन्तर्गत रहेको नेपालमण्डपमा वैशाख पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा कायम भएको छ । 
नेपाली घरको मूलद्वारसमक्ष बौद्धचैत्यनेर

यस वर्षको २५५९-यौं बुद्धजयन्तीको अवसरमा नेपालमा गएको प्राकृतिक प्रकोपमा पर्ने हजारौं नेपालीहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै ‘नेपाली घर’ को आगनमा निर्मित बौद्ध चैत्यमा दीपप्रज्वलन गर्ने र महाभूकम्पपीडित नेपालीहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गर्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को आह्वानअनुसार मास्कोमा बसोबास गर्ने हामी नेपालीहरु त्यहाँ पुगेका थियों ।

नेपालमण्डपको सरसफाईको काम सकिएपछि

रुसको लामो हिउँदमा हिउँ र ठिहीको सामना गरेर नेपालमण्डपमा पर्खिरहेका नेपाली सांस्कृतिक वस्तुहरुको स्याहारसम्भारको कार्य सम्पन्न गरिएपछि हामी नेपाली घरको मूलद्वारको सामुन्ने चोकमा निर्मित चैत्यको वरिपरि भेला भयौं । 

नेपालमण्डपस्थित बौद्धचैत्य

रुसमा बसोबास गर्ने जेष्ठ अग्रजको हैसियतले यस पंक्तिकारलाई १० दिनअघि मात्र नेपालमा गएको विध्वंशकारी महाभूकम्पको विभीषिकाको सन्दर्भमा केही शब्द बोल्ने अवसर दिइएको थियो । अहिलेसम्म प्राप्त तथ्यांकअनुसार नेपालका विभिन्न जिल्लाहरुमा साढे सात हजार मानिसको जीवन हरण गर्ने, नेपालका नगर र बस्तीहरुमा रहेका   परम्परागत आवास घरहरु र दर्बारहरु, सांस्कृतिक धरोहरको रुपमा रहेका प्राचीन राजप्रासाद र देवमन्दिरहरु एकै छिनमा ध्वस्त भई धनजनको अपूरणीय क्षति पुर्याएको सम्झँदा अवाक् र स्तब्ध तुल्याउने यस्तो महान् विपद् र दुःखको घडीमा के नै भन्न सकिन्छ र ?

शान्तिको कामना गर्दै पालाहरूमा दीप प्रज्ज्वलन

महाभूकम्पमा दिवंगत हुने नेपालीहरुको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामनासहित चैत्यको वरिवरि रहेका पालाहरुमा हामी सबैले बलेको मैलबत्तीले  दीपप्रज्वलन गरी एक मिनट मौन धारणा गर्यौं । 

महाभुकम्प पीडितोद्धारका लागि   मैनबत्ती प्रज्ज्वलन
नेपालमा हिन्दू धर्माबलम्बीहरुमा दाहक्रियाका बखत दागबत्ती बालिने भए पनि दिवंगत आत्माको शान्तिका लागि मैनबत्ती बाल्ने प्रचलन छैन, तर काठमाडौंमा बुद्ध धर्माबलम्बीहरुले स्वयम्भु चैत्यमा अखण्डज्योतिमा बत्ती बाल्ने गर्दछन् भनिन्छ । रुसमा अर्थाडक्स क्रिश्चियन धर्मका अनुयायीहरुले चर्चमा गएर दिवंगत आत्माको शान्तिका लागि चर्चको देब्रेतिरको पानसमा मैनबत्ती बाल्ने गर्दछन् । उनीहरु जीवितहरुको आरोग्यता र सुखसंमृद्धिको कामना गर्दे चर्चभित्र दायाँ तर्फ वा वेदीसमक्ष रहेको पानसमा मैनबत्ती बालेर राखिदिन्छन् । हामीले पनि चैत्यवरिपरि उभिएर महाभूकम्पबाट घाइते हुनेहरुको शिघ्र स्वास्थ्यलाभ र सम्पूर्ण जीवितहरुको सुखसंबृद्धिको कामना गरेका थियौं ।
नेपालमण्डपमा २५५९-यौं बुद्धजयन्तीको अवसरमा 
स्वदेश र विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरुका लागि यो विकट दु:ख र अवर्णनीय आपदको घडी हो । नेपालमा गतः १० दिनभित्र ठूलासाना गरी एकसयभन्दा बढीपल्ट भूकम्प गइसकेको र अझैसम्म पनि बारम्बार पराकम्पन नरोकिएको समाचार सुन्दा नेपालमा भाग्यले बाँचेका आफन्तजनहरु कति संत्रस्त भइरहेका होलान् भन्ने मनमा लागिरहेको छ ।
मास्को बौद्ध समाजकी अध्यक्ष डुल्मा शाग्दारोभाको साथमा
बुद्धजयन्तीका दिन जसरी हामी नेपालीहरुले रूसमा निर्मित नेपालमण्डपको सांस्कृतिक निधिहरुको स्याहारसम्भार गरेका थियौ त्यसरी नै अहिले मित्रराष्ट्र रुस महासंघलगायत विश्वका विभिन्न देशहरुले नेपालमा दैवीप्रकोपबाट पीडितहरुको निम्ति राहत जुटाएर सहयोग गरिरहेका छन् भने ‘नेपाली घर’ को प्रांगणमा हामीले मलजल हालेर रुसको हावापानीको अनुकूल हुने रुख उमारेको पीपल-चौतारीको मैत्रीवृक्षमा पनि वसन्तको आगमनका साथै पिपिराहरु लागिरहेको देखेर महाभूकम्पको विभीषिकापश्चात् देशभित्र र देशवाहिर विश्वभरि छरिएर रहेका हामी नेपालीहरुको तन, मन, धन र परिश्रमको परिणामस्वरुप नेपालले पनि अवश्यमेव काँचूली फेर्नेछ भन्ने सद्भावना मनमा बोकेर मास्कोतिर फर्केको थिएँ ।
नेपालमण्डपमा मेत्रीवृक्षको चौतारी

दिनाङ्क : ४ अप्रिल २०१५ (शनिवार)

No comments:

Post a Comment