Friday, November 28, 2014

मास्कोमा उत्तरआधुनिक कला-प्रदर्शनीको कथा

रूसको राजधानीको केन्द्रमै अवस्थित एकातेरिना कला कोषको तत्वावधानमा १७ सेप्टेम्बर (२०१३) मा आयोजित उत्तरआधुनिक किंवा उत्तरसोभियत कलाप्रदर्शनीको  उद्घाटन समारोहमा भाग लिने अवसर मलाई प्राप्त भएको थियो । 

    यदाकदा उत्तरआधुनिक कलाको किञ्चित अवलोकन पहिले पनि गर्ने अवसर मिलेको थियो । यस परिप्रेक्ष्यमा मलाई उत्तरआधुनिक साहित्यका मर्मज्ञ नेपाली समालोचक डा. गोविन्दराज भट्टराईको साथमा सन् २००९ मा शिकागो (अमेरिका) पुग्दा त्यहाँको राष्ट्रिय कलासंग्रहालयमा उत्तरआधुनिक कलाकृतिहरुको अवलोकन गरेको सम्झना आइरहन्छ । त्यहाँ एक ठाउँमा कवि सिद्धिचरण श्रेष्ठको मेरो प्रतिबिम्ब कविताको “दुइटा लठ्ठी एउटा ढुङ्गा, ढुङ्गा मास्तिर एउटा फर्सी” भन्ने उक्तिको चरितार्थ गर्ने कलाकृतिबाट हामी प्रभावित हुन पुगेका थियौं । 
आफु उत्तरआधुनिक साहित्यको ज्ञाता नभएको हुँदा उत्तरआधुनिक कलाको मर्म बुझ्ने सामर्थ्य ममा छैन । तैपनि मास्कोको कला-प्रदर्शनी मुख्यतः उत्तरसोभियतकालसित सम्बन्धित भएको हुँदा मैले त्यो प्रदर्शनी हेर्ने अवसरको सदुपयोग गर्न जेठी छोरीको साथमा म त्यहाँ पुगेको थिएँ । नेपाली पाठकहरुलाई रूसी कलाकारिताको आधुनिक पाटोको सन्दर्भमा पनि आफ्ना केही अनुभूतिहरूको संक्षेपमा जानकारी दिन चाहन्छु ।
     मास्कोको केन्द्रमा रहेको एक सडकमा एक पुरानो प्रासादको जीर्णोद्धारको दृश्यको ठीक अर्कोपट्टि सोभियत कालमा निर्मित भवनमा एकातेरिना कला कोषको मातहतका प्रदर्शन कक्षहरु रहेका छन् । सडकबाटै ठूल्ठूला ऐनाभित्र देखिने भुइँतलाको एउटा कोठाको कालो भुईंमा ठाउँठाउँमा फल्याकहरू ओछ्याइराखेको देखेर त्यहाँ पनि भावी पसलको लागि मर्मत भइरहेको ठान्दै म बगलकै प्रवेशद्वारबाट भित्र पसें । त्यहाँ आमन्त्रित पाहुनाहरूको घुइँचो लागेको थियो । त्यहाँबाट सरासर माथिल्लो तलामा जाने सिंढीहरू चढेर माथि उक्लेपछि करिडोरमै एक छेउमा राखिएको ठूलो टेबिलमा शरद्कालमा मास्कोमा प्रशस्तै पाइने भुइँएैंसेलु (रूसी भाषामा - क्लुबनिकि) का राता गेडाहरूको अग्लो पिरामिड नै सजाएर राखिएको देखियो । त्यो मीठो दृश्यलाई पनि आधुनिक कलाकै एक कृति ठानेर म त्यहाँबाट भित्र अर्को कोठामा पसें । 
भित्ताका चित्रहरू हेर्दै मलाई निम्त्याउने चित्रकार बोरिससँग अभिवादनको साँटासाट गरेर उभिइरहँदा मीठो भुइँऐंसेलुले सजाइएको तसला लिएर आएकी युवतीले त्यसको स्वाद चाख्ने अनुरोध गरी भने तसलामै फलफूलको रस, श्याम्यियन मदिरा र शुद्ध पानीका गिलासहरू लिएर आएकी अर्की युवतीले मनपर्ने पेयपदार्थ लिने आग्रह गरी । मैले एक गेडा भुइँऐसेलु चाखेर पानी पिउञ्जेलसम्म युवतीहरु अन्य पाहुनाहरूको स्वागतार्थ गइसकेका थिए । गिलास कतै राख्ने ठाउँ नदेखेर मैले नजिकैको एउटा स्टैण्डमुनि राखिदिएँ । मेरी छोरीले तुरुन्तै त्यो गिलास त्यहाँबाट झिकेर फेरि मेरै हातमा थमाइदिई । त्यो पनि कलाकृति नै रहेछ भन्ने बल्ल मैले चाल पाएँ ।
त्यस कक्षमा भित्तामा ठड्याएर राखिएका रङ्ग पोतिएका फलेकहरू र अन्य प्रदर्शित चित्रहरूलाई निहार्दै हेरेर नातिनीका लागि र आफ्नै लागि पनि आफूलाई मन परेका कलाकृतिहरूको फोटो खिंच्दै र त्यहाँ प्रदर्शित कलाकृतिहरूको बारेमा सोच्दै हामी विभिन्न चोटाकोठाहरू चहार्न थाल्यौं । केन्द्रतिर घुमाउरो रेखा कोरिएको चित्रलाई मैले विचार संकेन्द्रण गरेर मात्र त्यहाँ प्रदर्शित कलाकृतिहरुको मर्म केही हदसम्म बुझ्न सकिन्छ भन्ने प्रतीक ठानेर क्यामरामा बन्द गरिहालें । हेर्दै जाँदा अन्य कलाकृतिहरुको रहस्य पनि यसै गरी उजागर हुँदै गएको मलाई अनुभव भयो ।
एउटा कक्षमा थोत्रा जमोठ दोचाहरुको चाङबाट हवाइजहाजको त्रिआयामिक ठूलो मूर्ति बनाएर राखिएको थियो । त्यसले वर्तमान समय द्रुत गतिले उड्ने विमानको युग हो भन्ने सङ्केत गरिरहेको थियो । त्यहींको एकातिर भित्तामा विभिन्न पुस्ताका कम्प्युटरका मोनिटरहरू एकमाथि अर्को मिलाएर राखिएका थिए। यसले पनि द्रुत गतिद्वारा विकासशील प्राविधिक र यान्त्रिक युगकै द्योतन गरिरहेझैं लाग्यो । अर्को भित्तामा भुईंतिर टाउको पारेर राखिएको ठूलो चित्रपट थियो जसमा स्टालिन र उसका अनुयायीहरूको आकृति ठम्याउन सकिन्थ्यो । यस उधमुन्टे चित्रपटले हत्या र हिंसाको सहाराले समाजवादको निर्माण गर्न खोजिएको बीसौ शताब्दीको विडम्बनाको इतिवृत्त बकिरहेको थियो । 
अर्को कक्षमा चाहिं हिटलरी बाजको चिन्ह बीचमा ठड्याएर राखिएको थियो । त्यसको माथिल्लो सेतो हिस्सा पछिल्तिरबाट तार जडेर जमाइएको बरफबाट निर्मित रहेछ । कलाकृतिको सिर्जनामा यसरी प्रविधिको प्रयोग गरिएका कलाकृतिहरू अन्य कक्षहरूमा पनि प्रशस्तै थिए । तर भित्तामा चित्रहरूसहित सिंगै कक्ष फाशीवादकै चिन्हहरूका लागि छुट्याइएको अर्थ मैले बुझ्न सकिरहेको थिएन । त्यहीं भुईंमा रातो स्वस्तिक चिन्हमाथि कालो पाँच कुने ताराको ठूलो त्रिआयामिक वस्तु पनि राखिएको थियो । न्युर्नबेर्गको अन्तर्राष्ट्रिय अदालतद्वारा प्रतिबन्धित फाशीवादी स्वस्तिक चिन्ह कालो रङ्गको सट्टा रातो रङ्गको थियो भने सोभियत सेनाको प्रतीक रातो पाँचकुने तारा चाहिं कालो रङ्गको थियो । यस्तो उल्टोपुल्टो गरिएको भए तापनि सोभियत सत्ताको प्रतीक पाँचकुने ताराले स्वस्तिक चिन्हलाई दबाएर पराजीत तुल्याएको प्रतीकात्मक अर्थ लगाउन गाह्रो पर्दैनथ्यो । यसरी त्यसको अर्थ लगाएपछि मात्र मलाई वर्तमान समयका चित्रकारले प्रतीक चिन्हहरूमा रङ्ग परिवर्तन गरेको समेत तात्पर्यबोध हुन गएको थियो।
अर्को एउटा कक्षको बीचमा लहरै राखिएका पाँचवटा हल्पी ऐनाहरूको संयोजनतर्फ मेरो ध्यान विशेष रूपले केन्द्रित हुन पुग्यो । 
एकातिरको टेबुलमाथि राखिएको ऐनामा बोतलको अगल-बगलमा एकातिर स्याउ र अर्कोतिर काँचको गिलास चित्रित थियो भने त्यसको छाया चाहिं टेबुलको सतहमा परिरहेको थियो । अनि त्यसको बगलको टेबुलमा चाहिं अगल-बगलमा एकातिर स्याउ र अर्कोतिर काँचको गिलास नै त्यसै टेबुलमा सजाएर राखिएका थिए र ऐनामा चाहिं त्यसैको प्रतिबिम्ब चित्रित थियो । क्रमशः अन्य यस्तै ऐनाहरूमा पनि मदिराको बोतलको अगल-बगलमा एकातिर स्याउ र अर्कोतिर काँचको गिलासकै बिम्ब प्रतिविम्बित भइरहेको पाइन्थ्यो । अर्को पुछारको टेबुलमा चाहिं स्थिति एकदमै उल्टो थियो । त्यसमा वास्तविक बोतलको अगल-बगलमा एकातिर स्याउ र अर्कोतिर काँचको गिलास ऐनाको यतातिर राखिएका थिएनन्, बरु ऐनाको अर्कोपट्टि राखिएका थिए, तर तिनको प्रतिबिम्ब न ऐनामा परेको थियो, न त टेबुलमा नै परेको थियो । मलाई त्यतिखेर मैले कतै पढेको हाम्रा वेदान्तवादीहरूको 'जगत् मिथ्या' भन्ने सूत्रवाक्य वा यूरोपेली अध्यात्मवादी दार्शनिकहरूले भन्ने गरेझैं यो जगत् त आदर्श जगत्को छाया मात्र हो भन्ने सुपरिचित सिद्धान्तको सम्झना भएर आयो । वास्तविक सत्य त ऐनाको अर्कोपट्टि रहेको मदिराको बोलत, स्याउ र काँचको गिलास मात्र हो । त्यसै आदर्श जगत्को प्रतिबिम्ब हो यो जगत् जुन ऐनामा प्रतिबिम्बित भएको जस्तै मिथ्या छ । त्यस मिथ्या जगत्को प्रतिबिम्ब साहित्य र कलामा परेको हुन्छ : पहिलो ऐनामा चित्रित बोतल, स्याउ र गिलासको छाया टेबुलमा परेजस्तै । मानौं साहित्य र कलाको बिम्ब भनेको 'छायाको पनि छाया' मात्र हो...  
यसरी त्यहाँ उत्तरसोभियत युगका चित्रकारहरूले आफ्ना कलाकृतिहरुको प्रदर्शनका लागि कक्षका भित्ताहरू र भुइँको मात्र नभई छतको समेत उपयोग गरेको हेर्दै हामी फर्कने क्रममा फेरि भित्रपट्टिबाट त्यही बाहिरैबाट देखिएको 'कालो हिलोमा फल्याकहरू बिछ्याइएको कक्ष' अगाडि पुग्यौं । सबैले त्यसलाई गौढपूर्वक निरीक्षण गरिरहेका थिए । मेरी छोरीले त्यो पनि कलाकृति नै हो भने पछि म अवाक् हुन पुगें । के त्यो रूसको वर्तमान अवस्थाकै त प्रतिबिम्ब होइन ? धराशायी सोभियत संघको कालो खण्डहरको हिलोमाथि नयाँ रूसको निर्माणका लागि बिछ्याइएका फल्याकहरू !.. भित्तामा ठड्याएर राखिएका मेरा मित्र चित्रकार बोरिसको चित्रपटमा पनि त निर्माणस्थलकै रङ्गरोगनकै बाँकीबक्यौता पोतिएको जस्तै दृश्य चित्रित भएझैं लाग्छ...
साहित्य र ललितकला एक दोस्राका प्रतिपक्षी नभई परिपूरक रहिआएका छन्। यसैउसले उत्तरआधुनिक कलामा पनि उत्तरआधुनिक साहित्यकै सिद्धान्तको प्रतिपादन भइरहेको छ भन्ने मलाई लाग्दछ । उदाहरणार्थ विनिर्माणको सिद्धान्तकै चर्चा गर्न सकिन्छ । सोभियत संघको विघटनपश्चात् रूसी कलाको क्षेत्रमा देखापरेको आधुनिक प्रवृत्तिको अभिलेख एकातेरिना कला कोष तथा 'गाराज' भनिने कलासंगठनद्वारा प्रकाशित 'रिकन्स्ट्रक्सन १९९०-२०००' शीर्षकको अल्बममा भएको छ । यसमा सर्सर्ती नजर दौडाउँदा मैले त्यहाँ सोभियत संघको विघटनपश्चात्का रूसी कलाकारहरूको कृतित्वको संक्षिप्त परिचय प्रस्तुत गरिएको पाएँ । यो अल्बम पहिलो खण्ड मात्रै हो र यसको दोस्रो खण्ड 'रिकन्स्ट्रक्सन २००१-२०११' प्रकाशोन्मुख छ । यस सन्दर्भमा के भन्न सकिन्छ भने रूसमा उत्तरआधुनिक कलाको क्षेत्रमा कलम र कुची चलाउने प्रशस्तै चित्रकारहरू मात्र नभई कलाको यस आधुनिकतम नवीन प्रवृत्तिका पारखी र प्रेमीहरूको संख्या पनि बढ्दै गइरहेको छ । यसको अनुबोध मास्कोमा उत्तरआधुनिक कलाप्रदर्शनी हेर्न पुगेका नयाँ पुस्ताका रूसी युवायुवतीहरूको घुइचोबाट समेत हुन्छ...

२ अक्टोबर २०१३ (बुधवार)

No comments:

Post a Comment