Sunday, April 17, 2016

मास्कोमा आधुनिक नेपाली चित्रकला प्रदर्शनी

रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बिक्रम सम्बत् २०७३ को नयाँ वर्ष तथा नेपाल र रूस (सोभियत संघ) बीच दौत्य सम्बन्ध स्थापनाको आसन्न ६०यौं वर्षबन्धनको सन्दर्भ पारेर नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा आधुनिक नेपाली कला प्रदर्शनीको आयोजना गरिएको थियो ।

मास्कोमा आधुनिक नेपाली कलाप्रदर्शनीको उद्घाटन समारोहको संचालन गर्दै नेपाली राजदूतावासकी नियोग उपप्रमुख श्रीमती इन्दिरा अर्यालले मास्कोस्थित विभिन्न राजदूतावासका प्रतिनिधिहरू, रूसनेपाल सहयोग तथा मैत्री समाजका पदाधिकारीहरू, रूसी प्राच्यविद्हरू, लेखककविहरू, चित्रकार तथा कलाप्रेमीहरू, मास्कोमा नेपाली समुदायका प्रतिनिधिहरूका साथै रूसमा नेपाली कलाप्रदर्शनीको सिलसिलामा नेपालबाट आइरहनुभएका कलाकारहरूको हार्दिक स्वागत गर्नुभयो ।
रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला 
अधुनिक नेपाली कला-प्रदर्शनी उद्घाटन-वक्तव्य दिंदै
उपनियोगप्रमुख इन्दिरा अर्याल (बगलमा)
रूसका लागि नोपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले आफ्नो छोटो र मीठो उद्घाटन वक्तव्यमा दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापनाको साठियौं वर्षको परिप्रेक्ष्यमा रूसको राजधानी मास्कोमा र सांस्कृतिक राजधानी सेन्टपेतेरबुर्गमा समेत नेपाली कला प्रदर्शनीको आयोजना गरिनु ज्यादै महत्वपूर्ण परिघटना हो भनी जोड दिनुका साथै यस सन्दर्भमा नेपालबाट रूस आइरहनुभएका नेपाली कलाकारहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
नेपाली कलाकार-टोली
कला-समीक्षक मुकेश मल्ल र कलाकार नीरा जोशी-प्रधान 
गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष दीनानाथ राजभण्डारीले आफ्नो मन्तव्यमा रूसमा नेपाली कला र संस्कृतिको प्रचारप्रसार गर्नु पनि रूसमा बसोवास गरिरहेका नेपालीहरूलाई एकबद्ध पार्ने यस संस्थाको एउटा महत्वपूर्ण उद्देश्य रहेको चर्चा गर्नुभयो ।
गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारी 
कलाकार नीरा जोशी-प्रधान 
र रूस-नेपाल सहयोग तथा मैत्री समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्योभ  
यसपटक नेपालबाट चित्रकलाका कृतिहरूसहित नेपाली कलाकारहरूलाई रूसको भूमिमा स्वागत गर्न पाइनुका साथै रूसी मित्रहरूलाई आधुनिक नेपाली कलाको परिचय दिने अवसर पनि पाइएकोमा दीनानाथ राजभण्डारीले हर्षोद्गार प्रकट गनुभयो ।
कला-समिक्षक मुकेश मल्ल वक्तव्य दिंदै
रूस यात्रामा आइरहेको चारसदस्यीय नेपाली कलाकारटोलीको तर्फबाट नेपालका प्रसिद्ध कलाकार एवं कलासमीक्षक मुकेश मल्लले रूसमा वसन्तकालीन रमाइलो वातावरणमा नेपाली राजदूतावासमा उपस्थित कलाप्रमी नेपाली तथा रूसी मित्रहरूका साथै विभिन्न देशका कूटनीतिज्ञहरूसमक्ष आधुनिक नेपाली कलाको प्रदर्शन गर्ने सुअवसर पाइएकोमा हर्ष प्रकट गर्नुभयो ।
नेपाली कला-प्रदर्शनी उद्घाटन समारोहका केही सहभागीहरू
कला-समीक्षक मुकेश मल्लले नेपाली राजदूतावासको दुई कक्षमध्ये एउटामा सन् १९३० को दशकतिर नेपाली कलामा पश्चिमेली शैली भित्य्राएर आफ्नो परम्परागत कलाशैलीलाई नयाँ आधुनिक स्तरमा उकास्ने अग्रणी कलाकारद्वय चन्द्रमानसिंह मास्के तथा तेजबहादुर चित्रकारका साथै मल्लकालदेखि नै नेपालमा प्रचलित तान्त्रिक कलालाई पश्चिमेली आधुनिक कलाप्रवृत्तिको आधारमा नवतान्त्रिक कलाको रूपमा विकास गर्ने रामानन्द जोशीका कलाकृतिहरूको प्रदर्शन गरिएको तथा अर्को सभाकक्षमा चाहिं यिनै दिवंगत मुर्धन्य नेपाली कलाकारहरूकै अनुसरण गर्दै आधुनिक नेपाली चित्रकलालाई पश्चिमी शैलीकै माध्यमबाट आफ्नो कलापरम्परालाई मौलिक रूपमा विकसित गर्ने वर्तमान चित्रकारहरूका चित्रपटहरू प्रदर्शन गरिएको जनाउनुभयो ।
नेपाली कलाकार-टोलीको साथमा 
कृष्णप्रकाश श्रेष्ठ र डा. मनमूर्ती भुर्तेल
तत्पश्चात् महामहिम राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले पानसमा बत्ती बालेर आधुनिक नेपाली कलाप्रदर्शनीको विधिवत् उदघाटन गर्नुभई समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई नेपाली चित्रकलाको अवलोकन गर्न निम्त्याउनुभयो ।
महामहिम राजदूतज्यूबाट पानसमा ज्योति प्रज्ज्वलन गर्दै
आधुनिक नेपाली चित्रकला प्रदर्शनीको समुद्घाटन
मास्कोमा नेपाली चित्रकलाका कृतिहरू विरलै देख्न पाइन्छ । पहिलो कक्षमा प्रदर्शित मुर्धन्य कलाकारत्रयका चित्रहरू हेर्न थाल्दा मलाई सन् १९५८ मा रूसको राजकीय भ्रमणमा राजा महेन्द्रको साथमा रूस पुगेका प्रथम नेपाली चित्रकार चन्द्रमानसिंह मास्केले मास्कोको प्राच्यकला संग्रहालयलाई उपहारस्वरूप प्रदान गरेका मूल कलाकृतिहरू तीन दशकभन्दा पहिले आफूले त्यहाँको प्रदर्शनकक्षमा देख्न पाएको झझल्को आइरहेको थियो । अहिले मैले प्रतिलिपिकै रूपमा भए पनि उनको कुचीबाट निसृत विन्ध्यावासिनीको मन्दिर’, ‘भद्र महिलार मुख्यतः नेवारी परम्परामा नववधू भित्य्राउँदाको दृश्यअङ्कित लसकुसचित्रहरूको अवलोकन गर्न पाएँ । 
चन्द्रमानसिंह मास्केको कलाकृति 'लसकुस'
तेजबहादुर चित्रकारका कृतिहरूमध्ये राजा त्रिभुवनको व्यक्तिचित्र, थकुजुजु थरका श्रेष्ठहरूकी आराध्यदेवीको असनस्थित अन्नपूर्णको मन्दिरले मेरो ध्यान आकृष्ट गरेको थियो । 
अन्नपूर्णा मन्दिर
(असन, काठमाडौं)
यस कक्षमा प्रदर्शित रामानन्द जोशीलिखित नवतान्त्रिक कलाको नमूना अष्टदल यन्त्रको प्रतीकात्मक चित्रले अनायासै मलाई आकर्षित गरेको थियो । 
रामानन्द जोशीकृत 'अष्टदल यन्त्र'
त्यतिखेर मलाई केही वर्षअघि सन् २०१० को ७ अप्रिलका दिन नेपाली राजदूतावासमा आयोजित  लोकबहादुर चित्रकार, रेणुका गुरुङ प्रधान, प्रदीप शाक्य प्रभृतिको परम्परागत पौभा (तिब्बती भाषामा थाङ्का’) चित्रकला प्रदर्शनीमा राखिएको  रेणुका गुरुङ प्रधानकृत श्रीयन्त्रपौभाको सम्झना भइरहेको थियो ।
रेणुका गुरुङ प्रधानकृत पौभा 'श्रीयन्त्र'
प्रदर्शनीको दोस्रो खण्डमा मदन चित्रकार, कमल गुरुङ, राजन काफ्ले, ध्वज गुरुङ, विजय महर्जन, बुद्ध गुरुङ, राम पाल्पाली, निरज चित्रकार, प्रमिला बज्राचार्य, उमेश शाह, सूर्य बराइली, शंकरराजसिंह सुवाल प्रभृति आधुनिक नेपाली चित्रकारहरूका मूर्त, अमूर्त र प्रतीकात्मक चित्रपटहरूको अवलोकन गर्न पाइएको थियो । एउटा स्टेन्डमा सजाएर राखिएका चिटिक्क परेका निकै आकर्षक पुष्पाकृतिले मेरो ध्यान अनायासै आकर्षित गरेका थिए ।
नीरा जोशी प्रधानकृत 'लालीगुराँस'
म नेपाली राष्ट्रिय फूल लालीगुराँस र एउटा कुन्नि कुन रुखको हाँगा हो त्यसमा फुलेको सुकोमल फूलको चित्ताकर्षक छटा नियालेर हेर्न लागे । 
नीरा जोशी प्रधानकृत  'पुष्पाकृति'
ती मनमोहक पुष्पाकृतिहरू नेपालबाट आएको कलाकारटोलीकै एक सदस्या नीरा जोशी प्रधानको हातको करामत रहेछ । उनैबाट त्यस अज्ञात फूलको नेवारी नाम थाहा पाएँ तर सम्झनामा रहेन । उनी चित्रकार मात्र नभई वनस्पतिशास्त्री पनि रहिछन् । त्यहीं नै उनीसंग नेपालका वनस्पतिहरूको लोप भएर जान थालेका नेपाली, नेवारी आदि नामहरूको शब्दकोष अत्यावश्यक भएको जनाउँदै यस्तो शब्दकोष  तयार पार्नुस् भनी मैले प्रस्ताव नै राखें ।
नेपाली कलाकार-टोलीको साथमा
प्राच्यविद् स्तोल्यारोभ, रिबाकोभ, नेपाली राजदूत र कृष्णप्रकाश श्रेष्ठ
नेपाली कलासमीक्षक एवं कलाकार मुकेश मल्लसंग पनि नेपाली कलाको सन्दर्भमा कुरा चल्दा ईशाको दोस्रो शताब्दीदेखिका प्रस्तरमूर्ति नेपालमा पाइए तापनि चित्रकलाका कृतिहरू ईशाको दशौं शताब्दीदेखिको मात्र प्राप्य भएको र बीसौं शताब्दीको तेस्रो दशकयता परम्परागत नेपाली चित्रकलालाई पाश्चात्य कलासिद्धान्तको आधारमा विकसित गर्ने अग्रणी नेपाली चित्रकारहरूले झैं मेरो अध्ययनको विषय रहेको नेपाली साहित्यको आधुनिक प्रवृत्तिकै अनुरुप आजका नेपाली चित्रकारहरूले पनि पाश्चात्य र पूर्वीय कलासिद्धान्तलाई समन्वय गरेर नेपाली कलाको मौलिकतालाई सुरक्षित राख्दै आधुनिक कलाकृतिहरूको सिर्जना गर्नेगरेको निष्कर्षसित हामी दुवैजना सहमत भएका थियौं ।
नेपाली गायिका कोमल ओली 
र एनआरएन महिला संयोजक सपिला राजभण्डारी
मास्कोस्थित नेपाली राजदूतावासमा तीन दिनसम्म चालु रहने नेपाली चित्रकलाका कृतिहरू नेपाली तथा रूसी दर्शकहरूले निकै अभिरुचिका साथ अवलोकन गरिरहेको देख्दा मास्कोमा आधुनिक नेपाली चिबकला प्रदर्शनी निकै रोचक रहनुका साथै सफल समेत भएको म अनुभव गरिरहेको थिएँ...
रूसी कवयित्री ताच्याना चे र रूसी प्राच्यविद् रोस्तिस्लाभ रिबाकोभको साथमा
कृष्णप्रकाश श्रेष्ठ

मास्को, १४ अप्रिल २०१६ (वृहस्पतिवार) । 

No comments:

Post a Comment