Tuesday, January 12, 2016

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

पुस्तक-प्रतिक्रिया
इतिहासका प्रत्यक्षदर्शी र मौन रक्षकहरू
भिक्टर मिखाइलोभिच याकोभ्लेभ
(साहित्यशास्त्रका विद्यावारिधि)

सेर्गेइ मुर्तुजालिएभ, कृष्णप्रकाश श्रेष्ठ । ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक (बीसौँ-एक्काइसौँ शताब्दीको सङ्घारमा दागेस्तान र नेपालमा सामाजिक-आर्थिक तथा नृवंशात्मक सांस्कृतिक परिवर्तन) । मास्को-काठमाडौँ, र्इ.सं. २०१२ ।
ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

बेग्लाबेग्लै ऐतिहासिक र सांस्कृतिक अनुभवको प्रतिनिधित्व गर्ने तर कैयौँ समान खालका समस्याहरूसमक्ष एक्कासी उपस्थित हुन पुगेका इतिहासशास्त्रका विद्यावारिधि प्रोफेसर सेर्गेइ इब्राहिमोभिच मुर्तुजालिएभ तथा प्राच्यविद्, पत्रकार एवं लेखक कृष्णप्रकाश श्रेष्ठको लेखनीद्वारा एक-दोस्राबाट निकै टाढा रहेका दागेस्तान गणतन्त्र र सङ्घीय प्रजातान्त्रिक गणतन्त्र नेपालको उदाहरणमा पर्वतीय प्रदेशहरूको आधुनिक विकासका जल्दाबल्दा समस्याहरूको अध्ययनप्रति समर्पित गहकिलो ग्रन्थ निस्सृत भएको छ । पृथ्वीको विभिन्न पुछारमा उभिएका उतुङ्ग पर्वत शिखरहरूले मानौँ दूरतालाई निमिट्यान्न पारेझैं गरी एकै रेखाद्वारा दुवै लेखकलाई एक-आपसमा जोडिदिएका छन् । त्यो काल्पनिक रेखा मानौँ यस्तो सूत्र हो जसको झन्कारमा समयको धडकन सहजै ठम्याउन सकिन्छ ।
भिक्टर मिखाइलोभिच याकोभ्लेभ
विवेच्य प्रस्तुत ऐतिहासिक-भौगोलिक अनुसन्धानात्मक ग्रन्थलाई एल्.एन्. गुमिल्योभले कैयौँ वर्षदेखि विकसित गर्दै ल्याएको 'नृवंश र धरातल' भन्ने विषयकै निरवच्छिन्न गतिको रूपमा विचार गर्न सकिन्छ ।
झण्डै समान पृष्ठका दर्इ खण्डमा विभाजित प्रस्तुत ग्रन्थको एक खण्ड दागेस्तान र अर्को खण्ड नेपालप्रति समर्पित छ । यी दुवै खण्डको विषयवस्तु पनि एक-दोस्राकै अनुकूल छन् ।
दुवै गणतन्त्रमा पहाडी क्षेत्रमा बसोवास गर्ने वासिन्दाहरूको सङ्ख्यामा ह्रासकै अनुपातमा तल समथर (नेपालमा तराई) तिरका इलाकाहरूमा जनसङ्ख्याको वृद्धि हुनु समान चरित्रको आन्तरिक आप्रवासनको प्रवृत्ति हो । मुख्यतया नगरीकरण (सहरीकरण), जीवनस्तरको विकासमा अन्तर, यसैमा आधारित रोजगारीको समस्या, यातायात तथा आमसञ्चार माध्यमको सुलभ्यता अथवा दुर्लभ्यता इत्यादि आर्थिक तथा सामाजिक कारकहरू नै यसको कारण हो ।
सेर्गेइ इब्राहिमोभिच मुर्तुजालिएभ
दागेस्तान खण्डका लेखक
जे जसो भएतापनि पर्वतीय क्षेत्रहरूमा नै परम्परागत आर्थिक कारोबार, पेशागत शिल्पकारिता र विलक्षण क्रियाकलापहरू सुरक्षित रहेका छन् । आधुनिक अवस्थामा समेत युगानुयुगदेखि सिर्जना गरिएका मूल्य-मान्यताहरूको संरक्षणका लागि यस्ता प्रदेशहरूलाई राज्यको तर्फबाट समर्थनको आवश्यकता हुन्छ ।
प्रस्तुत ग्रन्थमा दुवै पहाडी गणतन्त्रहरूको राजनीतिक संरचना तथा प्रादेशिक प्रशासनमा विशेष ध्यान केन्द्रित गरिएको छ । हुन त तीमध्येको एउटा गणतन्त्र अर्थात् दागेस्तान सङ्घात्मक राष्ट्रको एक सङ्घीय सङ्घटक हो भने अर्को चाहिँ अर्थात् नेपाल स्वतन्त्र सङ्घात्मक राज्य हो । तैपनि दुवै गणतन्त्रहरूमा विरोधाभास भने उत्पन्न हुने गरेका छन्, समस्याहरू पनि नभएका होइनन्, र समाधानका उपायहरूको पनि खोजी गरिन्छन् ।
निसन्देह नै ऐनकानूनको निश्चित सैद्धान्तिक भूमिका हुन्छ । कानूनी दस्तावेजहरूको विषयमा विचार-विमर्श, त्यसबाट उद्धरणहरूको प्रस्तुति, तिनका मूलभूत विषयको विवेचनामा यस ग्रन्थको पहिलो खण्डमा निकै स्थान दिइएको छ ।
कृष्णप्रकाश श्रेष्ठ
नेपाल खण्डका लेखक
जहाँसम्म नेपालको कुरा छ, त्यसको हकमा यहाँ निरन्तर चलिरहेका राजनीतिक प्रक्रियाहरू र सामाजिक परिवर्तनले अझै मूल कानूनको रूप लिइनसकेको अवस्था छ । त्यहाँ संविधान लेखनको प्रक्रिया अद्यापि जारी नै रहेको छ । त्यसै हुनाले हामीले यस देशमा राजनीतिक शक्ति सन्तुलन तथा त्यसको विकासलाई जोख्ने कृष्णप्रकाश श्रेष्ठजस्ता अनुभवी पत्रकारको गहन निरीक्षणमा आधारित राजनीतिक रङ्गमञ्चमा घटिरहेका घटनाहरूको चित्रणबाट अवगत हुने सम्भावना पाएका छौँ ।
ग्रन्थको पहिलो खण्डमा पनि हामी यस्तै किसिमको निरीक्षण पाउँछौँ ।
बहुजातीयता । प्रस्तुत ग्रन्थका दुवै खण्डहरूमा बहुराष्ट्रियता र नृवंशात्मक विविधताको विषयलाई विशेष स्थान दिइएको छ । मूलतः तीसभन्दा बढी आदिवासी नृवंशात्मक समूहहरूले दागेस्तानको सांस्कृतिक-ऐतिहासिक सम्पदाको प्रतिनिधित्व गर्छन् । यस गणतन्त्रमा उत्तरी ककेशियाली, आल्ताईली र हिन्द-यूरोपेली परिवारका विभिन्न भाषाहरू र उपभाषाहरू बोल्ने १२० भन्दा बढी जनजाति र नृवंशात्मक समूहहरूको बसोवास रहेको छ । नेपालको नृवंशात्मक र भाषागत चित्र अझ बढी गाढा छ । नेपाली समाजको सामाजिक स्थितिमा वर्णव्यवस्थाको समेत अस्तित्वले गर्दा यो झन् जटिल प्रतीत हुन्छ ।
बहुधर्म । प्रस्तुत ग्रन्थमा उल्लिखित धार्मिक आस्थाको विषय एउटा ज्यादै गम्भीर विषय हो । दागेस्तानका अधिकांश वासिन्दाहरू पुनर्निमाणको अवधि पार गरेपछि एक किसिमको 'नवजागरण' मा प्रविष्ट गरेको इस्लाम धर्माबलम्बी छन् । यस धर्मको प्रभाववृद्धिका साथै त्यसको राजनीतिकरणको प्रक्रिया देखापर्न थालेको छ । राज्य सञ्चालन र स्थानीय स्वशासनमा मुसलमान समाज, सङ्गठन र धार्मिक संस्थाको सक्रियता बढ्दै गइरहेको देखिन्छ । जग्गा-जमीन र सम्पत्तिमा स्वामित्वसम्बन्धी झैझगडा शारियातको नियमको आधारमा छिनफान गर्ने प्रवृत्ति देखा पर्न थालेको छ । परन्तु यहाँ नृवंशात्मक विविधताले राजनीतिक स्पर्धाको गति मन्द तुल्याउन मद्दत गरिरहेको छ (पृ. ७२)
दागेस्तानमा इस्लाम र इसाई धर्मबीच प्रतिस्पर्धा छैन, किनभने क्रिश्चियन संस्थाहरूको सङ्ख्या यहाँ इस्लाम सङ्गठनहरूको भन्दा निकै कम (५० गुनाभन्दा बढी) छ (पृ. ७४) । तैपनि इस्लाम धर्माबलम्बीहरूको अधिकांश हिस्सामध्ये धर्मनिरपेक्षता र राज्यबाट धर्मको पृथक्कीकरणको सिद्धान्तका विरोधीहरूको सङ्ख्या कम छैन । वर्तमान विश्वमा इस्लाम धर्माबलम्बीहरूका लागि मात्र नभई अन्य कतिपय धर्मका अनुयायीहरूको लागि पनि सर्वसत्तावादी प्रवृत्ति र प्रभुत्ववादी चेतना नै धर्मनिरपेक्ष सामाजिक संस्थाहरू र मूल्य-मान्यताहरूका विरुद्ध उनीहरूको सम्भावित टक्करको आधार हो ।
उत्तरी ककेशियामा धार्मिक समस्या निकै चर्को प्रतीत हुन्छ । नेपालले चाहिँ सन् २००६ मै विश्वको एक मात्र हिन्दू राज्यको आधिकारिक मान्यतालाई त्यागेर धर्मको सम्बन्धमा निरपेक्षताको घोषणा गरेको छ (पृ. २५०) । जे भए तापनि यस देशमा अति महत्त्वपूर्ण हिन्दू तथा बौद्ध उत्सव-पर्वहरूमा उपस्थित भई धार्मिक कार्यभार वहन गर्नु राष्ट्राध्यक्षको सांस्कृतिक दायित्व रहेको छ । यदाकदा कट्टर हिन्दू धर्माबलम्बीहरूले राज्यसत्ताको धर्मनिरपेक्षताको विरोधमा आवाज उठाउने गरेका छन् । तैपनि नेपाली जनताको पूर्णतः धर्म-सहिष्णु चरित्र र युगौँदेखि कायम रहेको परम्पराको पालना सर्वोपरि रहेको छ । स्मरणीय यो पनि छ कि नेपालमा इस्लाम धर्मको इतिहास ५०० वर्ष लामो छ भने क्रिश्चियन धर्मले पनि साढे तीन सय वर्ष पार गरेको छ ।
प्रस्तुत ग्रन्थमा दागेस्तान र नेपालको सांस्कृतिक जीवनबारे प्रशस्त चर्चा भएको छ । यो विषय वास्तवमै असीमित छ । यसमा परम्पराको विशेष भूमिका हुन्छ । संस्कृतिको क्षेत्रले मौलिक ऐतिहासिक विशिष्टता राख्ने हुँदा तुलनाको निम्ति कुनै ठोस कारकलाई अगाडि ल्याउने सम्भावना कमै पाइन्छ । अंशतः यो कुरा लोकवार्ताका लागि पनि लागू हुन्छ । त्यसमा पनि आधुनिक समाजको जीवनमा परम्परागत संस्कृतिको महत्त्वलाई पुनर्मूल्याङ्कन गर्नु अझ कठिन हुन्छ । संस्कृतिले त्यसको नैतिक आधारको निर्माण गर्छ । यसको आर्थिक पक्ष्य पनि छ : पर्यटनबाट आय-आर्जन । यस क्षेत्रले निकै द्रुत गतिले विकास गरिरहेको छ, र निसन्देह नै, यसको सम्भावना निकै ठूलो छ ।
रासुल हाम्जातोभ
दागेस्तानका जनकवि
बौद्धिक संस्कृति अमूल्य निधि हो । त्यससितको सम्पर्कबाट आफ्नो निम्ति  (जो त्यसलाई अनुबोध गर्न चाहन्छ ती सबैको निम्ति) फेरि-फेरि पनि रहस्योद्घाटन सम्भव हुन्छ, जसरी दागेस्तानका विख्यात महाकवि (दागेस्तानका मात्र होइनन्) रासुल हाम्जातोभले गरेका थिए । नेपालप्रति समर्पित उनका काव्यहरूले संस्कृतिहरूको वास्तविक र गहन अन्तर-सम्वादको उद्घाटन गरिदिएका छन्, त्यसमा व्यापक रूपले सहभागी बन्ने ढोका खोलिदिएका छन् । कृष्णप्रकाश श्रेष्ठले प्रस्तुत ग्रन्थको आफ्नो हिस्साअन्तर्गतको खण्डमा नेपालको लोकवार्ताको उल्लेख गरेका छन्, त्यसको अध्ययनको इतिवृत्तको बयान गरेका छन्, र छुट्टै परिच्छेदमा आफूले नेपालीमा अनुवाद गरेको रासुल हाम्जातोभका काव्यहरूको विवेचना प्रस्तुत गरेका छन् (पृ. २६१-२९६)
यस प्रकारले विवेच्य ग्रन्थलाई एक प्रकारको विश्वकोषकै रूपमा विचार गर्नु युक्तिसङ्गत हुनेछ भन्ने मलाई लाग्छ ।
          मास्को, रूस महासंघ,

दिनाङ्क : १८ सेप्टेम्बर २०१४ ।

No comments:

Post a Comment