Saturday, June 10, 2017

मास्को प्राच्यविद्या संस्थानमा नेपालीहरूको स्वागत

रसियाली विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानका निर्देशक, इतिहासशास्त्रका महाविद्यावारिधि, रूसमा बुद्धधर्म र दर्शनका प्रकाण्ड विद्वान् भालेरी पाभ्लोभिच आन्द्रोसोभ तथा रूसका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेका बीच ७ जून २०१७ (बुधवार) का दिन भेट-परिचय तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न भएको छ ।

भेटवार्ता कार्यक्रममा प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्याना ल्भोभ्ना शाउम्यान, गैरआवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदमा महिला-संयोजक सपिला राजभण्डारी, केन्द्रीय समन्वय परिषममा रूसका प्रतिनिधिसदस्य तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, रूसनेपाल साहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल,  महासचिव बोरिस भेर्शिनिन एवं भेटवार्ता संयोजक यसै पंक्तिकारको पनि उपस्थिति रहेको थियो ।
गोविन्दप्रसाद गौतम, कृष्णप्रकाश श्रेष्ठ, 
ताच्याना शाउम्यान, भालेरि आन्द्रोसोभ, ऋषिराम घिमिरे,
मणिराज पोखरेल, सपिला राजभण्डारी
प्राच्यविद्या संस्थानका निर्देशक भालेरी आन्द्रोसोभले महामहिम नेपाली राजदूत ऋषिराम घिमिरे तथा उहाँलाई साथ दिने सम्पूर्ण नेपालीहरूको हार्दिक स्वागत गर्नुभयो र पारस्परिक परिचयको आदानप्रदान गरियो । 
प्राच्यविद्या संस्थानका निर्देशक  नेपाली राजदूतको स्वागत गर्दै
महामहिम राजदूतज्यूले मास्कोको अनुभवबारे छोटकरीमा बताउँदै मास्को आएदेखि नै विश्वविख्यात प्राच्यविद्या संस्थानका विद्वान्विदुषीहरूसँग भेटघाट गरी सहकार्यको सम्भाव्यताबारे बुझ्ने चाहना राखेको जनाउनु भएपछि प्राच्यविद्या संस्थानका निर्देशकले छोटकरीमा संस्थानको परिचय दिएर पछिल्लो समयमा नेपालविद्या विषयक विशेषज्ञहरूको कमी रहेको तथ्य अवगत गराउनुभयो भने भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुखले भारतवर्ष (दक्षिण एशिया) का विभिन्न देशहरूको राजनैतिक प्रणालीबारे हालसालै प्रकाशित आफ्नो पुस्तकमा नेपालबारे पनि एक अध्याय रहेको जानकारी दिनुका साथै प्राच्यविद्या संस्थानबाट पछिल्लो समयमा नेपालःबीसौ शताब्दी (सन् २०११)  शीर्षकमा नेपालको इतिहाससम्बन्धी दिवंगत अलेक्सान्द्र लेद्कोभ लिखित पुस्तक उनका सहपाठी सेर्गेइ लुन्योभको सहयोगबाट प्रकाशित गरिएको र केही वर्षअघि कृष्णप्रकाश श्रेष्ठको संयोजकत्वमा नेपाल विषयक प्राज्ञिक लेखहरूको संकलन नेपाल सहस्त्राब्दीहरूको संघारमा(सन् २००१) प्रकाशमा ल्याइएको स्मरण गर्नुभयो । 
प्राच्यविद्या संस्थानका नेपालविदहरुको लेखसङ्ग्रह
कृष्णप्रकाश श्रेष्ठको अनुवाद र सम्पादन
नेपाली पाठकवृन्दलाई के पनि बताइहालौं भने रूसी भाषामा प्रकाशित उक्त संकलनका केही लेख र त्यसको प्रकाशनपश्चात् सम्पन्न सम्मेलनहरूमा प्रस्तुत कार्यपत्रहरूमा आधारित प्राज्ञिक लेखहरूको सङ्ग्रह रूसमा नेपालको बिम्ब(सन् २०१५) शीर्षकमा भानुसमारोह-२०० प्रति समर्पित गरी विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तर्फबाट काठमाडौंमा छापी प्रकाशमा ल्याइएको छ ।
उपहारको आदानप्रदान
कृष्णप्रकाश श्रेष्ठ, ऋषिराम घिमिरे र भालेरी आन्द्रोसोभ
रूस (सोभियत संघ) बाट विभिन्न विषयको स्नातकोत्तर तथा विद्यावारिधिको समेत प्राज्ञिक उपाधि प्राप्त गरी स्वदेशमा क्रियाशील नेपालीहरूको संस्था मित्रकुञ्ज स्थापनाको स्वर्णजयन्ती समारोहमा भाग लिएर फर्केका रूसनेपाल सहयोग तथा मैत्री समाजका महासचिव बोरिस भेर्शिनिनले आफ्नो अनुभवबारे बताउँदै काठमाडौंमा नेपालरूस मैत्री तथा संस्कृति संघको तत्परतामा नेपालको सर्वप्रथम यात्रा सम्पन्न गर्ने रूसी प्राच्यविद इभान मिनाएभको प्रतिमा स्थापना गरिने कुरा सूचित गर्दा गतः वर्ष काठमाडौंस्थित रूस विज्ञान तथा संस्कृति केन्द्रको परिसरमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा उद्घाटन गरिंदा गैरआवासीय नेपाली संघ रूस राष्ट्रीय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारीको सहयोगबाट मेरो अनुवादमा पुश्किनका कविताहरूको संग्रह रुसाल्का’ (सन् २०१६) को पनि लोकार्पण गरिएको कुरा स्मरण गराइएको थियो ।
कृष्णप्रकाश श्रेष्ठबाट 'स्रष्टा र साहित्य' पुस्तक हस्तान्तरण
भेटवार्ताको क्रममा दुई देशबीच विद्वान्हरूको आदानप्रदानका साथै रूसबाट स्नातक बनेका नेपाली विशेषज्ञलाई प्राच्यविद्या संस्थानमा मानविकी शास्त्रअन्तर्गतका विभिन्न विषयहरूमा विद्यावारिधिको शोधछात्रको रूपमा निम्त्याउन सकिने र रूसबाट पनि नेपालविषयक अध्येतालाई नेपालमा एक वर्षे अध्ययनको व्यवस्था मिलाउन सकिएमा रूसमा नेपालको भाषा, साहित्य, इतिहास, धर्म र संस्कृतिको विषयमा अनुसन्धानलाई अगाडि बढाउन टेवा प्राप्त हुनेबारे पनि कुराकानी भएको थियो । 
भेट-वार्ताको बृश्य
मणिराज पोखरेल, कृष्णप्रकाश श्रेष्ठ, ऋषिराम घिमिरे,
भालेरि आन्द्रोसोभ तथा ताच्याना शाउम्यान
यसै वर्षको नभेम्बर महिनातिर नेपाल विषयक एक वैज्ञानिक गोलमेच सम्मेलन सम्पन्न गर्ने पनि निर्णय लिइएको छ ।
भालेरी आन्द्रोसोभ, कृष्णप्रकाश श्रेष्ठ, ताच्याना शाउम्यान
बोरिस भेर्शिनिन फोटो खिच्ने तरखरमा
भेटवार्ताको अन्त्यमा नेपाली राजदूतज्यूले रूसका बुम्द्धघर्मका विभिन्न ग्रन्थहरूका अनुवादक एवं व्याखाकार र बुद्धधर्म विश्वकोष’ (सन् २०११) का रचयिता भालेरी आन्द्रोसोभलाई नेपाली पौभा (थान्का) उपहार प्रदान गर्नुभयो भने संस्कृत र पाली भाषाका समेत ज्ञाता प्राच्यविद्या संस्थानका निर्देशकले पनि आफूले अनुवाद गरेको बौद्धग्रन्थ मणिसूत्रउपहार दिनुभयो । 
अष्टमङ्गल-कलश
भारतवर्ष अनुसन्धान कान्द्रलाई
गैरआवासीय नेपाली संघ रूसको  स्मृति-उपहार
त्यसै अवसरमा मैले पनि भानुसमारोह-२०० को सन्दर्भमा तत्सम्बन्धी समितिका सदस्य विनयकुमार एवं अञ्जना श्रेष्ठको सहयोगबाट दिवंगत नेपाली साहित्यकार उत्तम कुँवरका अन्तर्वार्ताहरूसहित रूसी भाषामा प्रकाशमा ल्याइएको बीसौ शताब्दीको नेपाली साहित्यिक चिन्तन र प्रतिनिधि साहित्यकारहरूको वैचारिक धरातलको समेत परिचय दिने पुस्तक स्रष्टा र साहित्यभालेरी आन्द्रोसोभलाई हस्तान्तरण गरेको थिएँ भने बोरिस भेर्शिनिनले पनि नेपालमा मित्रकुञ्ज स्थापनाको पचासौं वर्षान्त समारोहको उपलक्ष्यमा प्रकाशित संकलन मित्रकुञ्ज दर्पणउपहारस्वरुप प्रदान गरेका थिए ।
भारतवर्ष अनुसन्धान केन्द्रको कक्षमा
मणिराज पोखरेल, कृष्णप्रकाश श्रेष्ठ,  ऋषिराम घिमिरे,
ताच्याना शाउम्यान, सपिला राजभण्डारी, गोविन्दप्रसाद गौतम
यसरी उपहार र विचारविमर्षको आदान-प्रदानसहित सौहार्दपूर्ण वातावरणम प्राच्यविद्या संस्थानका निर्देशकको कार्यकक्षमा भेटवार्ता सम्पन्न भएपछि भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्याना ल्भोभ्ना शाउम्यानले सबै सहभागीहरूलाई आफ्नो कार्यकक्षमा निम्त्याएर त्यहाँ गैरआवासीय नेपाली संघ रूसको तर्फबाट प्रदान गरिएका सम्मानपत्र तथा कालुगा अञ्चलमा अवस्थित एत्नोमिर (नृवंशलोक) अन्तर्गत निर्मित नेपाली घरको उदघाटन समारोहको वेला नेपाली संस्कृतिको अध्ययन र प्रचारप्रसारमा योगदान पु-याएवापत् भारतवर्ष अनुसन्धान केन्द्रलाई प्रदान गरिएको नेपाली ढलौटको अष्टमंगलकलश तथा अन्य प्रशंसापत्रहरू सजाएर राखिएको अवलोकन गर्दै निकट भविष्यमै प्राच्यविद्या संस्थानका विद्वान्हरूको निम्ति रूसको भूमिमा नेपालको सानो झलक दिने नेपाली घरको यात्रावलोकनको आयोजना गर्नेबारे पनि कुराकानी भएको थियो ।
कृष्णप्रकाश श्रेष्ठ, ऋषिराम घिमिरे र ताच्याना शाउम्यान
फोटो सौजन्य : बोरिस भेर्शिनिन
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment