Saturday, September 6, 2014

इन्द्रविनायक (नेवारी किम्बदन्ती)

थानकोट (शोणितपुर) इमाखेल (शुरूमा शोणितपुर विनायक विद्याश्रमको नामले स्थापित भई हाल मङ्गलोदय माध्यमिक विद्यालय रहेको) चहुरको पुछारमा इन्द्रविनायकको सानो मन्दिर रहेको छ ।त्यसको प्रादुर्भावको सम्बन्धमा प्रचलित किम्बदन्तीको छन्दोबद्ध वर्णन यहाँ प्रस्तुत गरिन्छ ।

        इन्द्रविनायक
     (नेवारी किम्बदन्ती)

प्राचीन कालमा एक थियो भव्य जलाशय,
नागह्रद भनिन्थ्यो त्यो हुनाले नाग-आश्रय ।
सौन्दर्य तालको देखी स्वर्गबाट झरी तल
आउँथे देवता सारा जलविहार खातिर ।।

आदिनारायणस्थान
दहोच्चगिरिमा देखी धरावतरण इन्द्रको
तानी तान्त्रिकले ल्यायो लगाई बल मन्त्रको ।
राख्यो बन्दी तुल्याएर शोणितपुरबाहिर
पितृसंग कुरा गर्ने शर्तमा मुक्ति खातिर ।।
स्वर्गीय पितृका साथ ज्यूँदो मानिसको कुरा
असम्भव हुँदा इन्द्र अन्यौलमा परे पूरा ।
इन्द्र सक्तैनथे गर्न विधिको रीति लङ्घन,
तसर्थ भोग्नुपर्ने भो मान्छेको घोर बन्धन ।।
के गर्ने लौ भनी इन्द्र परे बिखलबन्दमा,
रहे तान्त्रिकको बन्दी बनेर मृत्यलोकमा ।
रोकियो स्वर्गको कामकाज इन्द्रबिना अब,
वर्षाबिना खडेरीले स्वाहा पार्यो धरा सब ।।
महालक्ष्मी मन्दिरको प्रवेशद्वार
स्वर्ग औ मर्त्यको हाहाकार सारा हटाउन
गणेश नै भए बाध्य धरामा तल ओर्लिन ।
शोणितपुरमा उत्रे देवका गणनायक,
पुगी तान्त्रिकका सामु भन्न लागे विनायक :
"पितृसंग कुरा गर्नु छ असम्भव, सज्जन !
इन्द्र बन्दी हुँदा खाली स्वर्गको छ सिंहासन ।
राजी छु इन्द्रको सट्टा धरामा नित्य बस्न म,
शोणितपुरवासीको रक्षा गरेर हर्दम ।।
सुदृष्टि रहला देशवासीमा इन्द्रको सदा,
हराभरा रही खेत उब्जला अन्न सर्वदा ।
सहकाल रही होला उन्नति देशको पनि,
सिद्ध भै म यहीं बस्छु इन्द्रविनायकै बनी ।।"
इन्द्र मुक्त भई लागे स्वर्गतर्फ सरासर,
बन्यो गणेशको स्थान नजिकै देशबाहिर ।
सहकाल भई अन्न प्रशस्त खेतमा फल्यो,
शोणितपुरवासीको घर धपक्क भै बल्यो ।।
मङ्गलोदय माध्यमिक विद्यालय
गणेशको कृपाद्वारा देशको उन्नति भयो,
दहोच्चगिरि फेदीमा धानको रास थुप्रियो ।
फलेको खेतमा धान खान्थे वर्षभरि जन,
चुलिन्थ्यो धानको थुम्को बर्सेनी थपिंदै पुनः ।।
काम नै नगरी खान पाइने हुन गो जब,
अल्सीका पिण्ड भै मोजमज्जामै अल्झिए सब ।
अकर्मण्य बने सारा, चुलियो लोभलालच,
स्वार्थको पूर्तिका लागि मच्चियो मात्र कच्कच ।।
देखेर जनको चाला रिसाए देशरक्षक,
अन्तर्ध्यान भए श्राप दिई इन्द्रविनायक ।
खेतमा धानको रास माटोमा भो परिणत,
नाम त्यस्को रह्यो वाद्वँ किंवा धान्यगिरि अतः ।।
इमाखेलको पुरानो रूख
सुखशान्ति दिंदै नित्य बनेर देशरक्षक
रहून् सुदृष्टि राखेर यहीं इन्द्रविनायक ।
यसरी प्रार्थनासाथ गर्दै देश-परिक्रमा
मनाइन्छ रथजात्रा गरी कार्तिक पूर्णिमा ।।
स्वधाहिति (च्वछेँ, थानकोट)
३१ डिसम्बर २००६ (आइतवार)
श्रेष्ठ कृष्णप्रकाश, नेपाली किम्बदन्तीमाला, 
वि.सं. २०६३, पृ. ७६-७७ ।

No comments:

Post a Comment