विश्वको सर्वोच्च हिमश्रृंखलाको काखमा अवस्थित
नेपाल र ककेशिया पर्वतश्रृंखलाको काखमा अवस्थित दागेस्तानबीच समानता र विषमताको
तुलनात्मक अध्ययनका लागि मास्कोमा रुसी भाषामा प्रकाशित ‘ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक’ (मास्को-काठमाडौं,
२०१२) शीर्षकको सचित्र ग्रन्थबाट निकै सहयोग पुग्न सक्तछ ।
यो पुस्तक दागेस्तानी तथा
नेपाली लेखकद्वयको संयुक्त लेखनको
प्रतिफल हो । दागेस्तानी विद्वान् सेर्गेइ मुर्तुजालिएभद्वारा गणतन्त्र दागेस्तानको
विषयमा पहिलो खण्ड (पृ. ३३-१७८) लेखिएको थियो भने कृष्णप्रकाश श्रेष्ठबाट संघीय
लोकतान्त्रिक गणतन्त्र नेपालको सन्दर्भमा द्वितीय खण्ड (पृ. १७९-२७५) तयार पारिएको
थियो ।
बाक्लो गाता हालिएको ३०४ पृष्ठको यस सचित्र ग्रन्थमा प्राक्कथन, उपसंहार र
ग्रन्थसूचीसहित बीसौ शताब्दीको अन्तिम चरण र एक्काईसौं शताब्दीको प्रथम चरणको
आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक
स्थितिको विवेचनाको माध्यमबाट दुवै पहाडी प्रदेशको सम्यक् विश्लेषणात्मक परिचय दिने
प्रयास भएको छ ।
झण्डै दुईतिहाई
क्षेत्रफलमा पहाडी धरातल भएको नेपाल र दागेस्तान दुवै बहुभाषिक तथा बहुनृवंशात्मक प्रदेश
हुन् । नेपाल एशिया महाद्वीपको मध्यभागमा पर्ने भूपरिवेष्ठित स्वतन्त्र र सार्वभौम
देश हो भने दागेस्तान रुस महासंघ अन्तर्गतको
भूपरिवेष्ठित नभई क्यास्पियन (कश्यप) सागरको किनारामा रहेको एक गणतन्त्र हो । नेपाल संघीय गणतन्त्र घोषित भएको ६ वर्ष
मात्र भयो भने दागेस्तानले झण्डै एक शताब्दी लामो गणतन्त्रीय अनुभव हासिल गरिसकेको
छ । दागेस्तानको अधिकांश जनसंख्या इस्लाम धर्माबलम्बी छ भने नेपालमा अधिकांश हिन्दू
र बौद्ध धर्माबलम्बीहरुको बसोवास छ । नेपाल र दागेस्तानको जनजीवनको सादृश्यता र
धार्मिक तथा सांस्कृतिक विभेदको विषयमा दागेस्तानी जनकवि रासुल हाम्जातोभले ‘जीवनचक्र’ तथा ‘जीवित देवी कुमारी’ शीर्षकका नेपालविषयक
आफ्ना काव्यकृतिहरुमा रोचक पाराले वर्णन गरेका छन् ।
यस ‘ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक’ भन्ने शीर्षक
बोकेको पुस्तकको लोकार्पणको सन्दर्भमा १२ अप्रिल २०१३ का दिन मास्कोस्थित दागेस्तानको
स्थायी प्रतिनिधि-भवनमा आयोजित गोलमेच सम्मेलनमा नेपाल र दागेस्तानबीच विषमताभन्दा
समानता बढी भएको निष्कर्ष निकालिएको थियो । नेपालीहरुजस्तै दागेस्तानवासीहरु पनि अतिथ्यसत्कारी, मिलनसार, श्रमप्रेमी र
लगनशील छन् भन्ने कुरामा सबै वक्ताहरुले जोड दिएका थिए । रुसका लागि नेपाली राजदूत
डा. रविमोहन सापकोटाले संसारका १० सर्वोच्च हिमशिखरहरुमध्ये ८ वटा नेपालमा रहेको
जनाउनुभएको थियो भने रुसी राष्ट्रपतिअन्तर्गत दागेस्तानका स्थायी प्रतिनिधिले
दुर्गम पहाडको जटिल र कठोर जीवनपद्धतिले गर्दा दुवै ठाउँका मानिसहरुको चरित्र
खारिएको अभिव्यक्ति दिनुभएको थियो ।
नेपाल र
दागेस्तानका प्रतीक-चिन्हहरुकै उल्लेख गर्न सकिन्छ । नेपालको झण्डामा र दागेस्तानको
राष्ट्रिय चिन्हमा अंकित सूर्यले जीवनको स्रोत प्रकाशको द्योतन गर्दछ ।
दागेस्तानमा बाजचरो सत्ताको प्रतीक हो भने नेपालीहरु डाँफेलाई प्राकृतिक
सौन्दर्यको प्रतीक मान्दछन् । तुर्क भाषाको दाग अर्थात् ढुंगा र स्तान अर्थात् देश
शब्द मिलेर दागेस्तान भन्ने स्थाननाम अस्तित्वमा आएको छ, यद्यपि यस शब्दका अन्य व्याख्याहरु
पनि छन् । नेपाल पनि दुई प्राचीन शब्दहरुकै संयोगबाट बनेको छ र यसका विभिन्न अर्थहरुमध्ये
नेप भनिने जातिको देश, गुफा-कन्दराको देश र ऊनको देश आदि व्याख्याका साथै
नेमुनिद्वारा पालना गरिएको देश भन्ने अर्थ लोकप्रिय बन्न पुगेका छन् (हेर्नोस्,
स्थाननामकोश,
पृ. २२३) ।
रुस महासंघको मानचित्रमा दागेस्तानको
अवस्थिति दक्षिणी पुछारमा छ भने एशियाको मानचित्रमा नेपालको अवस्थिति झण्डै
मध्यभागमा छ र भारतको उत्तर तथा चीन (तिब्बत) को दक्षिणमा पर्दछ । दागेस्तानको
क्षेत्रफल ५०.३ हजार वर्गकिलोमिटर (सम्पूर्ण रुसको ३४०-सौं खण्ड) अर्थात्
डेन्मार्क, देल्जियम वा
मोल्दाभियाभन्दा ठूलो छ भने नेपालको क्षेत्रफल १४७.१८१ हजार वर्गकिलोमिटर (अर्थात्
दागेस्तानभन्दा झण्डै तीनगुना ठूलो) छ ।
दागेस्तानमा ६२५५ खोलानालाहरु
बग्दछन् जसमध्ये तेरेक, सामुर, सुलाक र रुबास नदी मुख्य
मानिन्छन् । नेपालमा उत्तरबाट दक्षिण हानिंदै बग्ने सीमावर्ती मेची र महाकालीका अतिरिक्त
कोशी, गण्डकी र
कर्णली नदीप्रणालीहरु रहेका छन् । दुवै पहाडी प्रदेशको जलस्रोत र विद्युत् क्षमता निकै
विपुल छ ।
नेपाली पाठकहरुको निम्ति दागेस्तानको विषयमा केही तथ्यांकहरु रोचक हुने छन् । वार्षिक ५५ अरब किलोवाट घन्टा जलविद्युत् सम्भाव्यता रहेको दागेस्तानका क्रियाशील जलविद्युत् केन्द्रहरुमध्ये चिर्केइस्क (१०० मेगावाट), इर्गानाइस्क (४०० मेगावाट), मिआत्लिन्स्क (२२० मेगावाट), चिर्युर्तस्क (१२५ मेगावाट), गेर्गेबिल्स्क (१७.८ मेगावाट), गुनिब्स्क (१५ मेगावाट) आदि उल्लेखनीय छन् । यस तथ्यबाट जलविद्युत् केन्द्रको निर्माणमा दागेस्तानको अनुभव नेपालका लागि उपयोगी हुने ठान्दछु ।
नेपाली पाठकहरुको निम्ति दागेस्तानको विषयमा केही तथ्यांकहरु रोचक हुने छन् । वार्षिक ५५ अरब किलोवाट घन्टा जलविद्युत् सम्भाव्यता रहेको दागेस्तानका क्रियाशील जलविद्युत् केन्द्रहरुमध्ये चिर्केइस्क (१०० मेगावाट), इर्गानाइस्क (४०० मेगावाट), मिआत्लिन्स्क (२२० मेगावाट), चिर्युर्तस्क (१२५ मेगावाट), गेर्गेबिल्स्क (१७.८ मेगावाट), गुनिब्स्क (१५ मेगावाट) आदि उल्लेखनीय छन् । यस तथ्यबाट जलविद्युत् केन्द्रको निर्माणमा दागेस्तानको अनुभव नेपालका लागि उपयोगी हुने ठान्दछु ।
नेपालको ७७ प्रतिशत क्षेत्रफलमा उच्चहिमाली
र पहाडी भूखण्ड रहेको छ जहाँ सन् २००१ को तथ्यांकअनुसार जनसंख्याको ५२ प्रतिशत वासिन्दा
बस्तछन् भने देशको २३ प्रतिशत मात्र समथर क्षेत्रफल रहेको तराईमा जनसंख्याको ४८
प्रतिशतको बसोवास रहेको छ ।
सन् २०१० को जनगणनाअनुसार
दागेस्तानको जनसंख्या २९.७ लाख रहेको छ र यसमध्ये आभार (२९.४ प्रतिशत),
दार्निन
(१७प्रतिशत), कुमिक
(झण्डै १५ प्रतिशत), लेज्गिन (१३.३ प्रतिशत) र लाक (५.६ प्रतिशत) भाषाभाषी छन् भने
अरु अल्पसंख्यक छन् । गणतन्त्रबाहिर पनि ७ लाखभन्दा बढी दागेस्तानीहरु बस्तछन् ।
नेपालको जनसंख्या दागेस्तानको भन्दा झण्डै ८ गुना बढी छ ।
अहिले नेपाल र दागेस्तानमा
देखापरिरहेको सामाजिक, आर्थिक तथा नृवंशात्मक-सांस्कृतिक
परिवर्तनको
तुलनात्मक विश्लेषणको आधारमा यी दुवै प्रदेशका सामु रहेका कैयौं समस्याहरुको
समाधानका लागि एक दोस्राको अनुभव निकै उपयोगी हुन सक्छ । उदाहरणार्थ, दागेस्तानको
पर्यटन उब्योगको विकासमा नेपालको अनुभव उपयोगी हुन सक्छ भने नेपालको वर्तमान अवस्थामा
देखापरिरहेका नृवंशात्मक, सांस्कृतिक,
सामाजिक समस्याहरुको सही समाधान पहिल्याउन दागेस्तानको अनुभव निकै फलदायी हुनेछ
भन्ने मलाई लाग्छ । नेपाल र दागेस्तानका पहाडी इलाकामा बस्ने अल्पसंख्यक आदिवासीहरुको
स्थितिमा निकै समानता रहनु स्वाभाविकै छ र आंशिक रुपमा दागेस्तानको र समष्टिगत
रुपमा रुसकै राष्ट्रिय प्रश्नको समाधानको दृष्टान्त संघीय लोकतान्त्रिक गणतन्त्र
नेपालको भावी स्वरुपको निरुपणमा महत्वपूर्ण उदाहरण बन्न सक्तछ भन्दा अत्युक्ति नहोला
।
नेपालझैं दागेस्तान पनि भौगोलिक दृष्टिले
एकसमान हुनुका साथै नृवंशात्मक तथा भाषिक विविधताले पनि उत्तिकै सुसम्पन्न छ ।
नेपालमा ९० भन्दा बढी नृवंशात्मक समूहको वसोवास रहेजस्तै दागेस्तानमा १२० भन्दा बढी
नृवंशात्मक समूहको अस्तित्व रहेको छ तापनि ३० भन्दा बढी जनजातिहरु यहाँका रैथाने
आदिवासी हुन् । नेपालमा मुख्यतःभारोपेली र तिब्बत-बर्मेली (हिमाली) भाषापरिवारका
२० वटा जति राष्ट्रिय भाषाहरू भएझैं दागेस्तानमा उत्तरी ककेशियाली,
आल्टाई तथा
भारोपेली गरी ३ भाषापरिवारका भाषाभाषीहरु छन् भने १४ वटा भाषाहरुले राजकीयभाषाको
मान्यतापाएका छन् । दागेस्तानको एक प्रमुख भाषा अर्थात् आभार भाषामा नै ५० वर्षअघि
सन् १९६३ मा नेपालको पहिलोपल्ट यात्रा गर्ने महाकवि रासुल हाम्जाताभले ‘जीवित देवी
कुमारी’ तथा ‘जीवनचक्र’ शीर्षकमा नेपालविषयक दुई काव्यकृतिको रचना गरेका थिए ।
तीनपटक नेपाल पुगेका दागेस्तानी कविको लेखनीबाट निसृत उक्त काव्यकृतिहरु रुसी
भाषामा अनुवाद भई सन् १९८५ मामास्कोमा प्रकाशित गरिएपछि यसै पंक्तिकारको अनुवादमा
नेपालीमा पनि ती काव्यकृतिहरु ‘जीवित देवी’ भन्ने साझा शीर्षकमा नेपाल राजकीय
प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशमा ल्याइएको थियो ।
दागेस्तान र नेपालबारे मास्कोमा प्रकाशित
यस संयुक्त पुस्तकको शीर्षक नै रासुल हाम्जातोभको उक्त काव्यकृतिबाट पैंचो लिइएको
हो र मैले उक्त पुस्तकको एक सिंगै प्रकरणमा दागेस्तानी कविका नेपालविषयक काव्यहरुबारे
आफ्नो संक्षिप्त प्रतिक्रिया समावेश गरेको छु ।
दागेस्तानी कवि रासुल हाम्कोजातोभको ९०-यौं
जन्मजयन्तीको उपलक्षमा युवा छविचित्रकार इभान कोजोरेजोभबाट खिंचिएका नेपाल र
दागेस्तानका रङ्गीन दृश्यचित्रहरूसहित ‘दुई देवताहरूप्रति’ (मास्को, २०१४)
शिर्षकमा प्रकाशित त्रैभाषिक सचित्र ग्रन्थमा उक्त नेपाली काव्यानुवाद पनि
समाविष्ट गरिएको छ ।
यहाँ म नेपालका परम मित्र दागेस्तानी
कवि रासुल हाम्जातोभले जीवित देवी कुमारीको सन्दर्भमा व्यक्त गरेको सानो
काव्यात्मक भावाभिव्यक्ति नेपालीमा प्रस्तुत गर्न चाहन्छु :
कुमारी ! फूलकी थुंगा,
रोजिएकी बिनीबिनी,
असंख्य फूलको माझ कोपिला नै
हुँदापनि ।
विश्व यो अहिले जो छ पाप औ
तममण्डित,
फैलाई ज्ञानको दीप्ति होला फेरि
प्रज्ज्वल्लित ।।
कुमारी ! हलुका पन्छी,
चमत्कारमयी
चरी,
जो खान्छ एकलै कावा विशाल नभमा उडी
।
पृथिवीभरिका मान्छे
झुकेर
धरणीतक
धर्तीका देवीका सामु होऊन् ती नतमस्तक
।।
कुमारी ! सक्कली हीरा,
चम्किलो
हारको मणि,
झिक्यो नेपालले लाखौं ढुंगा
पन्छ्याउँदै खनी ।
अलंकारसरी यो छ मूल्यवान् निधि
देशको,
चम्कने
छ सदाकाल छातीमा यो हिमालको ।।
अन्त्यमा के निष्कर्षमा पुग्न
सकिन्छ भने रुसअन्तर्गतको दागेस्तान गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र
नेपालका पहाडी तथा त्यसको समीपवर्ती समथर क्षेत्रहरुको विकासका समस्याहरु र
त्यहाँका वासिन्दाहरुको वर्तमान स्थितिप्रति समर्पित ककेशिया चुलीदेखिन् हिमाली
उच्चतातक (बीसौं एक्काईसौं शताब्दीको सन्धिकालमा दागेस्तान र नेपालको
सामाजिकआर्थिक एवं नृवंशात्मक सांस्कृतिक समस्याहरु) शीर्षकको यो सचित्र संयुक्त ग्रन्थ
दागेस्तान र नेपालको वर्तमान इतिहास, संस्कृति, अर्थतन्त्र,
राजनीति,
नृवंशात्मक
स्थिति र भाषिक अवस्थाका अध्येताहरु र पर्यटकहरुका लागि सहयोगी हुनेछ भन्ने आशा
राखिन्छ ।
कृष्णप्रकाश श्रेष्ठ
दिनांक :
२४ अप्रील २०१४, लोकतन्त्र दिवस (बिहिवार)
No comments:
Post a Comment