Tuesday, November 4, 2014

रुसमा नेपालविद्याको विकासमा अपूरणीय क्षति

प्राचीन नेपालको इतिहासका ज्ञाता रुसी विद्वान् दिमित्री निकोलाएभिच लेल्युखिनको निधनबाट रुसमा नेपालविद्याको निम्ति अपूरणीय क्षति पुग्न गएको छ । उनी रुसमा नेपाल र भारतका प्राचीन शिलाभिलेखहरुका एक लब्धप्रतिष्ठ अनुसन्धानकर्ता थिए । 

सन् १९५६ मा जन्मेका  दिमित्री निकोलाएभिच लेल्युखिनको निधन गत: १७ सेप्टेम्बर २०१४ का दिन ५८ वर्षकै उमेरमा भयो । सन् १९८३ मा मास्को राजकीय ऐतिहासिक अभिलेखशास्त्र संस्थानमा अध्ययन पूरा गरेपछि उनले प्राचीन तथा मध्यकालीन भारतवर्षको इतिहास एवं स्रोतविज्ञानसम्बन्धी विशेषज्ञता हासिल गरेका थिए ।  रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा वरिष्ठ वैज्ञानिक कार्यकर्ताको हैसियतले कार्यरत रही उनले मुख्यतः संस्कृत भाषामा कुँदिएका प्राचीन शिलाभिलेखहरुको अनुसन्धानमा निकै गहकिलो योगदान पु-याए ।
रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा आयोजित विभिन्न वैज्ञानिक सम्मेलनहरुको आयोजनामा उनको सक्रिय सहभागिता रहने गरेको थियो । खास गरी कुनै वेला अतीतमा यस संस्थानका निर्देशक समेत रहेका प्राच्यविद् यूरी रेरिख (निकोलाइ रेरिखका सुपुत्र) को स्मृतिमा सम्पन्न गरिने  वार्षिक वेज्ञानिक सम्मेलनको आयोजक समितिको सदस्यको हैसियतले उनी विशेष क्रियाशील रहेका पाइन्थे । म पनि अद्यापि प्राच्यविद्या संस्थानमा दक्षिण एशियाको विषयवस्तुमा आयोजना गरिने वैज्ञानिक सम्मेलनमा भाग लिन सकभर चुक्तैन र नेपालविषयक कार्यपत्र प्रस्तुत गर्ने सम्भावनाको पनि उपयोग गर्दछु ।  यस्तो सम्मेलनमा नेपालविषयक उनको एउटा न एउटा कार्यपत्र अवश्य सुन्न पाइन्थ्यो ।
           दिमित्री लेल्युखिन र युक्रेनी युवा नेपालविद् मित्याको साथमा
यस्तै एकपल्टको वैज्ञानिक सम्मेलनमा  नै उनीसंग मेरा पहिलो भेट-परिचय भएको थियो । उनले नेपालको इतिहासप्रति विशेष अभिरुचि लिने गरेको हुँदा क्रमशः हाम्रो मैत्रीसम्बन्ध  दरिलो हुँदै गयो । उनले नेपालको लिच्छविकालीन शिलापत्रहरुमा कुँदिएका अभिलेखहरुको रुसी भाषामा गरिएको अनुवादलाई वैज्ञानिक ढंगले विश्लेषण समेत गरेर विद्युतीय संवाहक साधन इन्टरनेटको माध्यमबाट  ‘Indian Epigraphy’ अन्तर्गत उपलब्ध गर्न सकिने व्यवस्था मिलाएका थिए । आफ्नो अध्ययनको निष्कर्षलाई उनले प्राच्यविद्या संस्थानमा आयोजनादगरिने विज्ञ सम्मेलनहरुमा कार्यपत्रहरु प्रस्तुत गर्नुका साथै विभिन्न वैज्ञानिक संकलनहरुमा लेखको माध्यमबाट समेत प्रकाशमा ल्याउने गरेका थिए । नेपालका लिच्छविकालीन शिलाभिलेखहरुमा आधारित नेपालको प्राचीन इतिहाससम्बन्धी उनका प्रकाशित दशौं लेखहरु यस पंक्तिकारले पढ्ने सौभाग्य पाएको छ । यहाँ स्थानाभावको कारणले ती वैज्ञानिक कृतिहरुको सारसंक्षेप समेत उद्धृत गर्नु सम्भव नहुँदा नेपाली पाठकहरुसमक्ष नेपालको इतिहासविषयक ती कार्यपत्र तथा लेखमध्ये केही प्रकाशित लेखहरुको प्रकाशन स्रोतसहित नामोल्लेख मात्र गर्न चाहन्छु ।
सर्वप्रथम प्रारम्भिक नेपाली समाजको सामाजिक संरचना : लिच्छविकालीन शिलापत्रहरुमा ग्राम तथा पञ्चाली’ (पृष्ठ १३०१४६) भन्ने लेखको नै चर्चा गर्न चाहन्छु । यो लेख सन् २०१२ मा स्लाभ संस्कृति र भाषाहरुभनिने प्रकाशनगृहबाट छापिएको भारततिब्बत : मूलपाठ तथा संस्कृतिको विशिष्टताशीर्षकको प्राज्ञिक लेख-संकलनमा समावेश गरिएको छ । प्रसंगवश भनिहालौं, सन् २००६ देखि २०१० सम्म प्राच्यविद्या संस्थानमा आयोजित रेरिखकै वार्षिक स्मृतिसम्मेलनहरुमा प्रस्तुत कार्यपत्रहरु संकलित यस वैज्ञानिक कृति-संकलनमा नेपालको राष्ट्रिय झण्डाका प्रतीकहरुको केही ऐतिहासिकसांस्कृतिक पक्षहरुभन्ने शीर्षकमा मैले प्रस्तुत गरेको कार्यपत्रमा आधारित लेख (पृष्ठ २६३२७१) पनि समाविष्ट गरिएको छ ।
                     प्राच्यविद्या संस्थानमा चियापान
हरेक वर्ष रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा रेरिखको स्मृतिमा आयोजित गरिने प्राज्ञ सम्मेलनको क्रममा सन् २००२ मा सर्वप्रथम प्रस्तुत कार्यपत्रमा आधारित शिलाभिलेखहरु तथा गोपालराजवंशावली मा आधारित तथ्यानुसार नेपालका लिच्छविहरुको राज्यको प्रादुर्भावशीर्षकको लेख प्राच्यसाहित्य प्रकाशनगृह मास्कोबाट भारत तिब्बत : मूलपाठ र त्यसको वरिपरिभन्ने शीर्षकमा  सन् २००४ मा प्रकाशित प्राज्ञिक लेख-संकलन (पृष्ठ १४२१६८) मा पढ्न सकिन्छ । यस लेखमा रुसी नेपालविद्बाट निकालिएको निष्कर्ष नेपाली पाठकहरुका लागि मात्र नभई नेपालका इतिहासविद्हरुका लागि पनि रोचक हुन सक्तछ भन्ने मेरो धारणा छ । रुसी भाषामा २६ पृष्ठको यो एउटै लेख पनि नेपालीमा अनुवाद गर्ने हो भने सानोतिनो पुस्तिका नै बन्ने छ ।
यस्तै गहकिलो उनको अर्को एक लेख सन् २००४ मै प्राच्यविद्याका पुस्तकहरुको मुद्रण तथा वितरणमा संलग्न मास्कोको उक्त प्रकाशनगृहबाटै छापिएको प्राचीन पुर्वेली राज्यशीर्षकको पुस्तकमा परेको छ । नेपालको लिच्छविकालीन अभिलेखहरुको प्रमाणका आधारमा प्रारम्भिक समाज तथा राज्यको सामाजिकराजनैतिक सरचनाको निर्माणका समस्याहरु’ (पृष्ठ ३१९३४१) शीर्षकको लेखले यस पुस्तकको २२ पृष्ठ ओगटेको छ । मेरो जन्मदिवसको उपलक्ष्यमा लेखकबाटै स्वहस्ताक्षरमा न्याना शब्दहरु अंकित यो पुस्तक मलाई उपहारस्वरुप प्रदान गरिएको थियो ।
                   कृष्णप्रकाश श्रेष्ठ र दिमित्री लेल्युखिन
उनको एउटा लेखको शीर्षक छ : लिच्छविकालीन अभिलेखहरुको प्रमाणअनुसार प्राचीन नेपालको सामाजिक-राजनैतिक संरचनाका विशेषताहरु। यो लेख सन् २००९ मा प्रकाशित प्राच्य नृवंशविज्ञान पत्रिकाको अंक १९ मा छापिएको छ । अनि यसै वैज्ञानिक संकलनको अंक २८ मा चाहिं हाँडीगाउँमा प्राप्त अंशुवर्माको आदेश : अभिलेखको प्रमाणअनुसार सातोंआठौं शताब्दीमा लिच्छविहरुको आन्तरिक र आर्थिक नीतिमा परिवर्तन शीर्षकको लेख  (पृष्ठ १३१-१५१) छापिएको छ ।  यसै गरी लिच्छविकालका शिलाभिलेखहरु स्रोतविज्ञानसम्बन्धी प्रालेख : शिलापत्रहरुको गहन विश्लेषणको रुपतत्व, संरचना तथा प्रविधिशीर्षकको शिलापत्रहरूको अध्ययनसित सम्बन्धित  वैज्ञानिक लेख चाहि नृवंशविज्ञानका समस्याहरु भनिने वैज्ञानिक पत्रिका (सन् २०१२, अंक ६) मा प्रकाशित छ ।
उपरोक्त लेखहरुको शीर्षकबाट नै रुसी नेपालविद् दिमित्री लेल्युखिनको विद्वताको परिचय पाइन्छ । आफ्नो वैज्ञानिक कृतिहरुमा उनले शिलाभिलेखहरुको नयाँ ढंगले व्याख्या गर्नेगरेको पाइन्छ । उनको लेखनीबाट नेपालको इतिहासको लिच्छविकालका शिलाभिलेखहरुको अध्ययनमा आधारित दशौं लेखहरु निसृत भइसकेका छन् । उनको एउटा लेख काठमाडौं उपत्यकामा लिच्छविहरुको आगमनको मार्ग र नेपालमा यस वंशको राज्यस्थापनाको इतिवृत्तचाहिं नेपाली भाषामा अनुवाद भएको छ र सो लेख रुसमा नेपालको बिम्बशीर्षकमा  छिटै प्रकाशोन्मुख पुस्तकमा समाविष्ट गरिएको छ । त्यसमा प्रस्तुत निष्कर्ष निम्न प्रकार छ :
नेपालमा लिच्छविहरुको राज्यको प्रादुर्भावसम्बन्धी ऐतिहासिक घटनाहरुको पुनर्विचार गरी हामीले तयार पारेर प्रस्तुत गरेको उनीहरुको प्रारम्भिक इतिवृत्तले मानदेवका शिलाभिलेखहरुका कैयौं विशेषताहरुका साथै तिनको विस्तारक्षेत्रको व्याख्या गर्ने सम्भावना प्रदान गर्दछ । ऐतिहासिक स्रोतहरुमा नेपालमा लिच्छविहरुको क्रमिक प्रसरणको समय अंकित गरिएको छैन । अनुसन्धानकर्ताहरुले चौथो शताब्दीको आरम्भमा भारतका गुप्तहरुका छिमेकीको रुपमा लिच्छविहरुको स्पष्ट अस्तित्वको तथ्यलाई समेत ध्यानमा राखेर अक्सर परोक्ष तथ्यहरुको आधारमा त्यो समय ईशाको तेस्रोचौथो शताब्दीतिर हुन सक्ने अनुमान लगाएका छन् । राष्ट्रका संस्थापक चन्द्रगुप्त प्रथमले उनीहरुसंग वैवाहिक सम्बन्ध कायम गरेका थिए र यस उपलक्ष्यमा सिक्का (अथवा पदक) समेत निकालिएको थियो । अनि लिच्छवि रानी कुमारदेवीका पुत्र समुद्रगुप्त चाहिं गुप्तवंशका अति प्रख्यात विजेता शासक थिए । नेपालका लिच्छविहरुका शिलाभिलेखहरुमा सबभन्दा प्राचीन मिति सन् ४५९ अंकित छ । जयदेव द्वितीयको शिलाभिलेखमा सुरक्षित रहेको लिच्छविहरुको वंशवृक्षमा उल्लिखित जयदेव र गोपालराजवंशावलीमा उल्लिखित तथा मानगृह अवस्थित रहेको भनी अनुमान गरिएको स्थानको नजिकै हालै प्राप्त काठमाडौं उपत्यकाका शिलाभिलेखहरुमध्ये शक सम्बत् २०७ साल (ई.सं. २८५) को मिति अंकित सबभन्दा पुरानो शिलाभिलेखमा उल्लिखित जयवर्मा एउटै व्यक्ति थिए भन्ने कुरा सही होस् वा नहोस्, काठमाडौं उपत्यकामा १७५ वर्ष (ई.सं. २८५४५९) सम्मका शिलाभिलेखहरु एकदमै अप्राप्य रहेको तथ्यको व्याख्या हुन सकेको छैन । त्यसमा पनि मानदेवका शिलाभिलेखहरु चाहिं भारतका जुनसुकै उनका समकालीन शासकको भन्दा निकै बढी संख्यामा प्राप्त भएका छन् । तसर्थ कुन कुरा निर्विवाद छ भने मानदेवभन्दा पहिले काठमाडौं उपत्यकाको भूभाग औपचारिक अर्थमा मात्र लिच्छवि राज्यको सीमाभित्र अधीनस्थ क्षेत्रको रुपमा रहेको हुनु सम्भव छ । सन् २८५ को शिलाभिलेख र त्यसपछि लिच्छविहरुको शिलाभिलेखबीचको समयावधिमा कुनै पनि अभिलेख प्राप्त नभएको तथ्यको व्याख्या गर्नु सायदै सम्भव होला । के प्रतीत हुन्छ भने मानदेवभन्दा पहिलेका शिलाभिलेखहरुको खोजी अन्यत्र नै गर्नु आवश्यक छ । त्यो खास स्थान काठमाडौं उपत्यका बाहिर पर्ने सुनकोसी नदीको प्रवाहक्षेत्र नै हुन सक्तछ
उनको यो लेख समाविष्ट उक्त पुस्तकका लागि उनको फोटो माग्दा पनि नपाइएकोले एक दिन स्वयं नै क्यामरा लिई प्राच्ष्यविद्या संस्थानमा पुगेर बल्लतल्ल उनलाई मनाएर केही फोटो खिचेर ल्याएको थिएँ (नेपाली पाठकसमक्ष तिनै फोटो प्रस्तुत गरिरहेको छु) । उनी कतिसम्म संकोची स्वभावका थिए भने नेपाली राजदूतावासमा आयोजित नेपालविषयक वैज्ञानिक सम्मेलनमा संस्कृतज्ञाता नेपालविद्भनी परिचय प्रस्तुत गर्दा उनले कति माथि उचालेको ?’ भनी गुनासो पोखेका थिए ।  वास्तवमा नै उनी ज्यादै  मितभाषी र सरलहृदयी विद्वान् थिए ।
             रूस विज्ञान प्रज्ञा-प्रतिष्ठान प्राच्यविद्या संस्थानअगाडि
मलाई अहिले दिवंगत नेपालविद् अलेक्सान्द्र लेदकोभ र उनको साथमा प्राच्यविद्या संस्थानको इतिहासविषयक ग्रन्थहरु राखिएका दराजहरुको बीचमा एक सानो कोठामा बसेर रुसको नयाँ अवस्थामा नेपालविद्याको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा गरिएको कुराकनीको सम्झना भएर आयो । नेपालको अध्ययनका लागि नेपालको स्थलगत अध्ययनको आवश्यकता भएको कुरामा जोड दिंदै हामीले नेपालविषयक लेख र पुस्तकहरुको प्रकाशनको उद्देश्य राखेर नेपालविषयक कृति प्रकाशमा ल्याउने वा नेपालविद्याको विकासमा सक्दो सहयोग पु-याउने रुसी तथा नेपालीहरुको समेत सहभागितामा रुसी भाषामा क्लुब नेपालिस्तिकीभन्ने नाम दिएर एक अनौपचारिक क्लब गठन गर्ने निर्णय लिएका थियौ । यसरी मैले १३ फेब्रुअरी २००५ (वसन्तपञ्चमी) का दिन नेपाली राजदूतावासमा सरस्वतीपूजा मनाइएको पुनित अवसरमा  ‘रुस नेपालविद्या केन्द्रको स्थापनाबारे घोषणा गरेको थिएँ । अद्यापि नेपाली साहित्यानुरागीहरुको सहयोगबाट यस क्लबको संयोजकत्वमा  पुस्तक प्रकाशनको कार्य जारी नै राखिएको छ ।
उक्त कुराकानीको केही पछि नै अलेक्सान्द्र लेदकोभलाई  नेपालको इतिहाससम्बन्धी अध्ययनार्थ प्राच्यविद्या संस्थानको तर्फबाट नेपाल पठाइएको थियो भने त्यसको दुई वर्षपछि नेपालमा लिच्छविहरुको आगमनको मार्ग निरुपणसम्बन्धी आफ्नो अवधारणाको पुष्टिका लागि उनी नेपालको अध्ययन भ्रमणमा गएका थिए । उनी फेरि पनि नेपाल जाने चाँजोपाँजो मिलाउँदै थिए । उनीसंग यसै वर्षको ग्रीष्मऋतुमा पछिल्लोपल्ट भएको भेटको समयमा बिरामी भएकाले नेपालयात्रा पर सारेको कुरा सुनाउँदै थिए । तर एक दिन अचानक उनी कहिल्यै नफर्कने ठाउँतिर गइसकेको समाचार पाएँ
मैले बारम्बार दिमित्री लेल्युखिनलाई नेपालको लिच्छविकालको विषयमा एउटा सिंगै किताब प्रकाशमा ल्याउने वा आफ्ना सवै लेखहरुको एउटा संकलन नै भए पनि प्रकाशित गर्ने सुझाव र अनुरोध दोहोर्याउने गरेको थिएँ । हुन पनि उनका वैज्ञानिक लेखहरुको यस्तो एउटा गहकिलो संकलन सहजै निकाल्न सकिन्थ्यो । उनले पछिल्लो समयको एउटा भेटमा मलाई नेपालको प्राचीन इतिहासविषयक आफ्ना लेखहरुको संकलन छिटै प्रकाशमा ल्याइने छ भनी सूचित गरेका थिए । तर त्यो पुस्तक प्रकाशमा आउन नपाउँदै उनको जीवनज्योति निभ्न पुग्यो । अब नेपालमा लिच्छविकालीन शिलापत्रहरुको रुसी भाषामा अनूदित तर अप्रकाशित  अभिलेखहरु र नेपालको इतिहासको स्वर्णकाल मानिने प्राचीन नेपालविषयक लेखहरु मात्र उनको उत्तरदेनको रूपमा बाँकी रहन गएको छ र तिनको प्रकाशन हुन सके रुसमा नेपालविद्याको निम्ति एक गहकिलो उपहार हुनुका साथै एक संस्कृतविज्ञ नेपालका रुसी मित्रको स्मृति भविष्यका लागि सुरक्षित रहने थियो । अब उनी प्राचीन भारतवर्षका शिलाभिलेखहरुका ज्ञाता र एक प्रकाण्ड नेपालविद्को रुपमा रुसी प्राच्यविद्हरुको सम्झनामा तथा रुसमा नेपालविद्याको विकासका एक स्तम्भको रुपमा साहित्यानुरागी नेपालीहरुको स्मृतिमा मात्र अमिट रहन गएका छन् ।
                        दिमित्री लेल्युखिन सहकर्मीहरूको साथमा

४ नोभेम्बर १४ (बुधवार), रूस एकता-दिवस

No comments:

Post a Comment