Wednesday, July 23, 2014

मास्कोमा आदिकविप्रति समर्पित कविता प्रतियोगिता र वनभोज

रुसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममा विश्व नेपाली साहित्य महासंघ रुस शाखा तथा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रुस महासंघको संयुक्त तत्वावधानमा मास्कोको रमणीय ओस्तान्किनो पार्कमा कविता प्रतियोगिता र बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । 

भानुभक्तप्रति समर्पित समारोहमा मास्कोस्थित नेपाली राजदूतावास परिवारका साथै गैरआवासीय नेपाली संघ एवं रुस सीआइएस नेपाल उद्योग वाणिज्य  संघ (संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो), नेपाली खेलकूद तथा संस्कृति समाज ‌(अध्यक्ष खेमराज लामिछाने), नेपाली नारी निकुञ्ज (अध्यक्ष डा. समता प्रसाद),  नेपाली छात्रसंघ जनमैत्री विश्वविद्यालय (अध्यक्ष किरण रानाभाट) लगायत रुसमा बसोवास गरिरहेका नेपालीहरुका विभिन्न संघसंस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो । त्यहाँ रुसको रियाजान नगरका कविदम्पति अलेक्सेइ बान्दोरिन तथा ल्युदमिला साल्तिकोभाका साथै नेपालबाट पनि हरि रामदामदम्पतिको समुपस्थिति रहेको थियो ।
विश्व नेपाली साहित्य महासंघ रुस शाखाका सचिव डा. मनमूर्ति भुर्तेलले लय हालेर गाएको घाँसी कविताको प्रस्तुतिद्वारा आदिकविको द्विशताब्दीय जन्मजयन्तीप्रति समर्पित कार्यक्रमको औपचारिक खण्डको आरम्भ गर्दै रुसमा कार्यरत सबै संघसंस्थाका प्रमुखहरुलाई अध्यक्षमण्डलमा स्थान ग्रहण गर्न निम्त्याउनुभयो र आदिकवि भानुभक्त आचार्य शतवार्षिक समारोह समिति रुस महासंघका अध्यक्ष कृष्णप्रकाश श्रेष्ठको सभापतित्वमा समारोह संचालन हुनुअघि सर्वप्रथम आदिकविको द्विशतवार्षिक समारोह समिति रूसका संरक्षक महामहिम नेपाली राजदूत डा.रविमोहन सापकोटा कोपिलाज्यूको अगुवाईमा भानुभक्तको तस्वीरमा पुष्पाञ्जली अर्पणद्वारा समारोहको शुभारम्भ गरियो ।
महामहिम राजदूतज्यूले आफ्नो छोटो तर सारगर्भित मन्तव्यमा घाँसीको उदाहरणबाट भानुभक्तमा लोक कल्याणका लागि केही गर्ने भावना स्फुरण भई त्यतिखेर भाका भनिने नेपाली भाषामा रामायणको रचना गरिएको र त्यसले नेपालीहरुलाई एकसूत्रमा बाँध्नमा अमूल्य योगदान पुग्न गएको जनाउनुहुँदै रुसमा भानुभक्तलाई चिनाउनमा पछिल्लो समयमा निकै गहकिला कार्यहरु भएको स्मरण गर्नुभयो ।
गैरआवासीय नेपाली संघका संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतोले भानुभक्तका कविताहरु साना बालबालिकादेखि ठूलाबडासम्म सबैले पढ्ने गरेको र ती कविताहरुमा व्यक्तिएको भावनाले देशको विकासका लागि ठूलो प्रेरणा प्राप्त हुने तथ्यको चर्चा गर्नुभयो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान अध्यक्ष जीवा लामिछानेले रुसमा महाकवि पुश्किन, बेलायतमा शेक्सपियर प्रभृतिले जस्तै नेपालमा पनि साझा भाषा दिएर देशका १०० भन्दा बढी विभिन्न जनजाति र नृवंशात्मक समूहलाई एकबद्ध गर्नमा भानुभक्तका काव्यकृतिहरुबाट अतुलनीय टेवा पुग्न  गएकोतर्फ औंल्याउँदै भानुभक्तको सालिक स्थापनामा भारत र नेपालमा बाहेक संसारको अन्य कुनै पनि देशभन्दा रुस नै पहिलो भएको सन्दर्भमा गर्वपूर्ण भावोद्गार व्यक्त गर्नुभयो ।
रुसनेपाल मैत्रीतथा सहयोग समाजका उपाध्यक्ष डा मणिराज पोखरेल (भानु समारोह समितिका सदस्यसचिव) ले मास्कोको एक रमणीय पार्कमा भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्ती यसरी मनाउने अवसर पाइनुमा  ५८ वर्षअघि नेपाल तथा रुस (पूर्व सेभियत संघ) बीच दौत्य सम्बन्ध स्थापनाको ठूलो देन छ भन्नुहुँदै रुसमा आदिकविको २००यौं जन्मजयन्तीको उपलक्ष्यमा रुसमा भानुप्रतिमाको स्थापना, भानुप्रति समर्पित पुस्तक प्रकाशन लगायत विभिन्न कार्यक्रम सम्पन्न गरिएको स्मरण गर्दै भानु समारोह समितिले आफ्नो कार्य पूरा गरेको अभिव्यक्ति दिनुभएको थियो ।
विश्व नेपाली साहित्य महासंघ रुसका अध्यक्ष गोविन्दप्रसाद गौतम (भानु समारोह समितिका उपाध्यक्ष) ले मास्कोमा यस यस साहित्यिक संस्थाले पहिले पनि सानै परिमाणमा भए पनि वर्षेनी भानु जयन्ती मनाउँदै आएको जानकारी दिंदैं यस साल रुसमा भव्यतापूर्वक सप्ताहव्यापी भानु समारोह मनाइएको र आज पनि प्रकृतिको मनोरम काखमा ठूलो उत्साह र उमंगका साथ भानु द्विशताब्दीय जन्मजयन्ती मनाउन सैयौं साहित्यानुरागी नेपालीहरुको उपस्थिति रहेकोमा धन्यवादसहित हर्ष प्रकट गर्नुभयो ।
भानु समारोहमा भाग लिन नै मास्को आउनुभएकी रियाजान नगरकी कवयित्री ल्युदमिला साल्तिकोभाले यसं पंक्तिकारसंगको सहयोगको फलस्वरुप लक्ष्मीप्रसाद देवकोटा र भानुभक्त आचार्यका कविताहरुको श्लोकबद्ध अनुवाद गर्ने सम्भावना पाइनु ठूलो सौभाग्य भएको जनाउँदै अनुवादको क्रममा नेपाली जनताको उच्च बौद्धिक स्तरको अनुबोध हुनुका साथै अनुवादको माध्यमबाट हाम्रा दुवै देशका जनताहरुबीच सम्बन्ध गाढा हुने विश्वास व्यक्त गर्नुभयो र भर्खरै रूसी भाषामा श्लोकबद्ध अनुवाद पूरा भएको भक्तमालाका शुरुका केही श्लोकहरुको पाठ गरेर सुनाउनुभएको थियो । रुसी कवयित्रीको श्रमको कदर गर्दै समारोहको अध्यक्ष मण्डलका सदस्यहरुका साथै नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूबाट ल्युदमिला साल्तिकोभालाई नेपाली समुदायको तर्फबाट खादासहित सम्मानपत्र प्रदान गरिनुका साथै बुद्धको मूर्ति उपहार दिइएको थियो ।
सभापतिको आसनबाट यस पंक्तिकारद्वारा रुसमा नेपाली आदिकविको द्विशतवार्षिक समारोह भव्यतापूर्वक मनाउने क्रममा कालुगा अञ्चलस्थित नेपाली घरमा भानुभक्तको आवक्ष-प्रतिमाको अनावरण र भानु संग्रहालयको स्थापनाका साथै भानु समारोहप्रति समर्पित केही पुस्तकहरुको प्रकाशन गरिएको सन्दर्भमा अब रुसमा रहेका नेपालीहरुले भारत र नेपालपछि भानुभक्तको स्मारक स्थापनामा रुस  विश्वमा पहिलो हो भनी गर्व गर्ने सम्भावना पाएको अभिव्यक्ति दिइएको थियो । 
रुसमा नेपालीहरुबाट भानुभक्त आचार्यको  हस्तनिर्मित सालिक मात्र नभई भावनात्मक स्मारक पनि खडा गरिएको छ भन्नुपर्दछ अर्थात् यूरोपेली भाषामध्ये रुसी भाषामा नै लोक्को गरुँहित् भन्ने शीर्षकमा भानुभक्तका कविताहरुको संग्रह पनि सर्वप्रथम यहाँ नै सर।वप्रथम प्रकाशमा ल्याइएको छ । यसका साथै दोनवर्ती रोस्तोभ नगरनिवासी कवि इगोर एलिसेएभले भानुभक्तप्रति समर्पित कवितासंग्रह स्वर्गद्वारीको पुल र डा. ऋषिकान्त मण्डलको सहयोगबाट मैथिल लोकसाहित्यको नमूना गोनु झाका कथाकुथुंग्री प्रकाशित भइसकेका छन् भने अरु पनि केही पुस्तकहरु प्रकाशनको क्रममा छन् । तसर्थ समारोह समितिको कार्य अधूरै छ भन्नुपर्दछ र यस वर्षलाई भानुवर्ष घोषित गर्नु उचित हुन्छ होला ।
यस प्रकार समारोहको औपचारिक खण्ड सम्पन्न भएपछि कविता प्रतियोगिता सुरु भयो । कविताको मूल्यांकनका लागि डा. सुलोचना सापकोटा, डा. बद्री के.सी., डा. मणिराज पोखरेल, जीवा लामिछाने तथा कृष्णप्रकाश श्रेष्ठसहितको पाँच सदस्यीय निर्णायक समितिले रचयिताको नाम गोप्य राखिएका लिखित कविताहरुको अध्ययन गरी स्तर निर्धारण गरुञ्जेलसम्म इच्छुक व्यक्तिहरु आशुकविता प्रतियोगिताका लागि निश्चित समयसीमाभित्र कविता रचना गर्नमा तल्लीन भएका थिए ।
निर्णायक समितिले कविताको भाषा, भाव र संन्देशलाई आधार मानी मूल्यांकन गरेर रचयिताको क्रमसंख्या घोषणा गरेपश्चात् लिखित कवितामा नाजकुमारी सिंहले सान्त्वना,  इन्द्रप्रसाद भुसालले द्वितीय र डा. मधुकृष्ण श्रेष्ठ माधुर्यले प्रथम स्थान प्राप्त गर्नुभएको थाहा पाइयो भने आशुकवितामा प्रथम स्थानमा महेशकुमार खड्का, द्वितीयमा इन्द्रप्रसाद भुसालको नाम घोषित गरिएको थियो भने तृतीय स्थानमा चाहिं कहिल्यै कविता नलेख्ने व्यक्ति अर्थात् डा. उपेन्द्र महतोको नाम आउँदा हाँसोको लहर व्याप्त भएको थियो ।
तत्पश्चात् रचयिताहरुद्वारा आआफ्ना कविता पाठ गर्ने पालो आयो । हाल तीन-चार वर्षदेखि भारतको हाईस्कूलमा पढिरहेका पहिले मास्कोमा सञ्चालित नेपाली पाठशालाका मेरा शिष्याहरु आनुस्का लामिछाने, कृति महतो आदिको कवितापाठ सुन्दा मलाई अपार आनन्द अनुभव भएको थियो ।
यस कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कविहरुलाई प्रमाणपत्रसहित पुरस्कार वितरणपश्चात् सभापतिको आसनबाट मैले आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्तीको उपलक्ष्यमा मास्कोको रमणीय पार्कमा यस्तो काव्यमय वातावरण सृजना गर्ने साहित्यानुरागी नेपाली भाइबहिनीहरु र उज्ज्वल भविष्य बोकेका ससाना बालबालिकाहरुलाई पनि उत्तरोत्तर प्रगतिको कामना गर्दै भानु काव्य समारोह समापनको आधिकारिक घोषणा गरें ।
     तत्पश्चात् ग्रीष्मकालीन मास्कोको हरियालीयुक्त न्यानो र उज्यालो साँझमा फेरि खानपीन र अन्य मनोरञ्जन कार्यक्रमहरु सम्पन्न गरिंएका थिए ।
    यस्तो रमाइलो कार्यक्रमको आयोजक विश्व नेपाली साहित्य महासंघ रुस शाखाका सदस्यहरुका साथै बनभोजको व्यवस्थापन समितिका संयोजक डिल्ली खरेल सुमनसहसंयोजक सन्तोष के.सी. तथा सदस्यहरु डा. कुमार कार्की, मनोज अमात्य, गणेश रामदाम तथा इन्द्रप्रसाद भुसाल लगायत रुसमा रहेका सम्पूर्ण साहित्यानुरागी नेपालीहरुप्रति आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रुस महासंघको अध्यक्षको नाताले हार्दिक धन्यवाद ज्ञापन गर्दछु
दिनांक : २२ जुलाई २०१४

(नेपाल रुस दौत्यसम्बन्ध स्थापना दिवस)

No comments:

Post a Comment