Wednesday, October 19, 2016

मास्कोमा बडाबशैंको जमरा र विजयादशमीको टीका समारोह

रूसको राजधानीस्थित नेपाली राजदूतावासमा रूसवासी नेपालीहरूले उल्लासमय वातावरणमा विजयादशमी२०७३ को उत्सव मनाए ।

विजयादशमीको टीका समारोहका लागि राजदूतावासको प्रवेशकक्षमा पूजासामग्री, फलफूल, नैवेद्य आदिले सजाएर राखिएको टेबुलमा मनमोहक पहेंला जमरा उमारिएका गमलाहरूको प्रमुख स्थान रहेको थियो । 
बडादशैंको जमरा, रातो अक्षता र नैवेद्य
आतिथेयको हैसियतले नेपाली राजदूतावास परिवारका साथै रूसका लागि कार्यवाहक राजदूत श्रीमती इन्दिरा गोहिवर अर्याल विजयादशमीको शुभकामनाव्यक्त गर्दै आगन्तुक नेपालीहरूको स्वागत गर्न व्यस्त देखिनुहुन्थ्यो ।
विजयादशमी-२०७३ का सहभागीहरू
     यस सालको दशैं मनाउन मास्कोमा आयोजित विजयादशमी समारोहमा गैरआवासीय नेपाली संघ रूस राष्ट्रीय समन्वय परिषद् (अध्यक्ष दीनानाथ राजभण्डारी), रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ (उपाध्यक्ष डा. भीष्म आचार्य), नेपाल खेलकूद तथा संस्कृति समाज (उपाध्यक्ष रामेश्वर गौतम), रूसनेपाल सहयोग तथा मैत्री समाज (उपाध्यक्ष डा. मणिराज पोखरेल), विश्व नेपाली साहित्य महासंघ रूस शाखा, नेपाली नारी निकुञ्ज, नेपाली छात्रसंघ) लगायत रूसमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न सामाजिकसांस्कृतिक संस्थाका अधिकांश सदस्यहरूको समुपस्थिति रहेको थियो ।
कृष्णप्रकाश श्रेष्ठबाट टीकाग्रहण गर्दै रामेश्वर गौतम
रूसमा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरूको अग्रजको नाताले यसै पंक्तिक।रलाई पावन टीका समारोहको शुभारम्भ गर्ने सुअवसर प्रदान गरिएको थियो । 
नवदुर्गा भगवती चित्रावली
सर्वप्रथम कुमारी देवीको रूपमा सानी बालिकाको करकमलबाट टीका ग्रहण गर्ने मास्कोमा स्थापित परम्पराअनुसार मलाई सानी नानी अध्येता अर्यालले टीका लगाइदिएपछि मैले बहिनीको रूपमा सर्वप्रथम कार्यवाहक राजदूत इन्दिरा अर्यालज्यूलाई टीका लगाइदिएर टीका समारोहमा सपरिवार उपस्थित भइरहेका उद्यमी, अध्येता, विद्यार्थी, छात्रछात्रा भाइबहिनीहरूलाई पनि शुभआशीर्वाद दिंदै रातो अक्षतासहितको टीका लगाइदिएर दुर्गाभवानीको प्रसाद जमरा प्रदान गरिरहँदा मलाई केही वर्षअघि बडादशैंमा काठमाडौंमा हुँदा आफ्ना भाइबहिनीहरूको सम्पूर्ण परिवारजनलाई टीका लगाइरहेको सम्झना भइरहेको थियो ।
रावल पाण्डे दम्पतिलाई टीका-प्रसाद प्रदान गर्दै
नेपालीहरूका लागि मास्कोस्थित नेपाली राजदूतावासमा पहिलोपल्ट जमरा उमारिएको प्रसंग पनि उत्तिकै रोचक हुने ठान्दछु । 
नेपाली राजदूतावासको अतिथिकक्षमा
गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीसहित
सोभियतकालमै सन् १९८० को दशकतिर एकपल्ट म संयोगवश घटस्थापनाकै दिन राजदूतावास पुगेको थिएँ । 
विजयादशमी-२०७३ को टीका 
तत्कालीन राजदूतकी श्रीमतीले दुर्गापूजाको तैयारी गरिसकेको भए तापनि मास्कोको बजारमा सबैथोक तैयारी रूपमा मात्र पाइने हुनाले जौंको अभावले गर्दा जमरा राख्न पाइएको रहेनछ । मलाई यो समस्या सुनाइएपछि मैले मास्कोमा गहूँ, जौं, मकै आदि अन्न एक ठाउँमा मात्र पाइने सूचना दिएँ र तुरुन्तै दूतावासकै गाडीमा चराचुरुङ्गी, कुकुर-बिरालो आदि र यी घरपालतु पशुपन्छीका लागि चाहिने चारादाना समेत बिक्री गरिने रूसी भाषामा 'पतीच्ये रिनोक' ('चरा-बजार') भनिने ठाउँमा पुग्यौं र विक्रेता समेत छक्क पर्ने गरी प्रशस्तै जौंका गेडाहरू किनेर ल्यायौं । त्यस वेलादेखि मास्कोमा विजयादशमीमा जमरा उमार्न थालियो ।
टीका-समारोह-२०७३ मा उपस्थित नारि निकुञ्जका सदस्यहरू
नेपाली कार्यवाहक राजदूत इन्दिरा गोहिवर चर्याल (तेस्रो तस्बीर)
रूसमा ५५नौं पल्टको विजयादशमी मनाइरहँदा मलाई मास्कोमा पहिलोपल्ट मनाइएको विजयादशमीको पनि अनायासै सम्झना भयो । 
नेपाली राजदूतावासको प्रवेशकक्षमा 
त्यतिखेर हाल नेपाली राजदूतावास रहेको भवन अझैं बनिसकेको थिएन र मास्कोमा प्रथम आवासीय नेपाली राजदूत झरेन्द्रनारायण सिंहबाट सन् १९६१ को विजयादशमीको उपलक्ष्यमा राजधानीको केन्द्रमा अवस्थित  प्रसिद्ध प्रागारेष्टुराँमा भव्य दशैंभोजको आयोजना गरिएको थियो । त्यसै भोजमा त्यतिखेर मास्कोका विभिन्न उच्च शिक्षण संस्थानहरू (मास्को सडक निर्माण इन्स्टीच्यूट, मास्को विद्युत् शक्ति इन्स्टीच्यूट, मास्को राजकीय विश्वविद्यालय) मा अध्ययनरत हामी ५० जनाजति नेपाली विद्यार्थीहरूको एक मात्र सामाजिक संस्था नेपाली छात्रसंघको मुखपत्र किरणको एक संस्थापकसम्पादक समेत भई हस्तलिखित रूपमा तैयार पारिएको पहिलो अङ्कको भव्य वातावरणमा विमोचन समेत गरिएको थियो
नेपाली राजदूतावासमा वोजयादशमी-२०७३
त्यतिखेर हामी नेपाली विद्यार्थीहरूले पहिलोपल्ट थरीथरीका अपरिचित रूसी परिकारहरू चाख्ने अवसर पाएका थियौं भने यसपटक विजयादशमीको उपलक्ष्यमा आयोजना गरिएको दशैंभोजमा स्वादिष्ट नेपाली परिकारहरू चाख्न पाइयो । 
दशैंभोजमा नेपाली परिकारहरू
यस साल मास्कोमा जाडो सुरु हुनुअघि १०-१२ दिनसम्म घमाइलो  न्यानो रहने रूसी भाषामा ‘बाब्ये लेतो’ (‘शारदीय ग्रीष्म’) भनिने सुनौला शरदको रमणीय मौसम देख्नै नपाई समयअगावै एकाएक जाडो सुरु भए तापनि नेपाली राजदूतावासमा सुनौला जमरायुक्त  दशैंचाडको न्यानो वातावरण व्याप्त थियो । 
विजयादशमीको टीका ग्रहण गरिएपछि
राजदूतावासको प्रवेशकक्षमा विजयादशमीको टीका ग्रहण गर्दे दशैंको शुभकामनाको आदानप्रदान गरेर कोही अतिथिकक्षमा सोफामा बसी जलपान गर्दै भलाकुसारी गरिरहेका थिए भने कोही सभाकक्षमा भेला भई दशैंको अवसरमा आयोजना गरिने परम्परागत खेलमा रमाइरहेका थिए त कोही नेपाली संगीतको धूनमा नाचगान गर्दै मनोरञ्जन लिनमा व्यस्त थिए ।
दशैंको नाचगानमा रमाउँदै 
दशैंको रमझममा मास्कोस्थित नेपाली राजदूतावासले सानो नेपालको झल्को दिइरहेको थियो जहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल, पहाड र मधेसका सबै जिल्लाका युवायुवती र केटाकेटीहरू रमाउँदै नाचगानमा रमिरहेका थिए
टीका ग्रहणपश्चात् फोटो-सेसन
         फोटो-सौजन्य : राधेश्याम दुबे तथा रामेश्वर गौतम

         मास्को, रूस महासंघ ।

1 comment:

  1. साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

    ReplyDelete