सर्वप्रथम 'अथर्व परिशिष्ट' (इ.पू. ८००-६००) मा 'नेपाल' शब्दको उल्लेख पाइन्छ । यो स्थाननाम 'महाभारत', 'वृहस्पति अर्थसूत्र' आदि ग्रन्थहरूमा पनि उल्लिखित छ । बौद्धग्रन्थ 'मूल सर्वस्तिवाद विनय संग्रह' (अध्याय २१, नैर्सर्गिक १६, टोकियो संस्करण, पृ. १००) तथा कौटिल्यको “अर्थशास्त्र” (अधिकरण २, अध्याय ११, सूत्र १०५-१०६) मा वर्णन गरिएअनुसार आदिकालदेखि नै भोट (तिब्बत) र भारतको बीचमा ऊनको प्रसिद्ध मण्डी (बजार) को रूपमा यो प्रदेश रहेको सिद्ध हुन्छ । पुरातात्विक प्रमाणअनुसार समुद्रगुप्तको प्रयाग स्तम्भाभिलेख एवं नेपालमै पनि विच्छवि राजाहरूका ६ वटा शिलाभिलेखहरूमा 'नेपाल' शब्द उत्कृर्ण गरिएको पाइन्छ ।