Tuesday, June 6, 2017

विश्वकै एक उत्कृष्ट पत्रकारिता शिक्षण केन्द्रको ६५–यौं वर्षान्त समारोह

विश्वप्रसिद्ध मास्को राजकीय विश्वविद्यालयअन्तरगत पत्रकारिता विभाग संचालनको ७० वर्ष तथा पत्रकारिता संकायको स्थापनाको ६५ वर्ष पूरा भएको सन्दर्भमा मास्कोको केन्द्रमा रहेको ऐतिहासिक विश्वविद्यालय भवनमा भव्य समारोह सुसम्पन्न भएको छ ।
 
सुरुमै के बताइहालौं भने संसारभर ख्याति प्राप्त मास्को राजकीय विश्वविद्यालयको स्थापना सन् १७५५ मा भएको थियो । त्यसको स्थापनामा अठारौं शताब्दीका विख्यात रूसी विद्वान् मिखाइल लोमानोसोभको अग्रगण्य भूमिका रहेको थियो र सन् १९४० को ७ मेईका दिन विश्वविद्यालयलाई उनैको नामबाट विभूषित गरिएको थियो । 
मास्को राजकीय विश्वविद्यालय 
आज म नेपाली पाठकवृन्दलाई मेरो अध्ययनस्थल (Alma Mater) को रूपमा रहेको यसै विश्वविद्यालयको पत्रकारिता संकायबारे संक्षेपमा परिचयदिन चाहन्छु ।
पत्रकारिता संकायको भवन
मास्को राजकीय  विश्वविद्यालयका संस्थापक 
मिखाइल लोमानोसोभको सालिक
मास्को राजकीय विश्वविलालयमा सन् १९४७ को सेप्टेम्बरमा साहित्यशास्त्र संकायअन्तर्गत पत्रकारिताको विषयमा पढाइ शुरु गरिंदा जम्मा २७ जना विद्यार्थीले प्रवेश पाएका थिए भने अहिले ७० वर्षपछि यहाँबाट देशविदेशका २७ हजार व्यक्तिले पत्रकारिताको डिग्री पाइसकेका छन् । तीमध्ये ५ जना नेपाली पनि छन् ।
सहपाठीहरुको साथमा कृष्णप्रकाश श्रेष्ठ 
मैले सन् १९६६ मा यसै विश्वविद्यालयबाट पत्रकारिता विषयमा स्नातकोत्तरको प्राज्ञिक उपाधि प्राप्त गरेर केही वर्ष नेपाली साहित्यिक पत्रकारिताको विषयमा विद्यावारिधिका लागि शोधकार्य गर्ने सम्भावना पाएको थिएँ । हामीहरूले यहाँ अध्ययन गर्दा कतिपय विषयको पाठ्यपुस्तक समेत थिएन भने हाल अत्याधुनिक प्रविधियुक्त शिक्षापद्धतिको उपयोग गरिन्छ । मलाई यस पत्रकारिता संकायका प्रथम डीन (संकायप्रमुख) एभ्गेनी खुद्याकोभ (सन् १९५२१९६५) को समेत धमिलो सम्झना छ । जर्मन फाशीवादविरुद्ध सोभियत जनताको महान् देशभक्तिपूर्ण युद्ध (सन् १९४११९४५) मा घाइते भएको हुँदा उनी राम्ररी गोडा चाल्न सक्तैनथे र खोच्याएर हिंड्थे । उनको ठाउँमा सन् १९६५ मा नियुक्ति पाउने संकायप्रमुख यासेन निकोलाएभिच जासुर्स्की हाल पत्रकारिता संकायका मानार्थ अध्यक्ष रहेका छन् । त्यतिखेर विदेशी पत्रकारिता एवं साहित्य विभागका प्रमुख समेत हुनाले उनी देशविदेशको (मुख्यतः अमेरिकी) पत्रकारिताबारे व्याख्यान दिने गर्दथे र मैले उनैको निर्देशनमा स्नातकोत्तरको शोध प्रबन्ध तयार पारेको थिएँ । अहिले पनि उनको कार्यकक्ष त्यही नै छ जहाँ त्यसताका सम्पन्न हुने साप्ताहिक विद्वत् सभामा विद्यावारिधिको शोधछात्रको हैसियतले सधैं मेरो पनि उपस्थिति रहन्थ्यो ।
पत्रकारिता संकायका मानार्थ अध्यक्ष
यासेन निकोलाएभिच जासुर्स्की
त्यसै सभाकक्षमा २ जून (सन् २०१७) का दिन पत्रकारिता संकायको स्थापनाको ६५यौं वर्षान्त समारोह सम्पन्न भयो, जहाँ विद्यार्थी छँदा म प्रोफेसरहरूको व्याख्यान सुन्दथें । यसपटक भने वयोवृद्ध यासेन निकोलाएभिच जासुर्स्की व्याख्यान दिन नभई समारोहको प्रमुख व्यक्तित्वको हैसियतले मञ्चमा विशेष सम्मानित स्थानमा आसन ग्रहण गरेर बसेका थिए । उनको आसनको एकातिर उनैको निर्देशनमा पत्रकारिता विषयमा महाविद्यावारिधिसम्मको प्राज्ञिक उपाधि हासिल गरी वर्तमान समयमा पत्रकारिता संकायकी प्रमुखको पदमा बहाल रहेकी एलेना भार्तानोभा बसेकी थिइन् भने अर्कोतिर चाहिं पत्रकारिता संकायकी सचिव बसेकी थिइन् । 
पत्रकारिता संकायको सभाकक्ष
मञ्चमा यासेन जासुर्स्की र एलेना भार्तानोभा
पाठक वृन्दलाई बताई हालौं, सन् २००७ मा वर्तमान डीन (संकायप्रमुख) को नियुक्तिभन्दा पहिले यासेन जासुर्स्की नै ४२ वर्षसम्म त्यस पदमा बहाल रहेका थिए र नेतृत्वदायी गरिमामय पदमा रहेर रूस (सोभियत संघ) का लागि दक्ष पत्रकारहरू तयार पार्ने मुख्य शिक्षण केन्द्रको विकासमा लामो समयावधिसम्म सफलतापूर्वक कार्य सम्पादन गरेको परिपेक्ष्यमा उनका लागि मानार्थ अध्यक्ष पद समेत सिर्जना गरेर विशेष सम्मान जनाइएको थियो । रूसको सम्पूर्ण पत्रकार जगत्का लागि अनुकरणीय र सर्वमान्य व्यक्तिलाई गुरुको रूपमा पाएकोले मलाई गर्वको अनुभूति हुनु स्वाभाविकै हो
पत्रकार पत्रिकाको गाता
आधा शताब्दी पहिलेजस्तै यस साल पनि २ जूनका दिन सम्पन्न समारोहमा यासेन जासुर्स्कीलाई व्याख्यान कक्षको मञ्चमा देख्न पाउँदा मलाई रूसी भाषाविद् रोजेन्ताल, रूसी साहित्यविद् जापादोभ, आङ्ग्ल साहित्यविद् श्वेदोभ, प्राचीन यूनानी साहित्यकी विदुषी एलेना कुच्बोर्स्काया प्रभृति रूसका तत्कालीन प्रकाण्ड विद्वान्विदुषीहरूको पनि अनायासै सम्झना भएर आयो जसले त्यसै मञ्चबाट दिने गरेको व्याख्यान म अक्सर अगाडिकै बेञ्चमा बसेर रूसी भाषामै कापीमा टिप्ने गर्दथें । मेरा सहपाठीहरूले रूसी भाषामा रहेका मेरा गल्तीहरू सुधारिदिने हुँदा म रूसीहरूले भन्ने गरेझैंआफ्ना गल्तीहरूबाट सिक्ने गर्दथें। यसपटक पनि म ल्युदा स्वेत्सोभा, जोया सेम्योनोभा, तोन्या रिझोभा, भल्योदा गानिपोल्स्की, भालेरी भासिलेभ्स्की, नाताशा घाट्टास प्रभृति आफ्ना तत्कालीन केही सहपाठीहरूकै अगलबगलमा रहेको थिएँ ।
सहपाठीहरुको साथमा
माइकबाट समारोहको प्रारम्भबारे उद्घोषणा हुनासाथै मञ्च अघिल्तिर उभिएका युवतीहरूको समूहले विश्वविद्यालयको सामूहिक गान प्रस्तुत गर्न थाल्यो र समारोहमा उपस्थित सबैले उभिएर समवेत स्वरमा गाउन थाले ।
विश्वविद्यालयको समूहगान गाउँदै
पत्रकारिता संकायका एक जोडी छात्रछात्राले समारोहको संचालन आरम्भ गरेपश्चात् संकायप्रमुख एलेना भार्तानोभाले सेन्टपिटर्सबर्गमा सम्पन्न भइरहेको विश्व आर्थिक सम्मेलनमा भाग लिन गएका मास्को राजकीय विश्वविद्यालयका कुलपति भिक्टर सादोब्निचीबाट समारोहको नाममा भिडियो सन्देश प्राप्त भएको जानकारी दिनेबित्तिकै भित्तामा रहेको ठूलो टेलिभिजन पर्दाबाट कुलपतिको सन्देश गुञ्जियो । गतः ५० वर्षभन्दा बढी समयदेखि पत्रकारिता संकायमा कार्यरत रही अतुलनीय योगदान पु-याएवापत् मानार्थ अध्यक्ष यासेन जासुर्स्कीलाई प्रशंसापत्र प्रदान गरिएको घोषणा गरिने बित्तिकै सबैले उठेर करतलध्वनिका साथ समर्थन गर्नुका साथै विद्यार्थीहरूले पत्रकारिता संकायका लब्धप्रतिष्ठत अध्यक्षलाई फूलका गुँच्छाहरूले सम्मान प्रदर्शन गरे । संकायप्रमुख एलेना भार्तानोभाले सम्मानपत्र हस्तान्तरण गरेर आफ्नो मन्तव्य जारी राख्दै अगाडि थपिन् :
‘…हाल रूसमा पत्रकारिता विषयको प्रमुख केन्द्रको रूपमा रहेको पत्रकारिता संकायमा ४१ जना महाविद्यावारिधि प्राज्ञिक उपाधिधारी प्रोफेसर र १०० जना विद्याजारुधु प्राज्ञिक पपाधिधारी प्राध्यापक एवं वैज्ञानिक कार्यकर्ताहरू क्रियाशील छन् । यस संकायअन्तर्गत रूसी भाषाशैली, सावधिकपत्रपत्रिका, टेलिभिजन तथा रेडियो प्रसारण, आम संचार माध्यमको सिद्धान्त तथा अर्थतन्त्र, रुसी साहित्य तथा पत्रकारिता, विदेशी साहित्य तथा पत्रकारिता, आम सञ्चार माध्यमको इतिहास र व्यवस्थापन, कला र साहित्यको समालोचना, नयाँ मेडिया र संचारको सिद्धान्त, सम्पादन तथा प्रकाशन कार्य, सूचना सम्प्रेषण, विज्ञापन तथा सामाजिक सम्पर्क, आम संचार माध्यमको समाजशास्त्र, फोटो पत्रकारिता तथा सञ्चार प्रविधि विषयका १३ विभागहरू क्रियाशील रहेका छन् । सन् २०१६ मा मास्को राजकीय विश्वविद्यालय अन्तर्गतको पत्रकारिता संकायले विषयगत रूपमा विश्वकै उत्कृष्ट (QS World University Rankings by Subject) भन्ने मान्यता प्राप्त गरेको छ…’
शेक्षिक पत्रिका  'पत्रकार'  विशेषाङ्क
पत्रकारिता संकायकी प्रमुखको मन्तव्य सुनिरहँदा म चाहिं अतीतमा विचरण गर्दै आफ्नै विद्यार्थी जीवनबारे सोच्न पुगेको थिएँ । त्यतिखेर पत्रकारिता संकायअन्तर्गत मुख्य तीन विभाग मात्र थिए : पत्रपत्रिका, रेडियो तथा टेलिभिजन ।
सहपाठिका नाताशा घाट्टासको साथमा
यसपटक पत्रकारिता संकायमा प्रवेश गर्नुभन्दा पहिले ढोकैमा मलाई युवा छात्रछात्राहरूले ६५ वर्ष. मा.रा.वि. पत्रकारिता संकायअंकित रिबन र त्यसमा उनेर कलरमा भिर्ने कलमको निब अंकित ब्याच दिएर स्वागत गरे भने माथि दोस्रो तलामा उक्लने भव्य सिंढीहरूको मुखैमा उभिएका युवा विद्यार्थीहरूले समारोहको उपलक्षमा प्रकाशित पत्रकार’ (‘जुर्नालिस्त’) पत्रिकाको विशेषाङ्क (नं. १६९६) हस्तान्तरण गरे (यसै पत्रिकामा सन् १९६१ तिर रूसी भाषामा मेरो पहिलो टिप्पणी छापिएको थियो) । 
दोस्रो तलामा उक्लने सिंगमर्मरको सिंढीनेर
सभाकक्षमा पस्नासाथ रेडियोअंकित बिल्ला लगाइराख्ने एक जोडी युवा छात्रछात्रालाई देख्दा भावी रेडियापत्रकार होलान् भन्ने अनुमान लगाएर सोधें । उनीहरूले तत्कालै डिक्टाफोन झिकेर अन्तरवार्ता लिने तरखर गर्दा मलाई आफू विध्यार्थी छँदा दुई धार्नी गह्रौं बाकसजस्तो ठूलो यन्त्र बोकेर मात्र कसैको अन्तरवार्ता लिन सकिने समयको र रेडियो मास्कोबाट नेपालीभाषामा प्रसारण संचालकको काम गर्दागर्दै संचारप्रविधिले द्रुतगतिले फड्को मारेको सम्झना भयो ।
रेडियो पत्रकारिताका छात्रछात्रा जोडी
भविष्यमा रेडियो पत्रकारितामा संलग्न हुने युवा छात्रछात्राको फोटो समेत खिंचेर छोटो अन्तवार्ता दिंदै मैले यस संकायबाट स्नातकोत्तर प्राज्ञिक उपाधि प्राप्त गर्ने नीलाम्बर आचार्यले नेपाल सरकारको मन्त्री पदभार सम्हालेको र हालै काठमाडौंमा रूस (सोभियत संघ) बाट स्नातक बनेकाहरूको संगठन मित्रकुञ्जको स्थापनाको अर्धशताब्दी महोत्सव भव्यताका साथ मनाइएको सूचित गर्दै पत्रकारिता संकायको ६५यौं वर्षान्त समारोहको उपलक्ष्यमा विश्वमै उत्कृष्ट मानिएको यस शिक्षण केन्द्रको उन्नतिका साथै यस संकायसित सम्बन्धित सबैलाई उत्तरोत्तर प्रगति र भावी पत्रकारहरूलाई सिर्जनात्मक क्रियाकलापमा सफलताको शुभेच्छा व्यक्त गरेको थिएँ

मिति : ५ जून २०१७,
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment