Friday, February 20, 2015

रूसमा नेपाली पाठशालाको कथा

नेपाली साहित्यक्षेत्रमा देखापर्न थालेको अग्रेजी भाषामा नेपाली वाङ्मयको नवीनतम शाखाको जगमा रूसमा हुर्किरहेका नेपाली किशोरद्वय अनुराग तथा अनुकृत लामिछाने दाजुभाइबाट पुस्तकरूपी ईंट थपिएको छ । 

रूसमा हुर्केका अनुराग तथा अनुकृत लामिछानेको लेखनीबाट अंग्रेजी भाषामा निसृत दैनन्दिनी, यात्रावर्णन, संस्मरण, लेख, निबन्ध, कविता र कथा समावेश गरिएका दुई पुस्तक सन् २०१३ मा प्रकाशमा आए। अनुराग लामिछानेको पुस्तकको शीर्षक 'अ बड्स क्रनिकल' (कोपिलाको घटनावली) काव्यात्मक प्रतीकको द्योतक बनेको छ भने अनुकृत लामिछानेको पुस्तक 'द वल्र्ड थ्रु माई आइज' (मेरो दृष्टिमा संसार) अनुभूतिजन्य प्रतीत हुन्छ। विषयगत सात खण्डमा विभाजित पहिलो पुस्तकमा ७ देखि १२ वर्षको उमेरभित्र लेखिएका कथा, यात्रावर्णन, निबन्ध र कविता समावेश गरिएका छन् भने पाँच परिच्छेदमा विभाजित दोस्रो पुस्तकमा ७ देखि ११ वर्षको उमेरभित्र लेखिएका कविता, कथा, निबन्ध र यात्रानुभूति समाविष्ट छन्। 
                        अनुराग र अनुकृतको साथमा कृष्णप्रकाश श्रेष्ठ
मस्कोस्थित नेपाली पाठशालाका मेरा दुई शिष्यको सिर्जनात्मक प्रतिभाको फल दुवै पुस्तक पढ्न पाएर म निकै आनन्दित हुन पुगेको छु। हर्षको कुरो, उनीहरूलाई मैले नेपाली भाषाको कखरा पढाउने अवसर पाएको थिएँ। मैले कक्षामा नेपाली भाषामा मात्र कुरा गर्ने नियम पालना गराउन बेलाबेलामा चेतावनी समेत दिनुपर्दथ्यो। उनीहरू मस्कोमा अंग्रेजी माध्यमबाट पढाइ हुने स्कुलमा पढ्दै थिए। आपसमा समेत अंग्रेजीमै कुराकानी गर्ने उनीहरूको बानी थियो। नेपाली कक्षामा पनि उनीहरू अनायासै अंग्रेजीमै कुरा गर्न थाल्दथे र मैले चेतावनी दोहोर्‍याउनुपर्दथ्यो। कक्षामा नेपालीबाहेक अन्य भाषा बोलेमा त्यस दिनको पाठ बुझाएकोमा दिइने पूर्णांक ५ मध्ये १ अंक कट्टा गर्ने नियम थियो। 
मलाई अंग्रेजी भाषामा अनुराग र अनुकृतको राम्रो दखल छ भन्ने थाहा थियो। उनीहरूले अंग्रेजीमा लेखेका डायरी, यात्रार्णन, कथा आदि मैले इमेलमा पाउने गरेको थिएँ। यसबाट मलाई उनीहरूको सिर्जनात्मक स्तर विकासको लेखाजोखा गर्ने अवसर प्राप्त हुन्थ्यो। म अक्सर उनीहरूलाई अंग्रेजीमा जस्तै नेपालीमा पनि फरर बोल्न र लेख्न प्रेरित गरिरहन्थें। उनीहरू पनि मेरो आग्रह स्विकार्दै कनीकुथी नेपालीमा केही लेखेर ल्याउँथे। उनीहरूले नेपाली नजानेर अंग्रेजी शब्द प्रयोग गरेको ठाउँमा नेपाली शब्द थपेर पाठ दिने गरेको थिएँ। यसरी उनीहरूको नेपाली शब्दभण्डार क्रमशः बढ्दै गयो। यी दुई किशोरले सानै उमेरमा साहित्यिक कृति रचना गर्ने प्रेरणा पिता जीवा लामिछाने र आमा डा. विन्दिता लामिछानेद्वारा नै पाएका हुन्।
             डा. विन्दिता लामिछाने पुत्रद्वयको साथमा
 नेपाली पाठशालाका सबै शिष्यको उमेर समान थिएन। नेपाली परिवारमा हुर्किरहेका केटाकेटीले अलिअलि नेपाली बोल्ने र बुझ्ने भए पनि नेपाली बुवा र रूसी आमा भएका संयुक्त परिवारमा हुर्किरहेका केटाकेटीलाई नेपाली पटक्कै बोल्न आउँदैनथ्यो। उनीहरूलाई सँगसँगै पढाउनुपर्दा निकै अप्ठेरो पर्दथ्यो।
 'नेपाली भाषा तथा संस्कृति शिक्षण केन्द्र' नामक पाठशालाको उद्देश्य नेपाली मूलका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिको ज्ञान प्रदान गर्नु थियो। यसको सञ्चालन नेपाली नारी निकुञ्जले गरेको थियो। छात्रछात्रा र शिक्षकहरू पनि थोरै थिए। छात्रछात्राको उमेर र स्तरअनुसार पढाउने सम्भावना थिएन। नारी निकुञ्जकी अध्यक्ष डा. समता प्रसादको जोड विभिन्न कक्षाका लागि पाठ्यक्रम तयार पानुपर्छ भन्ने थियो। तर त्यो सम्भव थिएन। प्रत्येकका लागि एउटै पाठ्यक्रम नभई नेपाली बोल्न र लेखपढ गर्न सिकाउने एकमात्र लक्ष्य लिएर बेग्लाबेग्लै किसिमले पढाउनु उचित हुने मेरो बुझाइ थियो। 
                                   बाल चित्रकला प्रतियोगिता
श्रीमती राजदूतको हैसियतले नारी निकुञ्जकी मानार्थ अध्यक्ष डली गुरुङले शिक्षिकाको रूपमा सघाउन थाल्नुभएपछि स-साना केटाकेटीलाई मन्टेसरी पद्धतिका आधारमा पढाउने सम्भावना पाइएको थियो। सरस्वती खतिवडा, जितेन्द्र उपाध्याय, मनीषा बज्राचार्यलगायतले पनि पढाउने अभिभारा बोकेका थिए। नेपाली पाठशालामा रुसी शिक्षिकाले पनि चित्रकला र नाचगान सिकाउने व्यवस्था मिलाइएको थियो। नारी निकुञ्जकी उपाध्यक्ष डा. विन्दिता लामिछानेको जिम्मामा पाठशालाको सञ्चालन र व्यवस्थापनको अभिभारा रहेको थियो । निकुञ्जका सदस्यहरूले नेपाली नृत्य र गायनको अभ्यास गराउँथे। वसन्तपञ्चमी, दसैं, तिहार, होली मनाउने क्रममा सांस्कृतिक कार्यक्रममा हुन्थ्यो। 
                                          मास्कोमा होलीको रमझम
छात्रछात्राहरूलाई लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा प्रभृति कविहरूका केही कविताको अर्थबोध गराइन्थ्यो। नेपाली कविता र संस्कृतका केही श्लोक पनि कण्ठ पार्न लगाइएको थियो। लक्ष्मीप्रसाद देवकोटाका बालकविताहरूको संग्रह उनीहरूका रुसी दौंतरीका लागि समेत उपयोगी हुने ठानेर रूसी कवयित्री ल्युदमिला साल्तिकोभाको सहयोगमा रुसी भाषामा छन्दोबद्ध अनुवाद गरिएको थियो। 'सुनको बिहान' शीर्षकको उक्त द्विभाषिक बालकवितासंग्रह नेपाली र नेपाली मूलका रूसी बालबालिकाहरूका लागि मित्र जीवा लामिछानेको सहयोगमा प्रकाशन गरिएको थियो। 
रूसमा नेपालीहरूका संघ-संस्थाहरूको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत नेपाली, रुसी तथा अंग्रेजी भाषामा समेत मौलिक तथा अनूदित पुस्तक प्रकाशन भइरहेका छन्। मित्र जीबा लामिछानेले नै रुसी भाषामा हिरण्यलाल श्रेष्ठ लिखित 'नेपाल परिचय', स्वामी आनन्द अरुणलिखित 'सन्त-दर्शन' र अंग्रेजी भाषामा नेपाली कविताहरूका २ संग्रह 'सेलेक्टेड नेपाली पोइम' 'सेलेक्टेड नेपाली लिरिकल पोइम', 'सेलेक्टेड नेपाली एसेज' र वानिरा गिरीलिखित उपन्यास 'द प्रिजन' प्रकाशनमा सहयोग गरेका छन्। 
नेपाली साहित्यलाई अंग्रेजीमा र परोक्ष रूपमा रुसी भाषामा अनुवादको थालनी गर्ने नेपाली लक्ष्मीप्रसाद देवकोटा हुन्। उनले आफ्ना केही कविता अंग्रेजीमा स्वयं अनुवाद गरेका थिए। सन् १९५८ मा तासकन्दमा सम्पन्न अफ्रो-एसियाली लेखक सम्मेलनका लागि नेपाली र अंग्रेजीमा अनूदित कविताहरू छापिएको 'इन्द्रेनी' पत्रिकाको विशेषाङ्क उपहार ल्याएर उनले रुसी भाषामा पहिलो नेपाली कवितासङ्ग्रहको प्रकाशनमा परोक्ष योगदान पुर्‍याएका थिए। 

मलाई विश्वास छ, मेरा शिष्यद्वय अनुराग र अनुकृत लामिछाने-बन्धुले किशोरावस्थामै अंग्रेजीमा साहित्यक पुस्तकहरू लेखेर भर्खरै मात्र नेपाली साहित्यक्षेत्रमा देखापर्न थालेको अग्रेजी भाषामा नेपाली वाङ्मयको नवीनतम शाखाको श्रीवृद्धिमा भविष्यमा निसन्देह नै गहकिलो योगदान पुर्याउने छन् । अस्तु !
               नेपाली पाठशालाका शिष्यहरूको साथमा

No comments:

Post a Comment