Tuesday, June 27, 2017

देवकोटा र पुश्किनका अमर काव्यकृतिद्वय एउटै गाताभित्र

रूसको राजधानीमा सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३-२५जुलाई २०११) को सन्दर्भमा नेपाल रूसका महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र सेर्गेयेभिच पुश्किनका दुर्इ काव्यकृति क्रमशः मुनामदन जिप्सी लाई एउटै गाताभित्र समेटेर देवकोटा पुश्किन शीर्षकमा प्रकाशनमा ल्याइएको  

लक्ष्मीप्रसाद देवकोटा  अलेक्सान्द्र पुश्किनका अमर काव्यकृतिद्वय एउटै गाताभित्र गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्को तर्फबाट प्रकाशित गरिएको हो । 
देवकोटाकृत 'मुनामदन' र पुश्किनकृत 'जिप्सी'
देवकोटाकृत मुनामदन को रूसी अनुबाद कृष्णप्रकाश श्रेष्ठ तथा रूसी कवि इभान गोलुब्निचीको संयुक्त प्रयासको प्रतिफल हो भने पुश्किनकृत जिप्सी चाहिं नेपालीमै सर्वप्रथम सोझै रूसी भाषाबाट कृष्णप्रकाश श्रेष्ठद्वारा अनूदित अनुवादककी मुमा तेजकुमारी श्रेष्ठ (शोणितपुर, चुनीखेल) बाट सन् १९६८ मा अलग्गै प्रकाशित भएको थियो यहाँ त्यसैको पुनर्मुद्रण प्रस्तुत गरिएको हो  
हिमालयको पृष्ठभूमिमा  क्रेमलिन (मास्को)
मास्को सम्मेलनको पूर्वसन्ध्यामा विश्वका २५ देशहरूबाट रूसको राजधानीमा आइपुगेका रूसका समेत गरी ४१७ जना गैरआवासीय नेपाली प्रतिनिधिहरूका साथै नेपालबाट आइरहेको उच्चस्तरीय प्रमण्डलका सदस्यहरू एवं रसियाली मित्रहरूको समेत उपस्थितिमा मास्को नदीमाथि जहाजयात्रा स्वागत समारोहको आयोजना गरिएको अवसरमा नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री माननीय श्री उपेन्द्र यादव तथा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोबाट 'देवकोटा पुश्किन' शीर्षकको यस पुस्तकको लोकार्पण गरिनुको आफ्नै विशेष महत्व रहेको
 'नेपाली घर'
कालुगा अञ्चल रूस महासंघ
प्रस्तुत पुस्तकको 'प्रकाशकीय' मा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मणिराज पोखरेलद्वारा जनाइएझैं 'उन्नाईसौं शताब्दीको पूर्वार्धमै रूसमा प्रादुर्भाव भएका महाकवि पुश्किनले नेपालको नाम समेत नसुनेको हुन सक्तछ, यद्यपि हिमालको काखमा हुर्किबढेका देवकोटाले भने बीसौ शताब्दीको उत्तरार्धमा दुर्इपल्ट रूसको भूमिमा पदार्पण गर्ने सम्भावना पाएका थिए पुश्किनका कृतिहरूबाट पूर्णतः अवगत नभए तापनि नाम चाहिं निश्चय नै सुनेका थिए  
रूसी महाकवि अलेक्सान्द्र पुश्किन
आजका नेपाली रसियालीहरूले एक-अर्काको बौद्धिक चिन्तन साहित्यिक कृतिहरूबाट समेत अवगत हुने सम्भावना पाउन थालेका छन्...'
प्रस्तुत पुस्तकका अनुवादक एवं संयोजक कृष्णप्रकाश श्रेष्ठलिखित 'प्राक्कथन' मा विभिन्न देश कालको परिवेशका उपज नेपाली तथा रूसी दुवै महाकविहरूको व्यक्तित्व कृतित्वको संक्षेपमा तुलनात्मक चर्चा भएको  
नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा
रूस नेपालका महाकविद्वयको काव्यसिर्जनाकालमा एक शताब्दीभन्दा पनि बढी समयको अन्तर रहे तापनि उनीहरू दुवै रोमाञ्चवादी साहित्यधाराकै प्रतिनिधि हुन् त्यसैले उनीहरूको काव्य-चिन्तनमा धेरै समानता पाइनु अस्वाभाविक हुँदैन यी दुवै महाकविहरूले आफ्ना काव्यकृतिहरूमा प्रकृतिचित्रण गर्नुका साथै विभिन्न प्राकृतिक दृश्य वा वस्तु (फूल, बादल, इन्द्रेनी, साँझ, विहान, वसन्त, शरद्, नदी, पहाड, झरना आदि) प्राकृतिक विषयमा कविता रचना गरेको पाइन्छ उदाहरणार्थ, दुवै कविहरूद्वारा "बादल" भन्ने एउटै शीर्षकमा रचना गरिएको कवितार्सर्ती पढ्दा समेत यसको राम्रो बोध हुन्छ
पाठकलाई तुलना गर्न सहज होस् भनेर पुश्किन देवकोटारचित  'बादल' कविताको उद्धरण तल दिइन्छ :

पुश्किनरचित 'बादल'
छिन्नभिन्न भयो मेघ हुरीको मारमा परी,
एक टुक्रा तँ घुम्दैछस् स्वच्छ आकाशमा उडी
तँ एक्लै पार्दछस् छाँया नियास्रोपनको यहाँ,
तँ एक्लै हर्दछस् हर्षउज्यालो दिनको यहाँ ।। 
पूरै आकाश ढाकेर गजधम्म तँ भर्खरै,
चम्किंदा बिजुली झिल्ल हुन्थ्यो स्वर भयंकरै
सम्पूर्ण व्योममा व्याप्त रहस्यमयर्घर
सुख्खा भूमिको प्यास मेटिन्छ वर्षिंदा जल ।। 
पुग्यो, पुग्यो तँ जा चाडो बितेर गैगयो क्षण,
भूमि भो रसिलो, भाग्यो हुरीबतास तत्क्षण
चल्दा समीर हल्लन्छन् रुखका पात फर्फर,
लखेटिन्छस् तँ बिस्तारै आकाशबाट पल्तिर ।।
.सं. १८३५
(अनु. कृष्णप्रकाश श्रेष्ठ

देवकोटारचित "बादल"
हामी सन्तति हौं अगाध जलका, ग्रीष्मर्तुको जन्म हो
हाम्रो जन्म हुँदा महोत्सव थियो, सारा उज्यालो सफा
हाँस्थे सूर्य छालमा उछलिंदा टल्पल् गरी नाच्दथे,
टाढासम्म हवा निमन्त्रित थिए, चल्थे बडा तेजले  
हाम्रो व्योमविहारको मन थियो, उँचा थियो कामना,
हामी सुस्त चढ्यौं सफा किरणका साना मसीना सिंढी
माथि माथि चढ्यौं मिल्यौं फिजियौं आकाशको क्षेत्रमा,
बोकी चल्छ हवा डुलाउन फगत् डाँडा, पुरी, जङ्गल ..
            (देवकोटा, बादल. भिखारी, पृ. ) 
पुश्किनले बादललाई मध्यमपुरुषको रूपमा सम्बोधन गरेका छन् भने देवकोटाले उत्तमपुरुषमै आत्मसात् गरेका छन् तर समय स्थानको दृष्टिले एक अर्काबाट सोझै रेखा तन्काउने हो भने - हजार किलोमिटर टाढा पर्ने बेग्लाबेग्लै सामाजिक परिवेश भएका देशमा जन्मेका कविहरूबाट एउटै शीर्षक रोजिनु मात्र नभई चित्रणसाम्यता समेत पाइनु चाहिं वैचारिक निकटताकै द्योतक हो
दुवै कविहरूका काव्यकृतिहरूमा जीवन-दर्शनको परिप्रेक्ष्यमा पनि निकै समानता ठम्याउन सकिने देखिन्छ उदाहरणार्थ, पुश्किनको 'जीवनको गाडी' शीर्षक कविता देवकोटाको 'जीवन' शीर्षक कवितालाई दाँज्ने हो भने यी दुवै कविहरूको दार्शनिक चेतमा साम्यता पाइन्छ देवकोटाले 'बिउँझी रोदनमा कलिलो, मधुर उषाको मोहनीमा, बैंश वसन्त विहार सपना, कुसुमाकरको ध्वनिमा' भन्दै ऋतु-परिवर्तनसंग मानव-जीवनलाई तुलना गरेका छन् भने पुश्किनले 'जीवन-गाडी' लाई बिहानदेखि साँझसम्मको एक दिनको समय-परिवर्तनसंग दाँजेका छन् देवकोटाको अर्को कविता 'जिन्दगीको मौसम' मा पनि पुश्किनकै जस्तो भावाभिव्यक्ति पाइन्छ फरक यत्तिकै कि देवकोटामा पूर्वीय दर्शनको प्रभाव टड्कारै देख्न सकिन्छ भने पुश्किन चाहिं पौरस्त्य विचारले ओतप्रोत छन् तर यस अन्तरले जीवनको समान अनुबोधमा कुनै फरक पारेको देखिंदैन पुश्किनको 'जीवनको गाडी' बिहानदेखि साँझसम्म समयको गतिका साथै अगाढि बढ्दै गएर अन्तिम विश्रामतिर पुग्दछ भने देवकोटाको 'जीवन' को साँझ पनि वासकै खोजमा भौतारिंदै अन्त्यमा  विश्रामकै आकांक्षा राख्तछ दुवै कविताका अन्तिम श्लोकहरू तल प्रस्तुत :

                पुश्किनको 'जीवनको गाडी'              
पूर्ववत् गाडी दौडिन्छ सोझै आफ्नै मताबमा
बानी त्यस्मा परिसक्छ यसरी साँझसम्ममा ।।
थाकेर लस्त भै उँघ्छौं, खोज्छौं वास कतैतिर  
किन्तु समयले घोडा दौडाउँछ निरन्तर ।।  
(अनु. कृष्णप्रकाश श्रेष्ठ

देवकोटाको 'जिन्दगीको मौसम'
बढ्दो चेत अकेलापनको बिर्सिसकेका सपना साज
उदासपनाको छाना नभ नै
               शोक, विषाद, बिराना आवाज ।।
जपमालाको आखिर भरमा धरमर पयर जराको कम्पन
आँशुभरी नजर निमीलन, विचित्र नै छस् हे जीवन ।।  
(भिखारी, २०२३, पृ. ४२)   
पुश्किन देवकोटाका यस्ता कैयौं कविताहरूको तुलनात्मक दृष्टान्त प्रस्तुत गर्न सकिन्छ आजको नेपालको परिप्रेक्ष्यमा 'बिहान' 'सूर्य' को बिम्बविधानअन्तर्गत रचिएका पुश्किन देवकोटाका निम्न दुर्इ कवितांशहरू निकै सान्दर्भिक सारगर्भित लाग्दछन् :

पुश्किनको 'गाउँ' शीर्षक कविताको अन्तिम श्लोक  :
            सखे, देख्छु कि लोक रञ्जित,         
औ मातृभू मुक्त, प्रबुद्ध, जागृत,         
दासत्वको भार न जारको डर ,          
उदाउला के, भन, सूर्य सुन्दर !
    (अनु. कृष्णप्रकाश श्रेष्ठ          
देवकोटाको 'सुनको बिहान' कविताको प्रथम श्लोक :
सुनको दिन एक उदाउँछ रे           
यस देश खलीकन आउँछ रे           
रंगिला सब बादल छाउँछ रे           
जल चञ्चल भैकन गाउँछ रे ! 
   (देवकोटा, 'सुनको बिहान', २०१०, पृ. )

आकांक्षा र संशयको द्वन्द्व झल्केको अभिप्राय बोध गराउने अलेक्सान्द्र पुश्किनको उपरोक्त कवितांशमा 'जार' शब्दको सट्टा 'भूप' शब्द राखेर पढ्ने हो भने मेरो विचारमा वर्तनाम नेपालको झलक पाउन सकिन्छ भने लक्ष्मीप्रसाद देवकोटाले चाहिं 'सुनको बिहान' कवितामा 'नयाँ नेपाल' को कल्पना गर्दै आशावादी दृष्टिकोण व्यक्त गरेका छन् ।
    जे होस्, पुश्किन र देवकोटाको समयबीच देशकालको ठूलो अन्तर रहे तापनि यी दुवै कविको चिन्तनधारामा निकै साम्यता पाइन्छ । रूसमा उन्नाईसौं शताब्दीको पूर्वार्धको जारकालीन परिवेश र नेपालमा बीसौ शताब्दीको पूर्वार्धको राणाकालीन समाजिक स्थिति एकसमान हुनुका साथै साहित्यिक चिन्तनमा पनि समानता पाइन्छ । यी दुवै कविहरूले आफ्नो कृतित्वमा स्वच्छन्दतावादबाट यथार्थवादको साहित्यिक धरातलको प्रतिनिधित्व गरेका छन् । यसैउसले उनीहरूको साहित्यधर्मितामा साम्यताका तत्वहरू मनग्य भेट्टाइन्छन् । साहित्यिक विधा र विषयवस्तुमा समानता, प्रकृतिचित्रणमा साम्यता, लोकाख्यानको समुचित प्रयोग, सामाजिक विद्रोहको स्वर, आधुनिक साहित्यिक भाषाको निर्माण, नवीन बिम्बविधानको सृजना, अभिव्यञ्जनाका नयाँ-नयाँ साधनहरूको उपयोग आदि यी दुवै कविहरूको अभीष्ट रहेको छ । पुश्किन र देवकोटाका कृतिहरूको तुलनात्मक अध्ययनको आधारमा यो बढी स्पष्ट हुन्छ । दुवैको आराध्य कवितादेवी नै भए तापनि दुवैले आख्यानात्मक र प्रबन्धात्मक कृतिहरू लेखेर गद्यविधामा समेत आफ्नो कविप्रतिभाको राम्रो प्रदर्शन गरेका छन् । उदाहरणार्थ, काव्यको क्षेत्रमा पुश्किनको "जिप्सी" र देवकोटाको "मुनामदन" काव्यलाई दाँज्ने हो भने यी दुवै दुखान्त काव्यकृतिमा नैसर्गिक आदिम सभ्यता (जिप्सी समाज) वा गाउँ (भोटेको गृहस्थी) लाई कृत्रिम नागरी सभ्यताको प्रतिपक्षमा उभ्याइएको छ भने पात्रहरू (नायकद्वय - आलेको र मदन, नायिकाद्वय -जेम्फिरा र मुना, अनि बूढो जिप्सी र भोटे च्याङ्बा) तथा दुर्इ संस्कृति (जिप्सी समाज र सभ्य समाज, ल्हासा र कान्तिपुर) बीच पनि समानता र अन्तर टडकारै ठम्याउन सकिन्छ । यी दुवै दुखान्त काव्यमा समाजमा व्याप्त लौकिक धारणा र अन्धविश्वासको अभिव्यक्ति आदि अरु पनि कैयौं मिलनबिन्दुहरू छन् । देवकोटको 'मुनामदन' काव्यमा मदनको नजिकै आएर काग कराउनु, मुनाले भैंसीले लघारेको सपना देख्नु जस्ता अपसकुनको सङ्केत पाइन्छ भने पुश्किनको 'जिप्सी' काव्यमा पनि राति निद्रामा आलेकोले दाह्रा किटेको सुनेर जेम्फिरालाई डर लाग्दछ । बूढो जिप्सीले आलेकोलाई सपनामा ख्याकले थिचेको होला भन्ने व्याख्या गर्दै 'घरमा सुट्ट क्वै भूत मध्यरातमा पस्छ रे, सुत्नेको धाँटी बेसरी थिची सास नै रोक्छ रे' भन्दै भूतको सन्दर्भमा रूसी जनविश्वासको स्मरण गराउँछ । दुवै काव्यमा क्षेपक कथा र गीतको समाविष्टि पनि संरचना साम्यको दृष्टान्त बन्न पुगेको छ । छोटकरीमा भन्ने हो भने  पूर्वीय जीवनदर्शनका उपज तर पश्चिमाभिमुखी देवकोटामा तथा यूरोपीय जीवनदर्शनका प्रतिनिधि तर पूर्वाभिमुखी पुश्किनमा कतिपय मूलभूत अन्तर हुँदाहुँदै पनि काव्यको संरचनात्मक र भावनात्मक प्रस्तुतिमा निकै समानता रहेको छ भन्ने उनीहरूका कृतिहरूको अध्ययनबाट स्पष्ट हुन्छ ।
स्मरणीय के पनि छ भने यी लघुकाव्यहरूको रचनामा दुवै कविले आ-आफ्नो देशमा प्रचलित लोकाख्यानलाई आधार तुल्याएका छन् । देवकोटाले भोटमा व्यापार गर्न जाने नेपाली युवाको कठोर यात्रा र दुःखदैन्यको चित्रण गरिएको एउटा ज्यादै पुरानो नेवारी लोकगीतबाट आफ्नो काव्यका लागि कथातन्तु जुटाएका थिए भने पुश्किनले चाहिं जिप्सी समाजमा प्रचलित एक कथानकलाई नै उच्चस्तरीय काव्यको रूप दिएका थिए । यस सन्दर्भमा देवकोटाकै अनुकरण गरेर नेवारी कवि धर्मरत्न यमी (१९१५-१९७८) बाट पनि व्यापारकै लागि तिब्बत पुग्ने यमि (शब्दशः 'काठमाडौंनिवासी') नामक नेपाली युवकको कथानकमा 'संदेया लिसः' ('भोटको जवाफ') भन्ने शीर्षकमा झ्याउरे लयमै काव्यकृतिको रचना गरिनु पनि उल्लेखनीय छ । यसै गरी रूसी भाषाबाट नेपाली भाषामा सोझै अनुवाद गरिएको पहिलो कृति बन्न पुगेको 'जिप्सी' खण्डकाव्य (र्इ.सं. १९६८) पनि नेपालीमा 'मुनामदन' कै लोकछन्द लिएर उदाएको थियो (पुश्किनको यो काव्यकृति प्रस्तुत पुस्तकमा समावेश गरिएको छ)
मननीय के पनि छ भने देवकोटा र पुश्किनका अन्य कृतिहरूमा पनि समानताका तत्वहरू प्रशस्त पाइन्छन् । उदाहरणस्वरूप आफ्नो प्रमुख महाकाव्य "येभ्गेनी ओनेगिन" लाई पुश्किनले 'कविता-उपन्यास' भनेझैं देवकोटाले पनि 'सुलोचना' लाई महाकाव्य भन्नु "साधारण समजको उपाधि" मात्र हुने ठानेर 'कविता-उपन्यास' कै नाउँ दिएका थिए । स्मरण रहोस्, देवकोटाकृत 'सुलोचना' महाकाव्य तथा नेपालीमा समेत यसै पंक्तिकारको अनुवादमा सन्  १९८७ मा प्रकाशित पुश्किनलिखित 'दुब्रोभ्स्की' उपन्यासको कथातन्तु निकै समान प्रतीत हुन्छ । यी दुवै कृतिमा चित्रण गरिएका कुलघरानाका पात्रद्वय त्रोयेकुरोभ (नायिका माशाका पिता) र शत्रुमर्दन (नायिका सुलोचनाका पिता) तथा मध्यमवर्गीय पात्रद्वय दुब्रोभ्स्की (नायक भलोद्याका पिता) र वासुदेव (नायक अनङ्गनाथका पिता) को चरित्रमा समानता देखाइएको छ । यहाँनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र कृतित्वसम्बन्धी कृति 'नेपालका महाकविको कथा' की लेखिका रूसी विदुषी ल्युदमिला आगानिनाबाट व्यक्त गरिएको विचारको पनि उद्धरण दिनु युक्तिसङ्गत हुनेछ । उनले एक ठाउँमा लेखेकी छन् : '...घमण्डी शत्रुमर्दनलाई अपमान गरेर मात्र चित्त बुझ्दैन । यस नेपाली 'त्रोएकुरोभ' लाई समाजले आफ्नो पुरानो मित्रउपर हात चलाउनमा समेत बन्देज लगाउँदैन । दरिद्रताले वासुदेवलाई एउटा मात्र अधिकार प्रदान गरेको छ  । त्यो हो - आफ्नो मानवीय प्रतिष्ठामा आँच पुर्याउने घरको बहिष्कार गर्नु । सुसभ्य पण्डितको सामु शत्रुमर्दन विशेष निष्कृष्ट रूपमा देखापर्दछन्' (नेपालका महाकविको कथा, अनु. कृष्णप्रकाश श्रेष्ठ, प्रकाशक : त्रिमूर्ति निकेतन, काठमाडौं, २०६८, पृ. १५८) । खूव मिल्ने पिताद्वयका बीचको मित्रता एक्कासि शत्रुतामा परिणत भएपछि नायकनायिकाको प्रेमप्रसङ्गमा भाँजो उत्पन्न भई उपरोक्त दुवै कृतिको नाटकीयता पराकाष्टातिर पुग्दछ । दुवै कृतिका नायकहरू सामाजिक अन्यायको विरोधमा उत्रन्छन्, तर दुवैको विद्रोह  संघर्षको रूपमा ठूलो अन्तर पाइन्छ । अवकासप्राप्त लप्टनको छोरो  भलोद्या दुब्रोभ्स्कीको विद्रोह जङ्गी खालकै हुन्छ र ऊ सम्पन्न वर्गकै विरोधमा खडा हुन्छ भने सुसभ्य पण्डितको छोरो अनङ्गनाथले चाहिं सत्याग्रहको आध्यात्मिक बाटो अपनाउँछ भन्न सकिन्छ, तर अन्ततोगत्वा दुवै कृतिको अन्त्य दुखान्त नै हुन्छ । रूस र नेपालका दुवै महाकविहरूका यी र अन्य यथार्थवादी कृतिहरूको रचनाकालमा पूरै एक शताब्दीको अन्तर रहे तापनि तिनको साहित्यिक भावधारा मिल्दोजुल्दो रहेको छ भन्नु अतिशयोक्ति मानिने छैन । वास्तवमा भन्ने हो भने कविहरूको चिन्तनधारा देश र कालको सीमाभित्र बाँधिएको पनि त हुँदैन । रूसी तथा नेपालीमा मूल र अनुवादसहित प्रस्तुत उपरोक्त दुवै काव्यकृतिको अध्ययनबाट पाठकहरूले स्वयं नै महाकविद्वयको सिर्जनात्मक चिन्तनमा साम्यताको उद्घाटन गर्ने छन् भन्नु युक्तिसङ्गत नै हुनेछ ।
प्रस्तुत 'देवकोटा र पुश्किन' नामकरण गरिएको पुस्तकमा समाविष्ट 'मुनामदन' 'जिप्सी' को रूपपक्ष तथा भावपक्षको तुलनात्मक विस्तृत अध्ययन नेपाली तथा रूसी पाठककै जिम्मा लगाउँदै अन्त्यमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. मणिराज पोखरेलद्वारा 'प्रकाशकीय' मा जनाइएको मन्तव्यको अर्को एक अंश यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु । त्यसमा भनिएको छ : '...नेपाली भाषाबाट सर्वप्रथम रूसी भाषामा अनुवाद गराई पहिलोपल्ट प्रकाशमा ल्याउने मौका पाइएको देवकोटाको खण्डकाव्य 'मुनामदन' तथा रूसी भाषाबाट सर्वप्रथम सोझै नेपालीमा अनुवाद भई प्रकाशित समेत हुन पुगेको पुश्किनको लघुकाव्य 'जिप्सी' (काठमाडौं, सन् १९६८) को पनि मूलसहित 'देवकोटा र पुश्किन' भन्ने शीर्षकमा प्रकाशित प्रस्तुत पुस्तकको पाठकवृन्दबाट स्वागत हुनेछ...'
लेखक कृष्णप्रकाश श्रेष्ठ
प्रस्तुत पुस्तकको बारेमा पाठक-प्रतिक्रिया, मन्तव्य र सुझाव प्राप्त हुने विश्वाससहित नेपाल र रूसका महाकविद्वयका 'मुनामदन' 'जिप्सी' जस्ता अमर कृतिहरू पाठकवृन्दको करकमलमा सुम्पन पाउँदा यस पंक्तिकारलाई विशेष हर्षको अनुभव भइरहेको छ ।

३ अगस्त २०११ (बुधवार),

मास्को, रूस महासंघ ।

No comments:

Post a Comment