Monday, March 14, 2016

हिउँदको ठिहि-याउने बरफ–पानीमा डुबुल्की र पौडी

मास्कोको उत्तरी क्षेत्रमा रहेको सेरेब्य्रान्नी बोरभनिने रमणीय इलाकामा अवस्थित सानो तर गहिरो सरोबरमा जमिरहेको बरफको बाक्लो पत्र काटेर वनाइएको २५ मिटर लामो  पोखरीमा हिउँदको ठिहि-याउने पानीमा पौडी खेल्ने हुनाले जलसिंह’ (रूसी भाषामा मोर्ज) भनिने पौडीबाजहरू र अन्य हिमपौडीका प्रेमीहरूले समेत चिसो पानीमा डुबुल्की लगाएर यस वर्षको हिउँदलाई बिदा गरेका थिए । 

मास्कोको सेरेब्य्रान्नी बोर जलसिंह क्लबका अध्यक्ष, मास्कोका प्रख्यात जलसिंहसेर्गेइ माक्सिमोभको निमन्त्रणामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारी तथा उपाध्यक्ष डिल्ली खरेल सुमनलगायत केही नेपालीहरूको पनि त्यस रमाइलो डुबुल्की लगाउने समारोहमा समुपस्थिति रहेको थियो । 
दीनानाथ राजभण्डारी र रूसी पोशाक लगाएकी युवती
(सेरेब्य्रान्नी बोर, ८ मार्च २०१६)
डिल्ली खरेल सुमनले त बरफपानीको पोखरीमा एकपल्ट मात्र नभई रूसी पाराले तीनपल्ट डुबुल्की लगाएका थिए ।
बरफ-पानीको पोखरीमा डुबुल्की लगाएपछि
मास्कोका  दुई 'जलसिंहिनी' को बीचमा डिल्ली खरेल 'सुमन' 
हरेक वर्ष जनवरीको ७ तारीखका दिन रूसमा मनाइने क्रिसमस-डेको अवसरमा रूसका सबै स्थानमा रहेका बरफ जमेका पोखरी, सरोवर र नदीहरूमा क्रस आकारको पोखरी बनाएर रूसी अर्थाडक्स चर्चका अनुयायी नरनारीहरूले त्यस चीसो पोखरीमा न्यासध्यानपूर्वक देवपिता, देवपुत्र र पवित्र आत्माको स्मरण गरी तीनपल्ट डुबुल्की लगाउने गरेका छन् । रूसका कतिपय राजनैतिक पार्टीका नेताहरू समेत यस्तो मौकाको उपयोग गर्न चुक्तैनन् । मेरै निवासस्थानको नजिकै रहेको भोरोन्चोभ्स्की पार्कको पोखरीमा पनि यस्तो धार्मिक अनुत्रठानको आयोजना गरिन्छ । त्यहाँ रहेको बरफ काटेर बनाइएको सानो पोखरीमा हिउँदभरि यस इलाकाका जलसिंहहरूपौडी खेल्ने गरेको मैले स्वयं बिहान डुल्न जाँदा देख्ने गरेको छु । यस्तो दृश्य देख्दा न्यानो लुगा, फरकोट र बुट लगाएर घुम्न निस्केको मेरो आङ सिरिङ्ग हुन्छ ।
बरफ पत्र काटेर बनाइएको पोखरीनेर नववर्षवृक्ष
डुबुल्कीबाज युवती र  बरफमाथि पद्मासन
मास्कोको सेरेब्य्रान्नी बोर जलसिंह क्लबका अध्यक्ष सेर्गेइ माक्सिमोभले मलाई पनि कैयौं पल्ट बरफ जमेको चीसो पानीमा पौडी खेल्न र डुबुल्की लगाउन निम्त्याइसकेका छन् । तर त्यसमा भाग लिने आँट गर्न सकेको छैन, यद्यपि तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा मुनि भएमा पानी जमेर हिउँ बन्ने हुनाले बाहिरको वातावरण ऋणात्मक भए पनि बरफको पत्र मुनिको पानी चाहिं धनात्मक (कम्तीमा पनि धन १ देखि ४ डिग्रीसम्म) हुन्छ र डुबुल्की लगाइसकेपछि जीउमा न्यानो अनुभव हुन्छ । उनले मलाई भनेअनुसार कसैको लहैलहैमा लागेर होइन कि आफ्नै दृढनिश्चय अनुसार क्रमिक अभ्यास गर्दै बर्फिलो पानीमा चुलुम्म डुब्न सकिन्छ र यस्तो आत्मबल भएको व्यक्ति मात्र बाह्रै महिना स्वस्थ रहेर जलसिंहबन्न सक्तछ । सायद यस्तै मानसिक दृढनिश्चयको बलले नै शिवरात्रिको जाडो मौसममा बरफ जमेको गोसाईंकुण्डको चीसो पानीमा पनि धर्मभीरु नेपाली नरनारीहरूले डुबुल्की लगाउने साहस बटुलेका होलान् !..
सेरेब्य्रान्नी बोरको बरफ जमेको सरोबरमा बनाइएको पोखरी
विहान क्रमश: तातो र चीसो पानी खन्याएर नुहाउने सल्लाह दिंदै सेर्गेइ माक्सिमोभले स्वस्थ जीवनशैली पद्धतिशीर्षकको आफ्नो पुस्तक समेत मलाई उपहार दिएका थिए । स्वास्थ्यलाभको प्राकृतिक उपायको चर्चा गरिएको त्यस पुस्तकमा उनले शरीरलाई स्वच्छ र स्वस्थ राख्नका लागि अपनाउनुपर्ने मुख्यतः पाँच पद्धतिको उल्लेख गरेका छन् । ती हुन् : (१) शीतोष्ण अनुकूलनीकरण पद्धति अर्थात् असह्य गर्मी र असाध्य चीसो सहन सक्ने हुनका लागि शरीरलाई प्रकृतिले नै वसन्त, ग्रीष्म, शरद् र शीत ऋतुमा क्रमशः संक्रमणको व्यवस्था मिलाएजस्तै गरी मानव शरीरलाई पनि क्रमशः ताप र शीतको अनुकूल तुल्याउनु पर्दछ, (२) क्रियाशील पद्धति अर्थात् श्रम र व्यायामद्वारा मस्सललाई क्रियाशील गरी शारीरिक तन्दुरुस्ती कायम राख्नुपर्दछ, (३) सात्विक भोजन पद्धति अर्थात् ६० प्रतिशत सागपात र फलफूल, २० प्रतिशत माछामासु र दुग्धपदार्थ, अनि बाँकी २० प्रतिशतमध्ये तीन खण्डको १ खण्डका हिसाबले गुलियो (मह, सक्खर), बोसो (घिउतेल), माँड (चामल, पीठो, आदि अन्नको सारतत्व) हुनुपर्दछ, (४), शुद्धीकरण पद्धति अर्थात् मानव अङगलाई श्रम अनुसार विश्राम दिनुका साथै निद्रावस्थामा रक्तसञ्चार, पाचनप्रक्रिया आदि सहज तुल्याउन साँझपछि नखाएर भोकै सुत्नु उपयोगी  हुन्छ, र अन्त्यमा (५) रोगव्याधिबाट बच्नका लागि शरीरमा रहेका जैविक ऊर्जाशक्तिका केन्द्रहरूको माध्यमबाट शक्ति सञ्चय गर्नुपर्दछ ।
सेर्गेइ निकोलाएभिच माक्सिमोभ
मास्कोका जलसिंहहरूका राजामानिने सेर्गेइ माक्सिमोभ जीवनको ८० हिउँद पार गर्ने तरखरमा रहँदा  समेत निकै हट्टाकठ्ठा र फूर्तिला देखिन्छन् र उनी हिउँदको ठिहीर्याउने जाडोको कुनै वास्ता नगरेर चीसो बरफपानीको पोखरीमा चुर्लुम्म डुबुल्की लगाएर पौडी समेत खेल्दछन् । उनी सन् १९७० को दशकतिर सोभियत संघको सहयोगबाट निर्माण भइरहेको भारतको भिलाई धातुकारखानामा काम गरिरहेको समयदेखि नै योगाभ्यासतर्फ आकर्षित भएका थिए र अद्यापि कमलासन मात्र नभई त्यसको उल्टो किसिमले शीर्षासन समेत गर्दछन् । उनी विश्वको पिरामीडअर्थात् हिमालयको देश नेपाललाई निकै मन पराउँछन् र उनले नेपाल पुगेर  हिमालयसम्म पदयात्रा समेत गरेका छन् ।
सेर्गेइ माक्सिमोभको साथमा
दीनानाथ राजभण्डारी, दिल्ली खरेल 'सुमन' 
हिउँदसँग बिदा लिने सन्दर्भमा ८ मार्च २०१६ का दिन सेरेब्य्रान्नी बोर क्षेत्रको सानो रमणीय सरोवरमा बरफ काटेर बनाइएको पोखरीमा बर्फिलो पानीमा पौडी खेल्ने मास्कोका जलसिंहजलसिंहनीसमूहको प्रतियोगिताको पनि आयोजना गरिएको थियो । गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीले मास्कोवासी नेपाली समुदायको तर्फबाट उक्त प्रतियोगिता विजेताहरूलाई शुभेच्छासहित बधाई ज्ञापन गर्दै डोमेटिक रूस’ (Dometic RUS) भनिने कम्पनीद्वारा प्रदत्त डोमेटिक मोबाइल कूल बक्स’ (Dometic mobile cool boxes) पुरस्कारको रूपमा प्रदान गर्नुभएको थियो ।

गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारी,  
उपाध्यक्ष डिल्ली खरेल सुमन' आदि
सेरेब्य्रान्नी बोर जलसिंह क्लब’ का अध्यक्ष सेर्गेइ माक्सिमोभको साथमा
(८ मार्च २०१६)
यसरी हिउँदसँग बिदा लिन सेरेब्य्रान्नी बोर जलसिंह क्लबको आयोजनामा सम्पन्न बरफपानीमा डुबुल्की लगाउने रमाइलो खेल तथा पौडी-प्रतियोगितामा रूसमा बसोवास गरिरहेका नेपालीहरूको पनि प्रतिनिधित्व रहनु महत्वपूर्ण परिघटना हो भन्दा अत्युक्ति हुने छैन ।

दिनाङ्क: १३ मार्च २०१६ (आइतवार)
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment