Wednesday, December 18, 2019

रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन


रूसको राजधानीमा १६ डिसम्बर २०१९ (सोमवार) का दिन मस्कभिचभनिने एक सांस्कृतिक केन्द्रको विशाल सभाकक्षमा रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन सुसम्पन्न भएको थियो । त्यसमा मस्को नगर संगठनका हाल विद्यमान २४३९ सदस्यहरूमध्ये १२३६ सदस्यहरूको समुपस्थिति रहेको थियो ।

गतः १९ वर्षदेखि रूस लेखक संघको सदस्य रहिआएको यो पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) पनि महाधिवेशनको सहभागीको रूपमा नाम दर्ता गराउन एकाबिहानै निर्धारित समयमै ‘मस्कभिच’ सांस्कृतिक केन्द्रको विशाल भवनमा पुगिसकेको थियो । 
सांस्कृतिक केन्द्र 'मस्कभिच' को भवन
वर्णानुक्रमअनुसार नाम दर्ता गराउन प्रवेशकक्षमा लहरै टेबुल राखेको ठाउँमा आफ्नो नाम बर्ता गराइसकेपछि चिनजानका कोही रूसी लेखसकविहरू भेटिन्छन् कि भन्दै हुलमुलमा यताउति चहारिरहँदा एउटा डेस्कमा नामदर्ताकर्ताको भूमिका निर्वाह गरिरहेकी कवयित्री तामारा पोत्योमकिनाले नै मलाई बोलाएको सुनें र भलाकुसारीको आदानप्रदानपश्चात् तुरुन्तै केही फोटो पनि लिइहालें ।
कवयित्री तामारा पोत्योमकिना नाम दर्ता गर्दै
सभाकक्षमा पछि राम्रो बस्ने ठाउँ नपाइएला भन्ठानेर म छिटै महाधिवेशनका सहभागीहरूको भीड चिर्दै झटपट हलभित्र पसिहालें । त्यहाँ अगाडिका सीटहरू र छेउतिरका अनुकूल सीटहरू अन्य लेखककविहरूले औगटिसकेको पाएँ । अन्त्यमा बगलतिरका दुईजनालाई बाटो दिने अनुरोध गर्दै उठाएर पल्तिरको तेस्रो एउटा सीटमा मैले पनि आसन जमाएँ । महाधिवेशन शुरू हुनुभन्दा पहिले बगलमा बसेका कवि युरी स्लिन्याकोभ र लेखिका ताइसिया गुस्कोभासँग चिनापर्ची र ठेगानाको आदानप्रदान गर्न भ्याइयो ।
भ्लादिमिर भोयारिनोभ र भ्लादिमिर सिल्कनको साथमा
कृष्णप्रकाश श्रेष्ठ (१६।१२,२०१९)
रूस लेखक संघ मस्को नगर संगठनका अध्यक्ष भ्लादिमिर बोयारिनोभको साथमा रूस लेखक संघका केन्द्रीय अध्यक्ष निकोलाइ इभानोभले पनि मञ्चमा प्रवेश गर्नासाथै लेखककविहरूद्वारा खचाखच भरिएको हलमा उपस्थित सबैले करतलध्वनिले स्वागत गरे । 
कृष्णप्रकाश श्रेष्ठ र भ्लादिमिर बोयारिनोभ
रूस लेखक संघ मस्को नगर संगठनको अधिवेशनमा
(१६ डिसम्बर २०१९, आइतवार)
भ्लादिमिर बोयारिनोभले सर्वसम्मतिबाट अधिवेशनको सभापतित्व ग्रहण गरेर अधिवेशन आरम्भ भएको घोषणा गर्नासाथ रूसको राष्ट्रीय धून गुञ्जियो । यसरी शुभारम्भ गरिएको महाधिवेशनमा प्रस्तुत विगत कार्यकालको गतिविधिसम्बन्धी प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गरेर सामाजिक-सास्कृतिक संस्थाबारे रूसको नयाँ कानून अनुकूल लेखक संघको विधानमा हेरफेरको प्रस्ताव पारित गरिएपश्चात् १९ सदस्यीय नयाँ कार्यकारिणी समिति, लेखापरिक्षण समिति आदिको गठन गरियो ।
लेखापरिक्षण समितिको सदस्यमा निर्वाचित
कवयित्री तामारा पोत्योमकिना
नयाँ विधानबमोजिम आगामी ५ वर्षका लागि कार्यकारिणी समितिको अध्यक्षपदमा रूसको प्रमुख साहित्यक समाचारपत्र लितेरातुरनाया गाजेताका प्रधान सम्पादक माक्सिम जाम्शेभ निर्वाचित भए भने रूस लेखक संघ मस्को नगर संगठनको अध्यक्षपदमा भ्लादिमिर यारिनोभ नै दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भए ।
अध्यक्ष भ्लादिमिर बोयारिनोभ
पुनः नवनिर्वाचित अध्यक्ष भ्लादिमिर बोयारिनोभले अधिवेशनको विसर्जन वक्तव्यमा भावी कार्यक्रमबारे जानकारी दिने क्रममा मुख्यतः आगामी सन् २०२० को ९ मेईका दिन व्यतापूर्वक मनाइने दोस्रो विश्वयुद्धमा विजयको ७५-रौं वार्षिकोत्सवको सन्दर्भमा महान् देशभक्तिपूर्ण युद्धप्रतिसमर्पित कवितासंग्रहआदिको प्रकाशनबारे अवगत गराउँदै अधिवेशनमा उपस्थित सबै सदस्यहरूलाई आफुप्रति दर्साइएको विश्वासका लागि कृतज्ञता ज्ञापन गर्नुका साथै मस्कोका लेखकहरूको उत्सव भन्न सकिने महाधिवेशनको अवसरमा बुनिन पदकद्वारा विभुषित सबै लेखककविहरूलाई शुभेच्छा व्यक्त गरेका थिए ।
बुनिन-पदक
त्यस अवसरमा रूसी लेखक इभान बुनिनको १५०-सौं जन्मजयन्तीको सन्दर्भ पारेर प्रदान गरिएको बुनिन पदकबाट मैले पनि विभूषित हुने सुअवसर प्राप्त गरेको थिएँ । 
'बुनिन-पदक' को प्रमाणपत्र 'डिप्लोम'
रूसको यो साहित्यक पदक प्राप्त गरिएको परिप्रेक्ष्यमा नेपाली पाठकवृन्दलाई रूसीकवि तथा लेखकइभान बुनिनकै संक्षिप्त परिचय दिनु उपयुक्त हुने ठान्दछु । नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम रुसी लेखक इभान अलेक्सेएभिच बुनिन (१८७०-१९५३) को जन्म २२ अक्टोबर १८७० का दिन रूसको भोरोनेझ क्षेत्रमा भएको हो । उनका पहिला कविताहरू सन् १८८८ देखि प्रकाशित हुन थालेका थिए । अर्योल नगरमा उनले स्थानीय अखबारमा रुजुकारको रूपमा काम गर्न थालेका थिए ।
बुनिनको पहिलो पुस्तक कविताहरूशिर्षक लिएर निस्केको थियो । त्यसपछि खुला आकाशमा’ (१८९८) र पतझड’ (१९०१) कजितासंग्रहहरु प्रकाशित हुँदा उनले निकै प्रसिद्धि पाइसकेका थिए । लेभ तोल्स्तोइ, आन्तोन चेखोभ र माक्सिम गोर्कीसँगको चिनापर्चीले उनको जीवन त कृतित्वमा ठूलो प्रभाव पारेको थियो । उनका कथाहरूमध्ये आन्तोनोभ्का स्याउसल्लाका बोटहरूउल्लेख्य छन् । सन् १९०९ मा उनी सेन्ट-पिटर्सबुर्गमा विज्ञान प्रज्ञा-प्रतिष्ठानका मानार्थ प्राज्ञ बगेका थिए भने सन् १९१५ मा उनका साहित्यिक कृतिहरूका संग्रहहरू विभिन्न ठेलीहरूमा प्रकाशित भएका थिए ।
बुनिन क्रान्तिकारी विचारका विरोधी थिए । तसर्थ ऊनी सदाको लागि रूस छोडेर विदेशतिर लागे । दुई पटक विवाह गरे तापनि उनको पारिवारिक जीवन सुखमय रहेन । लामो समयसम्म विदेशमा रहनुपर्दा उनी स्वदेश फर्कन लालायित रहेका थिए, तर उनको इच्छा साकार हुन सकेन । अन्ततोगत्वा ८३ वर्षको उमेरमा सन् १९५३ को ८ नभेम्बरका दिन फ्रान्समा बुनिनको ईहलीला समाप्त भयो ।
यो पंक्तिकार मस्को राजकीय विश्वविद्यालयको पत्रकारिता संकायमा अध्ययनरत रहँदा सन् १९६० को दशकमा रूसी साहित्यको चर्चा चल्दा बुनिनलिखित कथाको सन्दर्भमा साहित्यका प्राध्यापकले आन्तोनोभ्का स्याउमा प्रतिक्रियावादको गन्ध आउँछ भन्ने जुन उक्ति सुनाएका थिए त्यो अध्यापि मलाई सम्झना छ । पछि मात्र मैले लामो समयसम्म नसुक्ने रसदार आन्तोनोभ्का प्रजातिको स्याउको स्वाद चाख्न पाएको थिएँ । केही अमिलो स्वादको यो सुडौल बान्कीको स्याउ निकै पौष्टक हुन्छ । आजको प्रजातान्त्रिक रूसमा रूसी कवि इभान बुनिनको कृतित्वरूपी दीर्घजीवी रसिलो स्याउको सुवास मगमगाइरहेको छ भन्न सकिन्छ ।
रूस लेखक संघ मस्को नगर संगठनको अधिवेशनबाट 
पुनंनिर्वाचित भ्लादिमिर बोयारिनोभलाई बधाई दिइरहेको दृश्य

फोटो - कृष्णप्रकाश श्रेष्ठ
दिनाङ्क १६ दिसम्बर २०१९ (सोमवार)
मस्को, रूस महासंघ ।

1 comment:

  1. Can we get some more specific news ..but this is also nice keep it up

    ReplyDelete