नेपालको राजधानी काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघको सातौं विश्व महाधिवेशनको
एक सत्रमा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीबाट एनसीसी रूसको
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा १५ अक्टोबर २०१५ (वृहस्पतिवार) का दिन भानुभक्तदेखि वर्तमान समयसम्मका
नेपाली कविहरूको लेखनीबाट निसृत हाम्रो रमणीय मातृभूमि नेपाल र नेपालका विभिन्न स्थानहरूसित
सम्बन्धित कविताहरूको सँगालो 'काव्यमय नेपाल' को विमोचन गरिएको थियो ।
तत्पश्चात् 'काव्यमय नेपाल' शिर्षकको पुस्तक सम्माननीय प्रधानमन्त्री श्री
के.पी.शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय श्री लोकेन्द्रबहादुर चन्द तथा श्री माधव नेपाल,
पूर्वशिक्षामन्त्री श्री दीनानाथ शर्मा, वरिष्ठ
अधिवक्ता श्री विश्वकान्त मैनाली लगायत विशिष्ट व्यक्तिहरूमा उपहारस्वरूप प्रदान गरिएको
थियो ।
डा उपेन्द्र महतो (एनआरएन संस्थापक-अध्यक्ष) र शेष घले (केन्द्रीय अध्यक्ष)
बीचमा : प्रधानमन्त्री के.पी. शर्मा ओली (विमोचित पुस्तक हेर्दै)
कैयौं वर्षदेखि संकलन गरिएका विभिन्न भाव र छन्दका तर मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराई सम्मका ७५ वटा मात्र नेपालका स्थाननामहरूसित सम्बन्धित १२२ जना कविका झण्डै दुई सय कविताहरू 'काव्यमय नेपाल' शीर्षकको पुस्तकमा समेटिएका छन् । पहिलो खण्डमा सिङ्गो नेपालप्रति समर्पित ५३ कविताहरूले स्थान पाएका छन् भने दोस्रो खण्डमा अछामदेखि नयाँसडकसम्मका ३६ स्थाननामहरू र तेस्रो खण्डमा चाहिं पथलैयादेखि हिमालसम्मका ३८ स्थाननामहरूसित सम्बन्धित कविताहरू परेका छन् । अनि 'सन्दर्भ सामग्री' मा कविताहरूको स्रोत जनाइएको छ भने पुछारमा 'छविचित्रावली' शीर्षकमा रूसमा गैरआवासीय नेपाली अभियानको झलक दिने १६ वटा रङ्गीन फोटोहरू समावेश गरिएका छन् ।
'काव्यमय नेपाल' पुस्तकको गाता
यहाँनेर उक्त पुस्तकको लामो परिचय दिनपट्टि नलागेर सुरुमै 'काव्यमय नेपाल' सङ्ग्रहको प्रकाशकीयबाट निम्न उद्धरण समावेश गर्नु समीचीन हुने ठान्दछु:
'प्रस्तुत सङ्ग्रहमा
कविता-पुष्पहरूलाई टिपेर एउटै गाताभित्र समेट्ने जमर्को गरिएको
छ । सर्वप्रथम कुन कुरामा जोड दिनु आवश्यक छ भने 'काव्यमय नेपाल'
भनी न्वारान गरिएको यस सङग्रहमा देशको राजधानी काठमाडौंलगायत नेपालका
विभिन्न ठाउँहरू (नगर, नदी, ताल,
पर्वत, स्मारक आदिे) को बारेमा
नेपाली कविहरूका भावाभिव्यक्तिहरूलाई स्थान दिने यथासम्भव प्रयास गरिएको छ । यस सङ्ग्र्रहका
पचहत्तरभन्दा बढी विभिन्न स्थानहरूको सन्दर्भमा विभिन्न शैली र विचारधारा राख्ने कविहरूद्वारा
विभिन्न समय र परिस्थितिमा रचिएका कविताहरूलाई वर्णानुक्रमअनुसार यथास्थान समावेश गरिएको
छ । छन्दोबद्ध कविताका प्रेमी पाठकहरूका साथै गद्यकविताका हिमायती पाठकहरूले पनि यस
'काव्यमय नेपाल' भित्र विचरण गरेर नेपाली कविताहरूको
किञ्चित् रसास्वादन गर्न सक्ने छन् भन्ने विश्वास गरिन्छ' (पृ.
३) ।
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रूस महासंघ
डिल्ली खरेल 'सुमान', गोविन्दप्रसाद गौतम, कृष्णप्रकाश श्रेष्ठ,
मधुकृष्ण श्रेष्ठ 'माधुर्य', मणिराज पोखरेल
हाम्रा आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्ती समारोह मनाउने क्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका
सचिवको अध्यक्षतामा काठमाडौंमा गठित आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह मूलसमितिको
निर्देशनानुसार मास्कोमा पनि कृष्णप्रकाश श्रेष्ठको अध्यक्षतामा गठित आदिकवि भानुभक्त
आचार्य द्विशतवार्षिक समारोह समिति रूस महासंघको निर्णयानुसार नेपाली र रूसी भाषामा
पनि भानु-समारोहप्रति समर्पित केही पुस्तकहरूको प्रकाशन गर्ने
कार्यक्रम रहेको परिप्रेक्ष्यमा गैरआवासीय नेपाली संघका संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतोबाट 'काव्यमय नेपाल' शीर्षकको पुस्तक प्रकाशनको व्ययभार ग्रहण
गर्ने अग्रसरता देखाइएको हुँदा गैरआवासीय नेपाली संघको सातौं विश्वसम्मेलनमा उक्त पुस्तकको
विमोचन सम्भव भएको हो । स्मरण रहोस्, रूसमा बसोवास गरिरहेका नेपालीहरूले
विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी रूपमा भानु-समारोह मनाउनुका
साथै भारत र नेपालबाहिर सर्वप्रथम रूसको भूमिमा नै हाम्रा आदिकविको आवक्ष-प्रतिमा स्थापना गरेका छन् ।
नेपाली घर (कालुगा अञ्चल) मा भानु प्रतिमा स्थापना
साहित्यकारद्वय कृष्ण धरावासी, अमर न्यौपाने र मूर्तिकार अलेक्सेइ लिओनोभ
भानु-समारोहप्रति
समर्पित 'काव्यमय नेपाल' कवितासङ्ग्रहमा
समाविष्ट प्रकाशन सहयोगी डा. उपेन्द्र महतोको मन्तव्यबाट एक सानो
अंश यहाँ उद्धृत गर्ने अनुमति चाहन्छु । त्यसमा अंशतः भनिएको छ : 'रूसमा १२ वर्षअघि स्थापनाकालदेखि नै यस संस्था .(गैरआवासीय
नेपाली संघ) संग सम्बद्ध रही लेखनकार्यमा संलग्न कृष्णप्रकाश
श्रेष्ठबाट मेचीदेखि महाकालीसम्मको स्थाननामप्रति समर्पित कविताहरूको सङ्कलन
'काव्यमय नेपाल' भानु-समारोहप्रति
समर्पित गरी प्रकाशन गर्ने उद्देश्यले तैयार पारिएको रहेछ । यस पुस्तकको शीर्षकले नै
मेरो ध्यान आकर्षित गरेको थियो र यसमा नेपालको विभिन्न स्थानको सन्दर्भमा भानुभक्त
आचार्यदेखि वर्तमान कविहरूसम्मका कविताहरू समेटिएको पाएँ । यसै बीचमा नेपालीहरूले महाभूकम्पजस्तो
दैवी प्रकोपको सामना गर्नुपरेको र यसै सङ्ग्रहमा समाविष्ट केही कविताको स्रोत बन्न
पुगेको नेपाली वास्तुकलाको धरोहरतुल्य धरहरा लगायत कैयौं भौगोलिक, सांस्कृतिक र धार्मिक स्मारकहरू धराशायी हुनुका साथै धनजनको अपूरणीय क्षति
बेहोर्नुपरेको छ । यस्तो साझा दुःखमा समेत हतोत्साहित नभई देश निर्माणमा लाग्न तत्पर
नेपालीहरूलाई राजनैतिक अस्थिरतालगायत विद्यमान विकट स्थितिबाट अधीर नभई देशप्रतिको
दायित्व वहन गर्ने सत्प्रेरणा समेत 'काव्यमय नेपाल' मा समेटिएका कविताहरूबाट प्राप्त हुनेछ भन्ने आशा राखेको छु' (पृ. ५) ।
'काव्यमय नेपाल'
स्मरणीथ के पनि छ भने यस संग्रहमा समाविष्ट कतिपय स्रष्टाहरुसित व्यक्तिगत रूपमै
परिचित हुने वा देख्ने सौभाग्य मलाई प्राप्त भएको छ । आधुनिक नेपाली काव्यका महारथीहरूमध्ये
कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण
सम, महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा सास फेरिएको प्राणवायु
नै सास फेर्ने र उनीहरूको सौम्य आकृतिको टाढैबाट भए पनि दर्शन गर्ने सौभग्य यस पंक्तिकारलाई
प्राप्त भएको थियो । महर्षिसदृश्य कविशिरोमणिलाई मैले शान्तिविद्यागृह लैनचौरमा पढ्दा
आफ्नो स्कूलजीवनमै उनको घरआँगनमा कैयौंपल्ट देख्न पाएको थिएँ भने आफ्नै पाराले नेपाली
लबेदा-सुरुवालमा डटेर दुईजनाले चढेर हाँक्ने साइकलमा सवार भई
राजधानीका सडकहरूमा झुल्किने नाटककारलाई पनि पकनाजोलमा बस्दा धेरैपल्ट देखेको थिएँ
। काठमाडौंमा सम्पन्न कविशिरोमणिको रथयात्रा (२० पुस २०११) तथा
आर्यघाटमा दिवंगत भएका महाकविको आत्मा रूसी रकेट चढेर चन्द्रलोक पुगेको किम्बदन्ती
पनि मेरो स्मृतिपटमा ताजै छ । प्रकृतिको गाथा गाउने कवि सिद्धिचरण श्रेष्ठसित पनि म
परिचित नै थिएँ र यसै चिनापर्चीको आधारमा रूसमा पुगेपछि थरनामको समानताको आधारमा कसैबाट
साइनोबारे प्रश्न गरिंदा 'काका' भन्ने जवाफ
दिन समेत हिच्किचाहट हुँदैनथ्यो । यसै गरी विजय मल्लसित पनि म मास्को प्रथान गर्नुभन्दा
पहिलेदेखि नै परिचित थिएँ ।
यस संग्रहमा परेका लब्घप्रतिष्ठ कविहरूसंग मेरो व्यक्तिगत चिनापर्ची रहेको तथ्यले
मलाई गर्वको अनुभूति हुन्छ । अपसोच, तीमध्ये कतिपय स्रष्टाहरू आज हाम्रो माझमा छैनन् । ज-जससित मैले परिचित हुने अवसर पाएको थिएँ तीमध्ये केदारमान व्यथित, वैकुण्ठप्रसाद लाकौल, भीमनीधि तिवारी, भूपि शेरचन र अझ मातृकाप्रसाद कोइराला तथा एम.बी.बी. शाहसंग भएको भेट-परिचयको झझल्को
मलाई अद्यापि आइरहन्छ । मास्को आइपुगेका कुनै पनि नेपाली साहित्यकार तथा पत्रकारसंग
चिनापर्ची र भेटघाटको सुअवसर मैले चुकाउने गरेको थिइनँ, यद्यपि
यस्ता भेटघाटहरू अल्पकालीन नै हुनु स्वाभाविकै हो । आफू नेपाल पुग्दा पनि नेपाली साहित्य-स्रष्टाहरूसित भेटघाटलाई नै मैले प्राथमिक महत्व दिने गरेको छु । काठमाडौं,
पोखरा, हेटौंडा आदि विभिन्न स्थानहरूमा आयोजित
साहित्यगोष्ठीका अतिरिक्त व्यक्तिगत रूपमा समेत भएका भेटघाटहरूको पनि मलाई सम्झना आइरहन्छ
। यसप्रकार रमेश विकल, कृष्णचन्द्रसिंह प्रधान, मोहन कोइराला, कमलमणि दीक्षित, मोहन हिमांशु थापा, कृष्णप्रसाद पराजुली, मञ्जुल, तोया गुरुङ, ध्रुवकृष्ण
दीप, अशेष मल्ल, सरुभक्त, कञ्चन पुँडासैनी, नरेन्द्रबहादुर श्रेष्ठ आदि पुराना
र नयाँ पुस्ताका कविहरूसंग परिचित हुनै सौभाग्य प्राप्त भएको हो । यसै सिलसिलामा के
पनि उल्लेख गर्नु आवश्यक छ भने धर्मराज थापा प्रभृति केही स्रस्टाहरूसंग म मास्कोतिर
प्रस्थान गर्नुभन्दा पहलेदेखि नै परिचित थिएँ भने कतिपय लेखक-कविहरूसंग मास्कोमा मेरो भेट-परिचय हुन पुगेको थियो ।
यस पर्रि्रेक्ष्यमा स्वनामधन्य राष्ट्रकवि माधवप्रसाद घिमिरेका साथै वानीरा गिरी,
दिनेश अधिकारी, मदनमणि दीक्षित, प्रभृतिको नामोल्लेख गर्न सकिन्छ ।
नेपालको भौगोलिक, प्राकृतिक,
सामाजिक, सांस्कृतिक आदि विभिन्न पक्षहरूको उल्लेख
नगरिएको नेपाली साहित्यिक कृति पाउनु दुर्लभ नै हुन्छ । यस संग्रहमा नेपाल र नेपालका
कुनै स्थाननामको वर्णन गरिएको वा त्यसबाट प्रभावित भई रचिएको कवितालाई मात्र समेट्ने
प्रयास भएको छ । नेपालबाट धेरै टाढा रहेर यस्ता सबै कविताहरूलाई समेट्न नसकिनु स्वाभाविकै
हुन्छ । तसर्थ संग्रह गर्न छुटेका कविताका रचयिताहरूसंग क्षमायाचना गर्दछु । यस पुस्तकमा
सङ्ग्रहित कविताका सम्पूर्ण स्रष्टाहरूप्रति कृतज्ञता ज्ञापन गर्नुका साथै सर्वाधिकार
स्रष्टाहरूमै रहेको जनाउनु आवश्यक ठान्दछु । म कुन कुरामा विश्वस्त छु भने नेपालका
सबै जिल्लाहरूका साथै गैरआवासीय नेपाली संघको सञ्जाल रहेको विश्वका ७१ देशहरूमै रहेका
नेपालीहरूले यस सङ्कलनमा समाविष्ट कविताहरूको रसास्वादन गर्नेछन् र पूर्व स्रष्टाहरूबाट
प्रेरणा लिंदै भविष्यमा आफू जन्मेको रमणीय थलोको विकासबारे चिन्तन गर्दै नेपाल-बाटिकामा मनोरम कविता-पुष्पहरू पनि फुलाउने छन् भन्ने
आशा छ ।
गैरआवासीय नेपाली विश्व सम्मेलनमा 'काव्यमय नेपाल' विमोचनको दृश्य
डा. उपेन्द्र महतो र प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई पुस्तकको परिचय दिंदै डा. मणिराज पोखरेल
अन्त्यमा यस पुस्तकको सम्पादनमा सघाउने भाइ तेजप्रकाश श्रेष्ठ, पुस्तक-प्रकाशनको
व्यवस्था मिलाउनुका साथै परामर्श दिने निर्णेतावृन्द डा. जुगल
भुर्तेल, डा. भीष्म आचार्य तथा डा.
मणिराज पोखरेल, पुस्तकको साजसज्जासहित डिजाइन तयार
पार्ने भाञ्जा-दम्पति समन श्रेष्ठ तथा प्रमिला प्रधानका साथै
पुस्तक प्रकाशनमा सहयोग पुर्याउने सबैप्रति हार्दिक कृतज्ञता
ज्ञापन गर्दै यस पुस्तकको भावनात्मक खाकालाई साकार रूप दिन ठोस सहयोग गर्ने गैरआवासीय
नेपाली संघका संस्थापक-अध्यक्ष डा. उपेन्द्र
महतोको मन्तव्यको अन्तिम वाक्य सधन्यवाद दोहोर्याउन चाहन्छु
: 'हाम्रो सुन्दर नेपाल काव्यमय नेपाल बनोस् !'
पुस्तक विमोचन फोटो सौजन्य : जीबा लामिछाने ।
दिनाङ्क : ३ नभेम्बर २०१५ (मङ्गलवार), मास्को, रूस महासंघ ।
No comments:
Post a Comment