कुलेश्वर - नेमुनिले आश्रम बनाएर बसेको पवित्र स्थल !
यसपल्ट घर (काठमाडौं) जाँदा बगलमै रहेको कुलेश्वर महादेवको स्थान पनि हेर्न जाने योजनाअनुसार एकाबिहानै भाइ तेजप्रकाश र बहिनी ताराबदन सहित म त्यहाँ पुगें । पाँच वर्षअघि पहिलोपल्ट म त्यहाँ पुग्दा जीर्णोद्धारको काम भइरहेजस्तो लागेको थियो र राम्ररी अवलोकन गर्न पाएको थिइन, तर यसपटक केही फोटो समेत खिंचेर ल्याउने मौका मिल्यो । मूल सडकबाट सिंढी उक्लेर माथि जाने ठाउँनेरै कसैले बनाइदिएको द्वारभित्र पस्नासाथ माथि ठूलो आकारको ॐ अक्षरले आकर्षित गरिहाल्दछ भने बिस्तारै माथि उक्लँदै जाँदा अगल-बगलमा बोटबुट्यान र सम्भवतः पाटी-पौवाहरू पनि देखिन्छन् । केही सम्म परेको महादेवस्थानमा रुद्राक्षको बोट समेत देख्न पाइयो । त्यहाँ भजन गर्ने पाटी पनि देखियो । कुलेश्वरको शिवलिङ्गमा अटूट जलधाराको व्यवस्था पनि गरिएको रहेछ । त्यसको पछिल्तिर अभिलेखसहितको धातुको पट चाहिं उति पुरानो थिएन, न त तल ओर्लने ठाउँनेर भित्तामा रहेको शिलापत्र नै पुरानो थियो । शिवलिङ्ग वरपरका सम्भवतः पुराना केही मूर्तिहरू र एउटा शिलापत्र पनि सुरक्षित ढङ्गले राखिएका थिए ।