Tuesday, November 14, 2017

हिमालयको सम्पदा : सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनी

मास्कोको केन्द्रमा अवस्थित राजकीय प्राच्यकला संग्रहालयमा ७ सेप्हटेम्बर २०१७ का दिन हिमालय क्षेत्रका देशहरू (नेपाल, भुटान, भारत) का सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनीको समुद्घाटन सुसम्पन्न भयो ।

त्यसमा रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेको नेतृत्वमा राजदूतावासका द्वितीय सचिव खीमानन्द भुषाल, गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष दीनानाथ राजभण्डारीका साथै यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) बाट नेपालको प्रतिनिधित्व गरिएको थियो ।
प्रदर्शनीको उद्घाटन गर्दै प्रथम उपनिर्देशिका ताच्याना मातेस्का
सेर्गेइ आर्खान्गेलोभ, भ्लादिमिर फिदोतोभ, कृष्णप्रकाश श्रेष्ठ, ऋषिराम घिमिरे आदि
प्रदर्शनीको उद्घाटन समारोहमा रूसनेपाल सहयोग तथा मैत्री समाजका कार्यकर्ताहरू (एभ्गेनी कोजोरेजोभ, बोरिस भेर्शिनिन, नाताल्या गुबिना, रूस लेखक संघका सदस्यहरू (ताच्याना चेग्लोभा, तामारा पोत्योमकिना), रेडियो पत्रकार दोमेती जाबोल्स्की, अर्थशास्त्री अलेक्सेइ चिकालोभ प्रभृति विभिन्न संघसंस्था र जनसमुदायका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
प्रदर्शनीका संयोजक एभ्गेनिया कार्लोभा वक्तव्य दिंदै
कृष्णप्रकाश श्रेष्ठ र ऋषिराम घिमिरे
रूसका राष्ट्रपतिको आदेश अनुसार सन् १९९१ (१८ डिसम्बर) देखि  रूसको अमूल्य सांस्कृतिक निधिभन्ने मान्यता प्राप्त यस प्राच्यकला संग्रहालयमा नेपाली बौद्धकलाको गोलाकार मण्डलको चित्रअंकित पोष्टरले सिंगारिएको प्रवेशद्वारबाट भित्र पसेका पाहुनाहरूलाई संग्रहालयकी सचिव एलेना बेलिखले दिउँसोको ठीक चार बजे निम्त्याएर भित्ताभरि सगरमाथाको चित्र अंकित सीढीहरू उक्लेर माथि पुगिएको दोस्रो तलाको विशाल कक्षमा पु-याइन् ।
 प्राच्यकला संग्रहालयको मूल प्रदर्शनकक्षमा
उद्घाटन समारोहको दृश्य
(७ सेप्टेम्बर २०१७)
त्यहाँ नेपालको द्विआयामिक मन्दिरको ठूलो भित्तेचित्र अगिल्तिर द्वारपालझैं पेटीमा दुवैतिर ढलोटका बाइपंखी सिंहहरू र तीनैतिर तामाको त्रिआयामिक न्यातपोल मन्दिर लगायत विभिन्न कलात्मक सामग्रीहरू र काष्ठकलाको नमूना स्वरुप मयुर झ्यालले सिंगारिएको कक्षमा पुगेपछि प्राच्यकला संग्रहालयकी प्रथम उपनिर्देशक ताच्याना मातेक्साले प्रमुख अतिथिहरूसंग भलाकुसारी गरिसकेपछि प्रदर्शनी उद्घाटन समारोहमा उपस्थित सबैको हार्दिक स्वागत गर्दै तपाईहरू अहिले काठमाडौंको केन्द्रीय चोकमा पुग्नुभएको कल्पना गर्नोस्भन्ने शब्दहरूका साथ स्वागत मन्तव्य शुरू गर्नुभयो ।
संग्रहालयकी  उपनिर्देशिका ताच्याना मातेस्कासो साथमा
कृष्णप्रकाश श्रेष्ठ एवं ऋषिराम घिमिरे
उहाँले गतः वर्ष  सन् २०१६ मा रूसनेपाल दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको र यस वर्ष सन् २०१७ मा भारतको स्वाधीनता तथा रूसभारत दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको सन्दर्भमा रूस महासंघको संस्कृति मन्त्रालय,  मास्कोस्थित नेपाली राजदूतावास, राजकीय प्राच्यकला संग्रहालय, पिटर महान्को नामले विभूषित नृतत्व एवं नृवंश विज्ञान संग्रहालय (अजायब घर), राजकीय इतिहास संग्रहालय, संगीत विषयक अखिल रसियाली ग्लिन्का संग्रहालय समुच्चय,   लेभ निकोलाइभिच तोल्स्तोइ स्मृति-संग्रहालय, रूसनेपाल सहयोग तथा मैत्री समाज समेतको संयुक्त आयोजमाना भारत, भूटान, नेपाल र हाल नेपालअन्तरगतको मुस्ताङ लगायत हिमाली क्षेत्रका देशहरूसंग रूसको सम्बन्धको इतिहासप्रति समर्पित हिमालयको सम्पदाशीर्षकमा कलाप्रदर्शनी सम्पन्न भइरहेको जानकारी दिनुभयो ।
रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे
र राजकीय प्राच्यकला संग्रहालयका महानिर्देशक अलेक्सान्द्र सेदोभ 
प्रदर्शनीका प्रमुख अतिथि महामहिम नेपाली राजदूत ऋषिराम घिमिरेज्यूले नेपालको राजधानीमै पुगेजस्तो लागेको अनुभूति व्यक्त गर्नुका साथै वरिपरि प्रदर्शित कलात्मक वस्तुहरूको परिचय दिंदै काठमाडौं उपत्यकाका तीनै प्रमुख शहरहरूलाई सांस्कृतिक केन्द्रको रूपमा चित्रण गर्नुभयो र नेपाल तथा रूसका बीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच सांस्कृतिक, शैक्षिक, आर्थिक आदि विभिन्न क्षेत्रहरूमा पारस्परिक सम्बन्ध दरिलो हुँदै गएको जनाउनुका साथै दुई देशबीचको सांस्कृतिक सम्झौताको पुनर्नवीकरण भएपछि यो सम्बन्धले अझ अगाडि विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मैत्री समाजका उपाध्यक्ष  भ्लादिमिर फेदितोभ वक्तव्य दिंदै
कृष्णप्रकाश श्रेष्ठ, ऋषिराम घिमिरे, एभ्गेनिया कार्लोभा आदि
रूसनेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष भ्लादिमिर फेदोतोभले नेपालको सभ्यता यूरोपको भन्दा निकै पुरानो भएको उल्लेख गर्दै काठमाडौं उपत्यकालाई खुला आकशमुनिको विशाल संग्रहालयको संज्ञा दिनुभयो र यत्रो लामो इतिहास भएको संस्कृतिलाई सन् २०१५ को महाभूकम्पले अल्प समयमै ठूलो क्षति पु-याउँदा रूसनेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट पनि राहत कार्यमा यथासक्य सहयोग पु-याइएको स्मरण गर्नुभयो ।
गोलमेच सम्मेलन (१४ सेप्टेम्बर २०१७)
प्रमुख अतिथि ऋषिराम घिमिरे 
नेपालको राजधानीमा गतःवर्ष विदेशका साहित्यकारहरूमध्ये  रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा पहिलो स्मारकको रूपमा स्थापित गरिएको स्मरण गर्दै रूसका बौद्ध धर्माबलम्बीहरूको समेत सहयोगबाट बुद्धको जन्मस्थल लुम्बिनीमा रूसको एउटा बौद्ध मन्दिरको निर्माणार्थ पहल भइरहेको पनि सूचित गर्नुभयो ।
गोलमेच सम्मेलनको मञ्चमा
रूसका लागि  नेपाली राजदूत ऋषिराम घिमिरे 
र संग्रहालयका महानिर्देशक अलेक्सान्द्र सेदोभ
राजकीय लेभतोल्स्तोइ संग्रहालयका निर्देशक सेर्गेइ आर्खान्गेलोभले प्रदर्शनीका सहभागी रूसका विभिन्न संग्रहालयको तर्फबाट समेत बोल्दै मास्कोको मुटुमा हिमालयका सांस्कृतिक सम्पदाहरूको प्रदर्शन हुनु महत्वपूर्ण परिघटना हो भन्ने जनाउनुका साथै विश्वको यस महत्वपूर्ण क्षेत्रको बौद्धिक निधिहरूमध्ये अनिष्टको प्रतिकार निषेधसम्बन्धी रूसी महाउपन्यासकार एवं विचारक लेभ तोल्स्तोइ र अहिंसात्मक सत्याग्रहका प्रवर्तक महात्मा गान्धीको सिद्धान्तमा निकै समानता रहेको चर्चा गर्दै यी दुवै विश्वविख्यात व्यक्तित्वका बीच पत्राचार हुने गरेको स्मरण गराउँदै यस्ता केही पत्रहरू यसै प्रदर्शनीमा हेर्न सकिन्छ भनी जोड दिनुभयो ।
गोलमेच सम्मेलनका सहभागीहरू
मास्कोमा हिमालयको सम्पदाकलाप्रदर्शनीकी संयोजक एभ्गेनिया कार्लोभाले उदघाटन समारोहमा उपस्थित प्रदर्शनी आयोजक संस्थाका प्रतिनिधिहरू तथा सबै आमन्त्रित महानुभावहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।
कृष्णप्रकाश श्रेष्ठ, ताच्याना मातेक्सा र ऋषिराम घिमिरे
प्रदर्शनी उद्घाटनको औपचारिक खण्डको समापन गर्दै राजकीय प्राच्यकला संग्रहालयकी प्रथम उपनिर्देशक ताच्याना मातेक्साले महान् दार्शनिक लेभ तोल्स्तोइ र बौद्ध दर्शन एवं धर्मका अध्येता प्रकाण्ड रूसी विद्वान् इभान मिनाएभको मित्रताको चर्चा गर्दै नेपालको यात्रा गर्ने पहिला रूसी प्राच्यविद्का केही व्यक्तिगत सामग्रीहरू पनि प्रदर्शित छन् भन्ने जनाउ दिनुभयो र समुद्घाटन समारोहका सहभागीहरूलाई कलाप्रदर्शनी अवलोकन गर्न निम्त्याउनु भयो ।
नेपालको त्रिआयामिक मानचित्र
प्रदर्शनीको केन्द्रीय कक्षमा रहेका वस्तुहरूको पृष्ठभूमिमा केही फोटोहरू खिंच्ने र खिचाउने क्रमपछि म पनि प्रदर्शनार्थ राखिएका ‘हिमालयका सम्पदा’ अन्तरगतका महत्वपूर्ण कलाकृतिहरू हेर्न लागेँ । रूसी मित्रहरूका केही प्रश्नहरूको जानेबुझेसम्मको उत्तर दिंदै जिज्ञासाहरू पनि शान्त पार्दै प्रदर्शित वस्तुहरूको अवलोकन गरियो ।
भवचक्र
कला-प्रदर्शनीको पहिलो खण्डमा पुर्वेली देशका पोशाक आदि धैरै वर्ष भारतमा बसोवास गरी भारतीयहरूबाट महर्षि भन्ने सम्मान प्राप्त गर्ने रूसी विद्वान् एवं चित्रकार निकोलाइ रेरिख र उनको परिवारका व्यक्तिगत वस्तुहरूका साथै यस परिवारका सदस्यहरूद्वारा संग्रहित पौभा (थान्का) लगायत नेपाल र भारतका विरलकलाकृतिहरू प्रदर्शित छन् ।
इभान मिनाएभका व्यक्तिगत सामानहरू
यहाँ नै भारत र नेपालको यात्रा गरी स्थलगत अध्ययन गर्ने र रूसमा नेपाल विद्याका जनक मानिने विख्यात प्राच्यविद् इभान मिनाएभद्वारा संकलित धातुका कलात्मक थाल, गिलास आदि वस्तुहरू पनि प्रदर्शित छन् । सन् १८८३ मा नेपालको यात्रा गर्ने अनुमति नपाए पनि सिक्किमको यात्रा गर्ने प्रसिद्ध रूसी चित्रकार भ.भ. भेरेश्यागिनको यात्रादैनन्दिनी (डायरी), तेह्रौं दलाई लामा र ब्रिटिश रेजिडेन्ट कर्णेल बेइलीसंग निकोलाइ रेरिखको पत्राचार, महात्मा गान्धीसित लेभ तोल्स्तोइको पत्राचारका अमूल्य ऐतिहासिक खाम र उनकै हस्ताक्षरमा लेखिएका पत्रहरू पनि त्यहाँ देख्न पाइन्छ । प्रदर्शनीको दोस्रो खण्डमा हिमालय क्षेत्रका कलात्मक र सांस्कृतिक सम्पदाहरू रहेका छन् ।
लेभ तोल्स्तोइ र महात्मा गान्धिका चिठि-पत्रहरू
काठमाडौंका शिल्पकारहरूले बनाएका काष्ठकलाका उत्कृष्ट कृति अर्थात् ढलोटका मूर्तिहरू, बुट्टा कुँदिएका झ्याल, पैगोडा अर्थात् तलेशैलीका मन्दिरहरूको नमूना आदि वास्तुकलाका विभिन्न अंशहरूका साथै पुरानो काठमाडौंको झलक दिने चित्रकलाका कृतिहरू पनि त्यहाँ सजाएर राखिएका छन् । एकातिरको पूरै भित्ता नै ओगटेर टाँसिएको नेपालको त्रिआयामिक मानचित्रमा हाम्रो हिमाल, पहाड र तराईको अग्लोहोचो धरातलको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । बेग्लै कक्षमा बोधनाथको त्रिआयामिक स्तुप, भवचक्रको विशाल आकृतिसहित बौद्ध मन्दिरको वातावरण सृजना गरिएको छ । त्यहाँ मुस्ताङबाट ल्याइएका विरलकोटिका देवप्रतिमाचित्र, पुराना कांस्य मूर्तिहरू र पूजा सामग्री, पवित्र मन्त्र र धार्मिक स्तुतिश्लोक लेखिएका सचित्र पाण्डुलिपिहरू राखिएका छन् । त्यस कक्षमा पस्ने ठाउँहरूमा भुटानी धार्मिक नाचका मुखुन्डाहरू र नेपालका कलात्मक लाखे आदिका मुखुन्डाहरू पनि राखिएका छन् ।
प्रदर्शित वस्तुहरू : बौद्धचित्र
प्रदर्शनीमा चाँदीका गहना र जन्तरहरू, खुकुरी र सिंगारिएका दापहरू इत्यादि शिल्पकलाका विरल वस्तुहरू पनि राखिएका छन् । प्रसिद्ध छविचित्रकार ओल्गा कोनोरोभा तथा पर्यटक-यात्री इगोर कालाश्निकोभले खिंचेका फोटोहरू, मास्कोस्थित नेपाली राजदूतावास, रूसनेपाल सहयोग तथा मैत्री समाजको संग्रहमा रहेका सामग्री आदिले हिमालयको चमत्कारमय वातावरण सिर्जना गरेको प्रतीत हुन्छ ।
धातुको न्यातपोल मन्दिर
यस प्रदर्शनीमा राखिएका सांस्कृतिक वस्तुहरूको रङ्गीन चित्रसहित  ठूलो साइजको ७२ पृष्टयुक्त सूची-पुस्तिका पनि प्रकाशित गरिएको छ । त्यसमा प्रदर्शनूकी संयोजक एभ्गेनिया कार्लोभालिखित हिमालय क्षेत्रको कला-सम्पदाविषयक सारगर्भित भूमिका पनि रहेको छ । नेपाली पाठकवृन्दलाई के पनि बताउन आवश्यक ठान्दछु भने प्राच्यकला संग्रहालयको स्वामित्वमा रहेका नेपाल विषयक थुप्रै कलाकृतिहरू सम्भवतः स्थानाभावले गर्दा यस प्रदर्शनीमा नराखिएको पाएँ । उदाहरणका लागि भन्ने हो भने प्रसिद्ध चित्रकार चन्द्रमान मास्केका चित्रपटहरूकै उल्लेख गर्न सकिन्छ । यस राजकीय प्राच्य जनकला संग्रहालयमा तिब्बतसहित चीन, जापान, मंगोलिया, भारत, नेपाल, भुटान, बर्मा, श्रीलंका, पाकिस्तान, अफगानीस्तानलगायत विभिन्न पुर्वेली मुलुकहरूका कलाकृतिहरू संग्रहित छन् ।
प्राच्यकला संग्रहालयको प्रवाशद्वारमा 
हिमालयको सम्पदा प्रदर्शनीको पोष्टर
सुदूर पूर्व र निकट पूर्व, मध्य एशिया, ककेशिया, काजाखस्थान, रूसअन्तर्गतका बुर्यातिया, चुकोत्का आदि पूर्बेली क्षेत्रका मात्र पनि १ लाख ४७ हजार पाँच सय सांस्कृतिकवस्तुहरू रहेका छन् । राजकीय प्राच्यकला संग्रहालयमा हिमालयका सम्पदाकला प्रदर्शनी १ महिनासम्म चालु रहने क्रममा भारतीय कलदिवसअन्तर्गत विभिन्न कार्यक्रहरू पनि सम्पन्न गरिए ।
हिमालयको सम्पदा प्रदर्शनी कक्ष
यसै प्रदर्शनीको सन्दर्भमा प्राच्यकला संग्रहालयमा १४ सेप्टेम्बरका दिन गोलमेच सम्मेलन सम्पन्न हुनुका साथै साँझपख हिमालयको कला-सम्पदाबारे रूस विज्ञान प्रज्ञा-प्रतिष्ठानअन्तरगत नृतत्व एवं नृवंश संग्रहालयकी वरिष्ठ वैज्ञानिक कार्यकर्ता  मार्गारिता फ्योदोरोभ्ना आल्बेदिल (इतिहासशास्त्रमा महाविद्यावारिधि) बाट व्याख्यानको पनि आयोजना गरिएको थियो ।   
फोटो सौजन्यः बोरिस भेर्शिनिन, 
कार्यकारी सचिव, रूस-नेपाल सहयोग तथा मैत्री समाज

मास्को, रूस महासंघ ।

No comments:

Post a Comment