Saturday, May 16, 2015

रुसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई ७४-रौं शुभजन्मोत्सवको शुभेच्छा !

सन् २०१५ को १३ मेईका दिन नेपालका परम् मित्र रुसी अन्तरिक्षयात्री भ्लादिमिर अलेक्सान्द्रोभिच जानिबेकोभले जीवनको ७३ वसन्त पार गरी ७४रौं वर्षमा प्रवेश गरेका छन् ।

रुसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभको नाम नेपालीहरुका लागि सुपरिचित छ यसै वर्ष जनवरीमा मास्कोमा सम्पन्न भएको मैत्री समाजको सम्मेलनमा उनलाई रुसनेपाल सहयोग तथा मैत्री समाजअन्तर्गत संरक्षक परिषद्का अध्यक्षको पदमा सर्वसम्मतिबाट पुनः निर्वाचित गरिएको छ । उनले रुसको मैत्री प्रमण्डलको नेतृत्व गरी कैयौं पल्ट नेपालको यात्रा पनि गरिसकेका छन् र  नेपालयात्राको समयमा नेपालीहरुसमक्ष रुस र नेपालबीच वैज्ञानिक क्षेत्रमा सहयोगको सम्भावनाबारे वक्तव्य समेत दिएका थिए।

भ्लादिमिर जानिबेकोभ
स्मरण रहोस्आफ्नो लगनशीलता र परिश्रमको आधारमा उनले एकपल्ट मात्र नभई पाँपाँचपल्ट अन्तरिक्षको उडान सम्पन्न गर्ने क्रममा दुईपल्ट खुला अन्तरिक्षमा समेत गोता लगाउने मौका पाएका थिए । यसरी उनले जम्मा १४५ दिन १५ घन्टा ५८ मिनेट पृथ्वीबाहिर अन्तरिक्षमा बिताएका थिए र त्यसमध्ये खुला अन्तरिक्षमै मात्र पनि दुईपल्ट गरी साढे आठ घन्टा गोता लगाएका थिए । 

  
                  अन्तरिक्ष पोशाकमा                              नागरिक पोशाकमा 
                                     भ्लादिमिर  अलेक्सान्द्रोभिच  जानिबेकोभ
पाँचैपल्ट अन्तरिक्षयानको कम्याण्डरको हैसियतले अन्तरिक्ष उडान सम्पन्न गर्ने भ्लादिमिर जानिबेकोभ सोभियत संघका ४३सौं र विश्वकै ८६यौं अन्तरिक्षयात्री हुन्।
हिटलरी जर्मन फौजको आक्रमणको विरुद्ध सोभियत संघका जनताहरुको महान् देशभक्तिपूर्ण युद्धको समयमा गोलाबारीको गड्गडाहटको भीषण आवाजको पृष्ठभूमिमा उज्बेकिस्तानको इस्कान्देर भनिने बस्तीमा सन् १९४२ को १३ मेईका दिन एक निरीह बालकको च्याँच्याँको स्वर गुन्जिएको थियो । त्यो शिशुस्वर भ्लादिमिर नाम दिइएको भावी अन्तरिक्षयात्रीको प्रथम आवाज थियो । पछि त्यस बालकको स्वर रुसी भाषामा अन्तरिक्षमा समेत गुञ्जने छ र  वास्तवमै कैयौंपल्ट पृथ्वीको परिक्रमा गरेर विश्वमै आफ्नो ख्याति फैलाउने छ भन्ने त्यतिखेर कसैले पनि कल्पना गर्न सक्तैनथ्यो ।
रुसी भाषामा भ्लादिमिरको अर्थ हुन्छ विश्वविजेता । उनको नाम भ्लादिमिर र थर पनि आफ्नो कुलनाम क्रिसिन त्यागेर जानिबेकोभ राखिनुको पनि आफ्नै कथा छ । कुरा के त भने उनी जन्मनुभन्दा केही समयअगाडि भ्लादिमिर नामका उनका दाजुको देहान्त भएको हुँदा वारूणयन्त्र हाँकेर अग्निशमन गर्ने टोलीका कम्याण्डर रहेका उनका पिता अलेक्सान्द्र क्रिसिन तथा गर्सको काम गर्ने उनकी आमाले उनको नाउँ जेठो छोराको स्मृतिमा भ्लादिमिर राखिदिएका थिए भने रुसी भाषामा छुचुन्द्रोको झल्को दिने क्रिसिन भनिने पितृथरलाई लिएर स्कूलका सहपाठी साथीभाइहरुले खिसिट्युरी गर्ने भएकाले थर पनि फेरेर उनी जानिबेकोभ बन्न पुगेका थिए ।
सन् १९६० को जनवरीमा दिल्लीबाट मलाई उडाएर ल्याएको सोभियत विमानले उज्बेकिस्तानको राजधानीमा एक रात वास बस्ने समेत मौका दिंदा उनी ताशकन्दस्थित सुभोरोभ विद्यालयको पढाई समाप्त गर्दै रहेछन् । यसरी त्यतिखेर उनले जुन ठाउँको हावा सास फेरिरहेका थिए त्यसै सहरको हावाले २४ घन्टासम्म मेरो सास पनि संचालित गरेको थियो भन्न सकिन्छ । जतिखेर म मास्को राजकीय विश्वविद्यालयमा मानविकी विषयको अध्ययन गर्दै थिएँ त्यति वेला भ्लादिमिर जानिबेकोभ पनि त्यसै विश्वविद्यालयमा भौतिकशास्त्र संकायमा अध्ययन गर्दै थिए । विश्वविद्यालय भवनको एक लङमा म र अर्को लङमा उनी बस्ने गरेको कला र विज्ञानका विद्यार्थीहरुको देग्लाबेग्लै छात्रावास भए पनि सबै विद्यार्थीहरुको भोजनालय आदि त एकै ठाउँमा हुँदा देखादेख पनि भएको हुनु सम्भव छ । तर युरी गागारिनले विश्वमा पहिलो भई अन्तरिक्षको उडान गरेपछि भ्लादिमिर जानिबेकोभले पनि अन्तरिक्षयात्री बन्ने कल्पना गरेर भौतिकशास्त्रको अध्ययनलाई थाँती राखेर क्रास्नोदार प्रदेशमा रहेको एइस्क उच्च उड्डयन शिक्षालयमा भर्ना हुन प्रस्थान गरे (त्यो शिक्षालय उनले १९६५ मा पूरा गरेका थिए) । प्रसंगवश के पनि भनिहालौं भने म पनि उनलाई पछ्याउँदै क्रास्नोदारको कम्सामोलेत्स कुबानी’ (कुबानको तरुण कम्युनिष्ट) भन्ने अखबारमा व्यावहारिक अभ्यासको लागि क्रास्नोदार नगरमा पुगेको थिएँ । त्यसै सालको ग्रीष्मयाममा विश्वकी प्रथम नारी अन्तरिक्षयात्री भालेन्टिना  तेरेश्कोभाले अन्तरिक्षको सफल उडान सम्पन्न गरेकी थिएन् र उक्त समाचारपत्रमा म आश्चर्यचकित छुभन्ने शीर्षकमा मेरो प्रतिक्रिया समेत छापिएको थियो (पछि मैले मास्कोमा विश्वकी प्रथम नारी अन्तरिक्षयात्रीसँग पनि परिचित हुने सुअवसर पाएको थिएँ) । 
विश्वकी प्रथम नारी अन्तरिक्षयात्री 
भालेन्टिना तेरेस्कोभाको हस्ताक्षरसहित प्राप्त फोटो   
व्यावहारिक अभ्यासको क्रममा रुसको दक्षिणमा अवस्थित त्यस विशाल प्रदेशका केही इलाकाहरुको भ्रमण गर्ने अवसर पाइए तापनि भावी अन्तरिक्षयात्रीसंग त्यहाँ मेरो जम्काभेट भने नहुनु कुनै आश्चर्यको कुरो भएन।  
म भ्लादिमिर जानिबेकोभको नामसित उनले प्रथम अन्तरिक्ष उडान सम्पन्न गरेदेखि नै परिचित थिएँ । कुरा के त भने सन् १९७८ मा म रेडियो मास्कोको नेपाली सेवा संचालकको काम सम्हाल्दैथिएँ र त्यतिखेर अन्तरिक्ष विजयमा सोभियत संघले प्राप्त गरिरहेको प्रगतिबारे हरेक समाचार नेपाली श्रोताहरुको कानसम्म पुर्याउन तत्पर रहेको थिएँ । तर उनीसंग मेरो प्रत्यक्ष भेट-परिचय चाहिं त्यसको पनि दुई दशकपछि मात्र एक्काईसौं शताब्दीको आरम्भकै वर्ष रुसको राजधानीेको केन्द्रमा रहेको मैत्रीगृह (हाल रुस सरकारको भवन) मा भएको थियो । त्यहाँ सन् २००१ को २९ नोभेम्बरका दिन रुसको नयाँ वातावरणमा पुनर्गठित रुसनेपाल मैत्री तथा सहयोग समाजको सम्मेलन सुसम्पन्न भएको थियो । त्यस सम्मेलनमा उपस्थित दुईपल्ट सोभियत संघ वीरको उपाधिबाट विभूषित अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई सर्वसम्मतिबाट मैत्री समाजअन्तर्गत संरक्षक परिषद्को अध्यक्षपदमा निर्वाचित गरिएको थियो । त्यसै दिन सम्मेलनको समाप्तिपछि मैले मैत्री समाजको कार्यकारिणी समितिको एक सदस्यको हैसियतले पहिलो पल्ट प्रसिद्ध रुसी अन्तरिक्षयात्रीसंग कुराकनी गर्ने मौका पाएको थिएँ।
रूसी अन्तरिक्षयात्रीसँग कुराकानी गर्दै कृष्णप्रकाश श्रेष्ठ
यसरी नेपाल र नेपालीहरुसित सम्बन्धित हुन पुगेका रुसी अन्तरिक्षयात्रीको व्यक्तित्वको सन्दर्भमा पनि यहाँनेर संक्षेपमा चर्चा गर्नु युक्तिसंगत हुनेछ । त्यतिञ्जेलसम्ममा उनले सन् १९६५ मा उड्डयन शिक्षालय समाप्त गरेर  हाल युक्रेनमा पर्ने तागानरोग नगरमा ५ वर्षसम्म यानचालक प्रशिक्षकको हैसियतले काम गरे । सन् १९७० मा उनलाई तारानगरीस्थित अन्तरिक्षयात्री प्रशिक्षण केन्द्रमा तालिम लिन पठाइयो र उनले त्यहाँ २  वर्ष अन्तरिक्षयात्री बन्ने तालिम प्राप्त गरे । तत्पश्चात् उनले सन् १९७८ मा पहिलो पल्ट अन्तरिक्षयात्रा सम्पन्न गरे । यसरी उनले सन् १९७८ देखि १९८५ सम्म ५ पल्ट अन्तरिक्षको यात्रा गरे । उनले सम्पन्न गरेकाअन्तरिक्षयात्राहरुमध्ये विश्वकी द्वितीय नारी अन्तरिक्षयात्री स्वेतलाना साभित्स्कायाको  साथमा सम्पन्न गरिएको अन्तरिक्ष उडानका साथै मंगोलिया र फ्रान्सका प्रथम अन्तरिक्षयात्रीहरुको साथमा सम्पन्न गरिएका अन्तर्राष्ट्रिय अन्तरिक्ष उडानहरु विशेष उल्लेख्य छन् ।
सन् १९८५ मा सम्पन्न गरिएको उनको पछिल्लो अन्तरिक्ष उडानको क्रममा उनले पृथ्वीसँग सम्पर्क नरहेको सोयूज ७को मर्मत गरेर त्यसलाई नवजीवन दिएका थिए भने सन् १९९२ को अन्त्यतिर सोभियत संघ तथा संयुक्त राज्य अमेरिकाको संयुक्त अन्तरिक्ष उडान सोयूजआप्पोलोको जगेरा अन्तरिक्षयात्री टोलीको कम्याण्डर बन्ने तालिम प्राप्त गरेका थिए । उनले सन् १९९० देखि १९९७ सम्म सात वर्षजति धेरैपल्ट अन्तरिक्षको उडानमा प्रयोग हुन सक्ने अन्तरिक्षयान बुरानको महत्वाकांक्षी परियोजनामा समेत काम गरेका थिए।
सन् १९६५ मा सोभियत सेनाको लप्टन पदमा नियुक्ति पाएपछि तरक्की गर्दै २० वर्षको समयावधिभित्र निरन्तर तरक्की गर्दै सन् १९८५ मा वायुसेनाको मेजरजर्नेलको पदसम्म ओगट्न पुगेका भ्लादिमिर जानिबेकोभले सन् १९९७ देखि अवकासप्राप्त गरेका छन् । सोभियत राजकीय पुरस्कार विजेतासमेत रहेका नेपालका परम् मित्र अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभ थुप्रै पदक र उपाधिद्वारा विभूषित गरिएका छन्। पाँचवटा लेनिन पदकका साथै लाल तारापदक, ‘मैत्री पदक’, इत्यादि उच्च राजकीय पदकहरुका अतिरिक्त  उनले सन् १९७८ र सन् १९८१ मा दुईपल्ट सोभियत संघवीरको उपाधि प्राप्त गरेका छन् र सो वापत् पाइने स्वर्णतारापदक उनले आफ्नो कोटको  कलरमा सधैं भिरेका हुन्छन्।                                
                                                                                              दुईपल्ट सोभियत संघवीर  उपाधिधारी भ्लादिमिर जानिबेकोभ          
नेपालका मित्र भ्लादिमिर जानिबेकोभले आफ्नो जीवनको निकै समय अन्तरिक्षविज्ञानको विकासमा लगाएका छन् । तर यत्तिकै मात्र उनको कृतित्वको परिचय होइन । उनी विभिन्न किसिमको प्राविधिक यन्त्रउपकरण आफै बनाउन सक्तछन् । उनले ब्यारोमेट्रिक र अन्तरिक्ष घडी समेत बनाएका छन् । अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभ चित्रकारितामा समेत अभिरुचि राख्तछन् र उनले खास गरी अन्तरिक्षको विषयवस्तुमा चित्र लेख्ने गरेका छन् । रुस र युक्रेनका विभिन्न नगरहरुका साथै भारत, चीन, फ्रान्स, जर्मनी, संयुक्तराज्य अमेरिका आदि देशहरुमा उनका चित्रहरुको प्रदर्शनी सम्पन्न भइसकेको छ । कुनै वेला उनी सोभियत चित्रकार संघका सदस्य समेत रहिआएका थिए भने सन् २०१० देखि उनी रुसका अन्तरिक्षविज्ञान संग्रहालय संघका अध्यक्ष रहेका छन्। 
यसप्रकार सांस्कृतिक कार्यका अतिरिक्त उनले सामाजिक कार्यमा समेत निकै सक्रियताको प्रदर्शन गरिरहेका छन् । उदाहरणको रुपमा भन्ने हो भने उनले सन् १९७० मा सोभियत कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए र पार्टीको अठारौं महाधिवेशन (सन् १९७८) मा भाग लिनुका साथै उज्बेकिस्तानको सर्वोच्च सोभियतमा प्रतिनिधि (सन् १९८०१९९०) समेत चुनिएका थिए । सन् १९९१ मा उनले कम्युनिष्ट पार्टीको सदस्यता त्यागे पनि सन् १९९५ मा रुसको राजकीय दूमाको चुनावमा समेत भाग लिन तम्सिएका थिए, तर राजनैतिक कार्यलाई तिलाञ्जली दिंदै उनले आफ्नो उम्मेदवारी फिर्तालिए।
त्यसपश्चात् उनले सामाजिक क्षेत्रमा मात्र क्रियाशील रहने अठोट गरेको बुझिन्छ। सन् १९७८१९९१ मा सोभियतस्पेन मैत्री समाजको उपाध्यक्ष पदमा क्रियाशील रहेका अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभले पछिल्लो डेढ दशक रुसनेपाल मैत्री तथा सहयोग समाजको क्रियाकलापमा अर्पण गरेका छन् र यो हामी नेपालीहरुका लागि गर्वको कुरा बनेको छ । 
अन्तरिक्षयात्री  भ्लादिमिर जानिबेकोभको अगलबगलमा
डा. सूर्यप्रकाश पौड्याल, घनश्याम दुबे र डां. ऋषिकान्त मण्डल
रुसनेपाल मैत्री समाजका द्वितीय अध्यक्ष अन्तरिक्ष यात्री यूरी मालिशेभको निधनपश्चात् भ्लादिमिर जानिबेकोभले नै रुसमा नेपालसित सम्बन्ध विकासको कार्यमा विगत आधा शताब्दीभन्दा बढी समयदेखि गहकिलो योगदान पुर्याउँदै आएको यस संस्थाको क्रियाकलापमा सक्रिय भाग लिंदै आएका छन् ।
अन्तरिक्षयात्रीसंग नेपाली पाठशालाका छात्रछात्रा
भ्लादिमिर जानिबेकोभ, कृष्णप्रकाश श्रेष्ठ र डा. उपेन्द्र महतो
उनले मास्कोमा रहेका नेपालीहरुलाई तारानगरीमा रहेको अन्तरिक्ष प्रशिक्षण केन्द्रको अवलोकन गराएको मलाई सम्झना भएर आयो । एकपल्टको यस्तै अवलोकन कार्यक्रममा उनले त्यहाँ रहेको अन्तरिक्ष संग्रहालयको मात्र अवलोकन गराएको नभई विदेशीहरुलाई अक्सर विरलै मात्र प्रवेश दिइने अन्तरिक्षयात्री प्रशिक्षण केन्द्रभित्रै लगेर अन्तरिक्षयात्री बन्ने तालिम कसरी दिइन्छ भन्ने बताउँदै त्यहाँ रहेका यन्त्रउपकरणहरुको जानकारी दिएका थिए । हामीले अहिले पनि अन्तरिक्षमा कार्यरत अन्तर्राष्ट्रिय कक्षीय वैज्ञानिक स्टेशनको हूबहू अनुकृतिभित्र पसेर पनि हेर्ने सम्भावना पाएका थियौं... 
सोभियतनेपाल मैत्री समाजको स्थापनाकाल (सन् १९६३ को २२ नोभेम्बर) देखि नै म यस संस्थाका सम्पूर्ण कार्यक्रमहरुको सहभागी रहिआएको थिएँ र नयाँ रुसको अवस्थामा विदेशीहरुले पनि मैत्री समाजको सदस्यता पाउने स्थिति कायम भएपछि मैले सुरुमा यस संस्थाको उपाध्यक्ष र पछि प्रकाशनप्रमुखसम्म बनेर काम गर्ने अवसर पाएको छु । त्यसैले नेपालका परम् मित्र अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभसँग वेला-वेलामा भेट्ने र कुराकानी गर्ने अवसर पाइरहेको छु । उनले रसियाली र नेपाली जनताहरूलाई एक-दोस्रासित निकट तुल्याउने कार्यको विकासमा अन्तरिक्षयात्री यूरी मालिशेभद्वारा स्थापित प्रशंसनीय परम्परालाई कायम राख्दै रुसनेपाल मैत्री विकासमा गहकिलो योगदान पुर्याइरहेका छन् । आफ्नो सामाजिक कार्यमा भ्लादिमिर जानिबेकोभले रुस र नेपालबीच जनस्तरमा मैत्री सम्बन्धको विकासलाई अग्रगण्य स्थानमा राखेका छन् भन्नु अत्युक्ति हुने छैन।
नेपाली राजदूतावासमा मैत्री समाजको अर्धशताब्दी समारोह (सन् २०१३)
डा. रविमोहन सापकोटा, अलेक्सान्द्र सोलोभ्योभ र भ्र्लादिमिर जानिबेकोभ
डा. मणिराज पोखरेल सभा संचालन गर्दै 
यसै साल मास्कोको नेपालीभारतीय रेष्टुराँ तुन्दुरको एक कक्षमा मैत्री समाजको  पुनर्गठन र नवीकरणको सन्दर्भमा १७ जनवरी २०१५ (शनिवार) सम्पन्न सम्मेलनमा रुसका उद्यमी मिखाइल नेक्रासोभको अध्यक्षतामा नयाँ कार्यकारिणी समिति गठन गरिएको छ ।
मैत्री समाजको सम्मेलनमा भ्लादिमिर जानिबेकोभ वक्तव्य दिंदै 
अध्यक्षमण्डलमा  मिखाइल नेक्रासोभ, अलेक्सान्द्र सोलोब्योभ 
अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभ चाहिं नयाँ काँचुली फेरेर देखापरेको रुस-नेपाल सहयोग तथा मैत्री समाजअन्तर्गत संरक्षक परिषद्को पूर्ववत् सर्वसमर्थित अध्यक्ष निर्वाचित भएका छन्।
भ्लादिमिर  अलेक्सान्द्रोभिच जानिबेकोभ
त्यसै भव्य वातावरणमा रुसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममा विश्व नेपाली साहित्य महासंघ रुस शाखाको तर्फबाट आदिकविका कविताहरुको रुसी अनुवादसहित  ‘लोकको गरुँ हित् भनीशीर्षकमा प्रकाशित द्विभाषिक संग्रह तथा डा. ऋषिकान्त मण्डलको प्रकाशन सहयोगमा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रूस महासंघबाट रुसी भाषामा प्रकाशित मैथिली लोकसाहित्यका हस्ती गोनु झाको कथाकुथुङ्ग्रीका साथै दिवंगत नेपालविद् अलेक्सान्द्र लेद्कोभलिखित नेपालको इतिहास: बीसौं शताब्दीशीर्षकको पुस्तक पनि अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई उपहारस्वरुप प्रदान गर्ने अवसर पाएको थिएँ।
  अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभ पुस्तकहरू ग्रहण गर्दै  
भानुभक्तीय कविताका अनुवादक ल्युदमिला साल्तिकोभा र कृष्णप्रकाश श्रेष्ठ
रूस-नेपाल सहयोग तथा मैत्री समाजअन्तर्गत संरक्षक परिषद्का अध्यक्ष, दुई पटक सोभियत संघवीरको उपाधिप्राप्त विशवप्रसिद्ध रुसी अन्तरिक्षयात्री भ्लादिमिर अलेक्सान्द्रोभिच जानिबेकोभको ७३ वर्ष पूरा भई ७४-रौं वर्षारम्भको शुभजन्मोत्सवको सुखद अवसरमा समस्त नेपालीहरूको तर्फबाट नेपालका परम् मित्रको आरोग्यता, दीर्घायुसुखसमृद्धि, उन्नति र उत्तरोत्तर सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेपाल–रूस मित्रता तथा सहयोग समाजको स्वर्णजयन्ती समारोह
(२४ नोभेम्बर २०१३, आइतवार)
दिनांक: १३ मेई २०१५ (वृहस्पतिवार), मास्को, रूस महासंघ।

No comments:

Post a Comment