Friday, November 3, 2017

रूसको राजधानीमा संबोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा र समुद्घाटन

रूसको राजधानीको उत्तरी क्षेत्रमा पर्ने ओत्राद्नोए इलाकामा खोल्सोसहितको रमणीय पार्ककै छेउमा रूसी चर्च र मुस्लिम मस्जिद समेत रहेको ठाउँमा १६ सेप्टेम्बर २०१७ (शनिश्चरवार) का दिन मास्को बौद्ध समाजको अग्रसरतामा निर्मित संबोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा र समुद्घाटन समारोह सुसम्पन्न भएको छ ।

रूस महासंघअन्तरगतका बौद्ध धर्माबलम्बीहरूको बाहुल्य रहेका तीन संघटक क्षेत्र (बु-यातिया, काल्मिकिया, तुभा) का साथै तिब्बत, भारत, श्रीलंका, म्यानमार (बर्मा), थाइल्याण्ड, भियतनाम आदि देशका बौद्ध भिक्षुहरूको समेत समुपस्थितिमा बिहानैदेखि बौद्धस्तुपमा पाठपूजा सम्पन्न गरिएको थियो ।
बौद्धस्तुपको उद्घाटन समारोहमा लामाभिक्षुहरूको माझमा
नेपाली राजदूत ऋषिराम घिमिरे 
र गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारी 
मध्यान्ह १२ बजे संबोधी स्तुपको औपचारिक उद्घाटन समारोहको शुभारम्भ गर्दै मास्को बौद्ध समाजकी अध्यक्ष दुल्मा शाग्दारोभाले सम्मानित अतिथिहरू तथा समारोहमा भेला भएका रूसलगायत विभिन्न देशका बुद्धधर्मका अनुयायी जनसमुदायको हार्दिक स्वागत गर्नुका साथै मास्कोमा संबोधी स्तुप (रूसी भाषामा स्तुपा प्रोस्वेत्लेनिया), बौद्धस्तुप निर्माणार्थ विभिन्न प्रकारले सहयोग गर्ने विख्यात गायक इओसिफ कोब्जोन र चन्दा प्रदान गरेर भौतिक तथा नैतिक समर्थन पुर्याउने सम्पूर्ण दाताहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो र यसै स्थलमा भविष्यमा निर्माणाधीन बौद्धविहार बनाउने पुनित कार्यमा पनि यस्तै सक्रिय सहयोग प्राप्त भइरहने आशा व्यक्त गर्नुभयो ।
बौद्धभिक्षुको सम्मान गर्दै 
मास्को बौद्ध  समाजकी अध्यक्ष  दुल्मा  शाग्दारोभा
महामनाभिक्षु खुन्दालिन रिन्पोचेबाट दलाई लामाको आशिर्वचनका साथै शुभेच्छा सन्देश सुनाइएको थियो भने बु-यातियाली भिक्षु लामा दाशेइनिमाबाट रूसको बौद्धधर्म संघको प्रतिनिधित्व गर्दै शुभकामना व्यक्त गरिएको थियो ।
बौद्धस्तुपको प्रवेशद्वारनेर
मास्को सरकारअन्तर्गतको राष्ट्रिय नीति विभागका प्रमुखले रूसका चार प्रमुख धर्महरूमध्ये मास्कोको भूमिमा अर्थाडक्स क्रिश्चियन गिर्जाघर, इस्लाम मस्जिद, यहुदीधर्मका सिनागोग मन्दिरहरूको अस्तित्व भए तापनि बुद्धधर्मको प्रतीक स्तुपको अभाव खट्किरहेको थियो, तर आज मास्को बौद्ध समाजकी अध्यक्ष दुल्मा शाग्दिरोभाको अथक प्रयासबाट मास्कोमा पनि सेन्टपिटर्सबुर्गमा जस्तै बौद्धस्थल देखापरेकोमा अपार हर्ष लागेको छ भन्ने अभिव्यक्ति दिएका थिए ।
मास्कोमा नवनिर्मित बौद्धस्तुपको दृश्य
मास्कोमा बौद्धस्तुपको उदघाटन समारोहमा उपस्थित रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले आफ्नो मन्तव्यमा बुद्धको जन्मभूमि नेपालको प्रतिनिधित्व गर्दै यहाँ उपस्थित हुन पाएकोमा ज्यादै खुशी लागेको छभन्नुहुँदै निमन्त्रणाका लागि आयोजकहरूप्रति कृतज्ञता जनाउनुका साथै आतङ्क, उग्रवाद, भोकमरी आदि विभिन्न समस्याहरू सामना गरिरहेको आजको विश्वमा बुद्धको उपदेश ज्यादै उपयोगी सिद्ध हुनसक्ने संङ्केत गरिएको थियो । 
मन्तव्य व्यक्त गर्दै नेपाली राजदूत ऋषिराम घिमिरे
अनुवादकर्ता दीनानाथ राजभण्डारी
महामहिमको सारगर्भित मन्तव्यको अनुवाद गैरआवासीय नेपाली संघ रूसका निवर्तमान अध्यक्ष दीनानाथ राजभण्डारीबाट गरिएको थियो ।

बौद्धभिक्षु  : उद्घाटन समारोहमा मन्तव्य दिंदै 
समारोहमा विभिन्न आमन्त्रित व्यक्तिहरूले मन्तव्य दिनुका साथै मास्को बौद्ध समाजकी अध्यक्ष दुल्मा शाग्दारोभाले क्रमशः पवित्र निक्खर सेतो खादा पहिराइ दिएर सम्मानसत्कार गर्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रम
मास्को महानगरीमा बौद्धस्तुपको उदघाटन समारोहमा बुर्यातिया, काल्मिकिया र तुभाका कलाकारहरूबाट आआफ्नो राष्ट्रिय पहिरनमा लोकनृत्य, ‘ओम मणि पद्मे हुँको बोलमा धार्मिक नाचगान पनि प्रस्तुत गरिएको थियो । 
'ओम मणि पद्मे हुँ'   धार्मिक नृत्य
आमन्त्रित पाहुनाहरूका लागि चियापानको पनि व्यवस्था गरिएको थियो ।
चियापानको दृश्य
रूसका विभिन्न आम संचार माध्यमहरूले मास्कोमा बौद्ध स्तुपको प्राणप्रतिष्ठा समारोहको समाचार प्रसारणार्थ टेलिभिजन क्यामराबाट खिचिरहेका थिए । 
बौद्धस्तुपको उद्घाटन समारोहको झलक
यस महत्वपूर्ण परिघटनाको जीवन्त प्रत्यक्ष समाचार रूसको केन्द्रीय टेलिभिजन रसियाकार्यक्रममा पनि जीवन्त प्रसारण गरिएको थियो ।
                     रूसी भाषामा टेलिभिजन प्रसारण
समारोहको औपचारिक खण्डको समाप्तिपश्चात् यसै केन्द्रीय टेलिभिजनकी संवाददाता आन्ना बालानले मसित छोटो अन्तवार्ता लिएकी थिइन् । मैले उनका प्रश्नको उत्तर दिने क्रममा मैले यहाँ नजिकै रहेको सामान्य चैत्यसंग हूबहू मिल्ने एउटा चैत्य म जन्मेको काठमाडौं उपत्यकाको थान्कोट (शोणितपुर) मा पनि छ भन्ने जनाउनु दिएको थिएँ ।
यस्तै बौद्धचैत्य थानकोटमा पनि रहेको छ
साथै नजिकै देखिने  धातुको विशाल मानेको वरिपरि नेपालाक्षर रञ्जना लिपिमा बौद्ध मूलमन्त्र ओम मणि पद्मे हुँअङ्कित गरिएको जानकारी गराउँदै सो माने घुमाउँदै ५ फन्को लगाएर बुद्धको प्रार्थना सम्पन्न गर्न सकिन्छ भनी बताएको थिएँ । 
नेपालाक्षरमा बौद्दमन्त्रअंकित धातुको माने
मास्को महानगरीको यस पवित्र स्थलमा भविष्यमा बौद्धविहार समेत निर्माण गरिने योजना रहेको जनाउ दिएर मैले  त्रिरत्न (बुद्ध, धर्म, सङ्घ), त्रिलोक (स्वर्ग, मर्त्य, पाताल) तथा त्रिकाल (भूत, वर्तमान, भविष्य) को प्रतीक बौद्धस्तुपको धार्मिक महत्वबारे समेत संक्षेपमा प्रकाश पारेको थिएँ ।
कृष्णप्रकाश श्रेष्ठको साथमा समारोहका सहभागीहरू
बौद्धस्तुपको उद्घाटन समारोहका अतिथिहरूलाई स्तुपभित्र प्रवेश गर्न दिइएपछि मैले प्रवेशद्वारबाट भित्र पसेर हेर्दा सहस्रबुद्ध प्रकट भएझैं चारैतिरका भित्तामा पंक्तिबद्ध गरी लहरै राखिएका समान आकारप्रकारका धातुका बुद्धप्रतिमाहरू देखेर छक्क पर्दै तर्कना गर्न थालेको थिएँ : 
बौद्धस्तुपभित्र सहस्त्र बुद्ध प्रतिमाहरू
परिक्रमा गर्दा बीचमा पर्ने मध्यस्थलमा अग्लो मण्डप खाली नै रहेछ । त्यस अग्लो मण्डपमा नेपालका प्रख्यात शिल्पकारहरूले बनाएको ढलौटको ठूलो बुद्धमूर्ति राख्न पाए क्या राम्रो हुन्थ्यो ! तर कसले राखिदेला र ?..’ मनमनै यस्तो सोच्दै भित्ताका बुद्धप्रतिमाहरू र विहार निर्माणार्थ कन्तुरमा चन्दाको रकम खसालिरहेका दर्शकहरूको समेत फोटो खिंच्न थाल्दा मेरा चिरपरिचित दुल्मा साग्दारोभा एक भारतीय अतिथिको साथमा मेरो अगिल्तिर झुल्किइन् । मेरा चिरपरिचित नेपाली मित्रभनेर उनले मेरो परिचय दिंदा मलाई निकै खुशी लाग्यो । वास्तवमा म चार दशक पहिलेदेखि नै उनीसंग परिचित छु । 
दुल्मा साग्दारोभाको साथमा 
त्यतिखेर नेपाली विद्वान् भिक्षु अमृतानन्द मास्को आउँदा जहिले पनि उनी सोभियत संघको तत्कालीन धर्मसम्बन्धी विभागको तर्फबाट उनको स्वागत सत्कार गर्दथिन् भने ‍नेपाली भिक्षु अमृतानन्द, सुदर्शन वा मैत्रैय मास्को आउँदा भेट्न गएको अवसरमा प्राय: उनीसंग मेरो भेट हुन्थ्यो र यसरी हाम्रो मैत्री सम्बन्ध गाँसिएको थियो ।
मास्कोमा संबोधी बौद्दस्तुप रहेको स्थानको दृश्य
मास्कोमा यस वर्षको मौसम सुनिश्चित रहेको छैन र बारम्बार अकस्मात् झरी वर्षा भइरहन्छ । एक दिनअघि मात्र पानी परेको थियो, तर संबोधी स्तुपको प्राणप्रतिष्ठाको अवसरमा मास्कोमा शरदकालीन घमाइलो दिन हुनु पनि एक आकस्मिकता नै थियो । 
समारोहका सहभागीहरू
१६ सेप्टेम्बर २०१७, मास्को
यसरी मास्कोमा रमाइलो वातावरणमा बौद्धस्तुपको प्राणप्रतिष्ठा र उद्घाटन समारोहमा नेपालीहरूको प्रतिनिधित्व गर्ने तीन जनामध्ये एक भई उपस्थित हुने सौभाग्य मलाई प्राप्त भएको थियो र आफ्नो रंगीन अनुभूति नेपाली पाठकवृन्दसमक्ष पोख्तैछु
कृष्णप्रकाश श्रेष्ठ

संबोधि बौद्धस्तुप, मास्को
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment