Monday, October 26, 2015

मास्कोमा विजया दशमीको टीका र दशैं भोज

नेपालीहरूको महान् राष्ट्रिय, सांस्कृतिक तथा धार्मिक पावन पर्व बडादशैं २०७२ को उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासमा विजयादशमी (२२ अक्टोबर २०१५, वृहस्पतिवार) का दिन टीका ग्रहण तथा दशैं भोजको आयोजना गरिएको थियो ।

उक्त दशैं समारोहमा रूसमा अध्ययनरत तथा व्यवसायमा संलग्न नेपालीहरूको उपस्थिति रहेको थियो । रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूबाट यस साल पारिवारिक रूपमा आशौच बार्नुपरेकाले रूसमा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरूको अग्रजको नाताले महामहिमज्यूले मलाई दशैंभोजमा उपस्थित भाइबहिनीहरूलाई विजयादशमीको टीका लगाइदिने उत्तरदायित्वपूर्ण अभिभारा सुम्पिदिनुभएको थियो । 
रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला
अगलबगलमा : नेपाली विद्यार्थीहरु
नेपाली परम्पराअनुसार आद्यशक्ति कुमारीको प्रतिनिधित्व गर्ने सानी बालिका अध्येता अर्यालबाट आफूले टीका ग्रहण गरी नेपाली राजदूतावासमा दशैं मनाउन भेला भएका पूर्वमा इलामदेखि पश्चिममा बैतडी र दार्चुलासम्मका हिमाल, पहाड, तराई सबै क्षेत्रका भाइबहिनीहरूलाई आरोग्यता, सुखसमृद्धि एवं सफलताको आशिर्वाद दिंदै टीका लगाइदिएको थिएँ ।
विजयादशमीको टीका प्रदान गर्दै कृष्णप्रकाश श्रेष्ठ
नेपालीहरूको निम्ति दशैं धार्मिक चाड मात्र नभई राष्ट्रिय चाड समेत हो । प्राचीन कालमा नेपालमा वर्षको ४ पल्ट दशैं मनाउने परम्परा थियो तापनि हाल चैतमा सानो दर्शै र असोजमा ठूलो दशैं गरी दुईकल्ट दशैं मनाउने गरिन्छ । नेपालका सबै पुराना किल्ला र गढीहरूमा नौ दिनसम्म मातृशक्तिको प्रतीक नवदुर्गाको पूजा गरी दशौ दिन दुर्गाभवानीको प्रसादस्वरूप जमरासहित असत्यमाथि सत्यको विजयको प्रतीक रातो टीका लगाउने नेपाली परम्परा रहेको छ ।
विजयको प्रतीक टीका ग्रहण गर्दै
नेपालको राष्ट्रिय सुरक्षाको जिम्मा लिने सैनिकहरूको छाउनी रहेका स्थानहरू र कोतघरहरूमा दूर्गसंरक्षिका देवी दुर्गाभवानीको आराधनासहित राष्ट्रिय झण्डा फहराएर दशैं मनाउने गरिन्छ । हरेक वर्ष जहाँ रहेर पनि दशैं मनाउँदा मेरो बाल्यकाल बितेको बैतडीगढीको कोतघरमा राखिएका सूर्यचन्द्रअंकित एकजोर राष्ट्रिय झण्डालाई निसानदेवीको रूपमा पूजा समेत गरेर दशैं मनाउने गरिएको मलाई सम्झना हुन्छ । नेपालले धर्मनिरपेक्षताको नीति अबलम्बल गरे तापनि राजधानी काठमाडौंमा प्राचीन हनुमानढोका दर्बारको मूलचोकमा दशैंघरमा नवदुर्गा र तलेजु (तुलजा भवानी) को आराधना गर्ने परम्परा कायमै छ । तलेजु मन्दिरको ठीकपछाडि तानाबहालमा मेरो वंशकी कुलदेवी तारिणीदेवीलाई दशैंमा तलेजुको तर्फबाट एउटा राँगो वलि दिइने परम्परा पनि उल्लेख्य छ । 
तलेजु मन्दिरको पछिल्तिर तानाबहालमा तारिणीदेवीको मन्दिरसमक्ष
यस प्रकार नेपालका विभिन्न स्थानमा दशैं मनाउने आ-आफ्नै विशेष परम्पराहरू भए तापनि विभिन्न धर्माबलम्बी समस्त नेपालीहरूलाई दशैंले फूट होइन कि एकजूट भएर आआफ्नो परम्पराको पालना गर्ने शिक्षा दिन्छ भन्ने मलाई लाग्दछ ।
विजयादशमी २०७२ को अवसरमा
नेपालबाट निकै टाडा रूसमा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरू मास्कोस्थित नेपाली राजदूतावासमा भेला भएर सोहार्दपूर्ण र रमाइलो वातावरणमा हर्षोल्लासका साथ बडादशैं मनाउने  गर्दछन्। 
नेपाली राजदूतावासको सभाकक्षमा

यस साल पनि दडादशैंको अवसरमा रूसमा रहेका सम्पूर्ण नेपालीहरूका अभिभावक नेपाली राजदूतदम्पति डा. रविमोहन सापकोटा कोपिलाज्यू तथा डा. सुलोचना सापकोटाज्यूबाट विजयादशमीका दिन बडादशैंको भोजको आयोजना गर्नुभई रूसमा रहेका विभिन्न पुस्ताका नेपालीहरूलाई एकै थलोमा जम्मा भई नाचगानसहित रमाइलो गरी दशैं मनाउने सम्भावना प्रदान गर्नुभई मलाई विजयादशमीको  अवसरमा मास्कोमा भेला भएका सबै नेपाली भाइबहिनीहरूलाई आशिर्वाद दिंदै रातो टीका लगाएर  दुर्गाभवानीको  प्रसादको रूपमा सृष्टि र सिर्जनाको प्रतीक पहेंलो जमरा प्रदान गर्न पाएको थिएँ । 
रूसमा नेपालीहरूका अग्रज कृष्णप्रकाश श्रेष्ठबाट टीका ग्रहण गर्दै
त्यस दिन मास्कोमा नेपाली राजदूतावासको प्राङ्गणले सानो नेपालकै प्रतिनिधित्व गरिरहेको प्रतीत भएको थियो ।

बडादशैंको अवसरमा भेटपरिचय र कुराकानी


फोटो सौजन्य : विमलआचार्य
दिनाङ्क : २२ अक्टोबर २०१५, वृहस्पतिवार

No comments:

Post a Comment