Sunday, July 31, 2016

कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती-२०३ सुसम्पन्न

हाम्रा आदिकवि भानुभक्त आचार्थको २०३औं  जन्मजयन्तीको उपलक्षमा २४ जुलाई २०१६ (आइतवार) का दिन मास्कोको हरियालीपूर्ण रमणीय स्थल वनस्पतिउद्यान पार्कमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अधिवेशनमा नयाँ कार्यकारिणी समिति निर्वाचित गरिनुका साथै समारोह सम्पन्न भयो ।  

विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अग्रसरतामा रूसमा रहेका नेपालीहरूका सवै सामाजिक सङ्घसंस्थाहरू (गैरआवासीय नेपाली संघ, रूस सीआइएस नेपाल उद्योगवाणिज्य संघ, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली छात्रसंघ, नेपाली नारी निकुञ्ज) को समेत सक्रिय सहभागितामा कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित साहित्य समारोह सुसम्पन्न भएको छ ।
भानुजयन्ती २०३ को एक  झलक
गैरआवासीय नेपाली संघ, रूसका साथै विश्व नेपाली साहित्य महासंघ रूस शाखाका समेत महासचिव डा. मनमूर्ति भुर्तेलबाट आदिकविकृत रामायणबाट उद्धृत श्लोकको लयपूर्ण प्रस्तुतिका साथै भानुभक्त आचार्यको तस्बीरमा पुष्पाञ्जली अर्पण गर्दै साहित्य समारोहको शुभारम्भ भयो ।
भानुजयन्ती समारोहको अध्यक्षमण्डल
सपिला राजभण्डारी, ल्युदमिला आभ्देएभा, इन्दरा अर्याल, कृष्णप्रकाश श्रेष्ठ, 
डा. सूर्यप्रकाश पौड्याल, नेल्ली स्तेपानोभा, डां बद्री के‍.सी‍.
सर्वप्रथम समारोह आयोजनाका संयोजक गणेश रामदामले कार्यक्रममा उपस्थित सबै सहभागी तथा पाहुनाहरूको हार्दिक स्वागत गर्नुभयो । समारोहका प्रमुख अतिथि रूसका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती  इन्दिरा अर्याल गोहिवारले नेपालका आदिकविको योगदानबारे संक्षेपमा प्रकाश पार्नुका साथै रूसमा बसोवास गरिरहेका नेपालीहरूले मास्कोको रमणीय पार्कमा भानु जन्मजयन्ती मनाउने परम्परा कायम राख्दै आएकोमा हर्ष प्रकट गर्नुभयो ।
भानुजयन्ती २०३ का सहभागीहरू
गैरआवासीय नेपाली संघ (एनआरएन) का केन्द्रीय महासचिव डा. बद्री के.सी.ले विश्वका ७३ देशमा रहेका नेपालीहरूले यस वर्ष पनि सक्रियतापूर्वक भानुजयन्ती मनाएको सूचित गर्नुभयो । एनआरएनए केन्द्रीय महिला संयोजक सपिला राजभण्डारीले हालै दोहामा मध्यपूर्वका देशहरूका प्रतिनिधिहरूद्वारा भाग लिइएको सम्मेलनको गतिविधि र महिला समस्याबारे प्रकाश पार्दै नेपालीहरूमा सभ्य संस्कारको प्रबर्धनमा यस किसिमको साहित्यिक कार्यक्रमको निकै गहकिलो प्रभाव पर्ने जनाउनुका साथै नेवारी रञ्जना लिपिलाई संयुक्त राष्ट्रसंघमा नेपालको लिपिको रूपमा मान्यता दिइएको उल्लेख गर्दै  नेपालका अन्य जनजातिका भाषासाहित्यको विकासमा पनि ध्यान दिनु आवश्यक छ भन्ने सुझाउनुभयो ।
विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष एवं एनआरएनए केन्द्रीय सदस्य गोविन्दप्रसाद गौतमले यस संस्थाले आफूलाई कविता लेख्न उत्प्रेरित गरेको चर्चा गर्दै साहित्यानुरागी नेपालीहरूको सहयोगबाट नेपाली र रूसी भाषामा कतिपय पुस्तकहरू प्रकाशन गर्न सकिएको र भविष्यमा पनि यो क्रम जारी राखिने जानकारी दिनुका साथै भानुजयन्ती कार्यक्रमको सफलतामा योगदान गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
भानुजयग्ती-२०३  समारोहमा उपस्थित साहित्यानुरागी सहभागीहरू
 गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का  अध्यक्ष दीनानाथ राजभण्डारीले   मास्कोमा आदिकवि भानुभक्त आचार्यको २०३-औं जन्मजयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अग्रसरतामा आयोजित समारोह कार्यक्रमको सफलताको कामना गर्नुभएको सूचना दिंदै एनआरएनए रूसका उपाध्यक्ष डिल्ली खरेल 'सुमन' ले  नेपाली भाषासाहित्यको विकासमा हाम्रा आदिकविको देनबारे प्रकाश पार्नुभएको थियो ।
नेपाल खेलकूद तथा संस्कृति समाजका उपाध्यक्ष रामेश्वर गौतमले भानुभक्त आचार्यलाई मोतीराम भट्टले आदिकविको संज्ञा दिएको दशौं वर्षपछि मात्र बल्ल राणा प्रधानमन्त्री जुद्ध शम्शेरले आदिकवि भने पनि हुन्छभनी आधिकारिक मान्यता दिएको जनाउँदै हाल भानुभक्तको जन्ममिति, उनको विचार आदिको सन्दर्भमा विवाद उठिरहेको सन्दर्भ कोट्याउनुभयो । अन्य वक्ताहरूले पनि भानुभक्तको जीवन र कृतित्वको विभिन्न रोचक पक्षबारे प्रकाश पारेका थिए ।
भानुजयन्ती-२०३ का सहभागीहरू
रूसनेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलले भारत र नेपालभन्दा बाहिर सबभन्दा पहिले रूसमा बसोवास गरिरहेका नेपालीहरूको प्रयासबाट रूसको कालुगा अञ्चलस्थित नेपाली घरमा भानुभक्त आचार्यको सालिक स्थापना गरिएको स्मरण गराउँदै राजनीतिनिरपेक्ष संस्था भनेर राजनीति गर्ने प्रवृत्ति मान्य हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
रूसनेपाल सहयोग तथा मैत्री समाजको प्रतिनिधित्व गर्ने महिला अतिथि नेल्ली स्तेपानोभाले सन् १९७७ मा पहिलोपल्ट नेपालयात्राको समयदेखि नेपालीहरूसित व्यक्तिगत रूपमा परिचित भएको संस्मरण सुनाउँदै रूसनेपाल सहयोग तथा मैत्री समाजको तत्वावधानमा रूस र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ६० वर्षको सन्दर्भमा निकट भविष्यमै सम्पन्न हुन गइरहेको साहित्यिक साँझमा भाग लिने आग्रह गर्दै  निम्त्याएकी थिइन् ।
भानुजयन्ती-२०३ का सभापति कृष्णप्रकाश श्रेष्ठ वक्तज्य दिंदै
रूसी भाषामा भानुभक्तप्रति समर्पित काव्यकी रचयिता रूसी कवयित्री ल्युदमिला आभ्देएभाले नेपालबारे रूसी भाषामा प्रकाशित पुस्तकहरूको अध्ययनबाट नेपाली साहित्यको परिचय पाइएको जनाउँदै भानुभक्त र पुश्किनको विषयमा  यसै कार्यक्रमका लागि रचना गरिएको कविता पाठ गरेकी थिइन् । भानुभक्तप्रति समर्पित काव्यसहित हालै रूसी भाषामा प्रकाशित संग्रह उनलाई हस्तान्तरण गरिएको थियो ।
रूसी कवयित्री ल्युदमिला आभ्देएभा मञ्चबाट बोल्दै
समारोह सञ्चालक डा. मनमूर्ति भुर्तेलले त्यसै दिनको पूर्वार्धमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अधिवेशनमा नयाँ कार्यकारिणी समितिको निर्वाचन सम्पन्न भएको सूचना दिंदै नवनिर्वाचित निम्न पदाधिकारी तथा सदस्यहरूको नाम पढेर सुनाउनुभयो : अध्यक्ष गोविन्दप्रसाद गौतम, उपाध्यक्ष डिल्ली खरेल सुमन’, महासचिव डा. मनमूर्ति भुर्तेल, सचिव इन्द्रप्रसाद भुसाल, कोषध्यक्ष गणेश रामदाम तथा सदस्यवृन्द कमला रावल पाण्डे, गोविन्दप्रसाद आचार्य, तिलक तिवारी शम्भुर सुमन रिजाल ।
समारोहमा उपस्थित साहित्यानुरागी महानुभावहरूले ताली पिटेर नवनिर्वाचित कार्यकारिणी समितिको हार्दिक स्वागत गरेपछि समारोहको सभापतित्वकर्ता यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) बाट नयाँ कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई ‘…नेपालको वाङ्मयको प्रचारप्रसार, प्रबर्धन र श्रीवृद्धिका लागि सक्रियतापूर्वक कार्य गर्ने…’ प्रतिबद्धता जनाइएको बेहोरा उच्चारण गर्दै सत्यनिष्ठापूर्वक शपथ ग्रहण गराइयो ।
 विश्व नेपाली साहित्य दहासंघ रूस शाखा
अन्त्यमा समारोहका सभापतिको आसनबाट दिइएको समापन वक्तव्यमा आधुनिक नेपाली साहित्यिक भाषाका प्रवर्तक आदिकवि भानुभक्त आचार्यले अक्सर भन्ने गरिएझैं संस्कृत भाषाबाट रामायणको उल्था गरेको नभई त्यसको आधारमा मौलिक नेपाली रामायणकाव्य रचना गरेको प्रष्ट्याउँदै इन्डोनेसिया, कम्बोडिया र मङ्गोलियामा समेत रामायणलेखिएको र अबधी भाषामा तुलसीकृत रामायणर नेवारी भाषामा समेत सिद्धिदास अमात्यकृत रामायणअस्तित्वमा रहेको सूचित गर्दै रूसी भाषामा रामायणउपलब्ध भएको र एक ताका रामायणनाटक समेत महिनौ चलेको तथ्यबारे प्रकाश पार्दै  रूसमा गैरआवासीय नेपाली संघलगायत विभिन्न संस्थाहरूका प्रतिनिधिहरूसहित गठित ६१ सदस्यीय आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिको कार्यक्रमअनुसार विश्व नेपाली साहित्य महासंघ रूस शाखाको  संयोजकत्वमा साहित्यानुरागी महानुभावहरूको सहयोगबाट रूसमा भानुभक्त आचार्यको आवक्षप्रतिमा स्थापनाका साथै विगत ३ वर्षभित्र नेपाली र रूसी भाषामा समेत ९ वटा पुस्तक प्रकाशित भइसकेको जानकारी दिइयो र विश्वमै प्रथम भएर लोकको गरूँ हित भनीशीर्षकमा आदिकविका फुटकर कविता र काव्याङ्शहरू समेत रूसी भाषामा प्रकाशमा ल्याइएको र रूसी भाषामा उनैको भक्तमालार समारोहमा उपस्थित रूसी कवयित्री ल्युदमिला आभ्देएभाले भानुभक्तबारे रचना गरेको काव्यसहित नेपाली वाङ्मयका भानुशीर्षकको हालै छापिएको पुस्तक  काव्यकारलाई हस्तान्तरण गरिएको थियो ।
रूसी भाषामा प्रकाशित पुस्तक
'नेपाली वाङ्मयका भानु' 
आदिकविको द्विशतवार्षिक समारोहको फोटो
भानु समारोहकै अवसरमा यस वर्ष आफ्नो अध्ययन पूरा गरी चिकित्सक तथा इन्जिनियरको डिग्री प्राप्त गर्ने डा. प्रतिसरा मानन्धर, डा. प्रभा के.सी., डा. रमेश पौडेल, डा. उत्तम लामिछाने, डा. प्रमिल प्रधान, ई. सुकृत शाक्य तथा ई. आलिस दाहाललाई हार्दिक शुभकामनासहित टीका लगाइदिएर खादा ओढाई सम्मान गरियो ।
अध्ययन पूरा गरी डिग्री प्राप्त गर्नेहरूलाई खादा ओढाएर  सम्मान
साहित्यिक कार्यक्रम अन्तर्गत नेपाली कार्यवाहक राजदूत श्रीमती इन्दिरा अर्याल, एनआरएनएका केन्द्रीय महासचिव डा. बद्री के.सी, रूसनेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, मास्को सडक निर्माण प्राविधिक विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रकाश पौड्याल तथा  कृष्णप्रकाश श्रेष्ठसहितको परीक्षक दलले भाषा, भाव र वाचनको आधारमा भानु जन्मजयन्ती कविता प्रतियोगिता २०१६ का लागि प्राप्त कविताहरूको मूल्याङ्कन गरी निम्न परिणाम घोषणा गरेको थियो : प्रथम आचार्य कुशलकुमार निरौला, द्वितीय कमला रावल पाण्डे र प्रोत्साहन पुरस्कार - भेरोनिका, मार्गारिता, आन्जेलिका र आन्तोन (रिजाल परिवार) तथा स्वेतलाली आचार्य । 
आशुकविता विजयी मनोज गोहिवारको अगलबगलमा
गोविन्दप्रसाद गौतम र इन्दिरा अर्याल गोहिवार
अनि आशुकविता लेखन प्रतियोगितामा चाहिं मनोज गोहिवार प्रथम, कमला रावल पाण्डे द्वितीय र आचार्य कुशलकुमार निरौला तृतीय हुनुभयो ।
विनेसाम रूसका अध्यक्ष गोविन्दप्रसाद गौतम, 
एनआरएन रूसका उपाध्यक्ष डिल्ली खरेल सुमन,
कार्यवाहक राजदूत इन्दिरा अर्यालबाट प्रतियोगिता विजेताको प्रमाणपत्र ग्रहण गर्दै
कमला रावल पाण्डे
यसप्रकार ज्यादै रमाइलो साहित्यिक र सौहार्दपूर्ण वातावरणमा मास्कोको वनस्पतिउद्यानमा यस वर्ष भानुजयन्ती-२०३ सुसम्पन्न भएको छ । मास्कोमा केही दिनदेखि झरीवर्षा र आँधीबेरी आउने गरेको थियो, तर पनि रूसमा बसोवास गरिरहेका नेपालीहरूले प्रकृतिको काखमा चिरप्रतीक्षित ग्रीष्मऋतुको न्यानो वातावरणमा निर्विघ्न वनभोजको मजा लिंदै आफ्ना आदिकविको जन्मजयन्ती मनाउन पाऊन भन्ने प्रकृतिदेवीको पनि अनुकम्पा प्राप्त भएको थियो
भानुजयन्ती-२०३ को उपलक्षमा बनभोजको झलक


फोटो सौजन्य : रामेश्वर गौतम

No comments:

Post a Comment